Comments Add Comment

नेपालका २८ बैंकमध्ये कुन उत्कृष्ट, कुन कमजोर ?

क्यामेल्स रेटिङमा स्टाण्डर्ड चार्टड अगाडि, सिभिल कमजोर

bank

२१ मंसिर, काठमाडौं । विदेशी लगानीको स्टाण्डर्ड चार्टड बैंक क्यामेल्स रेटिङमा सबैभन्दा अग्रस्थानमा देखिएको छ । बैंकको वित्तीय अवस्था झल्काउने विधि क्यामेल्सका आधारमा गरिएको अध्ययन अनुसार मुलुकका २८ बैंक मध्ये स्टाण्डर्ड चार्टड सबैभन्दा उत्कृट बैंक देखिएको हो ।

हालैमात्रै बैंकहरुले प्रकाशित गरेको प्रथम त्रैमासिकको वित्तीय विवरणको आधारमा पुँजी पर्याप्तता अनुपात, सम्पत्ति, व्यवस्थापन, आम्दानी, तरलता र जोखिमप्रतिको संवेदनशीलतालाई क्यामेल्स विधिअनुसार अंक दिँदा स्टायण्डर्ड चार्टड बैंक १ नम्बरमा परेको हो।

के हो क्यामेल्स रेटिङ ?

क्यामेल्स ६ वटा सूचकलाई हेरेर तयार गरिन्छ । ६ मध्ये जोखिमप्रतिको संवेदनशीलता र व्यवस्थापन सम्बन्धी अंक भने स्थलगत वाणिज्य बैंकको निरीक्षणपछि मात्र गर्न सकिन्छ । जसले गर्दा यहाँ ४ सूचकलाई मात्र आधार बनाएर अध्ययन गरिएको छ ।

क्यामेल्स रेटिङको सुरुवात अमेरिकाबाट भएको हो । अमेरिकाको केन्द्रीय बैंकले सन् १९७९ मा यो विधिअनुसार बैंक तथा वित्तीय संस्थाको अवस्था अध्ययन गरेको थियो ।

अहिले विश्वभर रहेका कैयन बैंक तथा वित्तीय संस्थाले बैंकहरुको अवस्था थाहा पाउन यसै बिधीबाट अध्ययन गर्ने गर्दछन् ।

क्यामेल्स शब्द सी ए एम ई एल एस जोडेर बनेको छ । यसमा सीको अर्थ क्यापिटल एड्युक्वेसी जसलाई नेपालीमा पुँजी पर्याप्तता अनुपात भनिन्छ ।

वाणिज्य बैंकले कर्जा लगानी गर्दा कति पुँजी आवश्यक हुन्छ भनेर तोकिएको मापदण्ड पुँजी पर्याप्तता अनुपात हो ।

त्यस्तै ए को अर्थ एसेटस हो, जसलाई नेपालीमा सम्पत्ति भनिन्छ । सम्पत्तिको अवस्था मापन गर्ने यो सूचकबाट खराब र असल कर्जालाई छुट्याइन्छ ।

एम को अर्थ म्यानेजमेन्ट हुन्छ जसलाई नेपालीमा व्यवस्थापन भनिन्छ । यो सूचकमा बैंकको व्यवस्थापनको कार्यक्षमता हेरिन्छ ।

ई अर्थात अर्निङ जसलाई नेपालीमा आम्दानी भनिन्छ । संस्थाको नाफा, भविष्यमा नाफा कमाउन सकिने सम्भावना र नाफाको वृद्धिदरजस्ता यस सूचकमा अध्ययन गरिन्छ ।

एल लिक्युडिटी हो, जसको अर्थ नेपालीमा तरलता हुन्छ । यसबाट बैंकको लगानी गर्न योग्य पुँजी र तरलताको अवस्था देखिन्छ ।

एसले सेन्सिटिभिटी अफ मार्केट रिस्क जनाउँछ, जसलाई नेपालीमा जोखिमप्रतिको संवेदनशीलता भनिन्छ । यसमा ब्याजको जोखिम र कुल आयमा ब्याज आयको अनुपात हेरिन्छ ।

स्टाण्डर्ड चार्टड अब्बल, सिभिल बैंक कमजोर

क्यामेल्स रेटिङ गर्दा स्टाण्डर्ड चार्टडसँगै अरु पनि विदेशी लगानीकै बैंक अगाडि देखिएका छन् । क्यामेल्स रेटिङका आधारमा नबिल, सानिमा र नेपाल एसबिआई बैंक अग्रस्थानमा देखिएका छन् ।

क्यामेल्स रेटिङमा अग्रस्थानमा रहेका ५ बैंक

बैंक पुँजी पर्याप्तता सम्पत्ति आम्दानी तरलता प्राप्त अंक
स्टाण्डर्ड चार्टड ८२.७ ९३.८ ६१.५ ५५.९ ७३.५
एभरेष्ट ६६.१ ९८.८ ७९.५ ४६.१ ७१.१
नबिल ५९.० ७८.२ ९१.८ ५३.१ ७०.५
सानिमा ६५.२ ९८.९ ६७.७ ४४.७ ६९.१
नेपाल एसबिआई ६४.५ ९७.८ ६७.७ ४१.० ६७.७

 

त्यस्तै क्यामेल्स रेटिङको आधारमा सबैभन्दा कमजोर भने सिभिल बैंक देखिएको छ । क्यामेल्स रेटिङका आधारमा सिभिल सँगै प्रभु, कृषि विकास, लक्ष्मी, र जनता बैंक सबैभन्दा कम अंक प्राप्त गर्नेमा परेका छन् ।

 

क्यामेल्स रेटिङमा सबैभन्दा कम अंक प्राप्त गरेका बैंक

बैंक पुँजी पर्याप्तता सम्पत्ति आम्दानी तरलता प्राप्त अंक
सिभिल ६१.४ १७.४ ५.४ ४२.४ ३१.६
प्रभु ५२.६ ०.० ६०.३ ५२.० ४१.२
कृषि बिकास बैंक ८३.६ २३.४ ३०.० ४०.९ ४४.५
लक्ष्मी ५४.४ ६६.४ ३२.१ ४२.१ ४८.७
जनता ६०.७ ७६.४ ३४.३ ४२.९ ५३.६

 

राष्ट्र बैंकले पनि आन्तरिक प्रयोजनका लागि क्यामेल्स रेटिङ गर्ने गरेको छ । जसलाई आधार बनाएर सम्बन्धित संस्थालाई सुधारको निर्देशन पनि दिने गर्दछ। राष्ट्र बैंकले अध्ययन गरेको यस्तो रिपोर्ट भने सार्वजनिक हुँदैन ।

स्टाण्डर्ड चार्टड बैंकका मार्केटिङ एन्ड कर्पाेरेट अफेयर्स प्रमुख दिवाकर पौडेलले स्टाण्डर्ड चार्टडले प्रभावकारी कार्यक्षमता प्रदर्शन गरेकाले नै क्यामेल्स रेटिङमा अग्रस्थानमा परेको हो।

उनले भने, ‘बैंकको कार्यक्षमता राम्रो छ जसका कारण क्यामेल्स मापनका विभिन्न सुचकहरुमा हामी अब्बल देखिएका हौं ।’ व्यवस्थापन पक्ष राम्रो भएका कारण पनि स्टायण्र्ड चार्टड क्यामेल्स रेटिङमा १ नम्बरमा परेको उनको भनाइ छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले क्यामेल्स रेटिङले बैंकको स्थितिको बारेमा चित्रण गर्ने बताउँछन् । उनले भने, ‘यसले बैंकको स्थिति कस्तो छ भन्ने देखाउँछ, त्यसैले बैंक तथा वित्तीय संस्थाका बारेमा बुझ्न यो महत्वपूर्ण छ । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment