Comments Add Comment

कृषि होमस्टेमा पर्यटकको आकर्षण बढ्दो

HomeStay Nepal
१४ पुुस, रामपुर (पाल्पा) । खस्यौली–७ हिरापोखरामा रहेको कृषि होमस्टेमा पर्यटकको आकर्षण बढ्दै गएको छ । सिर्जना फार्म प्रालिद्वारा सञ्चालित कृषि होमस्टेमा पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकको ह्वात्तै आकर्षण बढ्न थालेको हो ।

विगत चार वर्षअघिबाट सञ्चालनमा आएको यस होमस्टेमा गाउँमै उत्पादित कृषिजन्य वस्तुको स्वादिला परिकारको स्वादमा रमाउन आन्तरिक पर्यटकसँगै हिजोआज विदेशी पर्यटकको घुइँचो लाग्ने गर्दछ । सदरमुकाम तानसेन घुम्न आउने पर्यटक बास बस्न र कृषिजन्य वस्तुको स्वादिला परिकारमा रमाउन यहाँ आउने गर्दछन् ।

गत वर्ष एक हजार जति आन्तरिक र बाह्य पर्यटक भित्रिएका छन् भने यस आर्थिक वर्षको हालसम्म ९०० को हाराहारीमा पर्यटक भित्रिएको व्यवस्थापक अमर गुरुङले बताए । तीनवटा घरमा सञ्चालित यस होमस्टेमा एक दिनमा ३० जनासम्म बसोबास गर्न मिल्ने व्यवस्था रहेको उनले बताए ।

यहाँ गाउँमा उत्पादित कृषिजन्य वस्तुको परिकारको साथमा ग्राहकको रोजाइअनुसारका विभिन्न परिकार बन्ने गर्दछ । एक दिन र रातका लागि एक नेपालीका लागि  दुई हजार २०० र विदेशीका लागि  तीन हजार ३०० शुल्क तोकिएको छ । मासिक रुपमा रु सात लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्यका साथ कृषि होमस्टे सञ्चालनमा ल्याइएको व्यवस्थापक गुरुङले बताए ।

होमस्टेसँगै कृषि, गाई फार्म, कुखुरा फार्म, बङ्गुर फार्म, हाँस, कफी व्यवसाय पनि सञ्चालनमा ल्याइएको छ । साढे दुई रोपनी जग्गामा तरकारी खेती, २० वटा उन्नत जातका गाई, स्थानीय र उन्नत गरी ६० वटा बाख्रा, चारवटा बङ्गुर र सातवटा हाँस पनि रहेका छन् । ३६ जना सेयर सदस्यले सञ्चालन गरेको सिर्जना फार्म प्रालिद्वारा सञ्चालित यस व्यवसायमा झन्डै रु तीन करोड बराबरको लगानी परेको छ । ३०० रोपनी जग्गामा सञ्चालित कृषि फार्ममा यहाँका १५ जनालाई रोजगारी मिलेको छ ।

फार्म सञ्चालक जनक चौधरी भन्छन्, “गाउँमा उत्पादित कृषिजन्य वस्तुलाई प्रवद्र्धनका लागि फार्म सञ्चालन गरेका हौँ”—“फार्मबाट आम्दानीभन्दा पनि अहिले लगानी गर्ने र व्यवसाय बढाउने क्रममा छौँ”।

दिगो रुपमा निरन्तरता दिने उद्देश्यले व्यवसाय चलाएका हौँ, खुद आम्दानी लिनका लागि अझै केही समय लाग्ने उहाँले बताए ।

सदरमुकाम तानसेनबाट झन्डै १४ किलोमिटर पश्चिममा रहेको यस फार्ममा सञ्चालित होमस्टेमा पोखरा र लुम्बिनी घुमघाम गरेर यहाँ बास बस्न आउने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment