Comments Add Comment

एग्रेसिभ नारायणगोपाल ! बहिनी जिस्काउने खेलाडीलाई पिटेका थिए

'नारान'सँगका दश अनुभूति

दार्जिलिङमा दोस्ती

नारायणगोपाललाई म प्रायः ‘नारान’ भनेर बोलाउँथेँ । सामान्यतया हामी एक-अर्कालाई ‘सोम’ भन्थ्यौं । उसले मेरो नाम लिएर कहिले पनि बोलाएन । निकै अन्तरंग साथी भए पनि हामीले एक-अर्कालाई सधैं तपाईं नै सम्बोधन गर्‍यौं । नारान र गोपाल गोपाल योञ्जन त मित नै थिए, ‘मितज्यू’ भन्थे ।

nagendra-thapa-455
नगेन्द्र थापा

०१९ सालतिर म दार्जिलिङमा बीए पढ्दै थिएँ । सँगै पढ्ने क्रममा गोपालसँग साथी भएँ । नारान चाहिँ त्यतिबेला भारतको बडोदामा शास्त्रीय संगीत पढ्दै थियो । ऊ एकचोटि दार्जिलिङ आएको बेला पहिलो भेट भयो ।

गोपाल, कर्म योञ्जन र म बेलाबेला नारानको स्वरको चर्चा गर्ने गर्थ्यौं, तर प्रत्यक्ष रुपमा देखभेट भएको थिएन । ईश्वरवल्लभसँग भने नारानको संगत रहेछ । वल्लभले लेखेका एक-दुइटा गीत नारानले गाइसकेको थियो । त्यसबेला वल्लभ, वैरागी काइँला दार्जिलिङमै थिए । उनीहरु र इन्द्रबहादुर राई मिलेर तेस्रो आयाम साहित्यिक आन्दोलन चलाएको त्यतिबेलाकै कुरा हो ।

नारानसँग दार्जिलिङमा चिनापर्ची गराउने उनै वल्लभ थिए । औपचारिक चिनजान मात्रै भयो । पहिलो चोटि आउँदा ऊ घुम्न मात्रै आएको थियो । तर, दोस्रो चोटि ऊ आफ्नी पत्रमित्र श्रोतालाई भेट्न आयो । त्यसबेला उसले गाउनको लागि गोपाल योञ्जनका आठ वटा गीत पनि छानेको थियो ।

त्यतिबेला ‘ए कान्छा ठट्टैमा बैंश जान लाग्यो’, ‘स्वर्गकी रानी’ जस्ता गीतबाट नारान चर्चामा आइसक्दा ती गीत सुनेर दार्जिलिङको सुकियामा बस्ने एउटी केटीले उसलाई मन पराउन थालेकी रै’छिन् । उनी रहिछन्, पेमला लामा । उनीहरुबीच पत्र आदानप्रदान हुँदो रै’छ । समय गुज्रिँदै जाँदा पत्रमित्रबाट उनीहरु प्रेमी-प्रेमिका भए । पछि त प्रेम विवाह नै गरे ।

मित्रतामा कस्तो हुन्छ भने, कोहीसित लामो उठबस गर्दा पनि घनिष्ट भइँदैन । नारानसँग भने छोटो समयमै म निकट भएँ । दुई-चार दिनको घुलमिलमै हामी यति नजिक भयौं, मानौं हामी बीसौं वर्षदेखिका साथी हौं । गोपालसँग पनि म त्यस्तै एकदमै तुरुन्तै आत्मीय भएको थिएँ ।

शास्त्रीय संगीतलाई बाईबाई

बीए पास गरेपछि म काठमाडौं फर्किएँ । मलाई गोपाल योञ्जनसँगको दोस्तीको बानी परिसकेछ, काठमाडौं त शून्य लाग्यो । त्यसपछि दार्जिलिङ गएर गोपालकी आमासँग कुरा गरेर उसलाई पढ्ने, बस्ने व्यवस्था मिलाउने वाचा गरी काठमाडौं लिएर आएँ ।

म आएकै समयमा नारान पनि शास्त्रीय संगीत अब नपढ्ने भनेर बडोदाबाट फर्केर आएछ ।

मैले सोधेँ, ‘किन यसरी बीचैमा छोडेर आएको ?’

उसको तर्क थियो, ‘योभन्दा बढी मैले क्लासिकल म्युजिक पढेँ भने म सुगम संगीतमा जान सक्दिनँ । म क्लासिकलमै डुब्छु । एउटा आधार तयार भयो, यति नै पर्याप्त छ ।’

उसका बुबा आशागोपाल नामी सितारवादक हुनुहुन्थ्यो । उहाँमा शास्त्रीय संगीतप्रति गहिरो प्रेम थियो । बुवाको करले नै खासमा नारान बडोदा गएको थियो । तर, नारान त्यसरी पढाइ छोडेर आएपछि आशागोपाल पछिसम्म पनि मलाई भनिरहनुहुन्थ्यो, ‘थापा बाबू, त्यसले टेर्ने तपाईँलाई हो । हामीले भनेको त मान्दै-मान्दैन । शास्त्रीय संगीत सिक्नुपर्‍यो भनेर तपाईंले सम्झाइदिनुपर्‍यो । उसले गाइनेले जस्तो ‘ए कान्छा ठट्टैमा बैंश जान लाग्यो’ जस्तो गीत गाउनुभएन ।’

बुवाकै प्रभावले होला, ऊ सितार पनि राम्रो बजाउँथ्यो ।

नारानको स्मृति अंकसहित पत्रिकाको जम्मा २४ अंक निस्कियो । तर, उसलाई असफल पत्रकार भन्ने बात लाग्ने गरेको छ

असफल पत्रकार होइन

हामीबीच संगीतबारे छलफल पनि हुन्थ्यो । त्यसै क्रममा नारान र म संगीत सम्बन्धी पत्रिका निकाल्नुपर्छ भनेर ‘बागीना’ त्रैमासिक पत्रिका निकाल्न थाल्यौं ।

पत्रिकाको नाम राख्ने कुरामा ‘संगीत’ शब्द नै राख्दा सामान्य भाषा हुन्छ, यसलाई नेपालीकरण गरौं न भन्ने कुरा आयो । संगीतले के-के कुरा बुझाउँछ ? बाजा, गीत, नाच । उसो भए ‘बागीना’ राखौं भनेर त्यो शब्द मैले फुराएँ । यस्तो पत्रिका निकाल्नुपर्छ भन्ने आइडिया चाहिँ उसैको हो ।

नारानको स्मृति अंकसहित पत्रिकाको जम्मा २४ अंक निस्कियो । तर, उसलाई असफल पत्रकार भन्ने बात लाग्ने गरेको छ । त्यसो भन्नेहरूलाई म चुनौती दिन्छु, अहिले कसैले संगीतको त्यस्तो पत्रिका चलाएर हामीले जति अंक निकालेर मात्र देखाऊन्, म उनीहरुलाई गुरु थाप्छु । त्यो त ३०/३२ सालतिरको कुरा हो । त्यसबेलाको भन्दा अहिले संगीत बुझ्ने र संगीत पढ्ने मान्छे धेरै छन् । तर, संगीतको त्यस्तो खँदिलो पत्रिका त खै देखिँदैन ।

त्यसबेला पत्रिकाको लागि लेखरचनाको यति अभाव हुन्थ्यो, एउटै नाम दोहोरिराख्दा राम्रो हुँदैन भनेर म आफ्नो नाम फेरी-फेरी लेखरचना लेख्थेँ । गोपाल पनि सहयोगी थिए । तर, सक्रिय चाहिँ नारान र म थियौं । त्यो समयमा त्यस्तो पत्रिका निकाल्नु नै ठूलो पुरुषार्थ हो ।

संगीतकार, प्राध्यापक अथवा पहलमान !

नारान बितेपछि मैले ०४९ सालमा निस्किएको बागीनाको स्मृति अंकमा एउटा लामो लेख लेखेको थिएँ । त्यसमा अन्तरंग मित्रको रुपमा उसको व्यक्तित्व र विशेषता केलाउँदै सम्भावना दर्शाएको थिएँ –

किलागलमा रहेको उसको पुरानो घरमा सबैभन्दा माथिल्लो तलामा बस्थ्यो । त्यहाँ जाँदा कहिलेकाहीँ ऊ लुंगी र गन्जी लगाएर तानपुरा घुमाउँदै हनुमान नाच भन्दै देखाउँथ्यो

नारान गायक नभएको भए संगीतकार हुन्थ्यो कि ?

संगीतकार पनि नभएको इतिहासको प्राध्यापक हुन्थ्यो कि ?

इतिहासको प्राध्यापक पनि नभएको भए पहलमान हुन्थ्यो कि ?

ऊ कुस्ती खेल्ने पहलमान पनि थियो । त्यो प्रसंग मैले नै लेखेको हो । मेरो लेखकै कुरा ‘कोट’ गर्दै पछि-पछि निकै प्रख्यात लेखकहरुले किताब निकाले । तर, तिनमा कतै पनि स्रोत उल्लेख गरेको छैन । जसले आफ्नो किताबमा कुस्तीवाजको प्रसंग लेखे, त्यतिबेला ती व्यक्तिहरुले नारानलाई भेटेकै थिएनन् ।

उसले कुस्ती सिकेकै हो भन्ने कुरा जिउ हेर्दा पनि थाहा हुन्थ्यो । एकदम बलिष्ठ थियो नारान । किलागलमा रहेको उसको पुरानो घरमा सबैभन्दा माथिल्लो तलामा बस्थ्यो । त्यहाँ जाँदा कहिलेकाहीँ ऊ लुंगी र गन्जी लगाएर तानपुरा घुमाउँदै हनुमान नाच भन्दै देखाउँथ्यो । त्यसरी ऊ उफ्रँदा काठ र माटोको घर लिरिलिरी हल्लिन्थ्यो ।

ऊ भन्थ्यो, ‘बुझ्नुभो सोम, मलाई कुश्तीमा सबभन्दा मन पर्ने शैली चाहिँ धोबीपाट हो ।’

जसरी धोबीहरुले खोला वा पोखरी किनारमा कपडा पछार्छन् नि, त्यसलाई कुश्तीको एउटा कला धोबीपाट भनिँदो रहेछ । त्यस्ता अनौपचारिक कुरा हामीबीच भइरहन्थे । त्यो प्रसंग किलागलमा बस्ने उसका केही अन्तरंग साथी र बाहिर मदेखि बाहेक कसैलाई पनि थाहा छैन । अरुले यसबारे जति पनि लेखेका छन्, मेरो लेख हेरेर लेखे पनि स्रोत नखुलाई लेखेका छन् । मलाई दुःख लाग्छ यो कुरा ।

त्यो मान्छे देख्नमा मात्र गायक हो, अध्येता हो खासमा । असाध्यै पढ्थ्यो । इतिहासको विद्यार्थी हो ऊ । नेपालको इतिहास त कण्ठस्त थियो नै, विश्व इतिहास पनि राम्रो अध्ययन गरेको मान्छे । त्यो बेलामै उसले नियमित पढ्ने पत्रिका थियो, नेशनल जोग्राफिक ।

एग्रेसिभ म्यान !

मान्छे अलि एग्रेसिभ हो नारान । मन नपरेपछि मान्छे कुटि पनि हाल्ने । त्यस्तै कुटाइ खानेमा एउटा फुटबल खेलाडी पनि छ ।

नारानको कान्छी बहिनी थिइन्, शान्ति । एउटा केटोले जिस्काउँदो रै’छ उनलाई, त्यो केटो रै’छ फुटबल खेलाडी । एकदिन त्यसबारे दाइलाई गुनासो गरिन् ।

नारान जुरुक्क उठेर ‘मेरो बहिनीलाई तँ जिस्काउने ?’ भनेर कुट्दै बाहिर लिएर आयो । पिट्ने क्रममा त्यो रेलिङबाट खसाउन लाग्दा मैले रोकेँ

त्यसबेला हाम्रो जमघट हुने ठाउँ न्युरोडको इन्दिरा रेष्टुराँ थियो । साँझपख हामी कविहरु सबै त्यहीँ चिया-कफी खान्थ्यौं, गफ गथ्र्यौं । त्यहाँ आउँदा हामीले पत्ता लगायौं, बिहान प्रायः त्यो केटो इन्दिरामा आउँदो रै’छ । न्युरोडतिरै घर हुँदो हो त्यसको ।

नारानले एकदिन मलाई फोन गरे, ‘आउनुस् न इन्दिरामा एकचोटि ।’

म जाँदा नभन्दै त्यो केटो चिया खाइरहेको रै’छ । नारान जुरुक्क उठेर ‘मेरो बहिनीलाई तँ जिस्काउने ?’ भनेर कुट्दै बाहिर लिएर आयो । बाहिर भर्‍याङ नजिकै रेलिङ थियो, पिट्ने क्रममा त्यो रेलिङबाट खसाउन लाग्दा मैले रोकेँ ।

साथीलाई भने निकै माया गथ्र्यो । पेमलासँग प्रेम विवाह गरेर घरले नस्विकारेपछि नारान पोखरामा कवि भूपी शेरचनको घरमा बस्न थालेको थियो । त्यहाँ डेढ/दुई वर्षसम्म बस्यो । संघर्षको त्यो बेलामा म गोपाल र नारानलाई कुनै काम दिलाउन सकिन्छ कि भनेर विभिन्न मान्छे भेटिरहेको थिएँ, बाझाबाझ गरिरहेको थिएँ ।

त्यतिखेर फोनको प्रचलन कमै थियो । नारान र म चिठी पठाउँथ्यौं एक-अर्कालाई । फलानोसँग यस्तो कुरा भो, उस्तो भो भनेर कुरा हुन्थ्यो ।

नारान चिठीमा रमाइलो पारामा लेख्थ्यो, ‘सोम, को-को मान्छेले तपाईंलाई के के नराम्रो गरेको छ, सप्पै नाम टिपेर राख्नुहोला । म फर्केपछि सप्पैको टाउको फुटाइदिन्छु ।’

गीत छनोटले बनेका नारायणगोपाल

नारान यसरी नारायणगोपाल बनेर श्रोताको मनमा छाउनुमा गीत छनोटको पनि धेरै हात छ । मनपरी गीत गाइदिएको भए त के हुन्थ्यो र ?

नारानको संगीतयात्रामा दुइटा चरण स्पष्ट देखिन्छ । पहिलो, ऊ काठमाडौंमै पढ्दा रत्न शमशेरहरुको गीतलाई संगीतबद्ध गरेर गाउँदाको समय । दोस्रो, गोपाल योञ्जन र मसँग संगत भइसकेपछिको नारान । यी दुईमा निकै भिन्नता पाइन्छ । त्यो अन्तरालमा निकै गम्भीरता र गहिराइ आइसकेको छ ।

त्यसबेला गीतमा नयाँपन लिएर आउनुपर्छ भनेर गोपाल र मैले सुरु गरेका थियौं । त्यसबेला यता (काठमाडौं)को गीतभन्दा उता (दार्जिलिङमा हामीले सिर्जना गरेको) को गीत अलिकति गम्भीर र कविताको नजिक छ । मेरो गीत कस्तो छ, त्यो चाहिँ श्रोताले विश्लेषण गरुन् । गोपालको गीतबाट संगीत हटाइदिनुभो र शब्द मात्र पढ्नुभो भने पनि त्यसले विशेष अर्थ राख्छ । त्यसको साहित्यिक मूल्य छ ।

मैले होच्याएर भनेको हैन, ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ भन्ने गीतबाट संगीत र त्योभन्दा पनि नारानको स्वर हटाइदिने हो भने त्यसको अर्थ छ र ?

नारानले पछि छान्न थालेको हो गीत । जोसुकै गीतकारको पनि गीत लिँदा छानेरै लियो । गीत छनोट गर्ने क्रममा नाम चलेकै गीतकारहरुको गीत पनि पन्छायो ।

गोपाल योञ्जन नभएको भए !

यसको जवाफ अलिकता हाइपोथेटिकल होला । तर, गोपाल योञ्जन नभएको भए नारानको संगीत यात्रामा धेरै नै फरक पथ्र्यो । किनभने जुन तहको नारानको स्वर थियो, त्यो स्वरलाई एकदम रमझम पार्ने र अझ उँचाइमा पुर्‍याउने चिज गोपालको संगीत र शब्दले गरेकै हो ।

त्यसबेला गोपाल योञ्जन र मेरा जुन आठ वटा गीत आए, ती गम्भीर प्रकारका गीतहरु छन् । ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मेरो गीत मेरै प्रतिविम्ब होइन’, ‘जीवनदेखि धेरै थाकेर’ जस्ता गीतहरु खासमा कविता हुन् । गोपाल संगीतकार भई आफैं सशक्त गीतकार पनि थिए ।

त्यसबेला गीत रेकर्ड गर्ने त्यति माध्यम थिएन । वर्षमा, रेडियो नेपालले एक/दुई वर्षमा एकचोटिमा बढीमा चार वटा गीतको कोटा दिन्थ्यो रेकर्ड गर्न । अब गोपालले मेरो गीत गर्ने कि आफ्नै गीतमा काम गर्ने ? त्यस कारण गोपालले मलाई गीत लेख्न कर गरे पनि   हुन्छ, लेखिहाल्छु भने पनि टारिरहेँ । मैले जति पनि गीत लेखेँ, दार्जिलिङमै लेखेँ ।

गोपालकै गीतहरु अगाडि आओस् भन्ने हिसाबले म पछाडि बसेँ । नेपाली सुगम संगीतलाई जति योगदान नारान र गोपालले दिन सक्छन्, त्यसैमा मैले ध्यान केन्द्रित गर्नुपर्छ भन्ने लाग्यो । आफू पृष्ठभूमिमा बसेर यिनीहरुलाई सधैं अगाडि सारिराख्नुपर्छ, त्यसैमा मैले सन्तुष्टि मानेँ ।

पुनर्मूल्यांकनका कुरा   

राजनीतिक परिवर्तनको लहरसँगै हिजोआज विगतका कतिपय कुरामा पुनर्मूल्यांकन गर्ने कुरा उठ्ने गरेको पाइन्छ । नारानले कस्ता गीत गाए भनेर पनि खोज र मूल्यांकन गर्नुपर्ने कुरा आउने गरेको छ । समाज र मान्छेसँग उसका गीत कति जोडिन्छन् भनेर प्रश्न उठ्ने गर्छ । तर, नारान र गोपाल मरेर गइसक्दा यसरी पुनर्मूल्यांकन गर्ने हो भने पनि उनीहरुको पुनर्जन्म हुन्छ जस्तो लाग्छ, कृतिको रुपमा ।

नारानको गायकीमा त पुनर्मूल्यांकन गर्ने कुरै छैन । अहिलेसम्म उसको छेउमा पर्ने गायक जन्मिएको छैन । नारानले अधिकांश गीत गोपालकै शब्द र संगीतमा गाएको छ । गोपालको गीत र संगीत यति बेजोड छन्, मान्छेको जीवनसँग निकै निकट छ । राष्ट्रियता, धर्म, प्रेम विषयको गीतमा नयाँ परिभाषा छ ।

पुनर्मूल्यांकन गर्नु भनेको उनीहरुको गीत र संगीत कस्तो छ, जीवनसँग कति नजिक छ र जीवनलाई कसरी व्याख्या गरेको छ भन्ने कुरा नै बुझ्ने हो । त्यसबाट गोपाल र नारानको नाम मात्रै सुनेका र फाटफुट गीत सुनेका अहिलेको नयाँ पुस्ताले पनि उनीहरुको बारेमा थप बुझ्न पाउँछन् ।

नारानले गाएका गीतमा जनताका कुरा कति छन् भन्ने प्रश्न गर्दा त्यो त कन्टेन्टमा देखिने कुरा हो । कम्युनिष्टहरुले भने जस्तो गरेर नारा गीतमा लेखिने हैन । ठाड्ठाडै नारा चाहिँ गीतमा हुँदैन । कलात्मक तरिकाले जीवनलाई परिभाषित गरिने हो । पुनर्मूल्यांकन गर्दा उधिने पनि उनीहरुको राम्रै पक्ष निस्किन्छ नि ! उनीहरुले नराम्रो के गरेको छ र ?

स्वर-सम्राट्को उपाधि

एक समय नारान र गोपाल दुवै संघर्षमा थिए । दुवैलाई जागिर ख्वाउनुपर्छ भनेर म प्रयास गरिरहेको थिएँ । पेमलासँग बिहे गरेर नारान पोखरामा बसिरहेको थियो ।

narayan-gopal-and-bhupi-sherchan
नारायण गोपाल (बायाँ) र भूपी शेरचन

जीविकोपार्जनमा संघर्षको अवस्थामा भए पनि गीतबाट नारान चर्चामा आइसकेको थियो । त्यही बेला मैले ०२७ साल भदौमा ‘धूपी’ नामको पत्रिकामा नारान र गोपालमाथि एउटा लेख लेखेँ, ‘प्रोमिथियसको आगो: अराकनीको धागो’ । त्यही लेखमा मैले पहिलो चोटि स्वर-सम्राट् शब्दको प्रयोग गरेको थिएँ । लेखेको थिएँ, ‘फेवातालमा देखिने माछापुच्छ्रेको प्रतिविम्बमा आत्महत्या गरिरहेछ- स्वर-सम्राट् । प्रतिविम्बमा देखिने घोप्टिएको माछापुच्छ्रेको शिखर छुने प्रयास गर्छ- स्वर-सम्राट् । … … नारान नेपालीको एकमात्र गायक हो – स्वर-सम्राट् ।’

त्यसबेला मेरो स्वार्थ पनि हो, नजिकको साथी भएकोले आत्मीयतावश र उसको खुबीलाई सम्मान गर्दै मैले ‘स्वर-सम्राट’ भनेको हुँ । लिखित रुपमै पत्रिकामा छ त्यो ।

त्यसबेला धेरै जना निस्किए, स्वर-सम्राट् आफूले भनेको भनेर । हुन त नारान, गोपाल र पेमला सबै जना बितिसकेपछि जसले जे बोल्दा पनि भयो, भेरीफाइ गर्ने ठावैं भएन अब ।

तर, उसलाई स्वर-सम्राट् बनाउने हिसाबले मैले त्यो शब्द प्रयोग गरेकै होइन । पछि ऊ स्वर-सम्राट् होला भनेर पनि होइन । स्वर-सम्राट् भनाउने जिम्मेवार निकाय पनि म होइन फेरि । यो राजाले बक्सिस दिएको कुरा पनि होइन । यो वास्तवमा जनताले दिएको कुरा हो ।

मिडियाले बनायो स्वर-सम्राट्

०४७ सालमा नारान बिरामी भयो । मधुमेहको रोगले च्यापेपछि वीर अस्पतालमा भर्ना गरियो । त्यसबेला कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए । प्रधानमन्त्री अस्पताल आइराख्थे । गणेशमान सिंहहरु पनि हालचाल बुझ्न दैनिकजसो अस्पताल आउँथे ।

मेरो र श्रीमतीको त बासै अस्पतालमा हुन्थ्यो । हामी खाना खान मात्र घरमा पुग्थ्यौं ।

गणेशमानहरू अस्पताल पुगेर नारानको चर्चा गरिसकेपछि त्यो कुरा समाचारमा त आउने नै भयो । उनीहरुले अस्पताल भिजिटबारे मेन न्युज नै आउन थाल्यो । विशेष गरेर रेडियो नेपालको समाचार नै नारायणगोपालबाट सुरु हुन्थ्यो । अलि दिनपछि त रेडियोबाट उसको बारेमा स्वास्थ्य बुलेटिन नै आउन थाल्यो ।

मान्छेहरूले जताततै नारायणगोपाल भनेर हेर्न र सुन्न थाले । त्यसले जनमानसमा संवेदना जाग्दै गयो । महिना दिनभन्दा बढी अस्पताल भर्ना भयो ऊ । त्यसरी जनताले बनाएको हो स्वर-सम्राट् । उसको निधन भएपछि शवयात्रामा व्यापक उपस्थिति देखियो । खासमा स्वर-सम्राट् भनेर स्वीकार गराउने काममा मिडियाको ज्यादै ठूलो हात छ । साँच्चै भन्ने हो भने मिडियाले नै बनाएको हो नारानलाई स्वर-सम्राट् ।

उसको खास रोग मधुमेह भए पनि अरु असर देखियो । मिर्गौला फेल भो । हामीले मिर्गौला प्रत्यारोपण गराउन मद्रास लैजाने भनेर सबै तयारी गरेका थियौं । त्यसमा वसन्त चौधरीको अग्रसरता थियो । त्यही बेला नारानलाई हृदयाघात भएपछि स्थिति कठिन भयो । त्यो ठीक होला भनेर कुर्दाकुर्दै मस्तिष्काघात भयो । त्यसपछि स्वास्थ्य फर्कन सम्भव भएन ।

महाँकालको पूर्वपट्टि बसेर उसले त्यो एक पाउ गुँदपाक सिध्यायो । त्यति नै बेला मैले उसलाई समातेँ । भोलिपल्टदेखि ऊ साँझपख न्युरोड आउन छाड्यो

खासमा उसको स्वास्थ्य खानपिनले बिगारेको हो । खानपिनमा असाध्यै सौखिन मान्छे थियो । उसलाई खसीको मासु नभई नहुने, त्यसमा पनि ह्याकुला नै चाहिने । जिउ पनि ठूलो दारको भएकोले बढी खाने । एक किलो नै मासु ल्यायो भने दिनभरिमा एक्लैले चापचिप पार्ने ।

अर्को खान्की थियो, गुँदपाक । गुलियो र चिल्लो त्यस्तै हुने त्यो त विषै भयो । ऊ न्युरोड गएर गुँदपाक किनेर खाँदो रहेछ । हामी त दैनिक साँझपख न्युरोड पिपलबोटमै हुन्थ्यौं । तर, ऊ त्यस्तो न्युरोड आउने मान्छे होइन । तर, केही दिनदेखि अलि लगातार आउन थाल्यो ।

मोटरसाइकलमा आउने, बाइक पिपलबोटकै एक छेउमा राख्ने, हामीसँग एकछिन कुरा गरेको जस्तो गर्ने अनि सुइत्त न्युरोड गेटतिर जाने । मलाई शंका लाग्यो ।

एकदिन मैले उसको आँखा छल्दै पिछा गरेँ । ऊ गेटैनेरको कृष्ण गुँदपाक भण्डारमा गयो र एउटा चिज हातमा पोको पारे टुँडिखेलतिर लाग्यो । पसलेलाई सोध्दा उसले एक पाउ गुँदपाक किनेको थाहा पाएँ । उसको नित्य कर्म नै रहेछ यो ।

त्यसपछि टुँडिखेलमा महाँकालको पूर्वपट्टि बसेर उसले त्यो एक पाउ गुँदपाक सिध्यायो । त्यति नै बेला मैले उसलाई समातेँ । भोलिपल्टदेखि ऊ साँझपख न्युरोड आउन छाड्यो ।

प्रस्तुति: जोतारे धाइबा

नारायण गोपाललाई ‘धर्मपुत्र’ राख भन्दा बिझाउँथ्यो

नारायणगोपालको त्यो अन्तर्वार्ता …

नारायणगोपालसँग जाडोमा लुगलुग काम्दा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment