Comments Add Comment

एउटा अण्डाको १५ रुपैयाँ ! किन बढ्दैछ भाऊ ?

बजारमा अण्डाको माग २५ लाख, आपूर्ति २१ लाख

egg२२ मंसिर, काठमाडौं । नेपाललाई अण्डा उत्पादनमा आत्मनिर्भर घोषणा गर्ने तयारी भइरहँदा बजारमा मागअनुसारको आपूर्तिमा समस्या देखिएको छ । उत्पादन घटेका कारण अण्डाको आपूर्तिमा समस्या देखिएको हो ।

नेपालभर दैनिक २५ लाख अण्डाको माग छ । कुनै सिजनमा मागभन्दा बढी नै उत्पादन हुन्छ । तर, अहिले दैनिक २१ लाख मात्रै उत्पादन भइरहेको नेपाल अण्डा उत्पादक संघले जनाएको छ ।

यसअनुसार दैनिक ४ लाख अण्डाको अभाव बजारमा छ । गत वर्षको नाकाबन्दीको असर अहिलेसम्म व्यवसायमा परिरहँदा उत्पादन घटेको दावी संघका अध्यक्ष शिवराम केसीको छ ।

‘अभावको स्थिति हैन । तर, मागका आधारमा विश्लेषण गर्दा अहिले अण्डाको माग दैनिक रुपमा बढ्दो छ । उत्पादन घटेका समयमा मागसँग समाञ्जस्य मिलाउन गाह्रो भएको हो’ केसीले भने ।

महंगियो अण्डा

पछिल्लो समयमा किराना पसहलरुमा सजिलै अण्डा पाउन छाडिएको छ । कतिपयले अभाव भएको भन्दै बढीे मूल्य लिएर अण्डा बेचिरहेका छन् ।

माग बढेपछि अण्डाको मूल्य पनि प्रतिगोटा १ रुपैयाँ बढेको संघले जनाएको छ । तर, अभाव नै भने नभएको उत्पादकको दावी छ ।   केहीदिन अघिसम्म प्रतिगोटा १४ रुपैयाँमा पाइने अण्डा अहिले १५ रुपैयाँमा पुगेको छ । चितवनका कुखुरा फार्महरुमा नै अण्डा प्रतिक्रेट ३४५ रुपैयाँ तोकिएको छ ।

अण्डाको माग बढेपछि फर्महरुबाट अण्डा उत्पादन भएकै दिन बिक्न थालेको छ । यसबाट उपभोक्तालाई केही सर परेपनि किसानहरुलाई भने लाभ भएको छ ।

अण्डाको अभाव किन ?

संघका अध्यक्ष केसी यो समयमा बजारमा अण्डाको माग ह्वात्तै बढेका कारण पनि बजारमा आपूर्ति केही असामान्य भएको बताउँछन् ।  ‘माग बढ्दा उत्पादित अण्डाले सजिलै बजार पाएको छ । बढीमा दुई दिनमै अण्डा फार्मबाट उठ्न थालेको छ’ अध्यक्ष केसीले भने ।

पछिल्लो समयमा नेपालीको ‘फूड कल्चर’मा परिवर्तन हुँदै आएका काराण अण्डाको माग बढेको संघको ठहर छ । मंसिरको महिनामा धेरै बिवाह समारोहका कारण पनि अण्डाको माग बढेको अध्यक्ष केसी बताउँछन् ।

‘यतिबेला सभा, समारोह, पिकनिक र भ्रमण धेरै हुन्छन् । साथै अण्डा खाँदा सहजै पच्ने समय पनि यही हो’ केसीले भने ।
नेपालमा पछिल्ला वर्षहरुमा अण्डाको माग र खपत लगातार बढिरहेको छ । त्यसअनुसार उत्पादनको क्षेत्रमा लागनी बढ्न सकेको छैन ।

सरकारले अण्डा उत्पादनलाई प्रोत्साहन गर्न दशलाई अण्डामा आत्मनिर्भर घोषणा गर्ने योजना बनाएको छ । अहिले नेपालीबजार पूर्ण रुपमा स्वदेशी उत्पादनमै निर्भर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment