Comments Add Comment

कलंकी-नौबिसे सुरुङ यात्राः समय २० मिनेट, शुल्क २५ रुपैयाँ

सुरुङमा मोटरसाइकल चलाउन नपाइने, बोकाएर लैजान सकिने

sitapaila-naubise-tunnel-1

१६ मंसिर, काठमाडौं । अहिले काठमाडौं भित्रिँदा र बाहिरिँदा नागढुंगाको जाम छिचोल्न कम्तिमा ३ घण्टा लाग्छ । सरकारी योजनाअनुसार काम भए अब काठमाडौंबाट नौबिसे पुग्न २० मिनेटभन्दा बढी लाग्ने छैन । तर, मोटरसाइकल चालकले भने अलिकति सास्ती ब्यहोर्नुपर्ने छ ।

राजधानीबाट बाहिरिने मुख्य नाकामा निर्माण हुने तयारीमा रहेको सीतापाइला- नौबिसे सुरुङमार्गबाट जनताले घन्टौंको जामबाट मुक्ति पाउनेसँगै बेलाबेलामा हुने दुर्घटनामा समेत कमी आउने देखिएको छ ।

यस सुरुङमार्गका बारेमा जापानी सहयोग नियोगले गरेको अध्ययनमा २० मिनेटमै नौबिसेबाट काठमाडौ आइपुग्ने निष्कर्ष निकालिएको छ ।

नागढुङ्गाबाट करिब ८० मिटर तलबाट जाने यो सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकनका बारेमा पनि अध्ययन भइसकेको छ ।

सडक विभागको वैदेशिक महाशाखाका प्रमुख सञ्जय कुमार श्रेष्ठका अनुसार यो रिपोर्टमा सुरुङमार्ग निर्माण गर्दा कुनै पनि वातावरणीय क्षति नहुने देखिएको छ ।

उनले भने ‘हालै मात्र सकिएकोेे वातावरणीय अध्यनमा यो सुरुङमार्ग बनाउन उचित देखिएको छ, यसको निर्माणले वातावरणमा कुनै पनि नकारात्मक प्रभाव पार्ने देखिएन । ‘

अहिले सडक विभागले यो सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने कन्सल्ट्यान्टको छनौट कार्य अघि बढाएको छ । साथै यस्ता कन्सलट्यान्टको सर्ट लिस्टिङसमेत भइसकेको छ । तर, कन्सल्ट्यान्टको टुङ्गो भने लागिसकेको छैन ।

कन्सल्ट्यान्ट छनोट पश्चात उसले डिजाइन तयार गर्छ । डिजाइन तयार हुनै लाग्दा सरकारले निर्माण कम्पनी पनि छनोट गरिसक्ने श्रेष्ठले बताए । निर्माण सुरु भएको ३ वर्षभित्रै यो सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।

जापानले दुई वर्षअघि नै सुरुङमार्ग निर्माणका लागि ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । तर, गत आइतबार मात्रै मन्त्री परिषदले ऋण स्वीकृत गरेपछि यसको निर्माणको प्रक्रिया अघि बढेको हो ।

सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १७ अर्ब रुपैयाँ ऋण दिने भएको छ । जापान सरकारले यो ऋण निकै सस्तो ब्याजदरमा उपलब्ध गराउन लागेको छ ।

श्रेष्ठले दिएको जानकारी अनुसार जापानले नेपाल सरकारलाई ०.०१ प्रतिशत ब्याजदरमा यो ऋण उपलब्ध गराएको हो । ४० वर्ष भित्र तिरिसक्नु पर्ने यो ऋणको अवधि ३० वर्षको हुनेछ भने १० वर्ष ग्रेस अवधि थपिने छ ।

सवारी कर २५ रुपैयाँ, मोटरसाइकल चलाउन नपाइने

सरकारी योजनाअनुसार सुरुङमार्ग हुँदै नौबिसे – काठमाडौ गुड्ने प्रत्येक सवारी साधनले सरकारलाई २५ रुपैयाँ तिर्नुपर्ने छ । यसबाट नै सरकारले यसको निर्माण पश्चात आवश्यक पर्ने मर्मत खर्च जुटाउने योजना बनाएको छ ।

तर, यो सुरुङमार्गमा मोटरसाइकल चलाउन भने प्रतिबन्ध लगाइने छ । सुरङमार्गमा सरकारले नै मोटरसाइकल ओसार-पसार गर्ने सवारी साधन राख्ने भएको छ । यसरी मोटरसाइकल ओसार-पसार गरेबापत सरकारले २५ रुपैयाँ लिने योजना बनाएको छ ।

श्रेष्ठले भने- ‘सुरुङमार्गमा गलत क्रियाकलाप हुन नपाओस् भनेर मोटरसाइकललाई त्यहाँ चल्न नदिने सोच बनाएका हौं, तर यो सडकबाट सवारी साधनमा चढाएर मोटरसाइकल पास गदिर्ने व्यवस्था गर्छाैं ।’

यस्तो हुन्छ सुरुङमार्ग

श्रेष्ठका अनुसार यो सडकखण्ड कुल ६ किलोमिटरको हुनेछ । तर यसको सुरुङ भने २.४५ किलोमिटरको मात्रै हुनेछ । घन्टांै जाममा बस्नुपर्ने बाध्यता मात्रै होइन, सीतापाइलादेखि नौबिसे सडकखण्ड पनि अहिलेको भन्दा ८ किमी छोटिनेछ ।

यो सडक खण्ड अन्र्तगतको सुरुङ सीतापाइला नजिकैको बस्नेत छापदेखि धादिङको सिस्नेखोलासम्म निर्माण गरिनेछ । सुरुङमार्गमा दु्ईवटा पुल र २ वटा कल्भर्टको पनि निर्माण हुनेछ ।

21-lane-road१२ मिटर चौडाइको यो सडकमा दुवैतिर १/१ मिटरको पैदलयात्रीले प्रयोग गर्ने पेटी राखिने छ । सुरुङमा १४ वटा भेन्टिलेटर र जेट फ्यान राखिनेछ ।

सुरुङमार्ग २ लेन प्लस वान लेन मापदण्डको हुन्छ । २ लेन प्लस वान लेन सडक खण्डमा दुबै साइडका सडक बेलाबेलामा २ लेनमा परिणत हुने र कुनैबेला वान लेनमा खुम्चने हुन्छ । एकपटि्टको सडक २ लेन हुँदा अर्काेपट्टिको सडक १ लेनमा परिणत हुन्छ । यस्तो कार्य भने फेरबदल भइरहन्छ ।

अहिले राजधानीको मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौ प्रवेश गर्नलाई नौबिसेदेखि झन्डै २ देखि ३ घन्टा लाग्छ । जामका बेलामा भने यसको समयावधि अझै लम्बिन्छ । तर, यो सुरुङ निर्माण भएपछि ट्राफिक जामको समस्या समाधान हुन्छ । त्यसपछि नौबिसेबाट २० मिनेटमै सुरुङमार्ग हुँदै सुरक्षितरुपमा काठमाडौं आइपुगिन्छ ।

कलंकी नौबिसे मार्ग उकालो, घुमाउरो र साँघुरो हुँदा ट्राफिक जामको समस्यासँगै बेलाबेलामा हुने दुर्घटनामा समेत कमी आउने श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment