Comments Add Comment

एकै परिवारका पाँच जना दृष्टिविहीन

shambhu-mandal-family

२० पुस, सप्तरी । साहित्यकार बालकृष्ण समले कुनै समय नाटकमा लेखेका थिए, ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर ! मलाई दया राखी अझ दुःख दे ।’

सप्तरीको एक परिवारको नियति त्यस्तै दुःखमाथि दुःखको भारीभन्दा कम छैन । गरिबीमाथि ईश्वर कति निर्दयी बनेर खनिन्छ भन्ने सजीव उदाहरण हो उनीहरुको भोगाइ ।

यो कथा हो सप्तरीको गम्हरिया प्रवाहा गाविस ४ मा बस्ने मण्डल परिवारको । जसमा पाँच जना दृष्टिविहीन छन् । परिवारका सबै लालाबाला ती दृष्टिविहीनमै आश्रति छन् भने उनीहरुको जीवनयापन झन् कस्तो अवस्था होला ?

परिवारमा घर चलाउने उमेरका अधिकांश सदस्यहरु दृष्टिविहीन हुँदा मण्डल परिवारलाई जीवन धान्नै गाह्रो भएको छ । जम्मा १५ जनाको परिवार चलाउन उनीहरुलाई एकमात्र चिन्ताको विषय बन्दै आएको छ ।

५० वर्षीय शम्भु मण्डल सानैदेखि आँखा देख्दैनन् । उनका भाइ ४५ वर्षीय शिवनारायण र बहिनी ४१ वर्षीया जयकलाको अवस्था पनि त्यस्तै । शिवकी पत्नी र जयकलाका एक छोरा पनि दृष्टिविहीन छन् ।

संसार देख्न नपाउने पीडा त आफ्नो ठाउँमा छँदै छ, मण्डल परिवारमा बिहान-साँझको छाक टार्नु नै ठूलो समस्या हुने गरेको छ । काम गर्ने उमेरकाहरु आँखा नदेखेर कुनै काम गर्न नसक्दा सरसहयोगको मुख ताक्न बाध्य छन् ।

शम्भु मण्डलले पीडा सुनाए, ‘राम्रोसँग कुनै काम गर्न सकिरहेका छैनौं । गुजारा नै समस्याको कुरा छ ।’

उनीहरू आफन्त र सहयोगीहरुले सरसहयोग गर्‍यो खान पाउने अवस्थामा छन् ।

उनीहरुको आफ्नै खेतबारी नभएको पनि होइन । तर, भएको थोरै खेतबारी खनजोत गर्ने शारीरिक अवस्था परिवारमा कसैको छैन ।

यस्तो अवस्थामा आफूहरुले राज्यबाट कुनै सेवा-सुविधा नपाएको उनीहरु गुनासो गर्छन् । शम्भु, शिवनारायण र जयकलाले केही वर्ष राज्यको सुविधा पाएका थिए । तर, त्यस्तो सुविधा तीन वर्षयता ठप्प छ ।

‘०६७ देखि केही वर्षसम्म गाविसबाट केही सहयोग पाएका थियौं’, शम्भुले भने, ‘त्यसपछि कुनै सहयोग पाएका छैनौं ।’

शम्भुका दुई छोरा र दुई छोरी, शिवनारायणका दुई छोरा र १ छोरी तथा जयकलाको दुई छोरा र १ छोरी छन् । शिवनारायणले कतैबाट सहयोग नपाउँदा परिवार धान्न समस्या भइरहेको बताए ।

उनीहरुले राज्यको सुविधा पाउन रातो कार्डका लागि धेरै पटक प्रयास गरे पनि पाउन नसकेको बताएका छन् । ‘गाविसदेखि सदरमुकाम राजविराजस्थित महिला तथा बालबालिका कार्यालयसम्म धाउँदासमेत कार्ड पाउन सकिएन’, जयकलाले दुःखेसो पोखिन् ।

महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठ भने दृष्टिविहीनलाई अपाङ्गताको रातो कार्ड दिन नमिल्ने बताउँछिन् । उनका अनुसार, पूर्ण रुपमा अशक्तलाई मात्रै रातो कार्ड दिने व्यवस्था छ । दृष्टिविहीनले नीलो कार्ड मात्र पाउने र त्यसबाट उनीहरुले मासिक ६ सय रुपैयाँ र निःशुल्क शिक्षा लिन सक्ने श्रेष्ठले बताइन् ।

मण्डल परिवारले अहिलेसम्म कुनै कार्ड पाउन नसकेको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment