Comments Add Comment

एसएसपीको सरुवा र डीआइजी बढुवामा सकस

बढुवा नभई को को जाँदैछन् घर ?

Nepal-Police-Headquarter

२२ मंसिर, काठमाण्डौं । नेपाल प्रहरीका एसएसपीहरुको सरुवा नभएको १६ महिना पुगेको छ । केही अञ्चल प्रहरी कार्यलय र तालिम केन्द्र बाहेकका एसएसपीको सरुवा नभएको १६ महिना बितेको हो ।

विषेश गरेर काठमाडौं प्रहरी परिसर, अपराध महाशाखा र ललितपुर परिसरमा आउन खोज्नेहरु धेरै देखिएपछि एसएसपीको सरुवा अहिलेसम्म रोकिएको हो ।

अपराध महाशाखाको नेतृत्व गरिरहेका सर्वेन्द्र खनाल दुई महिनाअघि अमेरिका तालिममा गएर र्फकंदा सरुवा हुन सक्ने मनस्थिति बनाएर गएका थिए । तर, उनी तालिम सकेर फर्किएको एक महिना भैसक्दा पनि एसएसपीको सरुवाको लिस्ट निस्कन सकेको छैन ।

उता काठमाडौं परिसरका एसएसपी विक्रमसिंह थापा ३० वर्षे सेवा अवधिका कारण मंसिर ३० गतेदेखि घर जाँदैछन् । अवकाशको मुखमा रहेका अधिकृतलाई इञ्चार्जको जिम्मेवारी नदिने प्रहरीको नीति छ । तर, सरुवाको काम अघि बढ्न नसक्दा थापाले कामबाट फुर्सद पाएका छैनन् ।

एसएसपी थापाले काठमाडौं परिसरको नेतृत्व सम्हालेको १५ महिना भैसकेको छ । तर, काठमाडौं परिसरमा एसएसपी थापाजस्तै काविल अधिकृत छनोट गर्न नसक्दा सरुवा रोकिएको प्रहरी स्रोत बताउँछ ।

प्रहरी स्रोतका अनुसार आइजीपी अर्यालले दिनेश अमात्यलाई काठमाडौं परिसर र अपराध महाशाखामध्ये एक ठाउँ दिने योजनामा थिए । त्यसो त आइजीपीको रोजाइमा परेका धिरु बस्न्यातलाई पनि काठमाडौं परिसर र ललितपुर मध्ये एक ठाउँ दिन सकिने बताइएको थियो ।

तर, कांग्रेसनिकट मानिने छविलाल जोशीले पनि काठमाडौं परिसर आउने चाहेपछि आइजीपी र गृहमन्त्री बिमलेन्द्र निधीवीच एसएसपी सरुवामा कुरा मिलेेको थिएन । उता काठमाडौं परिसर सम्हालिसकेका एसएसपी केदार रिजालले पनि अपराध महाशाखाको नेतृत्वमा दाबी गरेपछि एसएसपीको सरुवामा सकस देखिएको हो ।

प्रहरी स्रोतका अनुसार केही दिनभित्रै एसएसपीको सरुवा निकाल्ने तयार भैरहेको छ । पछिल्लो तयारीअनुसार काठमाडौं परिसरमा छविलाल जोशी, अपराध महाशाखामा केदार रिजाल र ललितपुर परिसरमा दिनेश अमात्यलाई लैजाने तयारी भैरहेको स्रोतको दावी छ ।

सर्वेन्द्र खनालकै ब्याजी जोशी र अमात्य आइजीपी उपेन्द्रकान्त अर्यालको ब्याजले आवकाश पाएपछि आगामी फागुनमा डिआइजी हुने लाइनमा समेत छन् ।

पछिल्लो समय सर्वेन्द्र खनालको नेतृत्वमा निकै चर्चामा रहेको अपराध महाशाखाको साख जोगाउन अब आउने एसएसपीलाई चुनौति हुनेछ ।

त्यस्तै ललितपुर परिसरका प्रमुख बेला बेलामा विवादमा तानिएको र अपराधिक गतिविधि काठमाडौंमा भन्दा ललितपुरमा बढ्न थालेपछि आइजीपी अर्यालले सुधारका लागि ललितपुरमा पनि काविल अधिकृत पठाउन चाहेका छन् ।

बढुवाको मौसममा सर्वेन्द्र खनाल बाजी मार्ने दाउमा

यता डीआइजी बढुवामा पनि प्रहरीभित्र निकै सकस देखिएको छ । तीन महिना अघि डीआइजी गोपाल भण्डारीले अवकाश पाएपछि नेपाल प्रहरीमा एउटा डीआइजी पद खाली छ । तर, त्यसमा आकांक्षीहरु धेरै देखिएपछि बढुवा रोकिएको हो ।

नवराज सिलवालका ब्याजी गणेश केसी डीआइजी बढुवाका लागि एक नम्बरमा थिए । उनीभन्दा पछाडि रहेका केदारमानसिंह भण्डारी र लव विष्टले पनि डीआइजी बढुवाका लागि कसरत गरेपछि बढुवा नै रोकिएको बताइन्छ ।

त्यसो त लोकसेवा आयोगले समेत पदपूर्तिका लागि अनुमति नदिँदा प्रहरीभित्र सयौं कर्मचारीहरुमाथि अन्याय भैरहेको प्रहरीप्रधान कार्यलयका अधिकृतहरु बताउँछन् ।

‘एक डीआइजीसहित खाली भएका पदहरुमा पदपूर्ति गर्ने स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालयले चारपटक पत्र पठाइसकेको छ । तर, लोकसेवा आयोगको के इच्छा हो, बढुवा प्रक्रिया राकिएको छ’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने ।

यदि अबको केही दिनभित्रै डीआइजीमा बढुवाका लागि सिफारिस भएन भने एसएसपी केसीले पुस १५ गते ६ वर्षे पदावधिका कारण अवकाश पाउँदैछन् ।

आगामी पुस २ गते आइजीपी अर्यालकै ब्याजी डीआइजीहरु हेमन्त मल्ल र केशव अधिकारीले पाँच वर्षे पदावधिका कारण अवकाश पाउँदैछन् । त्यसपछि तीनजना डीआइजीको पद रिक्त हुनेछ ।

प्रहरी स्रोतका अनुसार अझै केही दिन बढुवा रोकिने हो भने सर्वेन्द्र खनालको ब्याजका अधिकृतहरुलाई डीआइजी बन्न बाटो खुल्नेछ ।

त्यसो त अपराध महाशाखामा उत्कृष्ट काम गरेेको भन्दै गृहमन्त्रालय पनि सर्वेन्द्र खनाललाई डीआइजी बनाउने पक्षमा देखिएको स्रोतको दावी छ । तर, त्यसले अवकाशको मुखमा रहेका गणेश केसीहरुलाई अन्याय हुने आइजीपीको अडान छ ।

०६९ सालमा कुवेर सिंह रानाले पनि उपेन्द्रकान्त अर्यालका ब्याजका एसएसपीहरु श्याम खडका र पूर्णसिंह खडाकालाई मात्रै बढुवा दिएर कार्वाहीमा परेका अन्य चार जनालाई घर पठाइएका थिए ।
त्यसको ठाउँमा उत्कृष्ट ब्याज भन्दै नवराज सिलवाल, प्रकाश अर्याल , जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई डिआइजी बनाएका थिए । तर, त्यसको विरुद्धमा परेको उजुरी अदालतले समेत खारेज गरेको थियो ।

यदि आगामी पुसमा खाली हुने डीआइजी पदमा सर्वेन्द्र खनाल बढुवा भए भने नवराज सिलवालको ब्याजपछि उनलाई आइजीपी हुने बाटो खुल्ने छ ।

मंसिर ३० गतेपछि चारजना एसएसपीको पद पनि खाली हुनेछ । अहिले १३ जना एसपीको समेत पदपूर्ति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment