Comments Add Comment

मैले सासूको खुट्टा किन ढोग्ने ?

संस्कारगत हिसाबले महिला हेपिएको बारेमा एक पुरुष मित्रसँग केही समयअघि चर्काचर्की चल्यो ।

मित्रले चर्को स्वरमा भने, ‘नेपालको धर्म र संस्कारले महिलालाई कसरी हेपेको छ ? महिलालाई माथि उठ्न कसले रोकेको छ ? उनीहरु त आफ्नो सोचाइ नै तल्लो स्तरको भएकोले आफैं दबिएका हुन् !’

kalika-siwakotiमैले प्रतिवाद गर्दै भनेँ, ‘धर्म-संस्कार अनि पितृसत्तात्मक सोचले महिलालाई नजानिँदो तरिकाले हिंसामा पारिरहेको छ ।’

म एकजना पढेलेखेकी केटी, आफ्नै कमाइमा बाँचेकी छु । परिवारका पनि नपढेका र नबुझेका कोही छैनन् । आफ्नो खुट्टामा उभिएकी केटीलाई श्रीमान् र घरपरिवारबाट पाउने माया कस्तो हुन्छ, त्यो अनुभव गरेकी छैन । किनभने म अविवाहित हुँ ।

एकदिन एक विवाहित साथीले सासूको खुट्टा ढोग्नुपरेको दिग्दारी पोखिन् । हाम्रो संस्कार अनुसार कुनै पनि छोरी बिहे गरेर श्रीमानको घरमा गएपछि सासू, आमाजू लगायत मान्यजनको खुट्टा ढोग्नुपर्ने संस्कार छ । ती साथीको पीडा सुनेर मलाई आफ्नै संस्कारप्रति वितृष्णा जाग्यो । हरेक दिन सासूको खुट्टा ढोग्नुपर्ने नियम एक हिसाबले उत्पीडन र हिंसा खेप्नु नै हो ।

ठूलाबडालाई सम्मान गर्नु र आशीर्वाद थाप्नु राम्रो कुरा हो । तर, मान्यजनको खुट्टा ढोग्नुपर्ने संस्कार नै आफैंमा विभेदकारी छ । छोरीले सासू-आमाजूको खुट्टा ढोग्नुपर्छ, तर ज्वाइँले त्यस्तो गर्नु पर्दैन । बुहारी मात्र संस्कारी हुनुपर्ने यही नियम नै खासमा चित्त नबुझ्ने पाटो हो ।

एउटी बुहारीको रुपमा मैले सासूको खुट्टा ढोग्दा समाज हषिर्त बन्छ । मैले संस्काररुपी बुहारीको उपमा पाउनेछु र श्रीमानका घरपरिवारले मेरो माइतीलाई सलाम गर्नेछन् । यसरी श्रीमानको घरमा हाँसो ल्याउन र माइतीलाई स्याबासी ख्वाउन म मन नलाग्दानलाग्दै पनि त्यस्तो चलन अन्धाधुन्ध किन स्विकार्छु ? किनकि धर्म र संस्कार नै त्यस्तै छ । हो, यसरी संस्कारको नाममा नजानिँदो पाराले मन्द विष जसरी कुसंस्कारले महिलाहरुले हिंसा खेपिरहेछन् ।

माथिका हरफ पढेर मलाई आफूभन्दा ठूला व्यक्ति आदर नगर्ने र धर्म-संस्कार लत्याउने भनेर गलत अर्थ नलगाइदिनुहोला । नारीलाई लक्ष्मी, देवी, सरस्वती, दुर्गा मानेर पूजा गर्ने हाम्रो धर्म-संस्कारलाई म आदर गर्छु । तर, जुन धर्म र संस्कारको नाममा महिलालाई हिंसामा पारिरहेको छ त्यसको बारेमा मात्र बोल्न लागेकी हुँ ।

एउटी बुहारी सासूलाई स्वेच्छाले खुट्टामा ढोग्छे र त्यो कुरामा ऊ खुसी छे भने समस्या भएन । तर, दिनैपिच्छे सासूलाई ढोग्नुपर्ने कुरालाई लिएर ऊ आफूलाई दासी र हिंसामा परेको महसुस गर्छे भने त्यो कुसंस्कार नै हो । यो त धर्म-संस्कारको नाममा चुप रहन बाध्य हुनुपरेको एउटा उदाहरण मात्र हो । महिलाहरुले यसरी संस्कारको आवरणमा बाध्य भएर हिंसा खेप्नुपरेको उदाहरण अनेकौं छन् ।

मानिस सामाजिक प्राणी हो । समाजको जालोभित्र धर्म, संस्कार पनि समाजशात्र अनुसार मानवनिर्मित हुन् । कतिपय संस्कार समयक्रममा परिष्कृत भएका पनि छन् । तर, अझै केही ज्यूँका त्यूँ छन् ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान र प्रत्येक मार्च ८ -नारी दिवस) निकालिने र्‍याली र गरिने गोष्ठी-सेमिनारले महिलाले खेपिरहेका विभेद र उत्पीडनलाई सम्बोधन गर्न सकेको पाइँदैन । धर्म-संस्कारले महिलालाई कति हिंसामा पारेको छ भन्ने कुरा प्रत्यक्ष रुपमा नदेखिए पनि यसले भित्रभित्रै असर गरिरहेको छ ।

घरपरिवारले हामीलाई सानो उमेरदेखि नै अर्ती-उपदेश दिन्छ, ‘पतिलाई भगवान् मान्नू, उसले जे भने पनि नाइँनास्ती नगर्नू, उसका गलत व्यवहार पनि कसैलाई नभन्नू, मुखमुखै नलाग्नू, सासू, नन्द र आमाजूलाई रिझाउनू ।’

यसरी आफन्त तथा आमाले दिएको उपदेशलाई शिरोधार्य गरेकी महिला अन्ततः पुरुषको दासी बन्छे । व्रत र उपवास बस्छे । पतिलाई हरतरहले सन्तुष्ट राख्छे । त्यस क्रममा आफ्नो खुसीको बलि दिइरहन्छे । किनकि उसलाई संस्कारयुक्त बाबु-आमाकी संस्कारी बुहारी बन्नु छ ।

के एउटा नारीको कुनै इच्छा र आकांक्षा हुँदैन ? आफू महिला भएकै कारणले अरुका लागि आफ्नो सबै इच्छा मार्नुपर्ने हो ? अफिस गएकी एउटी छोरी छरछिमेकले नराम्रो सोच्लान् भन्ने आशाले घाम डाँडामा नबस्दै हतारिएर घर दगुर्नुपर्ने हो ? अफिसमा रातिको ड्युटी परेपछि समाज र घरपरिवारको नजरमा राम्रो देखिन उसले राजीनामा नै दिनुपर्ने हो ?

बोलीचालीमा नारी र पुरुष बराबर भनिन्छ । एउटै परिवारमा अफिस गएकी छोरी साँझ बितेपछि र्फकँदा घरमा उसको सातो लिइन्छ, तर त्यही घरको छोरा आधा रातमा आउदा पनि केही भनिँदैन । यस्तो हुनुमा हाम्रो समाजमा रहेको संस्काररुपी कुंसस्कार लुकेको छैन र ?

महिलालाई तल्लो दर्जाको साबित गर्न समाजमा उखान टुक्का पनि नानाथरि गाँसिन्छ । महिला अलि जान्नेसुन्ने भई र आफ्नो लागि आवाज उठाउन थाली भने ‘पोथी बास्यो भने राम्रो हुँदैन’ भनिन्छ । अर्को उखान छ, ‘छोरा भए पाल्छन्, छोरी अर्काको घर टाल्छन् । यसले समाजमा छोरी-चेलीलाई कुन रुपमा हेरिन्छ भन्ने देखाउँछ ।

नारी शोषण, दमन, अन्याय र अत्याचारका रुपहरु देख्दा कहिलेकाहीँ त मनले सोच्न पुग्छ, प्रकृतिले नै नारीलाई श्राप दिएर जन्मायो कि ! किनकि आजको प्रविधि र चेतनाको दृष्टिले अग्रगामी युगमा आइसक्दा पनि केही परिवर्तन देखिए पनि नारीमाथिको विभेद उस्तै छ ।

महिला अधिकार रक्षाका लागि महिला मात्रै अगाडि सरेर पनि सम्भव छैन । लैंगिक विभेद विरुद्ध पुरुषलाई पनि जतिसक्दो बढी सहभागी गराउनु आवश्यक छ । अनि मात्र महिला र पुरुषबाट बनेको यो सामाजिक कुसंस्कारको पर्दार् च्यात्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment