Comments Add Comment
प्रिय पुस्तक :

प्रिय पुस्तक: ‘नोयो’ र ‘रने’ले चोरेको मन

ramesh-koirala_810

मेरो पठन यात्रा त्यस्तो किताबबाट सुरु भयो, जसलाई मूलधारको साहित्य मानिँदैन ।पल्प वा प्लेटफर्मसाहित्यलाई मूलधारको नमानिए पनि त्यसले आम पाठकलाई छोएको छ । गम्भीर साहित्यको पाठक हुनुअघि धेरैले त्यस्तै सामान्य उपन्यास/कथा पढे र असाध्यै मन पराए ।

तर, यो फरक कुरा हो, मन पर्ने किताब एकथरि भए पनि अधिकांशले मन पर्ने किताबको नाम लिँदा गहनगहन किताबको मात्र नाम लिन्छन् । दोस्रो दर्जाको साहित्य ठानिने त्यस्ता सामान्य किताबको नाम उच्चारण गर्न संकोच मान्ने गरिन्छ । गफ दिनलाई त जे दिए पनि हुन्छ !

मेरो दिमागमा भने सुरुवाती समयमा पढेका तिनै सामान्य उपन्यासका कहानीहरु सचित्र आउँछन् । कारण हो, मलाई सधैं सरल लेखन मन पर्‍यो । ती रमाइला थिए । कतिपय किताब त समाजका गम्भीर विषय केलाएकाले मार्मिक पनि हुन्थे ।

मलाई किताबमा यही जनराको मन पर्छ भन्ने छैन । कस्तो किताब मन पर्छ भन्नेमा वातावरण, उमेर, रुचि र पेशाले पनि फरक पर्छ । स्वाभाविकै हो, म चिकित्सा पेशामा भएकोले कुनै कथामा डाक्टरको कुरा जोडिएको रहेछ भने पढूँपढूँ हुन्छ ।

किताब पढ्ने कुरालाई फिल्मसँग जोडेर हेर्न मन लाग्छ । हामी फिल्म दुइटा कुराको लागि हेर्न जान्छौं । पहिलो कुरा त हेरेपछि मस्तसँग मनोरञ्जन भएर पैसा असुल होस् । दोस्रो, मनोरञ्जनसँगै त्यसले कुनै विषयवस्तु बोकेको छ र मेसेज दिन्छ भने त्यो बोनस प्वाइन्ट हो ।

किताब पढ्दा पनि त्यही कुरा लागू हुन्छ । किताब रमाइलो हुनुपर्‍यो, त्योसँगै किताबले केही विचार पस्कियोस्, केही ज्ञान देओस् । त्यो विचारसँग म सहमत हुन पनि सक्छु, नहुन पनि सक्छु ।

मलाई सरल भाषामा लेखिएको कुरा पढ्न मन पर्छ । कतिपय किताब पढ्नै सकिन्न । जबर्जस्ती दर्शन र अनेक थोकले बोझिलो बनाइएका भारी भरकम किताबहरु देख्दा किन यसो गरिएको होला, सजिलो तरिकाले लेखेको भए पनि हुन्थ्यो भन्ने लाग्छ ।

फिक्सन पढ्दा मात्र रमाइलो हुन्छ भन्ने छैन । ननफिक्सन पनि एकदम स्वादिलो हुन सक्छ । जस्तै, बिपी कोइरालाको आत्मवृत्तान्त फिक्सन होइन, तर पढ्न मजा आउँछ । त्यसबाट ननफिक्सन पनि रमाइलो हुँदो रहेछ भन्ने थाहा हुन्छ । पछिल्लो समय निस्किएका केही आत्मकथा पनि रमाइला छन् ।

यस्तै, ननफिक्सन नै भए पनि मोहन मैनालीको मान्ठा डराएको जुग‘, झलक सुवेदीको ब्रिटिस साम्राज्यका नेपाली मोहरा‘, जनकराज सापकोटाको कहरजस्ता किताबले छुन्छन् । विषय ओजिलो र प्रस्तुति राम्रो भए भने फिक्सन र ननफिक्सन दुवैले उत्तिकै प्रभावित पार्न सक्छन् । किताब राम्रो छ भन्ने लाग्ने नै के हो भने, त्यो किताब आरामले पढ्न सकियोस् ।

कतिपयले पढ्न नसकेका किताब पनि राम्रो छ भन्ने गरेको पाइन्छ । त्यस्तो अप्ठेरो किताब म चाहिँ पढ्न सक्दिनँ । हिन्दीमा और भी दिवारे है सर फोडने के लिए भने जस्तै अरु नै समस्या रहिरहँदा मलाई त्यस्तो किताब पढेर तनाव बोक्नु पनि छैन ।

बाध्यताले उपन्यासको लत लाग्यो

झापाको भद्रपुरमा चार कक्षामा पढ्दादेखि नै म किताबको मोहमा परेँ । यो ०३३/३४ सालतिरको कुरा हो । त्यसबेला मेरो माहिलो दाइ भने सातमा पढ्नुहुन्थ्यो । त्यसबेला उहाँ जासुसी उपन्यास खुबै पढ्नुहुन्थ्यो । साथीभाइसँग साटफेर गर्दै घरमा उपन्यास ल्याइरहनुहुन्थ्यो ।

दाइ र म एउटै खाटमा सुत्थ्यौं । यस्तैमा एक समय दाइले पढेको किताबले मलाई पनि लोभ्यायो । राति ओछ्यानमा ढल्किएर उहाँले पढिरहँदा छेउमा सुतेको मेरो पनि आँखा पुग्थ्यो ।

कोठाको बत्ती ननिभ्दासम्म निदाउने अवस्था नहुने भएकोले दाइ नसुतुन्जेल ब्युँझिराख्नु मेरो बाध्यता थियो । त्यस क्रममा दाइले पढ्दै गरेको किताब च्याउने मेरो नित्य कर्म नै बनिसकेको थियो ।

त्यसरी हेर्दाहेर्दै केही दिनमा त मलाई पनि रमाइलो लाग्न थाल्यो । छेउबाट च्याएरै अलिअलि पढ्दा कथामा चाख लाग्न थालिसकेको थियो । तर, म भर्खर आधा पेजमा पुग्दा दाइले पढिसकेर अर्को पेज पल्टाइसक्नुहुन्थ्यो ।

दाइलाई बिन्ती बिसाउँथे, ‘दाइ एकछिन पर्खिनुस् न ! म पनि पढ्दै छु ।

कथामा बगेको दाइको मन कहाँ रोकिन मान्थ्यो र ! उहाँ भन्नुहुन्थ्यो, ‘कहाँ कुरिराख्नु अब तँलाई !’

उहाँले पढेको किताब पुच्छ्रे तारा भन्ने नेपाली जासुसी उपन्यास थियो ।

दाइले पढ्दा आधाउधी मात्र पढ्न पाएको थिएँ । दाइले किताब सिरानीमुनि राख्नुहुन्थ्यो । उहाँ नभएको बेला पारेर त्यो किताब पूरा सिध्याएँ ।

मलाई रमाइलो लाग्यो, पढ्ने चिज त यस्तो पो हो भन्ने भयो । स्कूलको किताब गाह्रो मानीमानी पढे पनि केही नबुझेर हैरान भएको बेला त्यस्तो उपन्यासले मन तान्यो । त्यसपछि त नेपालीसँगै हिन्दीका जासुसी उपन्यास पढ्ने लत नै लाग्यो । कतिसम्म भने, म स्कूलमा पनि कोर्सको किताबभित्र उपन्यास राखेर पढ्ने गर्थेँ । लास्ट बेन्चमा बस्ने भएकोले सजिलो पनि हुन्थ्यो ।

त्यसपछि दाइले ल्याउने गरेका जासुसी उपन्यास मौका मिलेसम्म र भ्याएसम्म पढ्न थालेँ । कुनै किताब चाहिँ पढ्दापढ्दै बीचमै अपूरो रहन्थ्यो । किनकि दाइले चाँडै पढिसकेर साथीहरुसँग अर्कै किताबसँग साटिसक्नुहुन्थ्यो ।

ramesh-koirala

त्यसबेला यस्तो उपन्यास पढ्ने जमात ठूलो थियो । मनोरञ्जनका अरु साधन नभएकोले धेरैले पढ्थे । कि त फिल्म हेर्न जाने, कि उपन्यास पढ्ने ।

बिस्तारै दाइले घरमा कताकताबाट थुप्रै उपन्यास जम्मा पारिसक्नुभएको थियो । दराजमा लाइब्रेरी जस्तै व्यवस्थित रुपमा नम्बरिङ गरेरै राख्नुभएको थियो । त्यहाँ सयडेढ सय वटा उपन्यास थिए होलान् । दराजमा चाबी लगाउनुहुन्थ्यो । तर, म खोजखाज गरेर भए पनि चाबी पत्ता लगाएर उपन्यासको संसारमा पस्थेँ ।

किताब झिकेर प्राय: बुइँगलमा गएर पढ्थेँ । पढ्ने बानीले स्पिड पनि बढेको थियो । त्यस्ता जासुसी उपन्यासहरु दुई घन्टामै पढिसक्थेँ । फेरि चाँडै पढिसकेर दराजभित्र दुरुस्तै राखिदिऊँ भन्ने हतारोले पनि छोप्थ्यो ।

त्यसरी पढ्दा कुनै बेला भने दाइले थाहा पाइहाल्नुहुन्थ्यो । त्यसपछि दाइबाट गाली र पिटाइ खाइहाल्थेँ । आमाले पनि उपन्यास पढेर बिग्रिन्छस् भनेर मलाई कराउनुहुन्थ्यो । किनकि म स्कूलमा राम्रै विद्यार्थी मानिन्थेँ । दाइले चाहिँ जति गरे पनि राम्रो पढ्दैन भनेर छुट जस्तै पाउनुभएको थियो ।

एलएलसी अगाडि उपन्यासकै तयारी !

पढेर माथिल्लो कक्षामा उक्लिँदै जाँदा उपन्यास पढ्ने बानीले धुरन्धर पढन्ते भइयो । यस्तैमा कक्षा १० को सेन्टअप परीक्षा मंसिरमा दिएपछि एसएलसी हुने फागुनसँग म बेकामे भएँ । त्यो समयमा पनि उपन्यास खुबै पढियो ।

त्यतिन्जेल नेपाली उपन्यास लगभग जम्मै पढिसकिएको थियो । प्रकाश कोविददेखि युधीर थापाका उपन्यास एकसरो छिचोलिएको थियो । अब हिन्दी उपन्यास पढ्नुपर्छ भनेर सुर कसियो ।

घरदेखि तीन किलोमिटरको दूरीमा भद्रपुर पुस्तकालय थियो । पुस्तकायमा १० रुपैयाँ तिरे एक महिनाको सदस्यता पाइन्थ्यो । एउटा किताब घर लगेर पढ्न पाइन्थ्यो । लाइब्रेरियन एक जना चिनजानकै गाउँले मामा भएकोले म तीन वटा उपन्यास लिएर आउँथेँ ।

बिहानदेखि पढेर दिनभरिमा तीन वटै पढिभ्याउँथेँ । त्यति सक्नासाथै अरु किताब लिन पुस्तकालयतिर दौडिहाल्थेँ । त्यस क्रममा वेदप्रकाश शर्मामा जासुसी उपन्यासहरु बढी पढेँ ।

किताब पढ्नै पाटनबाट डिल्लीबजार धाइयो

ईञ्जिनियर बन्ने भनेर म आईएस्सी पढ्न काठमाडौं आएँ । पाटन क्याम्पसमा भर्ना भएको थिएँ । अब त पहिले स्कूलमा जस्तो लरतरो पढाइले हुनेवाला थिएन । पढ्नुपर्छ भन्ने भावना बढी भयो । कोर्सको किताबमै केन्द्रित भएँ ।

तर, कताकता जासुसी उपन्यासको मोह छँदै थियो । म पाटनमै बस्थेँ । त्यहाँ मेरा गाउँतिरका साथी कोही थिएनन् । सबै काठमाडौं र छेउछाउकै मान्छे बस्थे । एक्लै हुन्थेँ ।

त्यस क्रममै वेदप्रकाशको देवकान्त सन्ततिभन्ने उपन्यास आयो । पहिले उसका विजय र विकास सिरिजका सबै जासुसी किताब पढिएको थियो । यो त कसरी छोड्नु भन्ने लाग्यो ।

डिल्लीबजार पिपलबोटमा सेकेन्ड ह्यान्ड किताब पसल थियो । किताब सस्तोमा भाडामा लगेर फिर्ता गर्ने सुविधा थियो । म पाटनबाट त्यहाँसम्म गएर किताब ल्याउँथेँ ।  

भद्रपुरमा हुँदा त मैले प्रकाश कोविद र युधीर थापाको उपन्यास पढेँ भन्नुमा कुनै लाजको कुरा थिएन । अरुले देख्दा पनि यो केटो पढ्छ भन्ने हेराइ थियो । तर,काठमाडौं आएर क्याम्पस पढ्न थालेपछि अवस्था फेरियो । क्याम्पसका साथीहरुले रोमान्टिक अंग्रेजी उपन्यास साटफेर गर्दै पढेको देखिन्थ्यो । आफूलाई भने अंग्रेजी किताब पढ्न भनेपछि हिम्मतै हुन्थेन । कहिल्यै पढिनँ पनि ।

त्यसरी अंग्रेजी किताब पढ्नेहरुको अगाडि आफूले वेदप्रकाशको कुरा गर्दा म त हदै पाखे हुन्थेँ । त्यसैले हिन्दी जासुसी उपन्यास पढ्छु भनेर देखाउन कहिल्यै सकिनँ ।

क्याम्पसमा स्कूलमा अंग्रेजी माध्यममा पढेकाहरुदेखि धनीगरिबसम्म सबै हुन्थे । म जस्तै हिन्दी उपन्यास पनि एकदुई जना विद्यार्थी त थिए । तर, जासुसी उपन्यास पढ्छु भनेर सगर्व बताउन कहिल्यै सकिएन । खुसुक्क झोलामा बोकेर हिँड्थेँ । पढिसकेर किताब पसलमा फिर्ता गर्थेँ र अरु किताब झोलामा लुकाएर ल्याउँथेँ ।

पल्प फिक्सन भर्सेज साहित्य

मलाई कुनै दुई वटा किताब दिएर कुन पल्प फिक्सन हो, कुन चाहिँ साहित्य हो भनेर सोध्यो भने म पनि कति त छुट्याउन सक्छु । यो समस्या सामान्यतया कथा र उपन्यास विधामा हुन्छ ।

कुन चाहिँ कामचलाउ कथा हो, कुन चाहिँ विशुद्ध साहित्यिक कथा हो भनेर छुट्याउन सकिन्छ होला । बीचको ग्रे एरियामा चाहिँ धेरै वटा किताब पर्छन् जस्तो लाग्छ । त्यही किताब कसैलाई हावा लाग्न सक्छ, कसैलाई भने यसलाई पनि साहित्यको दाँजोमा राखौं भन्ने लाग्न सक्छ ।

हामीकहाँ विचित्र खालको मानसिकता छ । साहित्यकार भनेर चिनिएको मान्छेले जे लेखे पनि त्यसले साहित्यकै दर्जा पाउँछ ।

मानौं प्रकाश कोविदकै उपन्यासलाई उसले सारेर आफ्नो नाममा निकाल्यो भने पनि त्यो विशिष्ट साहित्य कहलिन्छ । लेखकको नामले नै ब्रान्डिङ गरिदिन्छ । अर्कातिर,प्रकाश कोविदले जति नै राम्रो साहित्य लेखे पनि जहिल्यै पनि त्यो पल्प साहित्य नै हुन्छ ।

हल्काफुल्का र खँदिलो साहित्य प्रष्टसँग छुट्टिए पनि लेखकको नामले ब्रान्डिङ गर्दा अन्डर रेटेड भएका किताब पनि छन् । कोविदको नोयो उपन्यास त्यस्तै हो । मैले यो उपन्यास ७/८ कक्षामा हुँदा पढेको हुँ ।

नोयोरनेको प्रभाव

नोयो मा चीनले तिब्बतमा सांस्कृतिक क्रान्ति गरेपछिको अवस्था चित्रण गरिएको छ । क्रान्तिपछि तिब्बतीहरु शरणार्थी भएर भाग्दा चिनियाँ लालसेनाले गरेको थिचोमिचो देखाइएको छ । नोयो चाहिँ उपन्यासकी नायिका हुन्छिन् । उनी अनेक प्रताडना झेल्दै सायद एक्लै शरणार्थी भएर कतै पुग्छिन् ।

एक हिसाबले हेर्दा इन्द्रबहादुर राईको कथा जयमाया आफू मात्र लिखापानी आइपुगीनोयोलाई तुलना गरेर हेर्दा उपन्यासको विषयवस्तु केही पनि नराम्रो छैन । तर, त्यो लेखेको कसले भन्दा कोविदले लेखे । पक्कै पनि कोविदको नेपाली भाषा त्यति परिष्कृत छैन होला । तर, त्यही नोयोको कुरा इन्द्रबहादुरले अलिकता भाषागत परिष्कार गरेर निकालेको भए त्यसले पक्कै पनि साहित्यको मान्यता पाउँथ्यो ।

एक जमानामा पढेको नोयोको कतिपय कथावस्तु म अहिलेसम्म सम्झिन्छु । रमाइलो थियो र नै सम्झिएँ । विषयवस्तु पनि गम्भीर थियो । तर, कतिपय किताबलाई लेखकको नामबाट लेबल लगाइँदा अन्यायमा परेका देखिन्छन् ।

साहित्य भन्ने बित्तिकै विद्यार्थीले कक्षा नौ/दस मा केही कथाकविता र क्याम्पसमाबसाइँ‘, ‘मुलुक बाहिरजस्ता कृति पढका हुन्छन् । त्यसबाट नै उनीहरुले नेपाली साहित्यको पठनमा छिरेका हुन्छन् । या त रमाइला पल्प फिक्सनहरु पढेका हुन्छन् । तर, धेरैथरि किताब पढ्दा प्रिय किताब कुन हुन्छ भने, जुन पढ्दा रमाइलो लाग्छ र दिमागमा छाइरहन्छ ।

मन परेको नै यादमा बसिरहने हो । अर्थात् आँखा चिम्लिएर गम्दा अहिलेसम्म मैले जे सम्झिएँ, त्यो मलाई सबैभन्दा धेरै मन परेको भन्ने लाग्छ ।

दिमागमा रने भन्ने उपन्यास पढ्दाको याद पनि सँगालिएको छ । यो मैले नौ/दस कक्षामा पुग्दा पढेको हुँ । घरमा कताबाट आइपुगेको रहेछ । घरमा त्यो उपन्यास सबैले पढे होलान् । बल्लतल्ल अक्षर छिचोल्न सक्ने आमाले पनि त्यो पढ्नुभएको थियो ।

उपन्यासको कभरसहित अगाडिका चारपाँच वटा पाना थिएनन् । पछाडि कति पृष्ठसम्म थियो भन्ने पनि मलाई थाहा भएन, पछाडिको भाग पनि च्यातिएको थियो पछाडिका पनि चारपाँच पाना थिएनन् होला । लेखक तुलसीराम कुँवर रहेछन् भनेर पछि मलाई थाहा भयो । उपन्यासले निकै प्रभाव पार्‍यो मलाई ।

राणाकालदेखि प्रजातन्त्र आउँदासम्मको अवस्था चित्रण गरिएको छ त्यसमा । जम्मा एकचोटि पढे पनि त्यसको कथादेखि पात्रहरु रनेउसकी श्रीमती, ठूले, साने सबै याद छ मलाई । गाउँलेहरुको कृषि क्रान्ति, समाजमा रनेको संघर्ष र उदाहरणीय कार्य देखाइएको छ ।

संयोगान्त कथा भएर हो कि, लेखाइ राम्रो भएर हो कि, मूल पात्र रनेको चरित्र चित्त बुझेर हो कि, यो किताब यादगार बनेर बसेको छ । रमाइलो लागेर नै दिमागमा असरदार भएर बस्यो ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment