Comments Add Comment

एमालेको प्रस्तावः अब सबै एक स्टेप पछि हटौं !

संसदको गतिरोधबारे एमालेले ९ दल र सत्तापक्षसँग छलफल गर्ने

Uml-meet
फाइल तस्वीर

१९ पुस, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाले संविधान संशोधन विधेयक असंवैधानिक भएको आफ्नो धारणालाई पुनःपुष्टि गरेको भन्दै आफू उत्साहित रहेको बताएको छ । साथै उसले सबै दलहरु एक कदम पछाडि हटेर परिस्थितिलाई सहज बनाउने प्रस्तावसमेत गरेको छ ।

पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा मंगलबार बिहान बसेको स्थायी कमिटीको बैठकले सर्वोच्चको फैसलाको सम्मान गर्दै अब संसद अवरुद्ध गरिरहन आवश्यक नपर्ने निर्णय गरेको छ ।

बैठकपछि उपाध्यक्ष बामदेव गौतमले पत्रकारहरुसँग भने, ‘सर्वोच्च अदालतले यो निर्णय गरिसकेपछि संसद अवरुद्ध गरिरहनुपर्ने आवश्यकता अब छैन । तर, हामी सत्तापक्षसँग बसेर छलफल गरेर उहाँहरुले अघि सार्नु भएको संशोधन प्रस्ताव फिर्ता लिनको निम्ति हामी अनुरोध गर्छौं ।’

भिडियो हेर्नुहोस् 

साथै एमालेले संविधान संशोधन फिर्ता लिएर परिस्थितिलाई सहज बनाउन सरकारलाई आग्रहसमेत गरेको छ । अब कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा विपक्षी मोर्चामा रहेका ९ दल र संसदमा रहेका दलहरुसँग छलफल गरेर अघि बढ्ने एमालेले भनेको छ ।

एमाले सचिव योगेश भट्टराईले अनलाइनखबरसँग भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले कसरी आफूलाई प्रस्तुत गर्छ, सर्वोच्चको फैसलाको स्पिरिटलाई सरकारले कसरी सदुपयोग गर्छ, त्यस अनुसार हामी अघि बढ्छौं ।’

सर्वोच्चको फैसलाले सभामुखलाई पनि एउटा अवसर दिएको भन्दै एमाले सचिव भट्टराईले अनलाइनखबरसँग भने, ‘दलहरुको बीचमा सहमति निर्माण गर्ने एउटा अवसर प्राप्त भएको छ । सरकार र दलहरुलाई पनि अबसर प्राप्त भएको छ । सबै एक-एक स्टेप पछाडि हटेर सहज परिस्थिति बनाउनुपर्छ ।’

दलहरुबीच सहमतिको प्रयास गर्न भन्दै व्यवस्थापिका संसद बैठक आगामी २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment