Comments Add Comment

यौन उन्मादले ट्याक्सी चालकको ज्यान गयो ! होटलवालीलाई विश्वास गर्दा चौकी जल्यो

naya-basti-police
आइतबार तनावग्रस्त बनेको नयाावस्ती प्रहरी चौकी । बक्समा मृतक राजकुमार लामा

२९ मंसिर, काठमाडौं । प्रहरीले अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएका भनिएका ट्याक्सी चालकको हत्या भएको खुलेको छ । साथै यसमा स्थानीय प्रहरी पनि घटनालाई बुझ्न चुक्दा स्थानीयको आक्रोशको शिकार प्रहरी चौकी बनेको पाइएको छ ।

आइतबार विहान काठमाडौंको नयाँबस्तीका स्थानीयहरुले प्रहरी चौकीमा तोडफोड तथा आगजनी गरेका थिए, जतिभित्र चौकीभित्र सात जना प्रहरी रहेको उनीहरुको दाबी छ । स्थानीयको आक्रोशको कारण थियो ट्याक्सी चालक राजकुमार लामाको शंकास्पद मृत्यु ।

दोलखा घर भएका लामाको शनिबार राति भएको मृत्युलाई नयाँबस्ती प्रहरीले अध्याधिक मदिरा सेवनका कारण भन्यो । बाटोमा अचेत अवस्थामा भेटिएका उनलाई प्रहरीले नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याएको थियो, तर उनको मृत्यु भइसकेको रहेछ ।

तर, स्थानीयले त्यो स्वीकार गरेनन् र हत्या भएको भन्दै प्रहरी चौकीमा तोडफोड र आगजनी गरे ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको अनुसन्धान समितिको अध्ययनले पनि ट्याक्सी चालक राजकुमारको हत्या भएको खुलेको छ । साथै स्थानीय प्रहरी पनि यो घटनालाई बुझ्न चुकेको पाइएको छ ।

यौन उन्मादले ज्यान गयो

अनुसन्धानबाट खुले अनुसार शनिबार साँझ राजकुमार नयाँबस्तीमा रहेको हेलम्बु रेष्टुँरामा पुगेका थिए । होटलकी सञ्चालिका सोलुखुम्बुकी ३६ वर्षीया संगिता राई हुन् ।

त्यहाँ तुङ्बा तान्ने क्रममा राजकुमारको होटलमा काम गर्ने काभ्रेकी माया तामाङसँग भेट भयो ।

तुङ्बा तानेर बाहिरिएर राजकुमार केहीबेरमा फेरि त्यहीँ आइपुगे । उनले मायालाई दोहोरी जान प्रस्ताव गरे । माया राजी भएपछि आफ्नो बा २ ज २२३ नम्बरको ट्याक्सीमा हालेर गौरीघाटतिर लागे । तर, नयाँ बस्तीको एरिना फुटसल नजिकै पुग्दा ट्याक्सी खाल्डोमा फस्यो । दुबै जना हेलम्बु रेष्टुँरा फर्किए ।

त्यहाँ सबै सुतिसकेको मौका पारेर उनीहरुले शारीरिक सम्वन्ध राखे । त्यही क्रममा उनीहरुबीच विवाद भएको थियो । मायाले धकेल्दा रक्सीले मातेका ट्याक्सी चालक लामा भूईँमा लड्न पुगे । रेष्टुँरा सञ्चालिका संगिताका भाई मागधनले ईंटाले हाने, जो घर बनाउने काम गर्छन् र बिहान बेलुका दिदी कहाँ बस्दै आएका थिए ।

माया र मागधनले राजकुमार लामालाई त्यसै छाडिदिन्छन् । तर, होटल सञ्चालिकाका छोरा अरुणले आमालाई भनेपछि संगिताले मानिस लडेको भनेर नयाँबस्ती प्रहरीलाई खबर गर्छिन् । र, प्रहरी टोलीले उनलाई अस्पताल लगेको देखिएको छ ।

प्रहरीले होटलवालीलाई विश्वास गर्दा …

अनुसन्धानमा खटिएका अधिकारीहरुका अनुसार नयाँबस्ती प्रहरीले होटल साहुनी संगीताले भनेको कुरालाई सहजै पत्यायो र ट्याक्सी चालक लामाको अत्याधिक मादक पदार्थ सेवनका कारण मृत्यु भयो भनिदियो । स्थानीय प्रहरी यसमै चुकेको देखिएको छ ।

मृतकको टाउकोमा चोट लागेकाले उसले तत्कालै शंकास्पद मृत्यु भएको भनेको भए शायद स्थानीयमा त्यतिधेरै आक्रोश हुँदैनथ्यो । नयाँबस्ती प्रहरी चौकीमा कार्यरतहरु संगीताको रेष्टुँरामा बाक्लै आउजाउ गर्ने गरेकाले उनको कुरा पत्याएको देखिन्छ ।

ट्याक्सी चालकको हत्यामा भने प्रहरी कर्मचारीको संलग्नता नदेखिएको एसएसपी खनाल बताउँछन् । उनले भने ‘चौकी अगाडी भएको घटना थाहा नपाउनु र मध्य रातसम्म रेष्टुारा खोल्न दिनुमा प्रहरीको कम्जोरी छ तर, हत्यामा कुनै संलग्नता देखिँदैन ‘।

रेष्टुरेन्ट सञ्चालिकालाई चौकीका प्रहरीले साथ दिइरहेको पनि एसएसपी खनालले बताए । संगिताले राजकुमार ढलेको विषयलाई भने धारामा लडेको भनेर झुटो बोलेकी थिइन, जसले प्रहरीले सजिलै पत्यायो ।

रेष्टुारा मालिकसँग सम्बन्ध राख्ने प्रहरी छानविन भइरहेको र उनीहरुमाथि काबारही हुने एसएसपी खनालले बताए । साथै प्रहरी चौकी आक्रमणको घटनामा पनि छानविनपछि दोषीलाई कारवाही गर्ने प्रहरीले बताएको छ ।

अहिले भने प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माया, संगीता, मागधनका साथै संगीताका छोरा अरुण र बुहारी दिया माझी समेत रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment