१. रातको नाङ्लोमा
छरिएको मनका टुक्राहरुलाई
रातको नाङ्लोमा खन्याई हेर्छु
र केलाउन थाल्छु
मनभित्रका अनगिन्ती पीडाहरू
द्वेष र क्लेशका दानाहरू
एक-एक प्रष्टिंदै आउँछन्
रातभरि एक्लै केलाइरहन्छु
केलाइरहन्छु…
बिहानीको निम्ती
अक्षता शुद्ध होस् भनेर ।
निर्विकल्प
रातलाई जसले जति गाली गर
रिसाउन जान्दैन ऊ
सत्य जस्तै-
निर्विकल्प छ
को टाढिन सक्छ ऊ बाट ?
को भाग्न सक्छ ऊ बाट ?
आखिर शरणागत हुनु नै छ
दिनका प्रशंसकहरुले पनि
रातको बर्को ओढ्नु नै छ ।
सूर्योदय
मध्यरातमा म
सूर्योदय खोजिरहेछु
एउटा मात्र रात हैन
रातहरुका लस्कर छन्
आत्तिएको छु
सूर्य जस्तै म पनि
रातका तिनै लस्करमा हराउँछु कि भनेर
जन्मिँदै नजन्मी सूर्य
निरन्तर अस्ताइरहेछ रातहरुमा
तर म
सूर्योदय पर्खिरहेछु
यो मध्यरातमा पनि…।