Comments Add Comment

सातौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

keshav-bista

२४ मंसिर, काठमाडौं । पटक पटक मिति परिवर्तन हुँदै आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुन लागेको सातौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

परिषदले आज ललितपुरमा पत्रकार सम्मेलन गरी पूर्वाञ्चलका ६ जिल्लामा आयोजना हुने बृहत राष्ट्रिय खेलकुदको सातौं संस्करणको खेलतालिका पनि सार्वजनिक गरेको छ । ३५ मध्ये तीन खेल गत बर्षकै असोजमा सम्पन्न भइसकेको र चार खेलको न्युनतम टिम नपुगेका कारण पूर्वाञ्चलमा २८ खेलको राष्ट्रिय प्रतियोगिता हुनेछ ।

सातौं राष्ट्रिय खेलकुदको नियमावली अनुसार गल्फ, स्नूकर, आर्चरी र फेन्सिङका खेलहरुका लागि न्युनतम चार टोली नभएका कारण ती खेलका प्रतियोगिताहरु भएपनि राष्ट्रिय खेलकुद अन्तर्गत मेडल गणना हुनेछैनन् ।

प्रतियोगिताका अधिकांश खेलहरु मोरङ सुनसरी र झापामा हुनेछन् भने केहि खेलहरु धनकुटा, सिरहा र सप्तरीमा हुनेछ । स्वासका खेलभने ललितपुरमै हुने परिषदले जनाएको छ ।

प्रतियोगितामा केहि खेलहरु आगामी पुस २ गतेदेखिनै सुरु हुनेछन् । महिला फुटबल सुनसरीको दुहवीमा पुस २ गतेदेखि र पुरुष फुटबलका खेलहरु पुस ७ गतेदेखि सुरु हुनेछन् । अन्य खेलहरु पुस ८ देखि १५ गतेको बीचमा हुनेछ । पुरुष तथा महिला क्रिकेट र चेसका खेलहरु प्रतियोगिता अवधिभर सञ्चलन हुने खेलतालिका रहेको छ ।

परिषदमा आज आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव केशवकुमार विष्टले नेपाली पूर्वाधार अनुसार सातौं राष्ट्रिय खेलकुद भव्य हुने दावी गरे । उनले भने, ‘बिगतका प्रतियोगिताको राम्रो पक्ष आत्मसाथ गर्दै आर्थिक पारदर्शी ढंगले आयोजना गर्न लागिएको छ ।’

प्रतियोगिताको पूर्वाधार बिकासका लागि सरकारले निकासा गरेको २० लाख रकम पनि प्रयोग गर्न मिल्ने गरी एक महिनाअघि मात्रै सरकारले निर्णय दिएकाले छोटो समयका बाबजुद तयारी उच्च रहेको सदस्य सचिव विष्टले बताए । परिषदले जिल्ला खेलकुदमा आएको नियमित बजेटपनि तयारीमा खर्च गरिएको जानकारी दिए ।

परिषदले प्रतियोगिता सम्पन्न गर्नका लागि ३७ लाख बजेट मागेकोमा अर्थ मन्त्रालयले ११ करोड ६० लाखभन्दा कम दिए आयोजना गर्न कठिन हुने विष्टको भनाई थियो । अहिले क्षेत्रीय छनौटका खेलहरु परिषदको नियमित बजेटमध्ये तीन करोड खर्च गरेर भइरहेको उनले बताए ।

प्रतियोगिताको उद्घाटन बिराटनगरको सहिद रंगशालामा हुनेछ भने समापन धरान रंगशालामा हुनेछ ।

१०३५ पदकका लागि प्रतिस्पर्धा हुने

सातौं राष्ट्रिय खेलकुदमा जम्मा १०३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ भएको छ । जसमा २९९ स्वर्ण, २९४ रजत र ४४७ काश्य समावेश छन् ।

प्रतियोगितामा करीव २५०० खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय टिममा परेका खेलाडीलाई निःशुल्क शिक्षा

राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय प्रतियोगितामा पदक जित्दै राष्ट्रिय टिममा स्थान बनाउने खेलाडीका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने भएको छ ।

तर राष्ट्रिय टिममा रहेका खेलाडीहरुले मात्र निःशुल्क शिक्षाको सुविधा पाउनेछन् । परिषदको नियम अनुसार खेल संघहरुले कम्तिमा ६ महिनामा राष्ट्रिय टिम छनौट गर्नुपर्नेछ ।

राष्ट्रिय टिममा छनौट भएपनि बिदेशमा बसिरहेका खेलाडीहरुका लागि भने यो नियम लागू हुनेछैन ।

राष्ट्रिय कीर्तिमानधारी खेलाडीलाई जनही २५ हजार

राखेपले परिषदको आधिकारिक खेलमा राष्ट्रिय कीर्तिमान राख्ने खेलाडीहरुलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गर्नेभएको छ ।

सातौं राष्ट्रिय खेलकुदको समापनका दिन राष्ट्रिय कीर्तिमानधारी खेलाडीहरुलाई धरानको बिष्णुपादुकाबाट धरान रंगशालासम्म प्याराग्लाइडिङ गराउने र त्यहीँ पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको सदस्य सचिव विष्टले जानकारी दिए ।

सागमा पदक जित्नेलाई मासिक प्रोत्साहन भत्ता

राखेपले दक्षिण एशियाली खेलकुदमा पदक जितेका खेलाडीहरुलाई मासिक प्रोत्साहन भत्ताको व्यवस्थ ागर्ने निर्णय गरेको छ ।

साग गेम्सका स्वर्ण पदकधारी खेलाडीले मासिक ५ हजार, रजत बिजेताले २ हजार ५ सय र काश्य बिजेताले १ हजार प्रोत्साहन भत्ता पाउनेछन् ।

दोहोरीको पनि प्रदर्शनी खेल

सातौं राष्ट्रिय खेलकुदमा आधिकारीक खेलका अलावा बिभिन्न प्रदर्शनी खेलहरुपनि देखाइनेछन् । त्यसमध्ये एक हो, लोकदोहोरी । प्रतियोगिता अन्तर्गत लोकदोहोरी खेलको प्रदर्शन गरिनेछ ।

राष्ट्रिय खेलकुद परिषदमा दोहोरीलाई खेलको मान्यता दिँदै दोहोरी खेलसंघ दर्ता छ । त्यसको अध्यक्ष बद्री पंगेनी छन् ।

दोहोरीका अलावा रग्वी, डान्स स्पोर्टस, साम्बो, रक क्लाइम्विङ, स्केटिङ, रोपस्किपिङ, बुदोकाइदो कराँते लगायतका खेलहरु प्रदर्शनी खेलका रुपमा खेलाइने राखेपले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment