Comments Add Comment

क्रिस गार्डनरः घरबारविहीन मानिस, जो करोडपति बने

chris-gardner

काठमाडौं । जब क्रिस गार्डनर आफ्ना दुई बर्षीय छोरासँग सार्वजनिक शौचालयको भुईंमा सुतिरहेका थिए, उनले सायदै कहिल्यै यो सपना देखेका थिए कि उनको जिन्दगीको कथा चर्चित हलिउड चलचित्रमा बदलिनेछ ।

सन् १९८० को सुरुवाती समयमा २७ बषर्ीय गार्डनर आफ्ना भर्खरै जन्मिएको छोरासँग सान फ्रान्सिस्कोमा एक बर्षसम्म घरबिहीन जीवन बाँचेका थिए ।

त्यसपछि उनले एक शेयर दलाल कम्पनीमा प्रशिक्षण कर्मचारीको रुपमा जागिर पाए । यसका बाबजुद उनीसँग घरको भाडा डिपोजिट गर्न पनि पर्याप्त रकम थिएन ।

गार्डनरको श्रीमती उनीसँग अलग्गिइसकेकी थिइन् । त्यसैले दुई बाबुछोरा जहाँ सम्भव हुन्छ, त्यहीँ बस्थे, त्यहीँ सुत्थे ।

जागिर सुरु भएपछि उनीहरु शौचालयबाट त निस्के तर, कहिले रेल्वे स्टेसन, कहिले पार्क र कहिले चर्चको शरणमा रात बिताए । साथै काम सकिएपछि जव सबै कर्मचारी घर जान्छन्, गार्डनर बाबुछोराले त्यहीँ आफ्नो डेक्समुनी पनि कयौं रात बिताए ।

उनीहरु चिकेन सुप खान्थे । आफूले कमाएको थोरै रकम उनले छोराको नर्सरीमा भर्ना गर्नका लागि खर्चिएका थिए ।

प्रतिकुल परिस्थितिका बाबजुद गार्डनरले आफ्नो काम छाडेनन् र अपेक्षा सकारात्मक सोच लिएर अघि बढिरहे । नेचुरल सेलिङ एण्ड सेयरमा आफ्नो प्रशिक्षणकाल सकिएपछि उनले स्थायी जागिर पाए ।

त्यसपछि आफू र छोराका लागि उनले घर किन्न सके । उनको जागिरे करिअर निक्कै तीव्र गतिमा अघि बढ्यो । उनले १९८७ मा एक इनभेष्टमेष्ट फार्म खोले ।

त्यसपछि त के चाहियो ? उनको धनी जिन्दगी सुरु भयो । अहिले गार्डनर ६२ बर्षका भए र उनको सम्पत्ति करीव ६० मिलियन डलर छ ।

उनले मोटिभेसनल स्पिकरको रुपमा विश्व भ्रमण गरेका छन् र घरबारबिहीन जनताको लागि च्यारिटी तथा महिला हिंसाबिरुद्धको क्षेत्रमा क्रियाशील संस्थाहरुमा आवद्ध छन् ।

तथ्य यो हो कि गार्डनरको बाल्यकाल निक्कै कठिन परिस्थितिका बीच गुजि्रएको थियो । सेयर कम्पनीमा इन्टर्नशीपमा काम गर्नुभन्दा अघिसम्म उनी गरिबीको रेखामुनी नै थिए ।

उनले लेखेको आत्मकथा ‘द पर्स्युट अफ हृयाप्पीनेस’ले बेष्ट सेलिङ किताबको मान्यता पाएपछि यसै कितावको आधारमा हलिउड फिल्मका लागि प्रस्ताव आएको थियो ।

यो चलचित्र सन् २००६ मा रिलिज भएको थियो र चलचित्रमा गार्डनरको चरित्रमा अभिनय गर्ने विल स्मिथ ओस्कारमा उत्कृष्ट अभिनेताको रुपमा मनोनयनमा परेका थिए ।

chris_gardner

जीवनलाई पछाडि फर्केर हेर्दा गार्डनर भन्छन्, ‘केहि पनि बदलिएको छैन ।’

‘मेरो बाल्यकाल निक्कै पीडाले भरिएको थियो । त्यसैले म चाहन्नथेँ कि मेरा सन्तानले यस्तो पीडा ब्यहोर्नु नपरोस् ।’ उनले भने, ‘आफ्नो भाग्य र भविश्य पहिल्याउन म सफल भएँ किनकि मैले सही निर्णय गरेको थिएँ ।’

गार्डनर विस्कन्सिनको मिलवाकीमा जन्मिएका थिए र उनले आफ्ना वास्तविक पिता कहिल्यै चिन्न पाएनन् ।

बरु उनी आमा बेट्टी जिन र शारीरिक रुपमा अशक्त तथा जँड्याहा सौतेनी बाबुसँग गरिवीको चरण पीडाबीच हुर्केका थिए ।

त्यहाँ उनले केहि समय सरकारी आश्रममा पनि बिताएका थिए । उनकी आमा आफ्ना पार्टनरलाई मार्न खोजेको आरोप लागेपछि बेपत्ता भएकी थिइन् ।

यहि हुँदाहुँदै पनि गार्डनर आफ्नी आमालाई प्रेरणा मान्छन् । उनी भन्छन्, ‘मसँग पुरानो जमनाको आमा थिइन् । उनी हरेक दिन भन्ने गर्थिन कि छोरा तिमी जे मन लाग्छ त्यो गर, जुन तिम्रो आत्माले स्वीकार गर्छ ।’

‘र अहिले मैले आमाकै प्रेरणा पछ्याउँदै त्यही गरिरहेको छु र सफल भएको छु ।’

उनले सानो छँदाको एक घटना सम्झिए कि एक दिन उनी टिभीमा कलेज बास्केटबलको खेल हेरिरहेका थिए र कमेन्टेटरले एक खेलाडीलाई उनी भविश्यमा एक मिलियन डलरका बन्नेछन् भनेका थिए ।

त्यतिबेला उनकी आमाले भनेकी थिइन् कि छोरा एक दिन यस्तो आउनेछ कि तिमी एक मिलियन डरको हुनेछौ, यो कुरा मैले जीवनमा कहिल्यै भुल्न सकिनँ ।

तर, मिलियन डलर तत्काल आएन । बिद्यालय शिक्षा उत्तिर्ण गरेपछि उनले युएस नेभीमा चार बर्ष बिताएका थिए ।

जागिरबाट सम्मानस्वरुप छुट्टी लिएर सन् १९७४ मा उनी सान फ्रान्सिस्कोमा चिकित्सा उपकरणको व्यापार सुरु गरे ।

जब एक मानिसले रातो रंगको फरारी गाडी पार्क गरिरहेको उनले देखे, त्यसपछि उनले जीवन पूरै परिवर्तन भयो । फरारीवाला मानिसलाई गार्डनरले सोधे कि जीवन जीउन उनी के गर्छन ?

उनी एक सेयर दलाल रहेछन् र उनलाई बब ब्रिज भनिन्थ्यो । कुराकानीका क्रममा गार्डनरले आफूपनि यहाँ काम गर्न इच्छुक रहेको बताए ।

उनीहरुको भेट पुनः भयो र ब्रिजले गार्डनरलाई प्रशिक्षण जागिरेको रुपमा नियुक्त गर्न सहयोग गरे ।

यद्यपि सेयर दलालका लागि हुने अन्तर्वार्ताको एक दिनअघि पार्किङ टिकटको पैसा तिर्न नसकेर उनी जेलमा पुगेका थिए । त्यहाँ उनलाई ब्रिजले सहयोग गरेका थिए ।

आफ्नो आत्मकथामा बनेको चलचित्र रिलिज भएको ६ बर्षपछि उनलाई अर्को बज्रपात आइपर्‍यो । सन् २०१२ मा क्यान्सरका कारण उनकी पत्नीको मृत्यु भयो ।

यस घटनाले उनलाई जीवन जिउने तरिका परिवर्तन गरिदियो । तीन दशक लामो निक्कै सफल व्यवसायिक जीवन त्यागेर उनले करिअर परिवर्तन गरे र प्रेरणात्मक वक्ताको रुपमा आफूलाई उभ्याए ।

अहिले उनी विश्वका ५० भन्दाबढी मुलुकको भ्रमण गरिसकेका छन् भने बर्षमा २०० दिन उनी मुलुकबाहिर बिताउँछन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment