Comments Add Comment

सेयर बजारको सास्तीः एक लाखभन्दा बढी लगानीकर्ता थला परेका छन्

'हचुवाको भरमा हुँदैन, अध्ययन गरेर लगानी गर्नोस्'

१० पुस, काठमाडौं । सेयरमा पैसा लगानी गर्न पाए ह्वात्तै बढ्ने थियो र बसी बसी कमाइ हुने थियो भन्ने सोचेर मानिसहरु सेयर बजारतिर आकर्षित हुने गरेका छन् । तर, कुनै अध्ययन र विश्लेषण नगरी सेयर लगानी गर्दा डुब्ने खतरा अधीक हुने विश्लेषकहरु बताउँछन् ।

हाथवे इन्भेष्टमेन्ट कम्पनीका सेयर विश्लेषक प्रकाश तिवारीका अनुसार अहिले एक लाखभन्दा बढी सेयर लगानीकर्ताहरु उठ्नै नसक्ने गरी थला परेका छन् । सेयर बजारको अवस्था र लगानी अर्नुअघि के कस्ता कुरामा ध्यान दिनपर्छ भन्नेबारे विश्लेषक तिवारीसँग अनलाइनखबरकर्मी विजयराज खनालले गरेको कुराकानीः

prakash-tiwari-1

सेयर बजारमा लगानी गर्ने कलाबारे केही बताइदिनुहोस् न ?

यहा समस्या के छ भने हामी पैसामा आधारित भएर लगानी गर्छौं । यो त अवसरमा आधारित हुनु पर्ने हो । पैसा हुने वित्तिकै साथीहरु लगानी गर्नुपर्‍यो भन्दै आउनुहुन्छ । बैंकमा पाउने व्याज दर र बजारबाट पाइने प्रतिफल कति छ भन्ने विश्लेषण पनि गर्नुपर्छ । अवसर छ भने ऋण खोजेरै पनि लगानी गर्न सकिन्छ । होल्ड गरेर बस्ने हो भने लगानी गर्न सकिन्छ । तर, अवसर नै नभै लगानी किन गर्ने ?

मैले प्राप्त तथ्यांकहरुको विश्लेषण गर्दा बजारमा बार्षिक १५ प्रतिशतसम्म प्रतिफल पाएको देखिन्छ । दीर्घकालीन लगानी गर्ने सोच हो भने समस्या छैन । बैंकहरुले बार्षिक व्याज र कहिले पनि १५ प्रतिशत दिएका छैनन् नि । आफ्नो लगानी क्षमता बुझ्नु पर्छ, ऋण लिएर गर्ने हो भने भुक्तान क्षमता हेर्नुपर्छ । कतिसमयका लागि लगानी गर्ने, किन लगानी गर्न लागेको भनेर हेर्नुपर्छ । अध्ययन गर्नुपर्छ । १५ दिनका लागि पुँजी बोकेर लगानी गर्न आउनुहुन्छ, अनि बजार थप बड्छ कि भनेर पुनः कर्जा लिएर लगानी गर्नु हुन्छ । विश्लेषण गर्नुपर्छ । हचुवाको भरमा हुँदैन ।

केही दिन अगाडि मैले एउटा केस हेरेको थिएँ । जापानबाट कति वर्ष मिहेनत गरेर आएको एक व्यक्तिले ५४ लाख रुपैयाँ बजारमा हाले । अरुले भनेको सुनेर लगानी गरेको भनेका ती व्यक्तिको तीन महिनामा लगानी रकम सेयर मूल्य घटेसँगै ३०-३२ लाखमा सीमित भएको छ ।

अहिले बजारमा हेर्ने हो भने १ लाखभन्दा बढी सेयर लगानीकर्ता उठ्न नसक्ने गरेर थला पारेका छन् । कतिपय कम्पनीहरुको सेयर मूल्य ६० प्रतिशतभन्दा धेरैले घटेको छ । १०/१५ प्रतिशत लाभांश दिएका ती संस्थाबाट लगानीकर्ताले कहिले राहत पाउने ?

अहिले समूहमा लगानी गर्ने, लगानी कम्पनी खोल्ने परिपाटी पनि बढेको छ, हाथवे इन्भेष्टमेन्ट पनि यस्तै सोचले अगाडि बढ्यो तर अहिले विभिन्न क्षेत्रमा पकड बनाएको छ । बजार नै हो त यस्तो वृद्धिको आधार ?

हामीले ७ करोडबाट सुरु गरेको यो कम्पनी अहिले लगभग यो ८२ करोडको कम्पनी भएको छ । बजारको सबै उतार चढावलाई यसले देखेको छ । पहिले हामीले ट्रेडिङ कम्पनीको रुपमा मात्र काम गरिरहेका थियौं । बजार २९२ तिर आउँदा चन्द्रागिरीको सबै सेयर बिक्री गर्न पर्ने अवस्था समेत आएको थियो ।

हामीले त्यो समय नै महशुस गर्‍यौं बजारमा ट्रेडिङ कम्पनी मात्र भनेर बस्नु हुँदैन् । हुनतः हाम्रो आधार सेयर बजारबाटै बनाएको हो । हामीले एनबी इन्स्योरेन्स लियौं, हामी अरुण फाइनान्समा, केही बिल्डिङमा, चन्द्रागिरीमा, केही जलविद्युत्मा लगानी गरेका छौं । हामी हस्पिट्यालिटी क्षेत्रमा पनि जाने सोचमा छौं । बजारमा एउटा उदाहरण हो, हाथवे इन्भेष्टमेन्ट । बजारबाट सुरु गरेर अगाडि बढेका हौं । तर सबै लगानीको स्रोत बजार मात्र होइन । बैंकहरुको कर्जा पनि हो । बजारले आत्मविश्वास, नेटवर्क बढाउन सहयोग गर्‍यो ।

बजारमा केही लगानीकर्ता तथा विश्लेषकहरुले नेप्से २५ सय तहसम्म पुग्छ पनि भन्थे । त्यो तह काल्पनिक मात्रै थियो वा प्रक्षेपणमा आधारित थियो ?

मेरो कुरा गर्नुहुन्छ भने म त्यति लामो अवधिको प्रक्षेपण गर्दिन् । मलाई अहिले नै नेप्से २५ सय पुग्छ, ४/५ हजार पुग्छ भनेर गरिने प्रक्षेपण जायज लाग्दैन पनि । लगानीकर्ताहरु आवेशमा आएर यसो भन्छन् कि भन्ने लाग्छ ।

prakash-tiwari-2

तर, सबैले बुझुन पर्ने कुरा के हो भने, बजारलाई प्रभाव पार्ने तत्वहरु सधै परिवर्तन भइरहेको हुन्छ । बजारमा नयाँ/नयाँ सुचकांक आइरहन्छन तथा कारकहरु फेरिरहन्छन् । सकारात्मक कारकमा सकारात्मक थपिँदै गएमा बजार वृद्धि भइरहने हो । सकारात्मक र नकारात्मक पक्ष सन्तुलित भएमा बजार साइडवेज मुभमेन्ट (निश्चित दिशामा रहेर तलमाथि गर्नु) मा रहन्छ । नकारात्मकले जित्दा भने तल जान्छ ।

हामी तीन महिना अवधिसम्म प्रक्षेपण गर्दै अगाडि बढ्छौं । हाम्रो समाचारहरुमा पनि ती विज्ञहरुसँग कारण नखोजी भनाइलाई उदृत गरेको पाइन्छ । बजारमा कारकको रुपमा रहने ब्याजदर, राष्ट्र बैंक र धितोपत्रका नीतिहरु, तरलताको अवस्था हेरेर भनिएको हो कि ? आधार त हुनुपर्छ ।

सेयर बजारको चक्रलाई आधार मानेर लगानी गर्ने परिपाटी पनि छ । यसमा तपाईको धारणा के हो ?

यसमा लगानीकर्ताले नबुझिरहेको एउटा कुरा के हो भने बजार वियरिश ट्रेण्डमा हुँदा लगानीकर्ताहरु ‘किल’ हुँदैनन् । तर, वियरिश ट्रयापमा परे भने किल हुने हो । त्यस्तै बजार पहिले जस्तै ३/४ वर्ष स्थिर भइरह्यो भने ऋण लिएर सेयर किनबेच गर्ने लगानीकर्ता डुब्ने हुन् ।

हाम्रो कम्पनी हाथवे इन्भेष्टमेन्ट ११७५ बाट बजार घटेर ६ सयमा आउँदा स्थापना भएको हो । ६ सयको हाराहारीमा आउँदा हाम्रा संस्थापकहरुसँग पैसै पैसा थियो र त कम्पनी खडा गर्नु भएको थियो । तर, त्यसपछि भने वहाँहरु ट्र्यापमा फस्नु भएको हो । यो तहबाट बजार घट्दैन भनेर कम्पनी नै खडा गरेर लगानी गर्नुभयो तर बजार केही वर्षसम्म माथि नै उक्लेन । एक वर्षमा बजार ३ सय मुनि आएर पुनः ८ सय आएको भए पनि समस्या हुन्थेन । तर, बजार बर्षौंसम्म उकालो लाग्न सकेन । त्यो समय लगानीकर्ताहरुले ब्याजमा बढी लगानी गर्न थाले । तर, ब्याज र र मार्जिन कल थाम्नै सकेनन् । सेयर नै कम मूल्यमा बेच्न पर्ने अवस्था आएपछि घाटा हुने हो ।

म बजारको चक्रजस्तो प्राविधिक पक्षलाई मात्र हेर्दिनँ । हामी बजार घटबढ हुनसक्ने बिभिन्न १० कारणमा आधारित मोडल अभ्यास गर्छौ। त्यो मोडलमा हामी राजनीतिक कारण, माइक्रो इकोनोमि, सम्बन्धित क्षेत्रका नीतिगत कुराहरु लगानी व्यवहारदेखि सबै पक्षको अध्ययन गर्छौ ।

बजार प्रभाव पार्न नयाँ अभ्यासहरुले पनि सहयोग पुगेको देखिन्छ । बजार ओपन क्राइआउट सिस्टमबाट स्क्रिन बेस्ड अटोमेटेड सिस्टममा गएपछि राम्रै वृद्धि देखिएको थियो । अन्य देशमा डिम्याट प्रणाली लागु भएपछि ६० देखि ३ सय प्रतिशतसम्म बजार बढेको देखिएको थियो । डिम्याटले हाम्रो बजारलाई माथी लाजैन्छ भन्ने प्रक्षेपण गरेको थिए । यहाँ बजार बढ्ने वातावरण पनि बनेको थियो । तरलताको अवस्था राम्रो थियो, नियामक निकायमा पनि सुधार देखिएको थियो, राष्ट्र बैंकले पनि चुक्ता पूँजी वृद्धिको नियम ल्यायो र यसले बजारमा वृद्धि देखियो । पहिले प्रणाली परिवर्तन हुँदा पनि ६५ प्रतिशतले बजार बढेको थियो । डिम्याट प्रणाली आएपछि यसमा ६० प्रतिशत वृद्धि भएको थियो ।

prakash-tiwari-4

त्यसो भए बजारमा अब अर्को वृद्धि देख्न पुनः प्रणालीमा परिवर्तन हुन जरुरी छ ?

मलाई धेरैले अब बजारमा कहिले यस्तै बुल देख्न सकिन्छ भनेर सोध्छन् । अन्य कारणहरु सकारात्मक भइदिएमा र अनलाइनमा आधारित कारोबार प्रणाली आएमा बजार फेरि हुल हुनसक्छ भन्ने मेरो प्रक्षेपण हो । बजार बढ्न अहिले देखिएको तरलता संकटको अवस्था अन्त्य हुने लगायतका सुधार भने हुनुपर्छ ।

अहिले बजारमा देखिएको गिरावटमा सुधार हुन समय लाग्छ भन्न खोज्नुभएको हो ?

बजारलाई सजिलोसँग बुझ्ने हो भने माग र आपूर्तिलाई हेर्नुपर्छ । माग बढ्दा बजार बढ्छ र आपूर्ति बढेअनुसार माग बढेन, पचाउन सकेन भने बजार घट्छ । अहिले राष्ट्र बैंकको निर्देशन अनुसार वित्तीय संस्थाहरुले चुक्ता पूँजी वृद्धि गरिरहेका छन् । त्यसलाई पचाउन भने समय लाग्छ नै ।

बजारमा प्राविधिक विश्लेषण तब मात्र लागु भएको देखिन्छ जब यसलाई पछ्याउने, मान्ने, हेर्ने लगानीकर्ताहरु धेरै हुन्छन् । अहिले हाम्रो बजारमा यसलाई मान्ने मानिसहरुको संख्या पर्याप्त छ छैन यसलै निर्धारित गर्छ ।

अहिले आधारभूत पक्ष भने कमजोर छ । मलाई राम्रा राम्रा वाणिज्य बैंकबाट फोन आइरहेको छ कल डिपोजिटमा नै १० प्रतिशतभन्दा माथी व्याज दर दिन्छु भनेर । अर्को कुरा अहिले बैंकहरुले प्रतिसेयर आम्दानी अनुपात व्यवस्थापन गर्न सक्ने अवस्था छैन । बैंकहरुलाई कर्जा लगानी गर्न पुँजी अभाव देखिएको छ । कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) नै ८० छुन लागेको छ । यस्तोमा व्याज र राम्रै बढिरहेको छ र सेयर बजारमा पाँच प्रतिशत प्रतिफल पाउन पनि मुश्किल पर्न थालेको छ ।

बैंकहरुले चुक्तापूँजी पुर्‍याइसकेपछि नगद लाभांश मात्रै पाइनसक्छ भनेर पनि लगानीकर्ताहरु सशंकित छन् । यता, सरकारले राजस्व उठे अनुसार पनि खर्च गर्न सकेको छैन । पुस मसान्तमा अनुमानित ५५ अर्ब रुपैयाँ सरकारले अगि्रम करबाट तान्न सक्छ । अहिले मार्जिन कलको दबाब लगानीकर्तालाई परेको छैन तर केही समयमा त्यो पनि हुन सक्छ ।

बजारमा सबै बोनस तथा हकप्रद सेयर सूचीकृत हुन बाँकी नै छ । त्यसैले अब बजार बढ्न सकारात्मक कुराहरु के आउछ भन्ने कुरामा भर पर्छ ।

सरकारले खर्च बढाएमा तरलता केही व्यवस्थापन हुनसक्ला र बजारमा पनि वृद्धि देखिएला भन्न सकिन्छ ?

तत्काल सम्भावना छैन । सरकारले २/३ महिना मै खर्च उच्च दरमा वृद्धि गर्न सक्ने अवस्था छैन । सरकारको खर्च बढ्ने भनेको जेठ असारमा हो । त्यो समयसम्म यता बजारमा आपूर्तिले हान्यो भने बजार बढ्ने सम्भावना न्यून छ । तर, चुनाव हुने जस्तो वातावरण त्यसअघि नै बन्यो भने लगानीकर्ताको मनोविज्ञान सबल बन्ने छ र बजारमा केही सुधार भने देखिनसक्छ । तर, बढ्न नै भने अन्य कुराहरु सकारात्मक हुनुपर्छ ।

सेयर कर्जाको व्याज दर व्यवस्थापन गर्न नसक्दा पनि लगानीकर्ताहरु समस्यामा परेका छन । कसरी गर्न सकिन्छ ?

बजारमा कर्जा लिएर लगानी गर्दा आफ्नो नियमित आम्दानी कति छ, कहिले कहिले कुन कुन क्षेत्रबाट कति लगानी आउँछ भनेर ध्यान दिनुपर्छ । व्याज भुक्तानी नियमित तालिका अनुसार काम गर्न नियमित आम्दानी आउने बाटो हुनुपर्छ ।

मेरो १० करोडको जग्गा छ, २० करोड कुनै दिन पुग्छ भनेर हुँदैन । आफुले नियमित आउने पूँजीभन्दा बढी कर्जाको व्याज हुने गरी रकम लिनु हुदैन् । कतिपय बजारमा यति प्रतिफल छ, यति व्याज लिन्छु भनेर लगानी गर्दा पनि फसिने सम्भावना हुन्छ ।

वर्षको अन्त्यमा आउने प्रतिफलले त्रैमासिक रुपमा बुझाउनुपर्ने ब्याज तिर्न सकिँदैन । कम्तिमा १ वर्षका लागि कुसन भने चाहिन्छ । बजारमा लगानी गर्दा आवश्यक कुसन पनि बजारबाटै जुटाउँछु भन्नु जोखिमपूर्ण हुन्छ ।

prakash-tiwari-3

सेयर बजार घटिरहे पनि अझै उच्च तहमा नै छ, बजारमा हुनुपर्ने भन्दा कम मूल्यमा अहिले सेयर रहेको पाइन्छ कि पाइँदैन ?

नेपाली बजारमा दुईवटा समस्या छ । बजार विविधिकरण हुन सकेको छैन । बजार घट्दा सबै समूहका कम्पनीहरुको मूल्य पनि घटिरहन्छ । क्षेत्रगत लगानी गर्ने अभ्यास पनि छैन । अहिलेको अवस्थामा होटेल क्षेत्र घट्न पर्ने कारण नै छैन । भूकम्पपछि पनि लाभांश दिइरहेका छन् ।

ओरियण्टल होटेलले २६ प्रतिशत बोनस दियो, सोल्टिले पनि नियमित रुपमा लाभांश दिइरहेको छ । नेपालले आगामी वर्ष भ्रमण वर्ष मनाउने भनिएको छ, अहिले पनि आन्तरिक पर्यटन वर्ष मनाइरहेका छौं । यो क्षेत्रको सम्भावना पर्याप्त छ भनिन्छ । तर पनि बजारसँगै यिनीहरुको मूल्य पनि घट्छ । यसमा समस्या भनेको बजारको संरचना नै हो ।

यस्तो क्षेत्रका सूचीकृत कम्पनीको संख्या ज्यादै न्यून छ । लघुवित्तमा ५० लाख घाटा लाग्ने अवस्था आयो भने होटलको सेयर फालेर त्यो घाटा परिपूर्ति गरिन्छ । विविधीकरण नहुँदाको समस्या हो । अहिले यसरी हाम्रो बजारमा नोक्सान कम गर्न मात्र सकिएको छ । हामीले यो बजारमा सेयर किन्ने समय र सेयर परिमाणमा विविधीकरण गर्न सकिन्छ ।

अहिले बजारमा कुनै कम्पनीको मूल्य विहानी कारोबार सत्रमा १० प्रतिशत बढ्यो भने तत्काल किन्ने गर्नुभन्दा त्यही दिन दिउँसो त्यो सेयरको मूल्य वृद्धिर ३ प्रतिशतमा खुम्चिरहेको पनि हुन्छ । त्यो समय खरिद गर्नुपर्छ । यो कारोबार गर्ने कला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment