Comments Add Comment

लोडसेडिङ अन्त्य चाहनुहुन्छ ? यी पाँच काम गर्नुस्

loadshedding-final

२१ मंसिर, काठमाडौं । प्राविधिक गडबडी बाहेक अरु अवस्थामा काठमाडौं लोडसेडिङ मुक्त भएको छ । उपत्यका बाहिर पनि विगतमा जस्तो घन्टौं लोडसडिङ हुन छाडेको छ ।

तर, सुख्खायाममा यसलाई कसरी निरन्तरता दिने नेपाल विद्युत प्राधिकरणलाई हम्मेहम्म परिरहेको छ । र, उसले यसमा उपभोक्तासँग सहयोगका लागि हात अघि बढाएको छ ।

प्राधिकरणले थालेको लोडसेडिङ मुक्त अभियानलाई तपाई हामीले पनि सघाउन सक्छौं । यसका लागि बत्ति नै निभाउनुपर्छ भन्ने पनि होइन ।

‘हामीसँग जति बिजुली छ, त्यसैलाई सही रुपमा ब्यवस्थापन गरेर राहत दिन हामीले प्रयास गरेका हौं,’ प्राधिकरण प्रमुख कुलमान घिसिङले अनलाइनखबरसँग भने, ‘घरायसीदेखि औद्योगिक ग्राहकसम्मले विभिन्न तरिकाबाट यो अभियानलाई साथ दिनुपर्छ ।’

कसरी सघाउने त लोडसेडिङ मुक्त अभियानलाई ?

एलइडी बालौं

विद्युत प्राधिकरणले बिजुलीलाई अधिकतम् रुपमा बचाउन एलइडी बल्बको प्रयोगमा जोड दिएको छ । यसको प्रयोग गरे ४ गुणासम्म बिजुली बच्ने घिसिङको भनाइ छ ।

सिएफएल बल्ब झिकेर एलइडी लाइट हाल्न उपभोक्ता तयार भए प्राधिकरण बिजुलीको खपतदर निकै घट्ने बताउँछ । एलइडीको प्रवर्द्धनका लागि प्राधिकरण आफैंले किनेर उपभोक्तालाई सुपथ मूल्यमा एलइडी बेच्ने योजना पनि बनाएको छ ।

पिक आवरमा ठूला मेसिन नचलाऔं

प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर रुम हिटर, इमर्सन हिटर, एयर कन्डिसनर, इलेक्टि्रक गिजरलगायत सकेसम्म प्रयोग नगरिदिन अपील पनि गरेको छ ।

गर्नैपर्ने भए अत्याधिक विद्युत माग हुने ‘पिक आवर’मा प्रयोग नगर्न अनुरोध गरिएको छ । पिक आवर भन्नाले बिहान ६ देखि ९ बजे तथा बेलुका साढे ४ बजेदेखि साढे ९ बजेसम्मलाई मानिन्छ ।

आइरन, पानी तान्ने पम्प, वासिङ मेसिन पिक आवरबाहेकका समयमा प्रयोग गर्न अनुरोध गरिएको छ ।

‘मास्टर की स्वीच’ प्रयोग गरौं

यसैगरी आवश्यक नभएपनि कोठामा बत्ती लगायत विद्युतीय उपकरण खुलै छाड्ने प्रवृत्ति पनि त्याग्न प्राधिकरणले आग्रह गरेको छ ।

कोठामा मान्छे नहुँदा स्वचालित रुपमा बत्ती बन्द हुने ‘मास्टर की स्वीच’को प्रयोग गर्न पनि सुझाव दिइएको छ । प्रायः ब्यापारिक फर्म र होटलहरुमा आवश्यक नपर्दा पनि बत्ति खुल्लै छाड्ने प्रचलन छ । यसको लागि प्राधिकरणले ‘मास्टर की स्वीच’ प्रयोग गर्न अपील गरेको हो ।

यस्तै सकेसम्म कम बिजुली खपत गर्ने इनर्जी स्टार लेभल भएका विद्युतीय सामग्री प्रयोग गर्न पनि प्राधिकरणले सर्वसाधारणलाई भनेको छ ।

उद्योगमा क्यापसिटर बैंक राखौं

प्राधिकरणले विद्युत खपत घटाउन उद्योगमा मापदण्ड अनुसारकै क्यापसिटर बैंक जडान गर्न पनि आग्रह गरेको छ ।

बेलुकाको पिक समयमा उद्योगहरु नचलाउन र उर्जा परीक्षणको व्यवस्था गर्न सूचनामा अपील गरिएको छ । सडक बत्तीहरुमा एलइडी प्रयोग गर्न र दिनमा निभ्ने गरी फोटो भोल्टिक स्वीच जोड्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

बिजुली चोरीको सूचना दिऊ

बिजुली चोरिएको कुनै सूचना भए प्राधिकरणमा खबर गरेर सहयोग गरिदिन पनि अपील गरिएको छ । प्राधिकरणको तथ्यांकअनुसार कुल बिजुलीको झण्डै १५ प्रतिशत बिजुली चोरी गरिन्छ ।

यसलाई नियन्त्रण गर्न प्राधिकरणलाई आफ्नो घर, टोल, गाउँ आसपास बिजुली चोरी गरिएको थाहा भएर गोप्य रुपमा सूचना दिन प्राधिकरणले आग्रह गरेको छ ।

तपाईंले प्राधिकरणले भनेबमोजिम गर्नुभयो भने उसलाई त सहयोग हुन्छ नै २४ घण्टा नै बिजुली बाल्ने तपाईंको चाहना पनि पुरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment