Comments Add Comment

सिंहदरबारमा चोरको बिगबिगी ! कम्प्युटर अपरेटरको ल्यापटप गायब

sihadarbar

१२ पुस, काठमाडौं । सिंहदरबार देशको प्रशासनिक केन्द्र हो, जहाँ २४ सै घन्टा कडा सुरक्षा पहरा दिइएको हुन्छ । सार्वसाधारणले सिंहदरबारमा पाइला टेक्न पनि कम पापड बेल्नुपर्दैन ।

तर, त्यही सिंहदरबारभित्र चोरीको घटना बढ्दो छ । मंगलबार दिउँसै सिंहदरवारभित्र रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चोरी भयो । मन्त्रालयकी कम्प्युटर अपरेटर सुुष्मा श्रेष्ठको ल्यापटप चोरी भएको हो ।

श्रेष्ठले आफ्नो ल्यापटप चोरी भएको भन्दै पहरा गण सिंहदरबारमा उजुरी दिएपछि दिनभरि सिंहदरबार प्रवेश गर्ने मुख्य गेटमा सुरक्षा जाँच कडा पारियो । सुरक्षाकर्मीहरुले गेटमा ल्यापटप बोक्नेहरुलाई चेक गरे । तर, केही भेटिएन ।

singhadurbarchecking-4

साँझ ६ बजेसम्म पनि हराएको ल्यापटप फेला नपरेको सिंहदरबारको सुरक्षामा खटिएका प्रहरी निरीक्षक डिल्लीप्रसाद मैनालीले अनलाइनखबरलाई जानकारी दिए ।

१० मिनेटमै ल्यापटप गायब

कम्प्युटर अपरेटर श्रेष्ठका अनुसार हराएको ल्यापटप डेल कम्पनीको ‘कोर आइ सेभेन’ मोडलको थियो । जुन मन्त्रालयले नै खरिद गरेको हो ।

‘चार्जमा राखेर काम गरिरहेकी थिएँ, अर्को कोठामा समन्वयका लागि जानुपर्ने भयो र १० मिनेट त्यहाँ पुगेर फर्कँदा टेवलमा ल्यापटप थिएन, श्रेष्ठले अनलाइनखबरसँग भनिन्,- कोठाको ढोका ढ्याप्प लगाएर गएकी थिएँ, त्यतिचाँडो ल्यापटप हराउला भन्ने के थाहा !’

श्रेष्ठका अनुसार हराएको ल्यापटपमा अफिसका थुप्रै महत्वपूर्ण तथ्यांक र डकुमेन्टहरु थिए । उनी ल्यापटप हराउनुअघि तिनै डकुमेन्ट निर्माणको काममा व्यस्त थिइन् । उनले अघि भनिन्, ‘अरु बेला पनि यसै गरी हिँड्ने गरेकी हुँ, तर कहिल्यै त्यसरी सामान हराएको थिएन ।’

यसअघिको चोरी

प्रहरी निरीक्षक मैनालीका अनुसार एक महिनाअघि परराष्ट्र मन्त्रालयबाट यसैगरी कम्प्युटरको मोनिटर चोरी भएको थियो । त्यतिबेला मोनिटरबाट कम्प्युटरमा जोडिएको तार नै काटेर चोरले लगेको थियो । तर, कसले चोरी गरेको हो अझै पत्तो लाग्न सकेन ।

त्यसैगरी पशुपंक्षी मन्त्रालयबाट पनि एक सहसचिवको ल्यापटप हराएको छ । यसअघि गत साउन महिनामा स्थानीय विकास मन्त्रालयका उपसचिवको कार्यकक्षबाटै आइफोन, ल्यापटपका साथै एक लाख नगद चोरी भएको थियो ।

तर, अहिलेसम्म सिंहदरबारबाट न चोर पक्रिएको सुनिएको छ, न त चोरिएका सामान नै भेटिएका छन् । बरु त्यहाँ चोरीको घटना भने दिनानुदिन बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment