Comments Add Comment

भूपी भन्थे- एउटा कविता लेखेर सरकार ढाल्दिन्छु

sharwan-mukarung

कवि भूपी शेरचनबारे आजको दिनसम्ममा धेरै विमर्श भइसकेको छ । उनीबाट नेपाली कविहरुले धेरै कुरा सिक्दै आएका छन् । यस कारण उनी हाम्रा साझा विद्यालय हुन् ।

भूपीले एउटा ट्रेन्डको कविता लेखे । त्यसपछिको समयमा कविता लेखनमा धेरै ट्रेन्डहरु आइसक्यो । नयाँ कविहरुले फरक भाषा, शैली र चिन्तनमा लेख्न थालिसके । तर, उनी जग हुन्, हाम्रा पुज्य कवि हुन् ।

समाजलाई हेर्ने हरेक कविको आ-आफ्नो दृष्टि हुन्छ । राजनीति, समाज, देश र विश्वलाई हेर्ने/पर्गेल्ने भूपीको दृष्टि साह्रै उच्च कोटिको थियो । उनका हरेक रचनामा जुनसुकै विषयलाई आलोचनात्मक ढंगले हेरिएको पाइन्छ । उनको आलोचनात्मक हेराइ साह्रै शक्तिशाली देखिन्छ । यो नै उनको सामर्थ्य हो ।

समाज र समयलाई आलोचनात्मक हेर्ने त्यति तीक्ष्ण कवि नेपालमा आजसम्म जन्मिएको छैन जस्तो मलाई लाग्छ ।

भूपीमा राजनीतिक चेत पनि त्यत्तिकै प्रगाढ देखिन्छ । आजको समयमा असाध्यै राम्रा कविता लेख्ने कतिपय कविहरुमा राजनीतिक चेत फिटिक्कै पाइँदैन । हिजोका दिनमा गणतन्त्र माग्ने र त्यस क्रममा लाठी र गोली नै खाएको कवि पनि आज कविता लेख्दा संघीयताको विरोध गर्छ । त्यस्तो हो भने पहिले गणतन्त्र नमागी राजावादी भएर बसेको भए भइहाल्थ्यो !

भूपीमा भने वैचारिक स्पष्टता थियो । राजनीतिक रुपले पनि विवेचनात्मक शक्ति प्रशस्त पाइन्छ उनमा । अरु मैं हुँ भन्ने ठूल्ठूला कविहरुमा त्यो शक्ति छैन ।

‘घुम्ने मेचमाथि अन्धो मान्छे’ को सन्दर्भमा कुरा गर्दा यो व्यङ्ग्यात्मक पुट भएको अमर कविता हो । शीर्षक नै आफैंमा सिङ्गो कविता छ । राजनीतिक व्यङ्ग्य भरिएको यो कविताले त्यतिबेलाका शासक र मठाधीशहरुलाई कडा चाबुक प्रहार गरेको छ । योग्यता नभएकाहरुको शासन शैलीको हुर्मत लिएको छ ।

सौन्दर्यका हिसाबले पनि यो कविता सूक्तिमय र लयात्मक छ । उनका कवितामा संगीत पाइन्छ । गद्य कविता भए पनि पद्यमा लेख्ने मैं हुँ भन्नेहरुको भन्दा पनि मीठो र शक्तिशाली छ ।

राजनीतिक हिसाबले ‘घुम्ने मेच’ कविता अझै पनि सान्दर्भिक छ । यस्तो कविता कहिल्यै पुरानो हुँदैन । अहिले हेरौं, सत्तामा बसेकाहरु पहिले-पहिलेका शासकहरु जस्तै योजना, सोच र आधारबिना हिँडिरहेको देखिन्छ । अन्योल र अनुमानको बेटुङ्गे यात्रा छ ।

उनीहरुलाई ठीक पार्न यस्तै कविता काफी छ । तर, चेतना र संवेदनामा गैंडाको छाला भएका शासकहरु भएपछि समस्या हुन्छ । लोकतन्त्रले अभिव्यक्ति स्वतन्त्रता त दियो, तर तपाईंको कुरा नसुन्दिने अधिकार पनि शासकहरुसँग हुने रहेछ । लोकतन्त्रको सबैभन्दा दुर्बल पक्ष यही हो । यसले बोल्ने अधिकार दिन्छ, कविता सेन्सर पनि गर्दैन, तर त्यसको सुनुवाई हुँदैन । मर्ने गरी लेखिन्छ, तर नसुन्दिएपछि कसको के लाग्छ ? मौनताको संस्कृति हुर्काएर कुनै पनि आवाजलाई उपेक्षा गरिदिने रोग छ शासनसँग ।

भूपीले त्यस्तो सुन्दर समय पाए, जसले उनलाई भूपी शेरचन बनायो । पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रता थिएन, त्यतिबेला कविहरुलाई आफ्नो मूल्य स्थापित गर्न केही सजिलो थियो । कविता मार्फत दनक दिँदा नदिँदै प्रहरीले पक्रेर लगिसक्थ्यो । त्यसले कविको मूल्यलाई पनि माथि पुर्‍याइदिन्थ्यो ।

कुनै पनि सिर्जनाको मूल्य कति हो भन्ने कुरा त्यो कस्तो समयमा लेखियो र कतिसम्म प्रतिक्रिया झेल्यो भन्ने कुराबाट कायम हुने हो । लेखियो तर केही प्रतिक्रिया नै छैन भने कुनै मूल्य हुँदैन । तपाईंले जसलाई औंल्याएर हिर्काउनुभो, उसले ‘ऐया’ त भन्नुपर्‍यो । त्यस्तो प्रतिक्रियाको समय पहिले जबर्जस्त थियो, अहिले चाहिँ कमजोर छ ।

एक समय भूपीको अन्तर्वार्ता आएको थियो । त्यसमा उनले एउटा कविता लेखेर म यो सरकार ढाल्दिन्छु भनेका थिए । एउटा कविमा त्यो साहस र विश्वास थियो । तब पो त्यो समय कविहरु छाती फराकिलो बनाएर हिँड्थे । अहिले त सरकार र शासकहरु जति नै कविताले हिर्काए पनि आनन्द मानेर बस्छन् । ‘अझै हिर्काउनुस् न, अझ चर्चामा आइनँ’ भने झैं पिठिउँ थाप्छन् ।

भूपीलाई आफ्नो समयको विश्व चेतना पनि थियो । त्यो समयमा उनले आफ्नो कवितामा साम्यवादी विचारका धरोहर भियतनामका नेता हो-चि मिन्हलाई चिठी लेखेका थिए । त्यसबेला कति नेपाली कविहरुले हो-चि को नाम समेत सुनेका थिएनन् होला ।

संसारमा के-कस्तो राजनीतिक मुभमेन्ट भइरहेको छ भन्नेमा भूपी सचेत र जानकार देखिन्छन् । अहिले त फेसबुक र ट्विटरबाट विश्वमा कहाँ के भइरहेको छ भनेर सजिलै क्षणभरमा थाहा हुन्छ । त्यतिबेला प्रविधिको यस्तो सुलभता थिएन । बेलायतमा कवितासम्बन्धी कुनै आन्दोलन भयो भने त्यसबारे यहाँ वर्षौंपछि थाहा हुन्थ्यो । त्यस्तो असहज समयले भूपी जन्माएको हो ।

‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ‘हल्लैहल्लाको देश’ जस्ता धेरै शक्तिशाली लेखेका छन् उनले । तर, यो कविताभन्दा कलाका दृष्टिले मलाई उनका अरु कविता राम्रा लाग्छन् । ‘मैनबत्तीको शिखा’ त मलाई कण्ठै छ । ‘हामी’, ‘मेरो चोक’ पनि बेजोड छन् ।

यद्यपि सीमान्तमा पुगेर व्यङ्ग्य गरिएकाले ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ को मूल्य छुट्टै छ । व्यङ्ग्य गरिए पनि सभ्य, सुसंस्कृत र काव्यिक भाषामा गरिएको छ । व्यङ्ग्यले सम्बन्धित ठाउँमा कत्तिको काम गर्छ भन्ने अर्को पाटो हो । किनकि हाम्रो समाज चाहिँ दाउरा नै लिएर ठटाउन जाँदा मात्रै चेत्ने समाज हो । शासकहरु त फेरिए, तर कविता र साहित्यमा जनआवाज सुनेर सच्चिने खालका कोही भएनन् । 

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment