Comments Add Comment

माओवादीले बनायो ३९९९ सदस्यीय केन्द्रीय समिति, प्रदेश संयोजक तोकिए

पार्टीलाई ठूलो दुर्घटनाबाट बचाएको दाबी

Maoist-Center-PBMeeting
फाइल फोटो

१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिमान आकारको केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । र, अब उसको केन्द्रीय समितिको बैठक सानोतिनो आमसभा भन्दा ठूलो हुनेछ ।

माओवादी केन्द्रको मंगलबार बसेको बैठकले ३ हजार ९९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो । प्रवक्ता पम्फा भुसालले यो केन्द्रीय समिति महाअधिवेशन आयोजक समिति पनि भएकाले आकार केही ठूलो हुन पुगेको बताइन् ।

माओवादीको पोलिटब्यूरो ३९९ सदस्यीय हुनेछ । सचिवालय ९९ र केन्द्रीय कार्यालय ३३ सदस्यीय हुनेछ ।

माओवादी घटकहरुसँग एकतापछि बनेको माओवादी केन्द्रको केन्द्रीय समितिको आकार लगातार बढ्दै गएको छ । पार्टी एकताको झण्डै ६ महिनासम्म पनि संगठन लथालिंग अवस्था थियो ।

त्यसैले होला, माओवादी नेता हरिबोल गजरेलले केन्द्रीय समितिको संख्या निर्धारणको निर्णयमा पुग्नुलाई सफलता मान्छन् । उनले भने, आजको निर्णयले माओवादी केन्द्रलाई ठूलो दुर्घटनाबाट बचाएको छ । सबै कुरा चित्त नबुझेको हुनसक्छ । तर, यो सफलता सामान्य होइन । अग्नि परीक्षामा नेतृत्व खरोसँग उत्रिएको छ ।’

प्रदेश संयोजक तोकिए

माओवादी केन्द्रले प्रदेश संयोजकहरु पनि तोकेको छ । प्रवक्ता पम्फा भुसालका अनुसार एक नम्बर प्रदेशको संयोजकमा गोपाल किराती तोकिएका छन् । दुई नम्बर प्रदेश संयोजकमा मातृका यादव, तीन नम्बर प्रदेशमा हितमान शाक्य र चार नम्बर प्रदेश संयोजकमा देव गुरुङ छन् ।

यसैगरी ५ नम्बर प्रदेश संयोजकमा वर्षमान पुन ‘अनन्त’, ६ नम्बर प्रदेश संयोजकमा शक्तिबहादुर बस्नेत र ७ नम्बर प्रदेश संयोजकमा लेखराज भट्ट छन् ।

सीमांकन हेरफेरको विषयले अहिले विवादित बनेको प्रदेश नम्बर पाँचको जिम्मेवारी रोल्पाका अनन्तलाई दिइएको छ जबकी संशोधित प्रस्तावमा रोल्पालाई चार नम्बर प्रदेशमा राखिएको छ ।

सीमांकन हेरफेरसँगै रोल्पा र पाँच नम्बर प्रदेशको साइनो नभएका बेला अनन्तलाई संयोजकको जिम्मेवारी दिइनु अर्थपूर्ण रहेको माओवादी नेताहरु बताउँछन् । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरविरुद्धको आन्दोलनमा प्रमुख विपक्षी नेकपा एमालेसँग मिलेर आन्दोलनमा होमिएका टोपबहादुर रायमाझीलाई भने कुनै पनि जिम्मेवारी दिइएको छैन ।

अन्तराष्ट्रिय विभागको इञ्चार्जको जिम्मेवारी नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई दिइएको छ । श्रेष्ठ पूर्वपरराष्ट्र मन्त्री समेत हुन् । अन्तराष्ट्रिय विभागको संयोजकमा भने लक्ष्मण पन्त तोकिएका छन् ।

मंसिर २७ देखि प्रदेशस्तरीय बैठक

माओवादी पोलिटव्यूरो बैठकले मंसिर २७ गतेदेखि पुस १० गतेसम्म प्रदेशस्तरीय बैठक गर्ने निर्णयसमेत गरेको प्रवक्ता भुसालले जानकारी दिइन् ।

माओवादीले पुस मसान्तभित्र पार्टीका सबै सदस्यहरुलाई सदस्यता नविकरण गरिसक्न निर्देशन दिएको छ । यसैगरी माघ महिनाभित्र वडा, गाउँ र नगरपालिकाको अधिवेशन तथा फागुन मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्ने निर्णय माओवादी पोलिटव्यूरो बैठकले गरेको छ ।

माओवादीले संगठन निर्माणको यो अभियानमा अब हुने चुनावको तयारीसँग जोड्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment