शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

‘भूपू मायालु’को गजब सौगात

'वान टाइम वन्डर' गायकको कथा

जोतारे धाइबा

trilok-rana-2

मायाको बजारमा भूपू मायालुको खासै भाउ हुँदैन । भूतपूर्व यादहरु अतीतको अँध्यारो कुनामा धमिलो सम्झना मात्र भएर बस्छन् ।

तर, गायक त्रिलोक रानाको जीवनमा भने ठ्याक्कै उल्टो हुन आउँछ । ०५८ सालताकाको भूपू मायालुले उनलाई अझैसम्म यति पछ्याइरहेछ, उही नै सदाबहार मायालु जस्तो बनिदिएको छ । हुन पनि भूपू मायालुको गाढा मायाले उनलाई पोल्टाभरि दिएको छ ।

यो कथा हो, ०५८ सालमा आएको एउटा गीतको । जुन त्रिलोकको सांगीतिक यात्रामा पहिलो खुड्किलो थियो । पहिलो गीतले नै उनलाई यति चर्चा र माया दियो, अझैसम्म ‘भूपू मायालु गायक’ को ट्यागले उनलाई छोडेको छैन ।

पहिलो गीतको व्यापक सफलतापछि उनले अझ जोशका साथ एकपछि अर्को एल्बम नल्याएका होइनन् । बिक्रीका हिसाबले एल्बम राम्रै गयो, गीतहरु पनि चले । तर, ‘भूपू मायालु’ को लोकप्रियतालाई माथ गर्ने कुनै गीत भएन ।

पहिलो गीतबाटै परिचय स्थापित भएकोमा खुसी मान्ने त्रिलोक यसलाई आफ्नो भाग्य र संयोगसँग जोडेर हेर्छन् । उनले भने, ‘कसैको लगालग पहिलो, दोस्रो एल्बम र गीतहरु नचलेर त्यसपछि बल्ल हिट हुने हुन्छ, ठ्याक्कै सुरुकै गीतबाट हिट भएको गायकलाई चाहिँ सधैंका लागि त्यही गीतको छाप पर्ने रै’छ ।’

देश-विदेशका कार्यक्रमहरुमा जाँदा उनलाई बढीजसो ‘भूपू मायालु’ गीतकै फर्मायश आउँछ ।

सुरुकै गीत हिट भएपछि उनलाई संगीत बजारमा काम गर्न सजिलो पनि भयो । श्रोताले त पत्याए नै, त्यसैका आधारमा म्युजिक कम्पनीले पनि पत्याएर एल्बममा लगानी गरिदिए । धौलागिरि क्यासेट सेन्टरले ०६० सालमा उनको पहिलो सोलो एल्बम ‘औसरवादी मायालु’ निकाल्यो ।

चर्चाको शिखर छोएको पहिलो गीत कलेक्सन एल्बममा समेटिएको थियो । त्यो गीत गाउने अवसर पाउने अवस्थासम्म पुग्नुमा त्रिलोकले कम पापड बेल्नुपरेको थिएन ।

***

गायक बन्ने र संगीत सिक्ने मखमली सपना लिएर उनी ०५४ सालमा काठमाडौं आएका थिए । महोत्तरीको हाथीलेठ ६ बाट एसएलसी पास गरेर आएपछि क्याम्पस पढ्नु पनि थियो । तर, क्याम्पस भर्ना हुने काम मात्र भयो । मन उनको संगीतले कब्जा गरेको थियो ।

डोरेमी संगीत पाठशालामा गुरुदेव कामतसँग शास्त्रीय संगीत सिक्न थाले उनी । गाउँमा रहँदा स्कूल र टोल-छिमेकमा गीत गाउने र झुमेर नाच्नेमा स्थानीय ‘स्टार’ नै थिए उनी । तर, त्यो स्टार राजधानीमा पस्नासाथै निभेको कोइलामा परिणत भएको थियो ।

‘गाउँघरमा गीत गाएर वाहवाही बटुलेको मान्छे यहाँ आउँदा संगीतमा लाग्न सजिलै होला भन्ने सोच थियो,’ उनले रहर र साधनाको अन्तर सुनाए, ‘तर संगीतको स पनि नजानेको मलाई त यहाँ अन्धकार नै भयो ।’

आफ्नै पारामा गीत गाउँदै आएको ठिटोलाई सारेगमको शास्त्रीय अनुशासन अक्कर पहाड जस्तो भइदियो । हत्तपत्त दिमागमा घुस्दैनथ्यो । त्यस क्रममा एक किसिमले तपस्या नै गरेको उनी सम्झन्छन् ।

संगीत सिक्दै गएपछि उनमा आत्मविश्वास पलाउँदै गयो । सुगम संगीतका पारखी उनी नारायणगोपाल, भक्तराज आचार्य, अरुण थापाका गीत निकै सुरमा गाउँथे । ‘डोरेमीमा मैले गाएको सुनेर अरु विद्यार्थी निकै लोभिन्थे’, उनले सम्भिmए ।

लोभिने पात्रहरु संगीत स्कूलमा मात्र सीमित थिएनन् ।

चार वर्ष संगीत सिकेर अब जस्तो पनि गीत गाउन सक्छु भन्ने लागेपछि उनी संगीतकारकहाँ धाउन थाले । अनेक अनुनय-विनय गर्थे, ‘म गाउन सक्छु, मलाई मौका दिनुस् ।’

त्यो समय चलेका गीतहरू गाएर सुनाउँदा संगीतकारहरु दंग पर्थे । तारिफ आउँथ्यो, ‘कमालको स्वर रै’छ भाइ तिम्रो !’

तारिफ आफ्नो ठाउँमा थियो, गीत गाउने मौका दिने भने कोही निस्किएनन् । संगीतको दुनियाँमा चिनेजानेका मान्छे पनि कोही थिएनन् । संगीतकारको मुख ताक्दा फोस्रो प्रशंसा मात्र पाउँथे । ‘राम्रो गाउँदा पनि मौका नदिने रै’छन् भनेर एक मनले त हरेश नै खाइन्थ्यो’, उनले हतास हुँदाको समय नियाले ।

त्यो उज्यालो दिन पनि आयो, जब उनले केही होला कि भन्ने बाटो देखे ।

प्रज्ञा भवनमा एउटा सांगीतिक कार्यक्रम थियो । विभिन्न संगीत स्कूलका विद्यार्थीसँगै उनी पनि डोरेमीको प्रतिनिधित्व गर्दै गीत गाउन त्यहाँ पुगेका थिए । उनको प्रस्तुति सुन्ने धेरै जनामध्ये त्यस दिन गीतकार बुद्धवीर लामा पनि रहेछन् । गायकीबाट प्रभावित भएर उनले त्रिलोकसँग एक पटक मलाई भेट भने । अनेकतिर दस चोटि धाउँदा केही नभइरहेको बेला चल्तीका गीतकारको बोलावट आउँदा उडूँ कि गुडूँ भयो उनलाई ।

त्यसबेला बुद्धवीरको कलेक्सन एल्बम निस्किन लागेको रै’छ । त्रिलोक उनको घरमा पुग्दा फेरि लाइभ गायन सुन्न मन गरे । निर्णय पनि सुनाइहाले, ‘तिम्रो स्वर युनिक लाग्यो, तिमीलाई एउटा चान्स दिन्छु ।’

गीतकारले संगीतकार चन्द्रकुमार दोङकोमा पुर्‍याए । दोङ पनि प्रभावित भए । हाइ फेजको आलाप र गाह्रो नोटेसन रहेको ‘भूपू मायालु’ उनले सहजै गाएर सुनाएका थिए ।

कलेक्सन एल्बम ‘भूपू मायालु’ बजारमा आयो । एल्बममध्येको उनले गाएको शीर्ष गीतलाई सबैले रुचाए । त्यसपछि उनलाई सुझाव आयो, अब सोलो एल्बम ल्याउनुपर्‍यो ।

पहिलो एल्बम ‘औसरवादी मायालु’ को शीर्ष गीतमा तिनै गीतकार र संगीतकारलाई दोहोर्‍याए उनले । ०६० सालको पहिलो एल्बमपछि उनले ०६३ मा समय र ०६७ मा संगीत एल्बम ल्याए ।

त्यसपछि केही वर्ष असाध्यै बिरामी परे उनी । जस्तोसुकै गीतमा गला घुमाउन सक्ने गायक सामान्य गीत समेत गाउन नसक्ने अवस्थामा पुगे । ‘त्यस्तो बेला निकै टेन्सन लाग्थ्यो’, उनले भने । साथीभाइ र आफन्तले बिस्तारै ठीक भइहाल्छ नि भनेर ढाडस दिन्थे ।

प्याङ्क्रियाज समस्याका कारण उनी केही समय आईसीयूमै बसे । शल्यक्रिया नै गर्नुपर्‍यो ।

०७० सालपछि केही तङ्गि्रएसँगै उनले हालै चौथो एल्बम ‘वरदान’ पस्किएका छन् । नयाँ एल्बममा पहिलेका फ्यानहरुदेखि अहिलेका टिनएजरसम्मलाई रुचिकर हुने मिश्रति गीतहरु समेटेकोले उनी ढुक्कै छन् ।

‘काँडा छोए फूल बन्छ, धूलो छोए सुन
संसारमा केही छैन, दाँज्न तिम्रो गुन
शर्मिली… मेरी शर्मिली …’

भूपू मायालु शैलीका गीतसँगै चटपटे शैलीका गीतबाट नयाँ पुस्तालाई समेत रिझाउने सोचमा छन् उनी ।

‘नयाँ एल्बमको गीतमा मैले सेलो बाजाको प्रयोग गरेर नयाँपन दिन खोजेको छु, तर नयाँ ट्रेन्ड अपनाएँ भन्दैमा मैले सुगम संगीतलाई छाडेकै छैन’, उनले आफ्नो मौलिक चिनारीमा जोड दिए ।

***

त्रिलोकलाई पानी आधा भरिएको गाग्री चित्त बुझ्दैन । पूरा भरिएको गाग्री देखेर मन तृप्त हुन्छ । यो सन्दर्भलाई उनी कलाकारले निकाल्ने सिङ्गल ट्र्याक र एल्बमसँग जोड्छन् । एक-दुइटा गीतको सिङ्गल ट्र्याक आधा गाग्री पानी हो भने, पूरा एल्बम भरिएको गाग्री हो ।

अहिलेको ट्रेन्डबारे प्रहार गर्दै उनी भन्छन्, ‘एउटा वा दुइटा गीतको कुनै एल्बम हुन्छ जस्तो लाग्दैन, म चाहिँ म्युजिक फिल्डमा रहुन्जेल त्यसरी निकाल्दिनँ ।’

नयाँ एल्बम ‘वरदान’मा उनले आठ वटा गीत राखेका छन् ।

नयाँ गीतहरु सिर्जना गर्न नसक्दा, लगानी अभाव र सीडीको व्यापार ठप्पै भएकोले अहिले सिङ्गल ट्र्याकको लहर देखिन्छ । सीडी बिक्दैन भनेर आफूलाई सीमित गीतमा खुम्च्याउने पक्षमा छैनन् । तर, बजार खस्किएको यो अवस्थालाई उनी निकै विडम्बना मान्छन् । मन चुकचुकाउँछ ।

६ वर्षको अन्तरालमा नयाँ एल्बम ल्याउँदा उनले नेपाली संगीतमा आएको परिवर्तन र नयाँ पुस्ताले खोजेको नयाँ स्वादबारे धेरै अध्ययन गरे ।

त्यसबारे उनको निष्कर्ष छ त ?

‘म्युजिकको ट्रेन्ड जतिसुकै फेरिए पनि यदि राम्रो गीत बनाइयो भने श्रोताले माया गर्छन् । म्युजिकको नोट चलाउने र त्यो पस्किने कुरामा भर पर्छ’ उनले सुनाए ।

त्रिलोकले आफ्नो संगीत यात्रामा त्यही छनक दिएका छन् ।

२०७३ मंसिर ३० गते १७:१७ मा प्रकाशित (२०७३ पुष १ गते ९:५८मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१ प्रतिकृया प्राप्त
  • sreya लेख्नुहुन्छ    |   २०७३ मंसिर ३० गते १६:२२

    All the best ,Trilok g…Safalta ko suvakamana..

    4
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this