Comments Add Comment

उपप्रधानमन्त्री महरा सुटुक्कै मलेसिया पुगे, भ्रमणको उद्देश्य रहस्यमय

Krishna Bahadur Mahara

१ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा रातारात सुटुक्कै मलेसिया पुगेका छन् । कुनै पनि सरकारी कार्यक्रमविनै उनी बुधबार राति ११ बजे काठमाडौंबाट मलेसिया उडेका हुन् । उनको भ्रमण अहिलेसम्म गोप्य राखिएको छ ।

उपप्रधानमन्त्री महरा मलेसियामा कुनै औपचारिक समारोहमा सहभागी हुने कार्यक्रम नरहेको स्रोतले अनलाइनखबरलाई बतायो । महराका साथमा छोरा पनि मलेसिया पुगेका छन् ।

सुटुक्कै मलेसियाको भ्रमणमा निस्केका उपप्रधानमन्त्री महरा शनिबार राति काठमाडौं फर्किने कार्यक्रम रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यसैवीच उपप्रधानमन्त्री महराको मलेसिया भ्रमणको उद्देश्यबारे सोध्दा उनका स्वकीय सचिव हिमाल शर्माले त्यहाँ माओवादी पार्टीको  कार्यक्रममा सहभागी हुन मलेसिया गएको बताए ।

शर्माले अनलाइनखबरसँग भने, ‘मन्त्रीज्यू मलेसियामा माओवादी समर्थित जनवर्गीय संगठनको कार्यक्रममा सहभागी हुन जानुभएको हो ।’

तर, शर्माले पार्टीको कार्यक्रममा सहभागी हुन गएको भने पनि मन्त्री महरा शुक्रबार साँझसम्म मलेसियामा रहेका माओवादी नेताहरुको सम्पर्कमा छैनन् ।

मलेसियामा रहेका माओवादी समर्थित नेपाली जनप्रगतिशील मोर्चाका संयोजक प्रेम पाण्डेले उपप्रधानमन्त्री महरा मलेसिया आएकोबारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिए । उनले भने, ‘उहाँ कुनै व्यक्तिगत कामले आउनुभएको भए थाहा भएन, तर यहाँ पार्टीको त्यस्तो कुनै कार्यक्रम छैन र उहाँसँग सम्पर्क पनि भएको छैन ।

सरकारको उपप्रधानमन्त्रीजस्तो पदमा रहेको व्यक्ति कुनै औपचारिक कार्यक्रमविनै सुटुक्कै मलेसिया जानु र भ्रमणको कार्यक्रम गोप्य राखिनुले महराको भ्रमणलाई रहस्यमय बनाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment