Comments Add Comment

प्रिन्स हृयारीदेखि टाइटानिकको हिरोसम्मले रुचाएको बर्दिया निकुञ्ज किन छायाँमा पर्‍यो ?

स्थानीय व्यवसायी भन्छन्- हामीलाई सरकारले हेरेन

bardia-national-park

१५ पुस, काठमाडौं । तराई क्षेत्रकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज नेपालमा मात्रै चर्चित छैन, विदेशीहरुका लागि पनि यो एउटा आकर्षक गन्तव्य हो । तर, सरकार र पर्यटनमा सरोकार राख्ने निकायले प्राथमिकतामा नराख्दा बर्दिया राष्ट्रिय निकुञ्ज छायाँमा परेको गुनासो बर्दियाबासीले गरेका छन् । यहाँ अचेल पर्यटक आउने क्रम घटेको स्थानीयको गुनासो छ ।

यही बर्दिया राष्ट्रिय निकुञ्जले विगतमा सामान्य पर्यटकलाई मात्रै होइन, विश्वकै चर्चित व्यक्तिहरुलाई स्वागत गरिसकेको छ । विषेश गरेर बाघ, माछा, गोहीको प्रत्यक्ष अवलोकनका लागि आकर्षक गन्तव्य मानिने बर्दियामा बेलायती राजकुमार प्रिन्स हृयारीदेखि टाइटानिकका हिरोसम्म पुगेका छन् ।

गत वर्ष नेपाल भ्रमणमा आएका प्रिन्स हृयारी बाघ हेर्नकै लागि बर्दिया पुगेका थिए । विश्व वन्यजन्तु कोषले बाघ संरक्षणका लागि चलाइरहेको विषेश अभियानलाई साथ दिँदै हृयारी बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका थिए ।

बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जलाई हृयारीले निकै रुचाएका थिए । स्थानीय पर्यटन व्यवसायी मोहन चौधरीका अनुसार हृयारीले बर्दियामा भैरहेको बाघ संरक्षणको अभियानलाई निकै सम्मान गरेका थिए ।

corcodile-at-babai-river
बर्दियाको बबई नदीमा गोही

बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारीदेखि जलयात्रासम्म भ्याए हृयारीले । त्यसपछि बर्दियामा स्वदेशी तथा विदेशी पर्यटकहरुले रुचाउने स्थानीय व्यवसायीहरुको विश्वास थियो । तर, हृयारी आए पनि यहाँको पर्यटक प्रवर्द्धन हुन नसकेको स्थानीय पर्यटन व्यवसायीहरुको गुनासो छ ।

त्यसो त सन २००८ मा टाइटानिक फिल्मका हिरो लियोनार्दो डी क्याप्रियो पनि बर्दिया पुगेका थिए । लियो पनि विश्व वन्यजन्तु कोषबाटै बाघ संरक्षण अभियानको सद्भाव दूत बनेर बर्दिया पुगेका थिए ।

लियोको गाइड बनेका स्थानीय पर्यटन व्यवसायी राजन चौधरी भन्छन्-‘टाइटानिकका हिरो बर्दियामा आएपछि नै बाघका बारेमा जानकारी लिएपछि डब्लुडब्लुएफको बाघ संक्षरणको दूत बनेका हुन् ।’

 

बाघको संख्या ८५ पुग्यो

त्यसयता नेपालले सुरु गरेको बाघ संरक्षणको अभियानमा बर्दियाले मात्रै १८ बाट बढाएर बाघको संख्या ८५ वटा पुर्‍याएको छ ।

त्यसैगरी हात्ती, गैंडादेखि माछा, गोही र दुई सयभन्दा बढी जातका चरा पाइने बर्दियाले लियोलाई आकर्षित गर्‍यो तर अरु पर्यटक तान्न सकेन ।

babai-river-fish
बर्दियाको बबई नदीमा माछा

‘बर्दियामा अजिंगर तथा बाघलाई प्रत्यक्ष हेर्न नेपालमा भएका विभिन्न देशका राजदूतदेखि अक्सफोर्ड, क्याब्रिजजस्ता चर्चित विश्वविद्यालयका अनुसन्धानकर्ताहरुसम्म आउँछन् । उनीहरु बर्दिया राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणका लागि गरेको काम देखेरै अध्ययन गर्न आएका हुन् ।’ पर्यटन गाइड चौधरीले भने ।

सन् १९४५ मा जापानको हिरोसिमा नागासाकीमा बम खसाल्नेमध्येका एक विटर बर्म बर्दियाका अर्का नियमित पर्यटक थिए । चौधरीका अनुसार उनी पछिल्लो समय सन २०१२ मा आएका थिए । विटरले बर्दियालाई यतिसम्म मायाँ गर्थे कि उनकै कारण एनिमल प्लानेटले समेत बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जको बारेमा डकुमेन्ट्री बनाएको थियो । उनकै पहलमा केही वर्षअघि मेक्सीकन राजपरिवारका सदस्यहरुले समेत बर्दिया रुचाएका थिए ।

नेपालका नायक राजेश हमालदेखि बेलायती राजकुमार प्रिन्स हृयारीसम्म पुगेको बर्दियाका होम स्टेमा थारु संस्कृतिका साथ पर्यटकहरुलाई स्वागत गर्ने गरिन्छ ।

राष्ट्रिय निकुञ्जबाट करिब डेढ घण्टामा पुगिने २३ घरमा थारु समुदायले होम स्टे सञ्चालन गरेका छन् । थारु संस्कार र परिकार पाइने होम स्टेमा हृयारीले तीन घण्टा बिताएका थिए । त्यसो त बर्दियाको अर्को आकर्षण बबई नदीका किनारमा असरल्लै देखिने गोहीहरु पनि हुन् ।

prince-hyari-home-stay
बर्दियामा बेलायती राजकुमार प्रिन्स ह्यारी बसेको होमस्टे

व्यवसायीको ८४ करोड जोखिममा

बर्दिया राष्ट्रिय निकुञ्जका आसपासमा २२ वटा रिसोर्टहरु सञ्चालनमा छन् । पर्यटन प्रवर्द्धन हुन नसक्दा ती सबै व्यवसायले समेत गति लिन नकेको पर्यटन विकास मञ्चका अध्यक्ष मोहन चौधरी बताउँछन् ।

उनी भन्छन्- ‘हामीले करोडौं लगानी गरेका छौं, यसको सुरक्षाका लागि पर्यटक चाहिन्छ, तर सरकारलाई कुनै वास्ता छैन, अब कसरी चलाउन सकिन्छ ?’

त्यसैगरी पर्यटन प्रर्वधन विकास केन्द्रका अध्यक्ष नारायण पौडल पनि सरकारले प्रचार नगरेकाले बर्दिया राष्ट्रिय निकुञ्जले र अन्य पर्यटकीयस्थलहरुले पर्यटक भित्र्याउन नसकेको बताउँछन् ।

पौडेलले भने- ‘बेलायती राजकुमार आए, टाइटानिकका हिरो आए, तर त्यसलाई सरकारले प्रचारको माध्यम बनाउन सकेन । त्यसैले आज बर्दिया मात्रै होइन, देशको एउटा महत्वपूर्ण गन्तव्य छायाँमा परेको छ ।’

सरकारले कम्तिमा नेपाल आउने पर्यटकहरुले बुझने गरी विमानस्थलमा पर्यटकीय स्थलहरुका बारेमा तस्वीर, नक्सा तथा सूचना मात्रै राख्दिए धेरै सहयोग हुने होम स्टे सञ्चालक परशुराम चौधरी बताउँछन् ।

निकुञ्जका प्रमुख वार्डेन रमेश थापाका अनुसार अघिल्लो वर्ष स्वदेशी र विदेशी गरेर ३० हजार पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । त्यसबाट करिब तीन करोड राजश्व संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment