Comments Add Comment

विदेशीको सहयोगमा सिङ्गो गाउँ पुनर्निर्माण, घरघरै धारा

२१ मङ्सिर, श्रीनाथकोट (गोरखा) । भूकम्प गएको २० महिनापछि गोरखाको श्रीनाथकोट गाविस–३ डाँडागाउँका भूकम्प प्रभावितले नयाँ घर पाएका छन् ।

एकासीवटा घर, घरघरै खानेपानीसहितको धारा निर्माण, तीन किलोमिटर सडकको स्तरोन्नति र एक विद्यालयको पुनःनिर्माण कोरियास्थित बेटर वल्र्ड नामक संस्थाले अनुग्रह सामुदायिक विकास केन्द्रको समन्वयमा निर्माण गरिदिएपछि भूकम्पपीडित खुसी छन् ।

दलित र जनजाति समुदायको बसोबास रहेको डाँडागाउँका घर भूकम्पले क्षति पुर्याएपछि स्थानीयवासी टहरोमा बस्दै आएका थिए । इन्जिनियर समेत रहेका कोरियाको राजधानी सोलका इल गो पार्कले नेतृत्व गरेको स्वयम्सेवक समूहले स्थानीय कामदारको सहयोगमा सिङ्गो गाउँ पुनःनिर्माण सम्पन्न गरेका हुन् ।

यही डिसेम्बर महिनामा गाउँलेलाई नयाँ घर हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । अहिले घरघरै धारा निर्माणको काम भइरहेको छ ।

अनुग्रह सामुदायिक विकास केन्द्रका अध्यक्ष साधुराम नेपालीले एउटा घर पुनःनिर्माणमा तीन लाख ८० हजार ५६५ लगानी भएको जानकारी दिए। दुईकोठे भूकम्पप्रतिरोधी घर निर्माणमा सघाएको संस्थाले बुद्धिकल्याण प्राथमिक विद्यालयमा छकोठे भवन निर्माण गरिदिएको छ ।

“विद्यालय पुनःनिर्माणमा करिब रु २५ लाख लगानी गरिएको छ”, संस्थाका कर्मचारी कमल शाही सुनुवारले भने । शौचालयसहित विद्यालयको जग्गा तारबार गर्ने काम पनि गरेको उनको भनाइ छ ।

बर्खाको भेलले सडक बिगारेपछि जनकल्याण माविदेखि गाविस भवनसम्म तीन किलोमिटर सडक मर्मत गरिएको र एक हजार ५०० मिटर टाढाको खोलाबाट गाउँमा खानेपानी ल्याएको सुनुवारको भनाइ छ । भूकम्पले क्षति पुर्याएको संरचना तह लगाएर एउटै प्रकृतिका घर निर्माण गर्न श्रमदान गरेका कोरियाका पार्कले भने, “सुन्दर गाउँ पुनःनिर्माणमा सघाउन पाएकोमा खुसी छौँ ।”

घर गुमाएपछि दुःख र पीडाका बीच नेपाली दाजुभाइ, दिदीबहिनीको सहयोगमा गाउँ पुनःनिर्माण सम्भव भएको पार्कको तर्क छ ।

विदेशीले नयाँ घर बनाइदिएपछि श्रीनाथकोट–३ डाँडागाउँका रमेश मजकोटी र मीनबहादुर अछामी आँगन सम्याउने काममा ब्यस्त देखिए । रमेशले भने, “सरकारी अनुदान नलिने गरी विदेशीले हामीलाई घर नै बनाइदिएका हुन् । सरकारले घर बनाउने अनुदान नदिने हो भने पनि हामीलाई सहुलियत ब्याज तिर्ने ऋण लिने इच्छा छ । ऋणले अन्नपात भण्डारण गर्ने अर्को घर बनाउनुपर्छ ।”

दुई कोठाको घरले जीवन निर्वाह हुने भएपनि अन्नपात राख्न र पाहुना ब्यवस्थापनका लागि ठाउँको अभाव भएको उनको भनाइ छ । अनुग्रहले गाउँमा कृषि र स्वास्थ्य क्षेत्रमा रही आगामी दिनमा काम गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment