Comments Add Comment

ओशोभक्त स्वामी भन्छन्- धोती र टोपी दुबै होस् ! आँप र स्याउ दुबै फलोस् !

'नेपाल चीनभन्दा राम्रो थियो, अहिले विकृत भयो'

aananda-arun-and-pradip-giri

४ जनवरी, सिड्नी । नागार्जुनस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले नेपालमा संघीयता, धर्मनिरपेक्षता र समानुपातिक-समावेशी प्रणाली तत्काल आवश्यक नरहेको बताएका छन् । नेपालमा राजनीतिक अराजकता बढेको र नेपाली जनतामा चरम निराशा छाएको उनको विश्लेषण छ ।

संविधान कार्यान्वयनका क्रममा रहेका बेला स्वामी आनन्द अरुणको यस्तो राजनीतिक अभिव्यक्ति आएको हो । उनी हाल नेपाली कांग्रेसका नेता प्रदीप गिरीसँगै अष्ट्रेलिया भ्रमणमा छन् ।

नेपाली अगुवाहरुको बाक्लो उपस्थितिमा बुधबार सिड्नीको मेरिल्याण्डमा अन्तरक्रिया आयोजना गरिएको थियो । त्यहाँ उनले तनावरहित जीवनका सुत्रहरुबारे प्रवचनसँगै नेपाली राजनीतिमाथि पनि खरो टिप्पणी गरे ।

‘चार राज्यको परिकल्पना’

देश आर्थिकरुपमा सबल भएपछि मात्रै संघीयतामा जानु उपयुक्त हुने धारणा राख्दै उनले आफूले चार राज्य-प्रदेश) को परिकल्पना गरेको बताए । ‘मलाई चार राज्यको सपना थियो, जहाँ धोती, टोपी दुबै होस् । आँप र स्याउ दुबै फलोस्,’ उनले भने ।

स्वामी आनन्द अरुणले भने, ‘८० को दशकसम्म नेपाल चीनभन्दा पनि राम्रो थियो तर, अहिले विकृत भयो । राजनीतिक अराजकताले उद्योगहरु डुबे । र, ५० लाख नेपालीहरु पलायन हुन बाध्य भए ।’

उनले अगाडि भने, ‘नेपालमा न विमानस्थल सुरक्षित छ, न विमान सुरक्षित छ, न सडक सुरक्षित छ । यस्तो अवस्थामा कसरी पर्यटकहरु नेपाल आउँछन् ? त्यसैले म पनि तनावमा छु ।’

‘संविधानमात्र राम्रो होइन, राम्रा मान्छे बनाऊ’

नेपालको संविधान उत्कृष्ट बनेको भनेर अन्तराष्ट्रिय समुदायलेसमेत स्वागत गरिरहेका बेला स्वामी आनन्द अरुणले भने संविधान मात्र राम्रो बनाउनुभन्दा राम्रा मान्छे बनाउनेतर्फ पनि ध्यान दिन नेताहरुलाई सुझाव दिए । उनले भने, ‘संविधानमात्र राम्रो भएर भएन, राम्रो मान्छे बनाऊ । त्यसका लागि अध्यात्म आवश्यक छ ।’

swami-aananda-arun-at-australiaअहिलेको नेपालको राजनीतिले व्यक्ति-व्यक्तिबीच विभाजन ल्याएको भन्दै उनले आफूले अध्यात्मको माध्यमबाट एकतावद्ध गर्न खोजेको दाबी गरे ।

‘नेपालको राजनीतिले सामाजलाई जोड्न सकेन, एनआरएनमा पनि एकता छैन,’ उनले भने, ‘त्यसैले म अध्यात्मबाट जोड्ने प्रयास गर्दैछु ।’

या त हीनताभास भएकाहरु, या आफूलाई ‘सुपेरियर’ ठान्ने मानिसहरु नेपालको राजनीतिमा लागेको र गुणले नभई शक्तिले आफूलाई प्रतिष्ठित ठान्ने व्यक्तिहरुका कारण नेपालको राजनीति विकृत भएको उनले टिप्पणी गरे ।

देश बदल्ने भनेर लागेकाहरु पहिले आफैं बदलिनुपर्ने स्वामीले धारणा राखे । स्वामी आनन्द अरुणले भने, ‘हामीले दुनियाँलाई बदल्न नसके पनि आफैंलाई बदलौं ।’

‘नेपालमा मानवनिर्मित गरिबी’

आफूले ८० हजार नेपालीलाई अध्यात्मको शिक्षा दिएको भन्दै उनले आफ्ना चेलाहरु राजनीतिमा आए नेपालको विकास हुने दाबीसमेत गर्न भ्याए ।

नेपालमा मानवनिर्मित गरिबी रहेकाले त्यसलाई हटाउनुपर्ने भन्दै उनले एक वर्षमै विकास सम्भव हुने बताए ।

‘मेरो जीनमा राजनीति छ, मेरा बुवा-आमा राजनीतिमा थिए । हाम्रो देशमा मानवनिर्मित गरिबी छ । म यसमा पीडित छु,’ उनले भने, ‘यो मूर्खताको गरिबी पाँच वर्षमा हटाउन सकिन्छ ।’

स्वामीले थपे- ‘म इन्जिनियर हुँ । मलाई देश बन्छ भन्ने विश्वास छ । विदेशमा एक वर्षमा विकास हुन्छ भने हाम्रो देशमा किन हुँदैन ? म विदेशमा हुँदा यो पीडा हुन्छ ।’

प्रवासी नेपालीहरुसँगको प्रवचनमा कांग्रेसका नेतासँगै प्रस्तुत भएका स्वामीले अगाडि भने- ‘म आध्यात्मिक हुँ । मैले ८० हजारलाई शिक्षा दिएको छु । मेरा विद्यार्थीहरु पावरमा आए भने नेपाल बन्नेमा म आशावादी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment