Comments Add Comment

काव्य-मेलामा शशी-शीतल

kavita

चितवनमा कवि शशी लुमुम्बू र नवोदित कवि शीतल लामा कविता वाचनमा उभिएका थिए । उनीहरुलाई अराजक अक्षर समूह, भरतपुरले ‘काव्य-मेला’को तेस्रो संस्करणमा प्रस्तुत गरेको थियो । कर्मी नाट्य समूह र होमिज युथ क्लबको सहकार्यमा भरतपुर उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा शशीले एक दर्जन कविता पस्किए ।

‘साथी’ शीर्षक कविताबाट वाचन सुरु गर्दै उनले सशस्त्र द्वन्द्व, समसामयिक राजनीति र प्रेमसम्बन्धी कविताहरू सुनाए । उनले ‘सन्त्रासहरू’, ‘दिलसराको चिहान’, ‘धुमिल गोरेटो’, ‘अर्गानिक मान्छे’, ‘आदिवासी राजकुमारी’, ‘पहाडबूढो’ लगायत कविता सुनाउँदा श्रोताहरु कहिले दशवर्षे द्वन्द्वको घाउ सम्झिरहेका थिए भने कहिले मानवीय संवेदना केलाइरहेका थिए ।

शशीले आफैंलाई पात्र बनाएर लेखेको ‘राजधानी प्रवेश’ कविता धेरै ग्रामीण युवाहरूको राजधानी आगमन र जीवनसङ्घर्षसँग मेल खान्थ्यो-

ए नागार्जुन !

सुनाइदेऊ खबर सिंहदरबारहरूलाई

कि, दुर्गम गाउँबाट एकजना स्वप्नजीवी

जिन्दगी जस्तो जिन्दगी खोज्दै

भर्खरै राजधानी आइपुगेको छ… ! 

कविता वाचनको पहिलो चरणमा प्रस्तुत भएकी शीतल लामाले ‘जाल’, ‘अन्तिम पटक’, ‘समर्पण’, ‘बसाइसराइ’, ‘भोक’ लगायत ११ वटा कविता सुनाइन् । शीतलका कवितामा किशोर मनका भावना, सपना र सामाजिक परिवेश व्यक्त भएका थिए ।

दुई पुस्ताका कविका सिर्जनाहरु सुनेपछि चितवनका अग्रज कवि तथा गीतकार प्रेमविनोद नन्दनले बाउ पुस्ता र छोरी पुस्ताको कविता सुन्न पाउँदा आनन्दित भएको बताए ।

कार्यक्रमका व्यवस्थापक असीम हमालका अनुसार, भरतपुरमा नाटकघर निर्माणमा सहयोग जुटाउन ‘काव्य-मेला’ गरिएको बताए । कार्यक्रम संयोजक मुकुन्द खलपात्र, उत्तम गुरुङ लगायतले कार्यक्रमको उद्देश्यका साथै कविद्वयका बारेमा प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment