Comments Add Comment

यूरोपमा नेपाली बालबालिकाहरुले यसरी सिक्छन् ‘कखरा’

nepali-pathshala-copenhegan
नेपाली पाठशाला कोपेनहेगन

बिदेशमा नै जन्मेर यतै हुर्केका एनआरएन दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई युरोपका बिभिन्न्न  देशहरुमा नेपाली भाषा सिकाउन थालिएको छ । बेलायत,डेनमार्क, स्पेन, जर्मनी,बेल्जियम र नेदरल्यान्ड जस्ता युरोपेली मुलुकहरुमा बालबालिकाहरुलाई नेपाली पढ्न र लेख्न सिकाउन थालिएको हो ।

यतै जन्मेर हुर्केका बालबालिकाहरुले नेपाली बोल्न नै नसक्ने हुन् कि भन्ने चिन्ता बढीरहेको बेला युरोपको नेपाली समुदाय माँझ “नेपाली पाठशाला” वा “नेपाली स्कुलको” नाममा “कखरा” सिकाउन  थालिएको छ । ।करिव ५० लाखको हाराहारीमा गैरआवासीय नेपालीहरु बिदेशमा रहेको अनुमान गरिदै आए पनि बालबालिकाहरुका लागि नेपाली भाषा पठन पाठनका लागि हालसम्म एनआरएन केन्द्रबाट भने ठोस कार्याक्रम संचालन हुन सकेको छैन। तर पनि केही राष्ट्रिय समन्वय परिषदहरुको चासो,अभिभावकहरुको सक्रियता वा केही सामाजिक संघ सस्थाहरुको पहलमा अन्त्यन्त न्यून संख्यामा मात्र पाठशाला संचालन भएको पाईन्छ।

पाठशाला पुगेर अध्ययन गरेका नेपाली बालबालिकाहरुमा भने ठुलै परिवर्तन आएको अभिभावकहरु बताउँछन् । नेपाली अक्षर सामान्य लेख्न र पढ्न देखि राष्ट्रिय गान सम्म कण्ठस्त गाउँन सक्षम बनेका छन् । यस्तै पाठशाला कै कारण बिभिन्न कार्यक्रमहरुमा नेपाली गीत संगीतमा नाच्न र गाउँन समेत बालबालिकालाई प्रेरणा मिलेको छ । युरोपका बिभिन्न देशहरुमा संचालित पाठशालाका बारेमा तल चर्चा गरिएको छ ।

नेपाली पाठशाला कोपेनहेगन

सन् २०१२ को मार्च महिनाबाट सुरु भएको नेपाली पाठशाला कोपेनहेगन अहिले युरोपको नेपाली समुदाय माँझ नमुना पाठशाला बनेको छ । कोपेनहेगन स्थित नगरपालिकाले उपलब्ध गराएको भवनमा नै संचालित नेपाली पाठशालामा हाल ६४ जना नेपाली बालबालिकाहरुले पढ्न पाएका छ्न् । करीव पाँच बर्ष देखि १४ बर्ष सम्मका बालबालिकाहरुको उमेर र स्तर अनुसार बिभिन्न चार कक्षाहरुमा संचालन गरिएको छ।

कोपेनहेगन कम्युनले (नगरपालिका)  नेपाली स्कुलको लागि ठाउँमात्र हैन बर्षेनी ठुलो आर्थिक सहयोग समेत गर्दै आएको छ। पाठशालामा पढाउँने शिक्षकलाई मासिक करिव १२ सय युरो तलव देखि लिएर बिद्यार्थीहरुलाई निशुल्क पठाउँदा लाग्ने करिव ५०-६० लाख रुपैया बार्षिक खर्च नगरपालिकाले ब्यहोर्दै आएको शिक्षक दीपक कुमार तिवारी बताउँछन् ।

शिक्षक तिवारी भन्छन् ” कुनै पनि देशको मातृभाषा पढ्न पाउँनु बालबालिकाहरुको नैसर्गिक अधिकार हो भनेर डेनमार्कको संबिधानमा नै लेखेको हुँदा,हाम्रो प्रपोजललाई निकै महत्व दिएर नगरपालिकाले खर्च उपलब्ध गराएको छ । डेनमार्क स्थित एनआरएन लगायत बिभिन्न संघ सस्थाहरुको सहयोग तथा डेनिस शिक्षिका लिनाको बिशेष पहलमा नेपाली पाठशालाका लागि यी सबै उपलब्धिहरु हासिल भएको पनि तिबारी बताउँछन् ।

डेनमार्क बाहेक सरकारी तबरबाट नै पाठशालाका लागि खर्च अाउने सम्भावना स्पेनमा पनि रहेको उनले बताए।  तिबारीले थपे,” मातृभाषाका लागि स्पेनको पनि निती डेनमार्कको जस्तै छ भन्ने यहाँका बिज्ञहरुबाट सुनेको छु त्यसैले स्पेनको नेपाली समुदायलाई पनि यो बारे प्रपोजल सहित प्रस्तुत हुन अनुरोध गर्दछु ।”

यस्तै सोही पाठशालामा नेपाली पुस्ताकालय कोपेहेगनको नाममा लाईब्रेरी समेत संचालित छ । नेपाली भाषाका साहित्य,जीवनी,कथा,मनोबिज्ञान,शब्दकोष गरी बिभिन्न ५ सय किताबहरु समेत लाईब्रेरीमा संकलन गरिएको छ।

नेपाली पाठशाला बार्सिलोना

स्पेनको नेपाली समुदायमा एनआरएन स्पेनले सन् २००९ मा नै नेपाली पाठशाला स्थापना गर्ने पहल गरे पनि नियमित कक्षा संचालन हुन सकेन । तर सन् २०१४ को जनवरी ४ तारिखमा आएर केहि महिला अभिभावकहरुको सक्रियतामा नेपाली पाठशाला बार्सिलोनाको स्थापना भयो । पाँच जना बालबालिकाहरुलाई घरमा नै पढाउँन सुरु गरेर स्थापना भएको पाठशालाले स्पेनको समुदायमा राम्रो छाँप छोड्न सफल भयो ।

nepali-pathshala-barcelona

सन् २०१६ मा पाठशाला ब्यबस्थापन समिति नै गठन भई संचालित भए पछि यसले झनै ठुलो आकार लिदै गएको छ । उमेर र स्तर अनुसार फरक तीन कक्षामा हाल ३० जना नेपाली बालबालिकाहरुले नेपाली भाषा सिक्दै आएका छन् । एनआरएन स्पेनको कार्यलयमा पठनपाठन गराउदै आएको पाठशालाले कार्यालय सहयोगार्थ वार्षिक ४ सय ८० युरो तिर्ने गरेको संयोजक सरला सापकोटाले जानकारी दिईन् ।

सापकोटाका अनुसार एउटा बच्चा पढाउँने अभिभावकले मासिक रुपमा १५ युरो, दुई जना भए २५ युरो र तीन जनाको लागि ३० युरो शुल्क तिर्ने गरेका छन् । बिशेष त अभिभावकहरुको काम हुने हुँदा बालबालिकालाई पाठशाला ल्याउन र लैजान कठिन हुने गरेको पनि उनले सुनाईन् । बार्सिलोनामा हुने प्राय: साँस्कृतिक कार्यक्रमहरुमा बालबालिकाहरुको समेत रोचक प्रस्तुति हुँने हुँदा आजभोली पाठशालाको ब्यस्तता समेत निकै बढेको छ ।

नेपाली स्कुल फ्र्यांकफोर्ट

एनआरएन एलसीसी हेस्सन र नेपाली अभिभाबकहरुको संयुक्त प्रयासमा नेपाली स्कुल फ्र्यांकफोर्ट संचालनमा आएको छ। सन् २०१४ को अक्टोबर २ तारीखबाट सुरु भएको नेपाली स्कुलमा हाल १८ जना नेपाली बालबालिकाहरूले अध्ययन गर्दै आएको एलसीसी हेस्सनका संयोजक लोकमणी दाहालले जानकारी दिए।

nepali-school-frankfortदुई वटा कक्षाहरु बिभाजन गरेर संचालन गर्दै आएको स्कुलका लागि मासिक १ सय २० यूरो भाड़ा तथा अन्य खर्च चलाउन लागि बिद्यार्थीहरुबाट २० यूरोको दरले महिनामा शुल्क उठाउने गरेको दाहालले बताए। नेपाली स्कुल सुरु भए देखि बालबालिकाहरुमा नेपाली पन बढ्दै गएको बताउँदै आगामी बर्ष देखि खेलकूद,भ्रमण,तथा बिभिन्न प्रतिस्पर्धाहरुमा बालबालिकालाई सहभागि गराउने योजना रहेको पनि उनले सुनाए।

बुद्ध बिद्यालय प्रतिष्ठान नेदरल्यान्ड्स

नेपाली पाठशाला,नेपाली स्कुल बिभिन्न नाममा बालबालिकाहरुका लागि नेपाली भाषा सिक्ने थलो स्थापना भईरहेको बेला नेदरल्यान्ड्सको नेपाली समाजमा भने बुद्ध एकेडेमी प्रबासी स्कुल (बुद्ध बिद्यालय प्रतिष्ठान) ले परिचित छ।

सन् २०१६ अप्रिल २३ तारिख नेपाली राजदुताबास बेल्जियमका तत्कालिन राजदूत राममणि पोखरेलद्वारा नेपाली समाज र नेपाल सरकारको आधिकारिक स्कुलको रुपमा बुद्ध बिद्यालय प्रतिष्ठानको घोषणा भएको पाठशाला संयोजक फणिन्द्र पन्तले बताए।

buddha-academy-prawashi-school-netherlandराजधानी सहर अम्सार्टडमको “नो लिमिट” भन्ने भबनमा हरेक शनिबार दिउँसो १ बजे देखि ४ बजेसम्म नियमित कक्षा संचालन हुँदै आएको छ। संयोजक पन्तका अनुसार नेपाली भाषा पाठ्यक्रम तथा नेपाल चिनारी,नृत्य तथा संस्कृति, योग ब्यायम, सामुहिक गतिबिधि तथा सम्बन्ध र चिनारीको लागि खेल पनि स्कुलमा खेलाईदै आएको छ।बिद्यालयमा हालसम्म ४ देखि ८ बर्ष समुहका १२ जना बालबालिकाहरु रहेका छन् ।

सन् १९६० को दशक देखि नेदरल्यान्ड्समा सुरु भएको नेपाली समाज सन् २००५/२००६ मा आइपुग्दा निकै बाक्लिएको थियो। सन् २०१६ सम्म आइपुग्दा भने करिव ३ हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान गरिएको छ भने त्यसमा दोस्रो पुस्ताका एनआरएन बालबालिकाहरुको संख्या निकै बढेको पाईन्छ। पाठशाला संयोजक पन्त भन्छन्,” स्कुल त एउटा उत्प्रेरणाको माध्यम नै हो,अबिभाबकले पनि यसको महत्वलाई बुझ्नु पर्छ,त्यसैले घरमा आफ्नो बच्चालाई नेपाली बोल्न र सिक्न प्राथमिकता दिनु पर्छ।”

बेल्जियममा पनि नेपाली स्कुल

बिगत ६ बर्ष देखि बेल्जियम निबासी सोफिया महर्जन कार्कीले नेपाली बालबालिकाहरुलाई नेपाली भाषा सिकाउँदै आएकी छन्। नेपाली ल्यान्गोईज एण्ड क्रियटिभ क्लालेसको नाममा कार्कीले बिगत लामो समय देखि बेल्जियमको आत्रोपनमा भाषा कक्षा संचालन गर्दै आएकी हुन्। हाल आएर बिभिन्न मुलुकहरुमा नेपाली पाठशाला खोल्नु पर्ने धाराणा आईरहेको बेला ६ बर्ष अघि देखि नै महर्जनले भाषा कक्षालाई जारी राखेकी छन्।

हाल सम्म गरी करिव ५० जना बालबालिकाहरु नेपाली भाषा कक्षामा पुगिसकेका छन्। अहिले जारी रहेको कक्षामा ११ जना बालबालिकाहरु रहेका छन्। बालबालिकाहरु पढाईको अलवा खेलकुद,भ्रमण,फेसन शो,नृत्य अलवा बिभिन्न क्रियटिभ कार्यमा सलग्न हुँदै आएको सच्चा महाबीर कार्की बताउँछन्।

नेपाली ल्यान्गोईज एण्ड क्रियटिभ क्लालेस

यस्तै बिगत आठ महिना अघि बेल्जियममा नै बैधानिक रुपमा दर्ता भएको एनबीसीसीले पनि (नेपाल बेल्जियमका कल्चरल सेन्टर ) करिव ३० जना बालबालिकाहरुलाई नेपाली भाषा सिकाउँदै आएको छ। ६ बर्ष उमेर देखी १४ बर्ष सम्मका नेपाली बालबालिकाहरुलाई २ वटा कक्षा संचालन गरेर एनबीसीसीले भाषा सिकाउँदै आएको हो।

बेल्जियमको मिदिमा रहेको एक फ्रेन्च स्कुलले हरेक शनिबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म न्यूनतम शुल्कमा स्कुल उपलब्ध गराईदिएको एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठले बताए। बालबालिकाहरुलाई नेपाली भाषा सिकाउँनु पर्छ भन्ने बिषयमा अग्रसरता देखाउँदै आएका श्रेष्ठले बर्ष भरीमा १ सय ५० यूरो तिर्ने गरी खेलकुद मैदान सहित बिद्यालय उपलब्ध भएको जानकारी दिए।

नेपाली बालबालिकाहरु स्कुलमा घुलमिल हुने अबसर पाउँछन्,त्यसैले पनि झनै नेपाली पनको महशुस गराउँछ भन्दै श्रेष्ठले थपे ” मेरो बच्चा फ्रेन्च,अंग्रेजी,स्पेनिस वा डच बोल्छ भनेर गर्व गर्ने होईन की,मेरो बच्चा फररर नेपाली बोल्छ र लेख्न पनि सक्छ भनेर अभिभाबकले गर्व गर्न सक्ने अवस्था हुनु पर्छ।” घरमा आफ्ना बालबालिकाहरुसँग नेपालीमा नै कुराकानी गर्ने बानि बसाल्ने हो भने उनिहरुमा पनि ठुलो परिबर्तन आउँने श्रेष्ठ बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment