Comments Add Comment

नीशादेखि शिल्पासम्म, थपिदै निर्मात्री नायिका

nisha-shilpa-and-keki
बलिउडमा त चर्चित कलाकारहरु आफै चलचित्र बनाउछन् । बाहिरी ब्यानरमा काम गर्नु भन्दा आफ्नै ब्यानरबाट चलचित्र बनाएर उनीहरु करोडौ रुपैयाँ मुनाफा गर्छन् । बलिउडमा नायकहरुले चलचित्रमा लगानी गरेको उदाहरण धेरै छन् ।

नेपालमा पनि धेरै नायकहरु निर्माता बनेका छन् । आर्यन सिग्देल हुन् या सविन श्रेष्ठ, भूवन केसी हुन् या अनमोल केसी । धेरै नायकहरु निर्माता बनेका छन् र सफलताको मुनाफा आफ्नै गोजीमा हालेका छन् ।

नायकहरु जस्तै नायिकाहरु पनि निर्माता बन्ने क्रम नेपालमा चलेको धेरै भैसक्यो । विश्व बजारमै नायिकाहरुको चलचित्र यात्रा लामो हुँदैन भनिन्छ । जसकाकारण, चलेका नायिका पनि १० बर्ष भन्दा बढी समयसम्म चर्चामा रहँदैनन् । यसपछि, कोहि सानातिना भूमिकामा सिमित हुन्छन् त कोहि यो क्षेत्रबाटै हराउँछन् ।

नायिकाहरु झरना थापा, करिश्मा मानन्धर, रेखा थापा, ऋचा घिमिरे, जेनि कुँवर लगायतले चलचित्र बनाए । यसमध्ये, केहि अहिले चलचित्र क्षेत्रबाटै हराएका छन् भने केहि यसमै व्यस्त छन् । आफै, चलचित्रमा लगानी गर्दा वा आफ्नै ब्यानर स्थापित गर्दा कुनै न कुनै रुपमा लामो सयमसम्म टिकिन्छ भन्ने सोच देखिएको छ ।
झन्, अहिले त चलचित्रको ओभरसिज बजार समेत वृद्धि हुँदै गएपछि नायिकाहरु यसतर्फ आकषिर्त भएका हुन् ।

नायिका शिल्पा पोख्रेल पनि निर्माता छविराज ओझाको ब्यानरमा बन्न लागेको चलचित्र ‘मंगलम’बाट निर्मात्री बनेकी छिन् । शिल्पा चलचित्रकी कार्यकारी निर्माता हुन् । छविसँगै बिहे गर्ने तयारीमा रहेकी शिल्पा अब नायिकासँगै निर्मात्रीको रुपमा जम्ने तयारीमा छिन् । संभवत, यो उनले चलचित्र क्षेत्रमा लामो समयसम्म रहन अपनाएको सुरक्षित बाटो हुनसक्छ ।

नायिका नीशा अधिकारी पनि अरुको ब्यानरमा चलचित्र खेल्दा खेल्दै थाकिछन् क्यारे । अब, उनी पनि आफै चलचित्र निर्माणमा लागेकी छिन् । क्रियटिभ डिरेक्टर र निर्मात्रीको रुपमा नायिका अधिकारीले ‘झ्यानाकुटी’ नामक चलचित्र बनाउँदैछिन् । नायिकाको रुपमा ठिकै चलेकी नीशा निर्मात्रीको रुपमा कति सफल हुनेछिन्, समयले नै बताउनेछ ।

चलचित्र ‘लभ सासा’मा नायिका केकी अधिकारीको नाम कार्यकारी निर्माताको रुपमा छ । केकीले अब आफू पनि चलचित्र निर्माणमा आउने बताइसकेकी छिन् ।
यता, नायिका नम्रता श्रेष्ठले त चलचित्र ‘सोल सिस्टर’ नै निर्माण गरिसकेकी छिन् । भलै, यो चलचित्र सफल हुन सकेन । तर, नम्रता पनि चलचित्र निर्माण र अभिनयलाई एकसाथ अगाडि बढाउने धुनमा देखिएकी छिन् ।

नायिका प्रियंका कार्कीले नायक दयाहाङ राइसँग मिलेर निर्माण कम्पनी नै खोल्ने तयारी गरेकी छिन् । सायद, यी दुबै अहिले सर्वाधिक व्यस्त भएकाले यो काम तिव्र रुपमा अगाडि बढ्न सकेको छैन । तर, प्रियंका पनि चाडै निर्मात्री बनेको दर्शकले देख्न पाउनेछन् ।

नायिका स्वेता खड्का त चलचित्र ‘कोहिनुर’बाटै निर्मात्री बनिसकेकी हुन् । उनी, अब नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । जसमा नायक दयाहाङ राई मुख्य भूमिकामा हुनेछन् । दया र स्वेताले पहिलो पटक पर्दा शेयर गर्न लागेका छन् ।

अन्य ब्यानरसँग सहकार्य गरेर होस् या आफै लगानी गरेर । अहिले नायिकाहरु निर्मात्री बन्ने क्रम बढ्दो छ । नेपाली चलचित्रमा अहिले गरिने ९० प्रतिशत लगानी नयाँ व्यक्तिबाट हुने गरेको छ । यस्ता व्यक्तिहरुले एउटा चलचित्र बनाएपछि दोश्रो बनाउने आँट गर्न सकेका छैनन् । अब, देशकै चर्चित नायिकाहरु चलचित्र निर्माणमा अगाडि सर्दा, यसले चलचित्र क्षेत्रलाई पक्कै पनि फाइदा दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment