Comments Add Comment

चरम बेरोजगारीको नतिजाः ‘थ्री डी’ काममा विदेशिने नेपाली बढे

५ महिनामै साढे २ लाख बढी विदेशिए

3d-works-worker-2

२२ पुस, काठमाडौं । बेरोजगारीले एउटा जल्दोबल्दो युवालाई ‘गर या मर’ को स्थितिमा पुर्‍याएपछि के गर्नु ? यही अवस्थाले अहिले विदेशिने नेपालीलाई ‘जस्तो काम भएपनि गर्छु’ भन्ने बनाउँदै लगेको छ ।

म्यानपावर व्यवसायीका अनुसार यसअघि विदेश जाने नेपालीहरु तुलनात्मकरुपमा सजिलो काम खोज्थे । तर, हिजोआज म्यानपावरहरुमा ‘जस्तो काम भए पनि, जति तलव पाएपनि उड्छु’ भनेर पुग्नेहरुको संख्या बढ्दोे छ ।

समग्र संख्यमा गत आर्थिक वर्षकोभन्दा चालु आर्थिक वर्षमा विदेशिने युवाको संख्या उच्च दरमा बढेको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा विदेशिने युवाको संख्या गतवर्षको भन्दा ३२ प्रतिशतले बढेको छ ।

म्यानपावर ब्यवसायीले विदेशमा जोखियुक्त मानिने काममा पनि युवाहरु सजिलै जान तयार हुँदा यो संख्या बढ्न पुगेको बताउँछन् । भूकम्पपछि खल्बलिएको मानसिकता फेरि ‘रिकभर’ हुँदा पनि यो अवस्था आएको दावी उनीहरुको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनासम्म पोहोर सालको सोही अवधिभन्दा ८४ हजारले बढी बाहिरिएका छन् ।

यसवर्ष आर्थिक वर्षकै सुरुवातमा कामका लागि विदेशिनेको संख्या गतवर्ष भन्दा ८४ हजार ६ सय ७४ बढी देखिएको छ

कति बाहिरिए ?

गत आर्थिक वर्षको मंसिर महिनासम्म १ लाख ७४ हजार ९ सय २६ जना विदेशिएका थिए । तर, यो वर्ष बढेर २ लाख ५९ हजार ६ सय पुगेको वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराईले जानकारी दिइन् ।

गतवर्ष भूकम्प र त्यसपछिको नाकाबन्दी तथा फि्र भिसा तथा टिकेटको कार्यान्वयनमा देखिएको जटिलताका कारण विदेशिने युवाको संख्या यो अवत्रिमा निकै न्युन थियो । तर, यसवर्ष आर्थिक वर्षकै सुरुवातमा कामका लागि विदेशिनेको संख्या गतवर्ष भन्दा ८४ हजार ६ सय ७४ बढी देखिएको छ ।

खाडी राष्ट्रमा आर्थिक संकट बढिहे पनि युवाहरुले त्यसको विकल्प पाउन सकेका छैनन् । त्यसैले बेरोजगार युवाहरु विदेशिने क्रम कुनैपनि बाहनामा घट्ने अवस्था नरहेको वैदेशिक रोजगार विज्ञहरु बताउँछन् । मलेसिया र साउदीमा आर्थिक संकट चुलिएपनि विदेशिन चाहानेको संख्या अब फेरि पुरानै अवस्थामा फर्किने देखिएको छ । गत वर्ष विदेशिने युवाको संख्या निकै घटेको थियो ।

मंसिरमा विदेशिने धेरै

यो वर्षको मंसिर महिनामा सबैभन्दा धेरै ६५ हजार ८ सय ९१ जना बाहिरिएका छन् । गतवर्षको मंसिरमा ३८ हजार ३ सय ५० जना मात्रै बाहिरिएका थिए ।

यस अघि कात्तिकमा ५८ हजार १ सय ८२, असोजमा ४२ हजार २ सय ८, भदौमा ४९ हजार २ सय १२, साउनमा ५१ हजार १ सय ७ जना युवा काम खोज्दै बाहिरिएका थिए । गत आर्थिक वर्षको यस्तै अवधिमा विदेशिने युवाको संख्या निकै ओरालो लगेको थियो ।

म्यानपावर व्यवसायीहरु गत वर्ष भूकम्पका कारण विदेशिने युवाको संख्या घटेकाले यो वर्ष बढ्दो क्रममा देखिनु समान्य भएको बताउँछन् ।

वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव रोहन गुरुङ पछिल्लो समयमा नेपाली श्रम बजारमा कामको तीब्र अभाव देखिँदा विदेशिनेको संख्या बढेको बताउँछन् ।

‘गत वर्ष भूकम्पका बेलामा धेरैले परिवार छोड्न चाहेनन् । तर, अब फेरि मान्छे पुरानै मनोविज्ञानमा फर्किएका छन् । त्यसैले पनि कामदारहरु विदेशिने क्रम बढेको हो’ गुरुङ भन्छन्,’गतवर्ष नविदेशिएका पनि अब म्यानपावर कम्पनीमा धाउन थालेका छन् ।’

‘थ्री डी’मा नेपाली तयार

3d-works-worker

उनले पछिल्लो समयमा नेपालीहरु जतिसुकै जोखिमयुक्त काम भए पनि जान थालेको बताउँछन् । ‘थ्री डी’ डर्टी, डिफिकल्ट, डेन्जरस कामममा पनि नेपाली युवा निसंकोच जान थालेको उनको भनाइ छ । यस्ता कामका लागि म्यानपावरहरुले पनि आजभोलि प्रशस्तै डिमान्ड ल्याएका छन् ।

तराई तथा उच्च पहाडी क्षत्रेमा युवा ‘थ्री डी’ मानिने कामलाई पनि स्वीकारेर विदेशिने क्रम बढेको छ । ‘यसअघि मलेसियामा रुख काट्ने काममा हत्तपत्त नेपालीहरु जान मान्दैनथे । रोडहरुको कन्स्ट्रक्सनको काम पनि नेपाली युवाले अस्वीकार गर्थे’ महासचिव गुरुङ भन्छन्-‘अब जस्तो काम भएपनि जान्छु भनेर युवाहरु शहरमा आएका छन् । अब उनीहरुका लागि म्यानपावरले डिमान्ड ल्याएर नदिने भन्ने हुँदैन ।’

पछिल्लो समयमा विदेश जान भनेर म्यानपावर धाउने सबै युवाले विदेशमा पनि अवसर नपाउने स्थिति आएको ब्यवसायीको दावी छ । युवाको चापअनुासर डिमान्ड ल्याउन नकसकेको अर्को दावी उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment