+
+

बंकरमा बम हान्ने पाइलटले प्रचण्डलाई उडाए

'तपाईंले बम हान्नुभयो, हामी बंकरभित्र लुक्दै भाग्यौं'

विनोद घिमिरे विनोद घिमिरे
२०७३ मंसिर २९ गते २०:५७
puma-helocopter-2-photo-kuldip-neupane
प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई लिएर काठमाडौंबाट दाङ पुगेको हेलिकोप्टर । तस्वीर: कुलदिप न्यौपाने

२९ मंसिर, काठमाडौं । गत मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डको सचिवालयबाट फोन आयो । सचिवालयका एक सदस्यले भने, ‘विनोदजी हामी भोलि तपाईंको जिल्ला दाङ जाँदै छौं, तपाईं पनि हिँड्नुस् ।’

‘कार्यक्रम के हो ?’ मैले सोधें

‘तपाईंकै गाउँमा जाने राप्ती पुलको शिलान्यास,’ उनले जवाफ दिए ।

राप्ती नदीमा पुल बन्ने कुराले मन खुसी भयो । किनकि वर्षायाममा झण्डै एक किलोमिटर लामो नदीको भेलमा काठको डुंगाको सहायताले राप्ती नदी वारपार गर्नुपर्ने बाध्यता सिसहनिया र गोबरडिहा गाविसका जनतालाई छ । दाङ देउखुरीको खेतीयोग्य जमिनमा सिचाईं सुविधामात्रै होइन, बालुवा, गिट्टी र ढुंगासमेत पुर्‍याएर किसानहरुलाई जीवन दिने राप्ती नदी कहिलेकाहीँ बैरी सावित हुन्थ्यो । यही राप्ती नदीबाट हजारौं विघा जमिन कटान र डुबानको मारमा परेका छन् जनता । कयौंको ज्यान गुमेको छ ।

मैले प्रधानमन्त्रीसँगै दाङ जाने मानसिकता बनाएँ । कार्यालयबाट विदा लिएर प्रधानमन्त्रीको सचिवालयले भनेअनुसार नै म बुधबार बिहानै आठ बजे एयरपोर्ट पुगे । त्यहाँ सिचाइँमन्त्री दीपक गिरी, पूर्वसामान्य प्रशासनमन्त्री रेखा शर्मा, सांसद गंगा थारु, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा लगायत तैनाथ थिए ।

केहीबेरमा प्रधानमन्त्री प्रचण्ड आफ्नो सचिवालयका सदस्यसहित एयरपोर्ट आइपुगे । प्रधानमन्त्री, प्रचण्ड, उनका अंगरक्षक, सचिवालयका सदस्य, मन्त्री र सांसदसहित २० जनाको टोलीलाई बोकेर नेपाली सेनाको हेलिकोप्टर बिहान ९ बजे काठमाडौंबाट दाङको राप्ती नदीतर्फ उड्यो ।

बंकरमा बम हान्ने पाइलटले प्रचण्डलाई उडाए

प्रचण्डसँगको यात्रा यो मेरो दोस्रो अनुभव थियो । माओवादी शान्ति प्रक्रियामा आएलगत्तै म प्रचण्डसँगै पोखरा गएको थिएँ । त्यतिबेला माओवादीले देशका प्रमुख शहरहरुमा जनसभा आयोजना गरेको थियो । पोखराको जनसभाका लागि काठमाडौंबाट सातवटा गाडीको लस्करसहित प्रचण्ड प्रस्थान गरेका थिए । त्यहाँ काठमाडौंबाट मिडियाकर्मीहरु पनि गएका थिए । प्रचण्डसँग हेलिकोप्टर यात्रा भने मेरो पहिलो अनुभव थियो ।

भर्खर-भर्खर शान्ति प्रक्रियामा आउँदा माओवादीहरु सुरक्षाकर्मी (विशेष गरी नेपाली सेना)लाई देखी सहँदैन थिए । तर, आजभोलि त्यही नेपाली सेना तत्कालीन माओवादी जनयुद्धको कमाण्डर प्रचण्डको सुरक्षामा तैनाथ छ । रोल्पाका माओवादी लुक्ने बंकरमा बम हान्ने पाइलटले नै उडाएको हेलिकोप्टर चढेर प्रचण्डसहितको टोली दाङ जाँदै थियो ।

ति पाइलट हुन् रबिन्द्र बस्नेत । सोलुखुम्बुको चौलाखर्क स्थायी ठेगाना भएका बस्नेत हाल नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल पदमा छन् ।

puma-helocopter-photo-kuldip-neupane
दाङको राप्ती बगरबाट कैलालीतर्फ उड्न लागेको हेलिकोप्टर । तस्वीर: कुलदिप न्यौपाने

जनयुद्धकालमा माओवादी डेपुटी कमाण्डर पासाङ (हालका उपराष्ट्रपति नन्दबहादुर पुन)को घरभित्रै लुक्नका लागि बंकर बनाइएको थियो । माओवादी शीर्ष नेता, कार्यकर्ताहरु त्यही बंकरभित्र लुक्ने गर्थे । बंकरको सुरुङ घरभन्दा बाहिरसम्म थियो । माओवादीहरु त्यही सुरुङ हुँदै सुरक्षित स्थानमा भाग्थे । एकपटक माओवादी अध्यक्ष प्रचण्डसहितको टोली पासाङको घरमा थियो । नेपाली सेनाले अपरेशन गर्दैछ भन्ने गोप्य सूचना प्रचण्डसमक्ष आइपुग्यो । त्यो सूचना पाएलगत्तै प्रचण्डसहितको टोली घरभित्रै बनाइएको बंकर र सुरुङभित्र छिरेर भाग्न सफल भयो ।

त्यसको केही समयभित्रै नेपाली सेनाको हेलिकोप्टर पासाङको घरमाथि घुम्न थाल्यो । बम र गोली बर्सिए । त्यो हेलिकोप्टर उडाउने पाइलट तिनै थिए, जसले मंगलबार प्रचण्डसहितको टोलीलाई भ्रमण गराउँदै थिए ।

तिनै पाइलट बस्नेत उपराष्ट्रपति पासाङलाई लिएर रोल्पा पनि पुगिसकेका छन् । रोल्पामा पासाङले आफ्नो घरमा बनाइएको बंकर पाइलटलाई अवलोकन गराइसकेका छन् । प्रत्यक्षदर्शीका अनुसार त्यसबेला पासाङले ती पाइलटलाई भनेका थिए, ‘तपाईंले माथिबाट बम हान्नुभयो, हामी यसरी बंकरभित्र लुक्दै भागेका थियौं ।’ उपराष्ट्रपति पासाङले आफूहरु भाग्दाको क्षण ब्याख्या गर्दै अभिनय नै गरेर देखाउँदा सहभागीहरुबीच हाँसोको फोहोरा छुटेको थियो गत वर्ष ।

दाङमा ओर्लिएपछि विगतको ‘फ्ल्यासब्याक’

हेलिकोप्टरको यात्राभर प्रधानमन्त्री प्रचण्डले दाङमा गर्ने सम्बोधनको खाका तयार हुँदै थियो । विशेष गरी दाङ देउखुरीको अवस्था र राप्ती नदीमा पुल बनेपछि हुने फाइदाका बारेमा प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मा र प्रधानमन्त्री प्रचण्डका निजी सचिव झंकनाथ ढकालले हामीसँग पनि सुझाव लिए । त्यसलाई पूर्वसामान्य प्रशासनमन्त्री एवम् सांसद रेखा शर्माले थप सम्वृद्ध पारिन् ।

दाङ ओर्लिएपछि पाइलटले अनुभव सुनाए, ‘आज अचम्मै भयो, यति छिटो दाङ आइपुगिएला भन्ने सोचेकै थिएन । अरुबेला १२०-१२५ को नटमा उड्ने हेलिकोप्टर आज त १५० नटमा उड्यो ।’ काठमाडौंबाट दाङ आउँदा हेलिकोप्टर यति धेरै छिटो उडेको आफ्नो पहिलो अनुभव भएको उनले बताए ।

prachand-at-dang-rapti-river
राप्तीको बगरमा प्रधानमन्त्री प्रचण्ड । तस्वीर: दिनेश श्रेष्ठ

दाङ देउखुरीको राप्ती बगरमा हेलिकोप्टर ओर्लिंदा बिहानको १० बजेको थियो । प्रधानमन्त्री प्रचण्ड भूमिगतकालमा ओहोर-दोहोर गर्ने बाटो थियो त्यो । राप्ती नदी तरेर माओवादी नेता-कार्यकर्ताहरु महदेवा, धैरेनी, चिमचिमे हुँदै भारत प्रवेश गर्दथे ।

मलाई विगतको एउटा घटना राम्रोसँग याद छ, त्यो दिन रातिको करिब एक बजे मेरो घरको ढोका ढकढक गर्‍यो । पुलिस छापा मार्न आयो कि भनेर हामी नसुनेझैं गरी चुपचाप सुतिरहेका थियौं । फेरि आवाज आयो, ‘माइला बा !’

यो आवाज डायमण्डको थियो । डायमण्ड बुवाका भान्दाइको छोरा थिए । दाङका माओवादी नेता । ढोका खोलेर हेर्दा घरको बरण्डामा एक हुल मान्छे थिए । केही व्यक्तिहरु घरको वरिपरि छरिएर बसेका थिए । कसैले हातमा लठ्ठी लिएका, कसैले बन्दुक भिरेका । कसैले बडेमानका झोला बोकेका ।

सञ्चो बिसन्चो सोधेपछि डायमण्ड दाइले पानी मागे । मैले भान्सा कोठाको घैंटोबाट पानी सारेर एक अम्खोरा पानी दिएँ । डायमण्ड दाइले त्यो पानी लगेर घरको पेटीमा बसिरहेका एकजना व्यक्तिलाई दिए । उनले कलकल पानी पिएर अम्खोरा रित्ताए र आफ्नो छेउमा राखे । अरु व्यक्तिहरु भने इनारमा गएर बाल्टीबाट पानी निकाल्दै पिउँदै गरिरहेका थिए ।

एक अम्खोरा पानी एकै सासमा रित्याउने व्यक्तिको अनुहार अँध्यारोमा ठम्याउन सकिएन । उनीहरु सबै एकछिन बसेर हाम्रो घरको दक्षिणतर्फको जंगलतिर लागे । केही दिनपछि डायमण्ड दाइ फेरि हाम्रो घरमा आइपुगे । उनले भनेपछि पो थाहा भयो अम्खोरामा पानी पिउने तिनै व्यक्ति रहेछन्-प्रचण्ड । उनी त्यसबेला रोल्पाबाट दाङ झरेका रहेछन् । र, सिसहनिया-महदेवाको बाटो हुँदै राप्ती नदी तरेर भारत प्रवेश गरेछन् ।

विकासका लागि प्रधानमन्त्री आउँदा बन्द घोषणा गर्दा  एमाले विकास विरोधी कित्तामा उभिएको भनेर सत्ता पक्षीय दलले प्रचार गर्ने मौका पाए

र, बुधबार बिहान त्यही पैदल हिँड्ने बाटोमा सिसहनियाबाट महदेवा जोड्ने पुलको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका हुन् ।

एमालेले प्रचण्डलाई रोक्न खोज्दा

प्रचण्ड राप्ती नदीको पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्न दाङ जाने कुरा पहिले नै सार्वजनिक भइसकेको थियो । त्यो थाहा पाएलगत्तै एमालेले दाङ जिल्ला बन्द घोषणा गर्‍यो ।

एमालेको उद्देश्य प्रचण्डको कार्यक्रम असफल पार्ने थियो । तर, जिल्ला बन्द घोषणा एमालेका लागि आत्मघाती भइदियो । किनकि दाङको विकासका लागि प्रधानमन्त्री आउँदा बन्द घोषणा गर्दा  एमाले विकास विरोधी कित्तामा उभिएको भनेर सत्ता पक्षीय दलले प्रचार गर्ने मौका पाए ।

हुन पनि बन्दले प्रचण्डलाई कुनै असर गरेन । असर गर्‍यो त केबल दंगाली सर्वसाधारण जनतालाई । शान्ति क्षेत्र घोषित विद्यालयको अर्धवार्षिक परीक्षासमेत बन्दका कारण पुस महिनासम्मका लागि स्थगित गरिएको रहेछ । जबकि परीक्षा तालिका सितिमिति फेरबदल हुने गर्दैन ।

प्रचण्ड सिधै काठमाडौंबाट राप्ती नदीको बगरमा ओर्लिएका थिए । निर्माणाधीन ८ सय ६० मिटर लामो पुल शिलान्यास गरी, पत्रकार भेटघाट गरेर बगर क्षेत्रमा बनाइएका जस्ताका टहरामा खाना खाए । उनले दाङ बन्द भन्ने सुइँको समेत पाएका थिएनन् ।

खाना खाने क्रममा प्रचण्डले आयोजक समितिका पदाधिकारीलाई जनसभामा उपस्थिति कम देखेको प्रसंग निकाले । आयोजक समितिका एक सदस्यले एमालेले दाङ जिल्ला बन्द गरेकाले उपस्थिति कम भएको जानकारी गराए । यो सुनेपछि प्रचण्डले आश्चर्य मानेजस्तो गरेर ‘हो र ?’ भने ।

prachand-dang-rapti-bagar
राप्ती पुल शिलान्यास पछि आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्वीर: दिनेश श्रेष्ठ

बन्दकर्तालाई समाउँदा आफ्नै कार्यकर्ता परेपछि…

प्रधानमन्त्री प्रचण्ड राप्ती नदीको बगरबाटै हेलिकोप्टर चढेर सुदूरपश्चिमको यात्रामा निस्किए । अबको गन्तव्य कैलालीको धनगढी थियो । धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गरिएको थियो र त्यसको उदघाटन प्रधानमन्त्री प्रचण्डले गर्ने कार्यक्रम थियो ।

तर, सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको विरोधमा एमाले, जनमोर्चा लगायतका विपक्षी दलहरुले कैलाली जिल्ला बन्द गराएका थिए । बजार, यातायात ठप्प थिए ।

दाङमा बन्दको सुइँको समेत नपाएका प्रधानमन्त्री प्रचण्डले धनगढी बजारमा भने कालो झण्डाको सामना गर्नुपर्‍यो । यद्यपि सुरक्षाकर्मीहरुले कडा सुरक्षा घेरामा राखेर प्रचण्डलाई महोत्सव उदघाटनस्थल सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा पुर्‍याए ।

प्रचण्ड धनगढी ओर्लिनुअघि नै प्रहरीले बन्दकर्ताहरुलाई ठाउँ-ठाउँबाट पक्राउ गरेको थियो । बन्दकर्तालाई पक्राउ गर्ने क्रममा एकजना माओवादी केन्द्र निकटकै पत्रकारसमेत परेछन् । प्रधानमन्त्रीसहितको टोली कञ्चनपुरको चाँदनी दोधारा पुगेर पुनः धनगढीमा बास बस्न आएका बेला माओवादीकै कार्यकर्ता समातिएको जानकारी प्रधानमन्त्रीको सचिवालयले पायो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको पहलमा ती पत्रकारसहित सबै आन्दोलनकारीहरुलाई प्रहरीले सोही दिन बेलुका रिहा गर्‍यो ।

चाँदनी-दोधारामा पुग्ने पहिलो बहालवाला प्रधानमन्त्री

धनगढीबाट प्रधानमन्त्री प्रचण्डसहितको टोली नेपालको पश्चिम सीमाना कञ्चनपुरको चाँदनी दोधारा पुग्यो । चाँदनी दोधारा पुग्ने प्रचण्ड नेपालको पहिलो बहालवाला प्रधानमन्त्री परेछन् । यसअघि कुनै पनि बहालवाला प्रधानमन्त्री त्यहाँ नपुगेको स्थानीयले बताए । पिछडिएको क्षेत्रमा पुगेर प्रधानमन्त्री प्रचण्डले स्थानीय जनताको मन जित्ने प्रयास गरे ।

‘यसअघि कोही पनि बहालवाला प्रधानमन्त्री यहाँ आउनु भएको थिएन, हजुरलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ,’ प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले प्रधानमन्त्री प्रचण्डलाई कञ्जभोज नजिकैको एक नदी किनारमा बनाइएको हेलिप्याडमा स्वागत गर्दै भने ।

नदीको बगरबाट करिब एक किलोमिटर टाढा गाडीको यात्रामार्फत् प्रधानमन्त्री प्रचण्ड, सचिव टंकमणि शर्मासहितको टोली सुक्खा बन्दरगाह निर्माणस्थल अवलोकन गर्न कञ्जभोज पुगेको थियो । साथमा माओवादी केन्द्रका नेता एवम् सात नम्बर प्रदेश इञ्चार्ज लेखराज भट्टसमेत थिए । प्रजिअ खनाल, माओवादी नेता भट्ट र दोधाराका माओवादी केन्द्रका नेता मानबहादुर सुनारले प्रधानमन्त्री प्रचण्डलाई सुख्खा बन्दरगाह निर्माणबारे जानकारी गराएका थिए ।

prachand-at-kanchanpur-kanjabhoj
सुक्खा बन्दरगाह निर्माणस्थल अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्ड । तस्वीर: दिनेश श्रेष्ठ

सो क्षेत्र भारतीय सीमा बजार खटिमाबाट करिब १२ किलोमिटर वर पर्दोरहेछ । भारतीय सीमा क्षेत्रमा रेलमार्ग छ र त्यससँग जोडिने गरी सुख्खा बन्दरगाह निर्माण गर्ने योजना बनाइएको छ । कञ्जभोजमा सुख्खा बन्दरगाह निर्माण भएमा यो एसियन मार्गको लिंक रोड बन्ने र ७ नम्बर प्रदेश सबैभन्दा धनी हुने पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता भट्टले सुनाए ।

सुख्खा बन्दरगाह निर्माणस्थलमा ८० बिगाहभन्दा धेरै जग्गा रहेको बताइयो । माओवादी नेता लेखराज भट्ट वाणिज्य तथा आपूर्तिमन्त्री रहँदा दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको रहेछ । केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटमा पनि यसलाई अघि बढाउने भनिएको रहेछ ।

त्यहाँको स्थलगत अवलोकनपछि प्रधानमन्त्रीले भने, ‘विकास निर्माणलाई तिव्रता दिनकै लागि म क्रियाशील छु । त्यसैका लागि म यहाँसम्म आएको हुँ । सबैभन्दा पहिले यहाँ रेलमार्ग ल्याउनुपर्‍यो ।’

सुख्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गरिसकेपछि राष्ट्रिय निमाविको प्राङ्गणमा आयोजित जनसभालाई प्रधानमन्त्रीले संक्षिप्त सम्बोधन गरे । करिब तीन मिनेटमात्रै भाषण गरेका उनले भने, ‘नेपालको यति महत्वपूर्ण भूगोललाई नेपालसँग राम्रोसँग जोड्न राज्यले अहिलेसम्म किन ध्यान दिएन होला ? बडो चिन्ता लागिरहेको छ । यस भूगोलमार्फत सिंगो नेपालसँग जोड्ने कुरालाई मैले पहिलो प्राथमिकता दिनेछु ।’

प्रचण्डले अगाडि भने, ‘महाकालीको पुल निर्माणको प्रक्रिया र यहाँ सुख्खा बन्दरगाह निर्माण गर्ने प्रक्रिया अभिन्न रुपले जोडिएको छ । मैले आज यहाँ आएर सुक्खा बन्दरगाहको जमिन हेरिसकेपछि के प्रतिवद्धता व्यक्त गर्दछु भने सरकारले यो महाकाली नदीको पुल निर्माण गर्ने र सुख्खा बन्दरगाह निर्माण गर्ने प्रक्रियालाई व्यवस्थित र वैज्ञानिक रुपमा अगाडि बढाउनेछ ।’

त्यतिबेला साँझको पाँच बजिसकेको थियो । प्रचण्ड नेतृत्वको भ्रमण टोली कञ्चनपुरबाट पुनः धनगढी फर्कियो र ‘साथी होटल’मा बास बस्यो ।

कैलाली-कञ्चनपुरमा ‘र’का एजेण्ट !

प्रधानमन्त्री प्रचण्डको सुदूरपश्चिम भ्रमण गर्ने तालिका एक हप्ताअघि नै बनिसकेको थियो । त्यसको प्रवन्ध मिलाउन प्रधानमन्त्री कार्यालयका केही कर्मचारी र स्थानीय पार्टी नेता-कार्यकर्ताहरु कैलाली र कञ्चनपुरमा परिचालित भइसकेका थिए । यसको सुइँको पाएपछि भारतले चार सय बढी सुराकी र ‘र’का एजेण्टहरुलाई परिचालन गरेको स्थानीय पत्रकारहरुले सुनाए ।

भारतीय सीमा क्षेत्रसँग जोडिने गरी नेपालले सुक्खा बन्दरगाह निर्माण गर्ने प्रक्रिया अघि बढाएपछि भारतले विशेष चासो राखेर सुराकी परिचालन गरेको स्थानीयको भनाइ थियो । यद्यपि यसको पुष्टि हुन भने सकेन ।

आन्तरिक कलह मिलाउन सकस

प्रचण्ड एकै दिन करिब १० वटा कार्यक्रममा सहभागी भए । हरेक कार्यक्रममा बोल्नैपर्ने भएकाले उनी केही थकित देखिन्थे । तर, नेता भइसकेपछि पार्टी निर्माण र सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउनुपर्ने बाध्यता उनलाई थियो ।

पार्टी कार्यकर्ताहरु भन्दा ठूलो आफ्ना लागि कोही छैन भन्ने सोचाइले हुनसक्छ, प्रचण्डले अरु कार्यक्रममा भन्दा धेरै समय कैलालीमा पार्टीका कार्यकर्ताहरुलाई दिए

अरुका कुरा सुन्ने र तत्कालकै लागि किन नहोस् समस्या समाधान गर्ने वा आश्वस्त पार्ने खुबी भएका नेताका रुपमा चिनिन्छिन् प्रचण्ड । त्यसैले ७ नम्बर प्रदेशका नेताहरु पार्टीको आन्तरिक विवाद मिलाउन प्रचण्डलाई कुरेर बसेका थिए ।

प्रचण्ड कैलाली आएको मौका पारेर ७ नम्बर प्रदेशका नेता-कार्यकर्ताहरुले पार्टीको आन्तरिक विवाद मिलाउन खोजे । लेखराज भट्ट कैलालीदेखि नै प्रचण्डसँगसँगै थिए । प्रचण्ड बसेको होटेलमा पनि खगराज भट्ट लगायतका नेताहरु भेला भएका थिए । उनीहरुले एकता प्रक्रियापछि पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए ।

पुराना जनयुद्धकालीन नेताहरुलाई छुटाइएको, तर नयाँलाई माथिल्लो जिम्मेवारी दिइएको भन्दै त्यसलाई सच्याउनुपर्ने उनीहरुको माग थियो ।

प्रचण्ड आएकै समयमा ७ नम्बर प्रदेशको कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखिए पनि असन्तुष्ट पक्षले बहिस्कार गर्ने चेतावनी दिएको थियो । असन्तुष्टि मिलाउन प्रचण्डले आफू बास बसेको होटलमै र अर्को दिन बिहान ७ नम्बर प्रदेश इञ्चार्ज भट्टको घरमै पुगेर नेताहरुसँग छलफल गरे ।

प्रचण्डको व्यस्तताकै कारण बिहीबार बिहानै चमेलिया जलविद्युत आयोजना अनुगमन गर्ने उनको कार्यक्रमलाई पछि सारियो । प्रचण्डको सक्रियताकै कारण अन्ततः पार्टीको विवाद मिल्यो र धनगढीको कत्था उद्योगमा प्रशिक्षण कार्यक्रम आयोजना भयो । कार्यक्रमलाई प्रचण्डले आधा घण्टामात्रै सम्बोधन गर्ने भनेर समय छुट्याइए पनि झण्डै एक घण्टा भाषण गरे । सायद पार्टी कार्यकर्ताहरु भन्दा ठूलो आफ्ना लागि कोही छैन भन्ने सोचाइले हुनसक्छ, प्रचण्डले अरु कार्यक्रममा भन्दा धेरै समय कैलालीमा पार्टीका कार्यकर्ताहरुलाई दिए ।

prachand-at-darchula-chameliya-5
दार्चुलामा प्रधानमन्त्री प्रचण्ड । तस्वीर: दिनेश श्रेष्ठ

प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई खानाको व्यवस्था प्रशिक्षणस्थलमै मिलाइएको थियो । माओवादी नेता-कार्यकर्ताहरुलाई खुवाउन भनेर एक भारतीय ब्यापारीले भारतबाटै २० किलो मिठाइ ल्याएको बताएका थिए । तर, प्रचण्ड केही नखाई त्यहाँबाट आफ्नो टोलीसँग धनगढी विमानस्थल हुँदै हेलिकोप्टरबाट दार्चुला प्रस्थान गरे । कैलालीबाट प्रचण्डको भ्रमण टोलीमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ समेत मिसिए ।

दार्चुलाका कार्यकर्ताले समय पाएनन्

दार्चुलामा चमेलिया जलविद्युत आयोजना अवलोकन गर्ने कार्यक्रम थियो । बिहीबार नै सुर्खेत हुँदै काठमाडौं फर्किने पूर्वनिर्धारित कार्यतालिका थियो । तर, प्रचण्ड नेतृत्वको टोली धनगढीबाट दार्चुला प्रस्थान गर्दा दिउँसोको एक बजिसकेको थियो ।

prachand-at-khaptad
खप्तडमा सामूहिक तस्वीर खिचाउँदै प्रधानमन्त्री प्रचण्ड लगायत । तस्वीर: दिनेश श्रेष्ठ

दार्चुलामा बिहानको खाना खाएर, जनसभालाई सम्बोधन गरेर, चमेलिया जलविद्युत आयोजना अवलोकन गर्दा करिब-करिब तीन बजिसकेको थियो । दार्चुलाका कार्यकर्ताहरुले पनि पार्टी अध्यक्ष र प्रचण्डबाट प्रशिक्षित हुने अपेक्षा राखेका थिए । त्यहीअनुसार अगुवा कार्यकर्ताहरु पनि चमेलिया जलविद्युत आयोजनास्थल वरपर भेला भएका थिए । उनीहरुले प्रचण्डसँगै रहेका शक्तिबहादुर बस्नेतमार्फत् प्रचण्डको समय मिलाइदिन आग्रह गरे । तर, कार्यकर्ताहरुले समय पाएनन् ।

पूर्वजनमुक्ति सेनाका एक सदस्य गुनासो गर्दै थिए, ‘प्रचण्डका लागि हामी लड्यौं, तर समय पाएनौं ।’

त्यसो त चमेलिया जलविद्युत आयोजनाका अधिकारीहरुले पनि प्रधानमन्त्रीसँग बसेर विस्तृतमा छलफल गर्ने योजना बनाएका थिए । तर, प्रचण्डको समयको चापले त्यो योजना पनि सफल भएन ।

दार्चुलाका पार्टी कार्यकर्तालाई समय नदिएका प्रचण्डले खप्तडमा ओर्लेर फोटो सेसन गर्न भ्याए । हेलिकोप्टरको पंखासमेत बन्द गरिएको थिएन । हेलिकोप्टरको हावा खाँदै खप्तडमा सामूहिक र सिंगल-सिंगल फोटो सेसन गरेर टोली सुर्खेतका लागि उड्यो ।

प्रचण्डले भने- केपी ओलीले भन्दा धेरै दिन्छु

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली महोत्सव उदघाटन गर्ने कार्यक्रम थियो प्रचण्डको । सुर्खेत विमानस्थलमा ओर्लिंदा चार बजिसकेको थियो । महोत्सव उदघाटन कार्यक्रम सम्पन्न हुँदा साँझ परिसकेको थियो । त्यसैले बिहीबारै काठमाडौं फर्किने योजना सफल हुन सकेन । प्रचण्डको टोली सिद्धार्थ होटलमा बास बस्यो ।

सुर्खेतमा पनि भेटघाट र छलफल कार्यक्रमको लामै सूची थियो । उनले साँझ होटलको हलमै मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीहरुसँग भेटघाट गरे ।

भर्खरै नुहाएको जस्तो देखिने भिजेको कपाल एक हातले मिलाउँदै उनी हेलिकोप्टरभित्र छिरिन् र ‘सरी है’ भन्दै अघिल्लो लहरको सिटमा बसिन्

उपकुलपति डा. उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालयले भोग्नुपरेका समस्याको फेहरिस्त प्रस्तुत गर्दै एमाले अध्यक्ष केपी ओलीका पालामा सरकारले ३५ करोड रुपैयाँ निकासा दिएको र अब प्रचण्ड नेतृत्वका पालामा कति निकासा हुन्छ, हेर्न बाँकी रहेको बताए ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो सम्बोधनको क्रममा केपी ओलीको पालामा भन्दा धेरै दिने भन्दै त्यसका लागि विस्तृत योजना पेश गर्न निर्देशन दिए ।

एयरपोर्टमा कुन्तीले १५ मिनेट कुराइन्

शुक्रबार बिहान सुर्खेत जिल्लाका अगुवा कार्यकर्ताहरुलाई भेटेर प्रचण्डको टोली काठमाडौं फर्किनका लागि होटलबाट विमानस्थलतर्फ प्रस्थान गर्‍यो । हेलिकोप्टरभित्र बसिसकेका बेला शक्ति बस्नेतलाई फोन आयो ।

आफू पनि सँगै काठमाडौं जाने भन्दै कसैले केहीबेर कुरिदिन आग्रह गर्‍यो । बस्नेतले चालक दलका सदस्यलाई जानकारी गराए र एकछिन पर्खिन भने । हेलिकोप्टर स्टार्ट भएको धेरै समय भइसकेको थियो । प्रचण्ड, सुरक्षाकर्मी, सचिवालयका सदस्य सबैजना कुर्नुपर्दा आजित देखिन्थे । प्रचण्डले पटक-पटक शक्ति बस्नेतलाई छिटो बोलाउन भन्थे । शक्ति बस्नेत मोबाइल फोन डायल गर्थे ।

करिब १५ मिनेटपछि दौडिँदै एक महिला हेलिकोप्टरतर्फ अघि बढिन् । नजिकै आउँदा चिनियो, उनी त राप्रपाकी सांसद कुन्ती शाही पो रहिछन् ।

भर्खरै नुहाएको जस्तो देखिने भिजेको कपाल एक हातले मिलाउँदै उनी हेलिकोप्टरभित्र छिरिन् र ‘सरी है’ भन्दै अघिल्लो लहरको सिटमा बसिन् । त्यसलगत्तै नेपाली सेनाको सुपर पुमा हेलिकोप्टर काठमाडौंका लागि उड्यो ।

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?