Comments Add Comment

अपराधीले समेत सजिलै पाउँछन् पुलिस रिपोर्टको ‘क्लिन चिट’

एक वर्षमा ४ सय अभियुक्तको पोलिग्राफ परीक्षणः अधिकांशले झूठो बोले

नक्शालस्थित नेपाल प्रहरीको केन्द्रीय कार्यालय

२६ मंसिर, काठमाडौं । अपराध अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरीले प्रविधिको विकाससँगै अनुसन्धान पद्धतिमा पनि आधुनिक तरिका प्रयोग गर्न थालेको छ । अपराधको अनुसन्धान गर्न नसके प्रहरी असफल हुन्छ भन्ने ठानेर महानिरीक्षक उपेन्द्रकान्त अर्यालकै पालामा केही ठूला अपराधको सफल अनुसन्धानपछि अनुसन्धानमा आधुनिकता खोज्न थालिएको हो ।

शुक्रबार नेपाल प्रहरीले ६१ औं अपराध अनुसन्धान दिवस मनाइरहँदा ६१ वर्षको इतिहासमा प्रहरीले ल्याएको पोलिग्राफ मेसिन (झुटो बोलेको पत्ता लगाउने) देखि फरेन्सिक ल्याबसम्मको चर्चा छुटेन ।

एक वर्षमा ४ सय माथि पोलिग्राफ परीक्षण

नेपाल प्रहरीले ल्याएको आधुनिक उपकरण मध्य एक हो पोलिग्राफ परीक्षण जसले आरोपीले झुटो बोले-नबोलेको पत्ता लगाउँछ । अन्य देशले प्रयोगमा ल्याएको झण्डै सय वर्ष पछि नेपाल आएको पोलिग्राफ परीक्षण अपराध अनुसन्धानका लागि उपयोगी बन्दै गएको प्रहरीको दावी छ ।

बितेको एक वर्षमा मात्रै देशैभर चार सय ३८ जना अभियुक्तमाथि पोलिग्राफ परीक्षण भएको अपराध अनुसन्धान विभागका डिआइजी विजयलाल कायस्थले बताए । त्यसमा एक सय ६४ जनाले झुटो नबोलेको पाइएको थियो भने २ सय ४१ जनाले झुटो बोलेको भेटिएको थियो ।

विभिन्न अपराधको अभियोगमा पक्राउ परेर पोलिग्राफ परीक्षण गरिएकाहरुमध्ये २८ जना अपराधी प्रमाणित भएको प्रहरीको तथ्यांक छ । प्रहरीले आगामी वर्षमा ८ वटा पोलिग्राफ परीक्षण गर्ने आधुनिक कक्ष निर्माण गर्ने योजना बनाएको छ ।

त्यस्तै दुई वर्षअघि मात्रै नेपाल प्रहरीले विधि विज्ञान प्रयोगशालाको लागि आवश्यक आधुनिक उपकरण ल्याएको थियो । जसले गत वर्ष मात्रै ७ हजार केस मध्य ५ हजार ६ सयको परीक्षण गरिसकेको छ । त्यसमा पनि ५४ जनाको डिएनए परीक्षण भएका थिए ।

दुई वर्षमा समातिए ६ हजार फरार अभियुक्त

अपराध अनुसन्धान विभागको तथ्यांक अनुसार पछिल्लो दुई वर्षमा मात्रै ६ हजार ३ सय जना फरार अपराधीहरु पक्राउ परेका छन् । अदालतले दोषि ठहर गरेर सजाय तोकेका अभियुक्तहरुको खोजिका क्रममा पक्राउ परेका ६ हजार अभियुक्तहरुबाट तीन अर्व ६० करोड जरिवाना समेत असुल भएको छ ।

पक्राउ परेकाहरुले ५ हजार चार सय ६४ वर्ष कैद सजाय भुक्तान गर्ने छन् ।

४० जिल्लामा इन्टेलिजेन्स नेटवर्क

अपराध र अपराधीको बारेमा सूचना संकलन गर्न अपराध अनुसन्धान विभागले सुराकी परिचालनलाई प्राथमिकतामा राखेको बताएको छ । एआइजी विज्ञानराज शर्माका अनुसार पछिल्लो समय मात्रै ४० जिल्लाहरुमा इन्टेलिजेन्स नेटवर्क परिचालन भएका छन् ।

त्यसो त विभिन्न जिल्लाका ५४ हजार सूचना दिने व्यक्तिको विवरण समेत तयार पारेको छ । जसबाट प्रहरीले सूचना लिनेदेखि प्रहरीको गतविधिसम्म निग्रानीमा हुने छ ।

कारागारामा सजायँ भुक्तान गरेर छुटकारा पाएका कुख्यात अपराधीहरुको फोटो सहितको तथ्यांक राख्नेदेखि उनीहरुमाथि निगरानी बढाउने कामलाई पनि अपराध अनुसन्धान विभागले प्राथमिकतामा राखेको छ ।

अपराधीले पनि प्रहरी रिपोर्ट पाए

विदेश जाने नेपालीको लागि प्रहरी रिपोर्ट अनिवार्य छ । प्रहरीले कुनै पनि व्यक्ति नेपालमा अपराधमा संलग्न छ कि छैन भन्ने अनुसन्धानको आधारमा रिपोर्ट उपलब्ध गराउने गरेको छ । यदि कुनै व्यक्ति जघन्य अपराधमा संलग्न छ भने उसले प्रहरी रिपोर्ट पाउँदैन ।

तर नेपाल प्रहरीसँग देशका सबै क्षेत्रमा हुने अपराधको तथ्यांक नआउँदा अपराधीले समेत ‘क्लिन चिट’ पाउने गरेका छन् ।

एआइजी विज्ञानराज शर्माका अनुसार वन्यजन्तु सम्बन्धि अपराध गर्नेदेखि अध्यागमनको अपराधमा संलग्नहरु सम्मको तथ्यांक प्रहरीसँग छैन ।

‘अर्धन्यायिक निकायले दिने सजायका अभियुक्तहरुबारे हामीलाई तथ्यांक आउँदैन । गैंडाको खाग तस्करीदेखि नक्कली पासपोर्ट बोक्नेसम्मको हामीसँग तथ्यांक नभए पछि उनीहरुले प्रहरीको क्लिन रिपोर्ट पाउने नै भए,’ एआइजी शर्माले भने । त्यस्ता अभियुक्तहरुको तथ्यांक पनि प्रहरीसम्म आइपुगे अपराध नियन्त्रण गर्न सजिलो हुने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment