Comments Add Comment

काठमाडौंमाथि प्रश्नः थारू बाहुल्य प्रान्त दिने कि अझै कमैया बनाउने ?

थारू समुदायको हितमा देखिन्छ प्रस्तावित ५ नम्बर प्रदेश

थारुहरु हजारौं वर्षदेखि बसी आएको तराईको समथर एवं उर्वर भूमि उनीहरुका लागि अति प्यारो र उपयुक्त छ भन्दै डोरबहादुर बिष्टले लेखेका थिए- थारुहरु कुन युग र कति हजार वर्षदेखि तराई मधेसमा बसी आएका हुन् भन्ने न स्वयं थारुलाई थाहा छ, न त कुनै विद्धानले नै बताउन सकेको छ ।

अफगानी लेखकको प्रमाण

बिष्टको यो भनाइलाई एक अफगानी मुस्लिम अध्येयता अहमद अल्बेरुनी (सन् ९७३-१०४८) को भनाइले पनि पुष्टि गर्छ ।अल्बेरुनी भारतीय इतिहास, संस्कृति, भाषा आदि अध्ययन गर्न सन् १०३० ताका भारत पुगेका थिए ।

Tharu Bahulya jilla (1)अल्बेरुनीले आफ्नो एक पुस्तकमा तिरहुत, मिथिला र त्यसको उत्तरतर्फ बस्ने  कालो वर्णका नाक थेप्चो हुने एक समुदायलाई ‘तारु’ भनिन्छ भनेर लेखेका थिए । उनले ‘तारु’ समुदाय भारतमा बसोबास गर्ने एक अर्को समुदाय ‘तुक्र्स’ सँग मिल्दोजुल्दो हुन्छ भन्ने पनि जनाएका थिए ।  ‘तुक्र्स’ भारतको एक मुस्लिम समुदाय हो, जुन उत्तराञ्चल प्रदेशमा बसोबास गर्छन् ।

तिरहुत हिजोआज भारतस्थित बिहार प्रान्तमा पर्छ ।तिरहुत डिभिजन अन्तर्गत केही जिल्ला, जस्तो चम्पारणमा थारुको बसोबास अहिले पनि उल्लेखनीय संख्यामा छ । अल्बेरुनीले अरबी स्क्रिप्टमा लेखेको पुस्तकलाई भियना विश्वविद्यायलका इडवार्ड सि. सचाउ (सन् १८४५-१९३०) ले’अल्बेरुनिज् इन्डिया’ अंग्रेजी भाषामा सम्पादन गरे । त्यो  पुस्तक दुर्इ खण्डमा सन् १९१० मा प्रकाशित भएको थियो।

थारु समुदायकी गहन अध्येयता जि. क्राउस्कोप्सले ‘तारु’बाट नै थारु शब्द बनिएको हो भन्ने लेखेकी छिन् । त्यसले नेपालको तराई भूभागमा बसोबास गर्ने आदिवासीमध्ये थारु नै सबैभन्दा पुरानो बासिन्दा भन्ने पुष्टि गर्छ । थारु भन्दा पुरानो अन्य समुदायबारे कुनै लिखत भेटिँदैन ।

पछि खस साम्राज्यमा राजा पुण्य मल्लले चौधौं शताव्दिको अन्ततिर दाङका छोटे महाराजलाई एक पत्रमा महतौ भनेर लेखेको इतिहासका पुस्तकहरुमा भेटिन्छ । पश्चिम तराईतिर विशेषतः दाङ देउखुरीतिरका थारुलाई त्यसबेला महतौ भनेर सम्बोधन गरिने प्रचलन हुनुपर्छ । महतौले ग्राम प्रमुख भन्ने जनाउँछ ।

थारुहरु जहाँ अहिले बसोबास गरिरहेका छन्, ती ठाउँहरुमा उहिल्यैदेखि निरन्तर बसोबास गर्दै आएको देखिन्छ ।  थारु बाहेकका अरु जातिहरु आफ्नो परम्परागत ठाउालाई छाडी विभिन्न जिल्लामा बसाइँ सर्दै गएका छन् । तर, थारुहरु आफ्ना पूर्खाको थातथलो अर्थात थरुहट छाडेर अन्यत्र बसाइँ सर्ने अत्यन्त न्यून संख्यामा छन् ।

जनगणनाको तथ्यांकअनुसार थारुहरुको पुख्र्यौली थलो अर्थात तराईमा उनीहरू आफ्नो कुल जनसंख्याको ९५.९० प्रतिशत बसोबास गर्छन् । जब कि मगर आफ्नो पुरानो थातथलोमा ७१.६ प्रतिशत मात्रै बसोबास गर्छन् । लिम्बुहरु पुरानो थातथलोमा ६८.५ प्रतिशत बसोबास गर्छन् । बाहुनहरू आफ्नो पुरानो थातथलोमा ५८.५ प्रतिशत टिकेका छन् ।यसबाट थारुहरु आफ्नो भूमि र माटोसँग कति बलियो गरी गाँसिएका छन् भन्ने साबित हुन्छ ।

तर, थारुहरु बसेको भूमिमा अन्य जातिहरु प्रशस्त मात्रामा बसाइँ सरी जाने गरेकाले उनीहरु अल्पमतमा पर्दै गएका छन् । ०४८ सालको जनगणनासम्म थारुको बाहुल्यता ६ जिल्लामा थियो । ०६८ को जनगणनासम्म आइपुग्दा ४ जिल्लामा मात्रै थारुको बाहुल्यता देखिन्छ ।

गणतन्त्रमा थारुको अवस्था

कमल मादेन
कमल मादेन

थारुको पहिचान पश्चिम तराईमा कमैयाको रुपमा स्थापित छ । थारु भनेका कमैयाहरु हुन् भन्ने छ । पहिले सबै जमिन थारुहरुकै थियो । अहिले उनीहरु कमैयाका रूपमा छन् । भलै सरकारी अभिलेखमा कमैया प्रथा उन्मूलन छ ।

परिस्थिति यस्तो छ कि मुक्त कमैया भन्दा पहिलेको कमैया प्रथा नै ठीक थियो भन्ने पूर्वकमैया थारुहरु पनि भेटिन्छन् ।

कम्लरी प्रथामा स्कुल जाने उमेरका थारु बालिकाहरु अरुको घरमा बस्ने प्रचलन अझै प्रर्याप्त मात्रा छँदैछ । काठमाडौं उपत्यकामा बसोबास गर्ने पश्चिम तराईका उपल्लो तहका व्यक्तिहरुले अझै पनि थारु बालिकालाई कम्लरी वा घरेलु नोकरका रुपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।

कमैया र कम्लरीलाई स्वरुप फेरिएको दासप्रथाकै रुप मान्न सकिन्छ ।

अहिलेको आन्दोलन संघीय प्रदेशका नाममा विकास क्षेत्रको अवधारणा अवलम्बन गर्न प्रयत्न गरिएको जस्तो देखिन्छ । नारायणमान बिजुक्छे र चित्रबहादुर केसीको लाइनले प्राथमिकता पाएजस्तो देखिएको छ ।तर, सीमाङकनको सवालमा वर्तमान सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको भावनातर्फ अघि बढ्न खोजेको हो कि जस्तो देखिन्छ ।

थरुहट प्रान्तः

थारु र मगर बाहुल्य रहेको प्रस्तावित ५ र ४ नम्बर प्रदेशमा भोलिका दिनमा संघीय पद्दति लागु भए के कसको अवस्था कस्तो रहने भन्ने नै अहिले रसाकस्सीको मूल अन्तरवस्तु हो ।

पिछडिएको समुदायको उत्थानका लागि साझेदार र स्वशासनको परिकल्पना अनुरुप संघीय एक  प्रदेशका रुपमा एक उपयुक्त थरुहट प्रदेश हुन सक्छ भन्ने मान्यता छ । प्रस्तावित प्रदेश नम्बर ५ थरुहट प्रदेशका निम्ति ‘नहुनु भन्दा …. मामा निको’ भनेजस्तो देखिन्छ ।

पछिल्लो समय माओवादीले पहिचान र समावेशी एजेण्डा लत्याई अधिकांश कमाउ अभियानमा लाग्दा दोस्रो संविधानसभामा निर्वाचनमा थरुहट लगायत अधिकांश क्षेत्रबाट बढारियो । अहिले सीमाङकन संशोधन प्रस्तावमा केही चेत फेरिएजस्तो देखिएको छ । तर, थारु सांसदहरु प्रस्तावित संशोधन प्रस्तावमा खुलेर लाग्न सकिरहेका छैनन् ।

थारुको जनसंख्या

जनगणना ०६८ अनुसार थारुको संख्या कैलाली, बर्दिया, दाङ र सुनसरी जिल्लामा पहिलो स्थानमा छ । कैलालीमा थारु ३ लाख २२ हजारको संख्यामा छन् । एकै समुदायको संख्या सबैभन्दा धेरै भएको जिल्ला काठमाडौ पछि कैलाली हो ।

बर्दियामा थारुहरू आफ्नो कुल जातीय जनसंख्याको ५३ प्रतिशत छन् । तराईमा एकै समुदायको संख्या बहुमत (५० प्रतिशत) भएको जिल्ला बर्दिया नै हो । बर्दियापछि एकै समुदायको संख्या बढी भएको अर्को जिल्ला कैलाली हो । कैलालीमा थारु आफ्नो कुल संख्याको ४१.५ प्रतिशत छन् ।

कैलालीमा थारुको संख्या ३ लाख २२ हजार १ सय २० पुगेको छ । कञ्चनपुरमा थारु १ लाख १५ हजार ८ सय ७६ संख्यामा छन् ।

थारुको संख्या बाँके, कञ्चनपुर, कपिलवस्तु र सप्तरी जिल्लामा दोस्रो स्थानमा छ । थारुको संख्या रूपन्देही, नवलपरासी, चितवन, पर्सा, बारा र मोरङमा तेस्रो र उदयपुरमा चौथो स्थानमा छ ।

नवलपरासी र बारामा थारुको संख्या ०४८ सम्मको जनगणनामा पहिलो स्थानमा थियो ।तर, नवलपरासीमा पहाडे बाहुनको संख्याले थारुको संख्यालाई ०५८ कै जनगणनामा पछि पार्‍यो । त्यस्तै बारामा पनि मुसलमानको संख्या थारुको भन्दा बढी भयो ।

थारूको भूगोल

थारु तराईको बासिन्दा हो । हिमाल र पहाडी क्षेत्रमा थारुको बसोबास मात्रै ०.०९ र ४.०० प्रतिशत रहेको छ ।  थारु जातिको समग्र संख्यामध्ये  ९५.९० प्रतिशत तराईमा बसोबास गर्छ ।

विकास क्षेत्रका आधारमा थारु मध्यपश्चिम, सुदुरपश्चिम र पूर्वाञ्चलमा बढी मात्रामा बसोबास गर्छन् । यी ३ क्षेत्रमा थारुको कुल संख्यामध्ये क्रमशः २७.३७ प्रतिशत, २५.२८ प्रतिशत र १६.६० प्रतिशत बसोबास छ ।

त्यसैगरी थारु जातिहरुमध्ये मध्यमाञ्चल र पश्चिमाञ्चलमा क्रमशः १६.६० प्रतिशत र १५.९१ प्रतिशत बसोबास गर्छन्  । थारुको कुल संख्यामध्ये शहरी क्षेत्रमा १०.२३ प्रतिशत बसाइ रहेको छ, बाँकी गाउँमा बस्छन् ।

अन्त्यमा, 

थारु र मगरहरुले समेत खुलेरै प्रस्तावित सीमांङकन हेरफेर प्रस्तावलाई समर्थन गरे अन्यथा नहुने स्थिति देखिन्छ । तर, उनीहरुले त्यो गर्न सक्ने स्थिति अझै बनिसकेको छैन ।

जनजाति सांसदहरुले संविधान कसरी जारी भयो, अहिल्यै बिर्सिसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment