Comments Add Comment

समुद्री किनारमा सुरक्षित रहने ८ उपायहरु

beach-safety-1२९ डिसेम्बर, सिड्नी । पछिल्ला बर्षहरुमा समुद्रमा डुवेर होनाहार नेपाली युवाहरुले ज्यान गुमाउने क्रम बढिरहेको छ । खासगरी डिसेम्बर र जनवरी महिनाका बिदाहरुमा अष्ट्रेलियाका नेपाली युवाहरुले समुद्रीकिनारमा छुट्टी मनाउन जाँदा ज्यान गुमाउने प्रबृत्ति बढि देखिएको छ ।

सन् २०१५ मा तीन जना नेपाली युवाले समुद्रमा डुबेर ज्यान गुमाए भने सन् २०१६ को जुन र डिसेम्बरमा गरी थप तीन जना नेपाली युवा समुद्रको सिकार बने ।

समुद्री जीवनसँग अभ्यस्त नभएका हामी नेपालीहरुले समुद्रसँग खेल्दा कसरी सुरक्षित हुने भन्ने प्रारम्भिक ज्ञान लिनु अत्याबश्यक छ । हामी र हाम्रा साना नानीहरुलाई समुद्री किनारमा सुरक्षित रहने उपायहरु सिकायौं भने हालै सुजन अधिकारीसुजन शर्माले जस्तै अकालमा ज्यान गुमाउनबाट जोगिन सक्छौं ।

हामी आज तपाइँहरुलाई समुद्री किनारमा सुरक्षित रहने केही उपायबारे जानकारी दिँदैछौं । समुद्री सुरक्षासम्बन्धी बिभिन्न वेबसाइटमा आधारित समाग्रीलाई हामीले नेपाली सन्दर्भमा प्रस्तुत गरेका छौं ।

१. सधैं रातो र पहेंलो झण्डाको बिच क्षेत्रमा मात्र पौडिनुहोस्

red-and-yellow-flag

अष्ट्रेलियाका सवै समुद्री किनारामा पर्याप्त सुरक्षा ब्यबस्था गर्न सम्भव छैन । तर, महत्वपूर्ण र बढि मानिसहरु पुग्ने समुद्री किनारमा भने सुरक्षा ब्यबस्था गरिएको हुन्छ । सुरक्षित क्षेत्रमा रातो र पहेंलो झण्डा गाडिएको देख्न सकिन्छ । त्यस्ता झण्डा देखिनुको मतलव हो- यो क्षेत्रमा सुरक्षा प्रबन्ध गरिएको छ, उद्धारका लागि जनशक्ति पनि तैनाथ गरिएको छ । तपाइँले सधैं रातो र पहेँलो झण्डा गाडिएको क्षेत्रमा मात्र पौडिनुपर्छ ।

२. सुरक्षा चिन्हहरु पढ्नुहोस्

safety_sign_by_waverly_council

सडकमा सुरक्षा चिन्हरु भएजस्तै समुद्री किनारमा पनि सुरक्षाका लागि बिभिन्न संकेत चिन्हहरु राखिएका हुन्छन् । जोखिमयुक्त छाल, समुद्री जनावरको आक्रमण लगायतका खतरा भएमा त्यस्ता ठाउँमा चेतावीयुक्त सन्देशहरु राखिएको हुन्छ । त्यस्ता चिन्ह देख्दादेख्दै सो क्षेत्रमा पौडी खेल्नु जोखिमपूर्ण हुन्छ । त्यसैले समुद्री किनारमा सुरक्षित रहन त्यहाँ राखिएका सुरक्षा संकेतहरु पढ्नुहोस् र सोहीअनुसार गर्नुहोस् ।

३. लाइफ गार्डसँग परामर्श गर्नुहोस्

lifeguard_mission_beach_san_diego_california_tower

चल्तीका समुद्री किनारहरुमा दक्ष र सिपालु उद्दार दस्ता तैनाथ गरिएको हुन्छ । उनीहरु उद्दारका लागि स्रोतसाधनयुक्त हुन्छन र बिचसाइटमै तैनाथ गरिएका हुन्छन् ।
समुद्री किनारमा पौडिन जानुअघि तपाइँले त्यस्ता लाइफ गार्डसँग सम्भावित जोखिमबारे परामर्श गर्न सक्नुहुन्छ । उनीहरुले तपाइँलाई सुरक्षित तरिकाले पौडिन सहयोग गर्न सक्छन् ।

४. एक्लै पौडिन नजानुहोस्

victoria-justice_2016-05-05_takes-a-swim-with-a-friend-at-fort-lauderdale-beach_38

सामान्यतयाः समुद्री किनारमा पौडी खेल्न जाँदा एक्लै पानीमा पस्नु हुँदैन् । साथीसँगै जाँदा एक अर्कालाई समस्या पर्दा तत्काल सहयोग लिन वा उद्दारका लागि पहल गर्न सजिलो हुन्छ । सामान्य अबस्थामा एकले अर्कालाई खतरायुक्त स्थानमा जानबाट पनि जोगाउन सकिन्छ । त्यसैले सधै साथीसँगै पौडिन जानु सुरक्षाका दृष्टिकोणले उपयुक्त हुन्छ ।

५. दुईतर्फी छालहरुसँग जोगिनुहोस्

rip-currents

हरेक बर्ष अष्ट्रेलियामा दोहोरो समुद्री छालहरुका कारण दर्जनौं मानिसले ज्यान गुमाउँछन् । समुद्रमा ज्यान जाने कारणमध्ये तिब्र बहावयुक्त दुईतर्फी छाल मुख्य हो । त्यसैले आफु पौडिने क्षेत्रमा त्यस्ता खतरनाक छालहरु आउने सम्भावना छ कि छैन, अध्ययन गर्नुहोस् । लाइफगार्डहरुसँग परामर्श गरेर त्यस्ता क्षेत्रहरुमा नछिर्नु नै उत्तम हुन्छ ।

६. रक्सी पिएर पौडिन नजानुहोस्, गस्ती समयभित्रै पौडिनुहोस्

no_alcohol

यदि तपाइँले मदिरा सेवन गर्नुभएको छ भने समुद्री किनारमा पौडिन नजानुहोस् । मदिरा वा लागूपर्दाथ सेवन गरेर पौडिदा शरिर असन्तुलित र नियन्त्रणबाहिर गई तपाइ डुब्ने खतरा धेरै हुन्छ ।
सुरक्षा सावधानी अपनाउँदा अपनाउँदै पनि तपाइ जोखिममा पर्नुभयो भने तपाइलाई उद्धार गर्ने लाइफगार्डहरुको जरुरी पर्छ । यस्ता लाइफगार्डहरु बस्ने समय तोकिएको हुन्छ । त्यसैले लाइफगार्डहरुले गस्ती गरिरहेको समयभन्दा अघिपछि समुद्री किनारमा पौडिन जानु हुँदैन् ।

७. समस्या परे नआत्तिनुहोस्, उद्दारका लागि संकेत दिनुहोस्

rip-currents-1

समुद्रमा कहिलेकाहिँ निकै सुरक्षित स्थानमा पनि समस्या पर्न सक्छ । दुईवटा तरंगको बिचमा पर्दा सन्तुलन गुमाउन गई समस्या पनि पर्न सक्छ । यस्तो अबस्थामा छालहरुसँग भिड्नु हुँदैन, छालको बहाव जता गइरहेको छ, त्यतै जानुपर्छ । यस्तो अबस्थामा हात आकाशतर्फ लगेर दायाँबायाँ हल्लाउँदै उद्धारका लागि संकेत गर्नुपर्छ ।

८. पहिरनमा ख्याल गर्नुहोस्, घामबाट बच्नुहोस्

sunlight

समुद्री किनारमा जाँदा पानीमात्रै हैन, घामबाट पनि उत्तिकै जोगिनुपर्छ । समुद्रीकिनारको चर्को घामले क्यान्सरको पनि खतरा हुने भएकाले तपाइले पर्याप्त सुरक्षा साबधानी अपनाउनुपर्छ । बिचमा जाँदा टिसर्ट, चस्मा, टोपी र सनस्क्रिन क्रिमहरु प्रयोग गर्नुपर्छ । लाइफज्याकेट, ट्युव र पौडिन सहयोग गर्ने सामाग्रीहरु पनि साथै लैजानु बुद्धिमानी हुन्छ ।

अन्त्यमा,
अष्ट्रेलियामा नेपाली समुदायको संख्या बढेसँगै समुद्री दुर्घटनाहरु पनि बढ्नु चिन्ताको बिषय हो । समुद्रबिहीन पाखा पहरामा रमाएका हामी नेपाली समुद्री किनारमा पुग्दा बेग्लै आनन्द आउनु स्वभाविक हो । तर, पर्याप्त सुरक्षा उपायहरु नपनाई समुद्रमा हाम फाल्दा आफ्नो जीवन त खतरामा पर्छ नै, परिवार र साथीभाई पनि आँसुमा डुब्न पुग्छन् । माथि उल्लेख गरिएका सामान्य सुरक्षा उपायबारे आफुपनि सचेत हौं र अरुलाई जानकारी दिउँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment