Comments Add Comment

खरायो पालनः महिनाको ५० हजार कमाउन विदेश जानु पर्दैन

उदाउँदो व्यवसाय, सम्भावना कति र गर्ने कसरी ?

ujjwol-chapagain

१४ पुस, काठमाडौं । धादिङका उज्ज्वल चापागाईंले वातावरणीय विज्ञानमा मास्टर्स गरेका छन् । तर, उनको दैनिकी भने खरायोको स्याहारसुसारमा बित्ने गरेको छ ।

अनलाइनखबरको टोली काठमाडौंको बलम्बुस्थित हिमालयन रेबिट फार्ममा पुग्दा चापागाईं खरायोको रेखदेखमा व्यस्त भेटिए । उनको फार्ममा चार सय ५० वटा खरायो छन् ।

आधुनिक खरायो पालन गरी सफलता प्राप्त गरेका चापागाईँसँग यसबारे बुझ्न आउनेहरुको कमी छैन । विभिन्न संघसंस्थाले खरायो पालनका लागि इच्छुक कृषक तथा युवाहरुलाई भेला गरेर चापागाईँका कुरा सुनाउने पनि गरेका छन् ।

उज्ज्वलले ५ रोपनी जग्गा भाडामा लिएर यो व्यवसायलाई नमूनाकै रुपमा अघि बढाएका छन् । राम्रै आम्दानी गरिरहेका उनले फार्ममा दुई जनालाई रोजगारी दिएका छन् । उनको खरायो फार्म अहिले धेरैको लागि अध्ययन केन्द्र बनेको छ ।

खरायो पालन व्यवसायको सम्भावना कति ?

rabbit-1

पछिल्ला दिनहरुमा ठूला होटल तथा रेष्टुराँहरुमा खरायोको मासु खोज्नेहरुको संख्या देखिन थालेको छ । तर, खरायो पालनले अझै आकार लिन सकेको छैन ।

त्यसैले अहिले नै तत्काल लाखौं रुपैयाँ कमाउने कुरा नगरौं । तर, महिनामा २५ हजार कमाउँछु भन्नेलाई उनले दिने सजिलो सूत्र छ, ‘अनुभव बटुलेर बढीमा २५ वटा खरायो पाल्नुस् ।’

सबैलाई लाग्न सक्छ, यति सजिलो छ र ?

चापागाईँ भन्छन्, ‘सिक्नका लागि पाँच वटा खरायोबाट सुरु गर्नुस् । पाल्ने तरिका सिक्नुस्, अनि त्यसैका आधारमा विस्तार गर्नुस् । कामलाई निरन्तरता दिन नहिच्किचाउनुस्, महिनाको ५० हजार कमाउन विदेश जानुपर्छ भन्ने छैन ।’

साइड बिजनेस बनाउनलाई पनि खरायो पालन राम्रो व्यवसाय हुने उनले देखेका छन् । ‘दिनमा एक जनाले बढीमा तीन घण्टा समय दिँदा हुन्छ’, उनले भने ।

एकै पटक पैसा कमाउँछु भनेर ठूलै फार्म नखोल्न उनको सुझाव छ । किनकि सिक्दै अघि बढ्दा राम्रो प्रतिफल मिल्छ ।

हिसाबमा ‘खरायो’

खरायोको मासु प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री हुन्छ । एउटा वयस्क खरायो एक किलो २ सय ग्रामसम्मको हुन्छ र एउटा खरायो वयस्क हुन ४ देखि ५ महिना लाग्छ ।

उज्ज्वल चापागाईँका अनुसार, खरायोमा गरिने लगानी आफूसँग कति स्रोत उपलब्ध छ भन्नेमा निर्भर हुन्छ । दानादेखि घाँससम्म सबै किनेर व्यवसाय गर्छु भन्दा असफल हुने जोखिम पनि हुन्छ ।

एउटा खरायोले वर्षमा ६ पटकसम्म बच्चा जन्माउँछ । र, एक पटकमा सरदर ५ देखि ८ वटासम्म बच्चा जन्माउँछ ।

rabbit-4

जन्मिएका खरायोको मृत्युदर १० प्रतिशत राख्ने हो भने पनि खरायो फार्ममा २० वटा पोथी र ४ वटा भाले राख्दा त्यसले दिने उत्पादकत्व महिनाको २५ हजार रुपैयाँ नाघ्छ । खरायोको संख्या जति बढायो, उति नै उत्पादकत्व बढ्छ । खरायोले प्रशस्तै बच्चा जन्माउने भएकाले व्यवसाय विस्तार गर्न ठूलो पुँजी खर्चिनुपर्दैन ।

खरायोको मासुको माग बजारमा बढ्दै छ । किसानले उत्पादन गरेको खरायोले बजार नपाउने अवस्था छैन, बरु बजारले खोजेको जति मासु आपूर्ति हुन सकेको छैन ।

हिमालयन रेबिट फार्मले त कृषकले उत्पादन गरेको मासु बजार पुर्‍याउने ग्यारेन्टी नै गरेको छ ।

गाउँघरमै सम्भावना

आधुनिक खरायो पालनका लागि ठूलो प्राविधिक ज्ञान आवश्यक पर्दैन । तर, आधारभूत जानकारी र परामर्श लिनेहरु मात्रै व्यावसायिक रुपमा सफल हुन सक्ने उज्ज्वल बताउँछन् ।

हुन त खरायो पालनका लागि उपयुक्त ठाउँ गाउँघर नै हो । जहाँ घाँस सहजै उपलब्ध हुन्छ र दानाका लागि स्थानीय कृषिजन्य उत्पादन पर्याप्त हुन्छ । आहाराका लागि गाउँघरमा उपलब्ध हुने ढुटो, पिठो, कनिका लगायत प्रभावकारी हुन्छन् ।

शहर र आसपासका क्षेत्रमा व्यवसाय गर्नेहरुलाई लक्षित गरेर हिमालयन रेबिट फार्मले दाना पनि उत्पादन गर्छ ।

घाँस कसरी व्यवस्थापन गर्ने ?

grass-for-rabit

प्रायः खसीबाख्राले खाने सबै घाँस खरायोले खान्छ । गाउँघरका खोरिया र बारीमा घाँस खेती गरेर पनि खरायो पाल्न सकिन्छ । तर, खस्रा पात भएका प्रजातिका घाँस नखुवाउनु राम्रो हुन्छ ।

हिमालयन रेबिट फार्मले पनि खोरिया जग्गामा नै जै घाँस रोपेको उज्ज्वल सुनाउँछन् । उनका अुनसार, नरम तथा पलाइरहने प्रजातिका घाँसहरु रोपेर खरायो पाल्न सकिन्छ । एक पटक घाँस रोपेपछि एक सिजन ढुक्क नै हुन्छ ।

वर्षायाममा त गाउँघरमा घाँसको खासै अभाव पनि हुँदैन । यसका लागि धेरै जग्गा पनि चाहिँदैन ।

खरायोको व्यवस्थापन कसरी गर्ने ?

समान्यतयाः पोथी खरायोले भाले लागेको एक महिनामा बच्चा जन्माउँछ । व्यावसायिक रुपमा खरायो पालेपछि भाले-पोथी छुट्याएर राखिन्छ र योजनामै प्रजनन गराइन्छ ।

बच्चा जन्माउने एक महिना पुग्नु एकदिन अघि खोरमै ब्लिडिङ बक्स राखिन्छ, जसमा खरायोले बच्चा जन्माउँछ । कपासयुक्त यो बक्समा बच्चा करिब १५ दिनसम्म बस्छन् । त्यहाँ रहँदा खरायो आफैंले आफ्नै दूध खुवाएर बच्चा हुर्काउँछ ।

rabbit-3

बच्चा विस्तारै बढ्दै गएपछि भाले-पोथी छुट्याएर राखिन्छ । प्रजननको समय भएपछि यसलाई फरक-फरक प्रजातिबीच क्रस गराइन्छ । त्यसपछि एउटा चक्रमा खरायोको उत्पादन भइरहन्छ ।

खरायोको १५ दिनको बच्चा प्रतिगोटा आठ सय रुपैयाँसम्ममा बिक्री हुन्छ । अझ वयस्क भएको खरायो भने प्रतिगोटा १५ सय रुपैयाँ पर्छ । व्यावसायिक रुपमा खरायो पालनको प्रवर्द्धन भए खरायोको बच्चा नै बेचेर पनि आम्दानी गर्न सकिन्छ ।

यो व्यवसायको अर्को महत्वपूर्ण विशेषता खरायो पाल्न सजिलो पनि छ । ब्रोइलर कुखुरा पालेभन्दा यो सहज छ, किनकि यसलाई धेरै स्याहार-सुसारको जरुरत पनि पर्दैन ।

यसलाई दिनमा तीन पटक घाँस र दाना हालेपछि हुन्छ । विशेष समयमा केही स्याहार गर्दा हुन्छ । खोरमा धेरै जाडो पनि हुन नदिनु र धेरै गर्मी पनि हुन नदिने कुरामा ध्यान दिनुपर्छ ।

खरायो पालन तराईदेखि हिमाली क्षेत्रसम्मै गर्न सकिने भएकाले यसलाई ‘सबैतिरको उद्योग’ मानिन्छ ।

मासु पौष्टिक र स्वास्थ्यवर्द्धक

खरायोको मासु निकै पौष्टिक हुने भएकाले पनि विस्तारै यसको माग बढिरहेको दाबी चापागाईंको छ । यसको मासु पौष्टिक हुनुका केही कारण छन् । यो मासु सेतो हुन्छ, जुन मानव स्वास्थ्यका लागि रातो मासुभन्दा निकै स्वास्थ्यवर्द्धक मानिन्छ ।

rabbit-2

यसमा प्रोटिनको मात्रा बाख्रा, कुखुरा र बंगुरको भन्दा बढी हुन्छ । चिल्लोपना पनि अन्यको तुलनामा खरायोको मासुमा कम हुन्छ ।

क्यालोरी र कोलेस्ट्रोलको मात्रा अन्यको भन्दा कम हुनु पनि खरायोको मासुको विशेषता हो । त्यसैले यो मासु मुटुरोगी, मधुमेह, दम, कुपोषणग्रस्तका लागि उपयुक्त हुन्छ । खेलाडी, गर्भवती, सुत्केरी र वृद्धवृद्धाका लागि यो निकै पोषिलो मानिन्छ ।

हिमालयन रेबिट फार्मका संस्थापक उज्ज्वल चापागाईं खरायो पालनलाई अब कर्णालीसहितका दुर्गम क्षेत्रमा ब्याप्त कुपोषण हटाउने ‘शुत्र’का रुपमा अघि बढाउनुपर्ने बताउँछन् । प्रत्येक घरमा ४ वटा खरायो दिने हो भने कुपोषणको अन्त्य हुने दावी उनको छ ।

‘पर्यटनसँग जोडौं’

खरायो पालनमा यति धेरै सम्भावना भएर पनि विकास हुन नसकेकोमा चापागाईँ चिन्तित छन् । उनी अब यसलाई ग्रामीण पर्यटनसँग जोडेर अघि बढाउने सोचमा छन् ।

पर्यटकीय गाउँहरु, जहाँ होमस्टेहरु छन्, त्यहाँ खरायो पालन गर्न सकिए त्यहाँ पुग्ने पर्यटकले स्थानीय स्वादका रुपमा यसलाई उपयोग गर्ने उनको भनाइ छ ।

मासुका साथै सोलार ड्रायरमार्फत सुकुटी बनाएर पनि चखाउन सकिन्छ । यस्तै, स्थानीय रुपमा खरायोको छाला प्रशोधन गरेर विभिन्न सामग्री बनाएर प्रवर्द्धन गर्न पनि सकिने उनले देखेका छन् । शहरी क्षेत्र वरपरका गाउँघरमा पनि खरायो पालन गरिए बजारको अभाव नहुने उनको तर्क छ ।

स्थानीय रुपमा उत्पादित खरायोलाई स्थानीय तवरमै खपत गर्ने गरी पहल गर्नुपर्ने चापागाईं बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment