Comments Add Comment

चीनदेखि अमेरिकासम्म महिला राजदूतको होडबाजी

यी हुन् नेपालमा कार्यरत ८ महिला महामहिम

 

२३ मंसिर, काठमाडौं । अमेरिकाले नेपालका लागि महिला राजदूत पठाएपछि उसको प्रतिस्पर्धी देश चीनले पनि महिलालाई नै राजदूत बनाएर पठायो । नेपालका संवैधानिक निकायमा महिलाको नेतृत्व स्थापित भएका बेला चीन र अमेरिकारजस्तै अन्य देशले पनि महिलालाई नै राजदूत बनाएर काठमाडौं पठाउने क्रम बढेको छ ।

810यो एउटा संयोगमात्रै हुन सक्छ, तर नेपालमा राज्यका प्रमुख स्थानमा महिलाहरु निर्वाचित भएका बेला विदेशी कुटनीतिक नियोगका प्रमुखहरुमा पनि महिलाको प्रतिनिधित्व बढेको देखिएको छ ।

राष्ट्रपतिमा विद्यादेवी भण्डारी र सभामुखमा ओनसरी घर्ती निर्वाचित हुनु विश्वकै राजनीतिमा विरलै हुने घटना हो । दक्षिण एशियाका लागि त यो अनौठो परिघटना नै हो । अझ पछिल्लो पटक नेपालमा न्यायपालिका प्रमुखसमेत महिलाले नै अर्थात सुशील कार्कीले सम्हालेको अवस्था छ ।

अहिले नेपाल एक प्रकारले महिलाको नेतृत्वमा छ । र, यो महिलाको नेतृत्वलाई यहाँ कार्यरत ८ जना महिला राजदूतहरुले थप शोभा बढाइदिएका छन् ।

चिनियाँ राजदूत यु होङ र सभामुख ओनसरी घर्ती
चिनियाँ राजदूत यु होङ र सभामुख ओनसरी घर्ती

कार्यपालिका प्रमुखबाहेक राज्यका प्रमुख पदहरुमा महिलाको नेतृत्व रहेका बेला नेपालस्थित राष्ट्रसंघीय प्रमुखसमेत महिला नै नियुक्त हुनु एक सुखद संयोग हो । हाल नेपालमा संयुक्त राष्ट्रसंघको आवासीयप्रतिनिधि भ्यालेरी जुलियाण्ड यसको उदाहरण हुन् ।

जुलियाण्डसहित नेपालमा सात जना महिला राजदूत कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा अवस्थित २७ वटा स्थायी आवासीय कुटनीतिक नियोगमध्ये ८ नियोगको प्रमुखमा महिलाहरु कार्यरत छन् ।

नेपालमा महिलाहरु राज्यको उच्च पदमा पुगेपछि विश्वका दुई ठूला शक्तिराष्ट्र अमेरिका र चीनले महिला राजदूत नियुक्त गरेर पठाएका छन् ।

us-embassdor
अमेरिकी राजदूत टेप्लिजले कुकुर तिहारको दिन समाजिक सञ्जालमा पोष्ट गरेको तस्वीर

हाल नेपालमा क्रियाशील महिला रादूतमध्ये अमेरिकाकी एलाइना बी टेप्लिज र चीनकी यु होङको क्रियाशिलता लोभलाग्दो छ । होङ नेपाल आएको एक महिनामै जनताको मनमा बस्न सफल छिन् ।

अमेरिकी राजदूत टेप्लिज पनि नेपालका सर्वसाधारणबीच विभिन्न कार्यक्रम लिएर जाने गर्छिन् । उनले सामाजिक सञ्जालमा नेपाली महिला र बालवालिकाहरुसँगका लोभलाग्दा तस्वीरहरु पोष्ट गर्ने गर्छिन् ।

त्यस्तै नेपालका लागि बंगलादेशकी राजदूत माश्फी बिन्टे शाम्स पनि सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुने गर्छिन् । बंगलादेश महिला नेतृले चलाएको मुलुक हो ।

त्यस्तै डेनमार्ककी राजदूत पनि महिलानै हुन् । उनको नाम किस्र्टेन गिलान हो । डेनमार्कले अर्को वर्षदेखि नेपालको दूतावास बन्द गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

त्यसो त नेपालस्थित युरोपेली युनियनको राजदूत पनि महिला नै छिन् । युरोपेली युनियनकी राजदूत रेन्ज्से तिरिन्कका नेपाल मामिलाका पछिल्ला ट्वीट विवादमा समेत परेका थिए । हँसमुख स्वाभावकी उनी नेपालीहरुको नजरमा परिचित अनुहारजस्तै बन्न पुगेकी छिन् ।

prachanda-with-sri-lankan-ambassador
पछिल्लो समय नेपालका लागि श्रीलंकाकी राजदूत पनि महिला नै आएकी छिन् । राजदूत डब्लु एस पिरेराले हालैमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छिन् ।

हाल नेपालमा रहेका दक्षिण एशियाली मुलुकका चार दूतावासमध्ये दुईवटामा महिला नै प्रमुख छन् । नेपालमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका दूतावास रहेका छन् । यीमध्ये भारत र पाकिस्तानबाट पुरुष राजदूतहरु काठमाडौंमा कार्यरत छन् ।

दक्षिण अमेरिकी मुलुक ब्राजिलले पनि नेपालमा महिला राजदूत पठाएको छ । नेपालका लागि ब्राजिलियन राजदूत मारिया टेरेसा मस्क्वीटा पेस्सोवा यसअघि ब्राजिलका लागि राष्ट्रसंघको स्थायी प्रतिनिधि थिइन् ।

नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाबारे अमेरिकाकी राजदूतले हालै प्रधानमन्त्री प्रचण्डलाई भेटेर चासो राखिन् । संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता भएपछि युरोपेली संघकी राजदूतले पनि प्रधानमन्त्रीलाई भेटिन् । उता श्रीलंकाकी राजदूतले प्रधानमन्त्री प्रचण्डलाई भेटेर श्रीलंका भ्रमणको निम्तोसमेत दिइन् ।

त्यस्तै चीनबाट आएकी नयाँ राजदूतले प्रधानमन्त्री, उपप्रधानमन्त्री उपराष्ट्रपति सभामुख लगायतसँग भेट गरेर आफ्नो सक्रियता देखाइरहेकी छिन् ।

नेपालमा सक्रियता देखाइरहेका यी महामहिमहरुले पुरुषहरुले भन्दा राम्रो भूमिका खेले भने यसले पक्कै पनि महिला सशक्तीकरणको पक्षमा सकारात्मक सन्देश दिनेछ । आशा गरौं उनीहरुको कार्यकाल नेपालमा सफल र निर्विवाद होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment