Comments Add Comment

मधेसी जनतालाई अपमान नगर्न ओलीलाई चेतावनी

शीतलनिवासमा देउवाले ओलीलाई हप्काए- ओ मिस्टर, चुप !

president-and-majour-party-meeting

२० मंसिर, काठमाडौं । आइतबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा शेरबहादुर देउवाले केपी ओलीलाई हप्काएको दृश्य देखेर सबैजना चकित परे । देउवाले औंलो तेर्स्याउँदै केपी ओलीलाई ‘ओ मिस्टर चुप’ भनेर हपारेपछि ओली शीतलनिवासबाट बाहिरिएको बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

के-के भयो शीतलनिवासमा ?

सर्वदलीय बैठकको प्रारम्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले छोटो भूमिका बाँधेकी थिइन् । आफूले यसरी सर्वदलीय बैठक राखेको दोस्रोपटक भएको सुनाउँदै राष्ट्रपतिले सबै दलहरुलाई मिलेर सहमतिका आधारमा अघि बढ्न आग्रह गरिन् । त्यसपछि नेताहरुको बोल्ने पालो आयो ।

सुरुमा कसले बोल्ने भन्दाभन्दै एमाले अध्यक्ष केपी ओलीले बोल्न सुरु गरे । उनले राष्ट्रपतिलाई सम्वोधन गरे पनि राष्ट्रपतिसँगै बसेका प्रधानमन्त्री र सभामुखलाई सम्वोधन गरेनन् । ओलीले यो कसरी बनेको भन्ने थाहा छँदैछ भन्दै अर्कैको योजनामा संविधान संशोधन प्रस्ताव आएको आरोप लगाए ।

नेपाली कांग्रेसका कारण प्रमुख दलहरुवीचको सहमति टुटेको ओलीले बताए । सरकारले संसदमा पेश गरेको ५ नम्बर प्रदेश हेरफेर गर्ने प्रस्ताव राष्ट्रिय हित विपरीत भएको र असंवैधानिक भएकाले त्यसलाई फिर्ता लिए सहमतिका लागि सोच्न सकिने बताए । ओलीले सरकार गठनदेखि संविधान संशोधन दर्तासम्म विदेशीको डिजाइन रहेको संकेत गरेका थिए ।

केपी ओलीले बोलिसकेपछि राप्राका नेता कमल थापाले ओलीको काउन्टरमा बोले । संविधान बनाउँदै गर्दा पनि मधेसका मागहरु सम्बोधन गर्ने सहमति प्रमुख दलवीच भएकै हो भन्दै थापाले अहिलेको संशशोधन प्रस्तावको कन्टेन्टमा आफूलाई पनि चित्त नबुझेको बताए । तर, यसबाट समस्या समाधान हुन्छ र चुनावमा जान सकिन्छ भने यसलाई मानेर, मधेसी दललाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा कमल थापाले बैठकमा राखे ।

राप्रपा अध्यक्ष थापाले संसद अवरुद्ध पारेकोमा एमालेको आलोचना गरे । सबै समस्याको समाधान सदनबाटै हुनुपर्ने भन्दै थापाले संविधान संशोधनलगायतका सबै विषयहरुको टुंगो संसदभित्रैबाट लगाइनुपर्ने बताए ।

कमल थापापछि बोलेका माले महासचिव सीपी मैनालीले राष्ट्रिय पोशाक दौरा सुरुवाललाई किन हटाइयो भन्ने प्रश्न गरे ।

मैनालीपछि छोटो बोलेका कांग्रेस सभापति शेरबहादुर देउवा असाध्यै आक्रोशित रुपमा प्रस्तुत भए । मधेसी जनताको देशभक्तिमाथि कसैले प्रश्न उठाउन नमिल्ने र मधेसका जनतालाई होच्याउन नपाइने भन्दै देउवाले ओलीलाई सचेत गराए ।

ओलीले प्रधानमन्त्री र सभामुखलाई सम्वोधन नगरेजस्तै देउवाले पनि ‘राष्ट्रपतिजी’ बाट कुरा सुरु गरेका थिए । उनले ओलीतिर फर्केर पाँच नम्बर प्रदेशबारे विगतमा आफैंले सही गर्दा राष्ट्रघाती नहुने, अहिले राष्ट्रघाती हुने ? भन्ने प्रश्न गरे ।

देउवाले बोलिरहेका बेला ओलीले ‘त्यसो भन्न खोजेको होइन’ भन्दै प्रष्टीकरण दिन खोजेका थिए । तर, देउवाले उनीतिर औंलो तेर्स्याउँदै भने- ‘ओ मिस्टर चुप !’

शेरबहादुरले डाँडेको केहीबेरमा केपी ओली उठेर हिँडे । बैठकमा सहभागी एमालेका अन्य नेता वामदेव गौतम, विष्णु पौडेल लगायतले भने औपचारिकरुपमा बोलेनन् तर पछिसम्मै सहभागिता जनाए ।

कांग्रेस सभापति देउवा पनि खानपिनमा सहभागी नभई वीचैमा हिँडेका थिए । कांग्रेस नेता कृष्ण सिटौला र प्रकाशमानसिंह चाँहि पछिसम्म बसेका थिए ।

सर्वदलीय बैठकमा मधेसी मोर्चाका नेता उपेन्द्र यादवले संघीयताले देश विखण्डन नहुने व्याख्या गरेका थिए । यादवसँगै बसेका विजय गच्छदारले १६ बुँदे आफूले गराएको भन्दै आफ्नो भूमिकालाई पनि सम्झिइदिन आग्रह गरे ।

मोर्चाका नेता महन्थ ठाकुरले मधेसी समुदायको देशभक्तिमाथि आंशका नगर्न आग्रह गरे । इतिहास फेरिए पनि भूगोल फेरिँदैन भन्दै उनले इतिहासका कारण पहाड र मधेस एक भएर बसेको हुनाले मधेसको भावनालाई कदर गर्न आग्रह गरे ।

मधेसी मोर्चाका अर्का नेता राजकिशोर यादवले अष्टावक्रको कथा सुनाउँदै एमाले नेताहरुमाथि व्यंग्य गरे ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केहीले संघीयताका कारण भाँडभैलो मच्चिने आफूले पहिल्यैदेखि बताउँदै आएको सुनाए ।

बैठकको अन्त्यतिर बोल्दै प्रधानमन्त्री प्रचण्डले जसको जस्तो चेतनास्तर छ, त्यस्तै रुपमा प्रस्तुत हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment