Comments Add Comment

बहसः ‘देश किन बनेन ? पार्टीकरण अलि थोरै भयो’

यही कर्मचारीतन्त्रमा महादेवलाई प्रधानमन्त्री बनाए पनि केही हुँदैन

 

shrawan-mukarung

नेपालमा ठूलादेखि एक-दुईजना सांसद भएका भुरेटाकुरे पार्टीसम्म छन् । सानो पार्टी हुँदा फरक समुदाय र वर्गका कुरा आउँछन्, त्यो राम्रै कुरा हो । तर, हाम्रा राजनीतिक पार्टीहरुमा सबैभन्दा ठूलो समस्या के देखिन्छ भने, अधिकांशको आन्तरिक संरचना स्वस्थकर छैन । यसले लोकतन्त्रमै असर परेको छ ।

पार्टी कमजोर हुनु नै लोकतन्त्र कमजोर हुनु हो । पार्टीहरुले आन्तरिक संगठन चुस्त बनाउन सकेका छैनन्, दक्ष कार्यकर्ता निर्माण गर्न सकेका छैनन् ।

राजनीतिको कुरा गर्दा पार्टीगत स्वार्थ हावी भएकोले देश बिग्रियो भन्ने गरिन्छ । त्यसमा कुनै सत्यता छैन । त्यस्तो स्वार्थ राष्ट्रिय एजेण्डासँग नजोडिएकोले मात्रै समस्या भएको हो । राष्ट्रिय एजेण्डाकै कुरा उठाउने हो भने पार्टीको स्वार्थले नराम्रो गर्दैन ।

हामीकहाँ जताततै पार्टीकरण भयो, राज्यका निकायहरु राजनीतिक भर्तीकेन्द्र बने भनेर पनि चिन्ता गरिन्छ । तर, पार्टीकरण भएर देश खत्तम भयो भन्नु सिद्धान्ततः गलत कुरा हो । म भन्छु, हाम्रो देश नबन्नुको कारण पार्टीकरण नभएर नै हो ।

वि.सं २००७ सालदेखि आजसम्म आउँदा वास्तवमा नेपाल असफल हुनुको कारण पार्टी कमजोर भएर हो । पार्टीको संगठन कमजोर हुँदा उसले केही गर्न नसक्ने अवस्था छ । पार्टी सरकारमा जाँदा उसका नीति तथा कार्यक्रम लागू गर्न ऊसँग दक्ष जनशक्ति नै हुँदैन । फलस्वरुप पार्टीले बाहिरका मान्छे, निरपेक्ष बसेका वा उसको सिद्धान्त र विचारभन्दा परको मान्छे ल्याउनुपर्ने भयो । त्यस्तो अवस्थामा त्यो व्यक्तिले कसरी पार्टीको नीति लागू गर्छ ? फेल हुनुको कारण त्यही हो ।

कर्मचारीतन्त्र नेताले भनेको कुरा लागू गर्ने माध्यम हो भनेर कर्मचारीहरुले सोचेनन् । उनीहरुले सोचे, हामी त स्थायी सरकार पो हौं

मानौं, कांग्रेसको सरकार बन्यो भने कांग्रेसका कार्यकर्ताले जताततै हस्तक्षेप गर्ने स्थिति हुनुपर्‍यो । कर्मचारीतन्त्रले पनि पार्टीको नीति मान्न सक्ने वातावरण हुनुपर्‍यो । तर, हामीकहाँ त्यो अवस्था छैन । यसको कारण हो, राजनीतिक पार्टीले आफ्ना कार्यकर्ता योग्य बनाउन सकेनन् ।

पार्टी सरकारमा गइसकेको हुन्छ, तर पार्टीभित्र अर्थविद्, परराष्ट्रविद्, संस्कृतिविद्, योजनाकार बनाउन लायकका राम्रा मान्छे नै हुँदैनन् । त्यस्तो बेला बाहिरबाट हायर गरिएका, रिटायर्ड भइसकेका वा पञ्चायतकालले तयार गरेको ब्युरोक्र्याट्सलाई लगेर पार्टीको तर्फबाट राख्नुपर्ने हुन्छ । यसको नतिजा पार्टीको पक्षमा आउने अवस्था हुँदैन ।

कुनै पार्टी सरकारमा गयो भने त्यसले यो-यो काम गर्‍यो भनेर जनताले ठ्याक्कै थाहा पाउनको लागि काम गर्ने मान्छेहरु त्यही पार्टीको हुनुपर्छ ।

देशको आर्थिक अनियमितता हटाएर सुव्यवस्था गर भनेर अख्तियारमा लोकमानसिंह कार्कीलाई जिम्मा लगाइयो । तर, ऊ त कसरी पार्टीहरुलाई ठीक लगाउने भन्दै उल्टै जाक्नतिर लाग्यो । त्यसबाट पनि देखियो, पार्टीहरुले अख्तियार प्रमुख हुने एउटा योग्य मान्छे आफूले तयार गर्न सक्दैनन् र ?

राज्यका सबै निकायमा पार्टीकरण हुँदा एउटै पार्टीको सर्वेसर्वा होला, उसको मनपरी बढ्ला भन्ने आशंका पनि रहन्छ । त्यो आशंक हटाउन अनुशासनको दायरा पनि तोकिनुपर्छ ।

shrawan-mukarung-2

पार्टीकरण नहुँदा तारतम्य नमिलेका धेरै ठाउँहरु छन् । मन्त्रीले कुनै निर्णय गर्‍यो भने त्यो काम तत्काल अघि बढ्दैन । मन्त्रीले अब पुल बनाउनुपर्‍यो भन्छ, उसलाई आफूले घोषणा गरिसकेको काम फत्ते गर्न मन हुँदैन होला र ? तर, कर्मचारी प्रशासन यन्त्रले सहयोग नै गरिदिँदैन । कर्मचारीहरुले ‘मन्त्रीज्यू, यो प्रोसेसमा जानुपर्छ’ भनेर अलमल्याइदिन्छन् । उसलाई मन नपरेको छ र अर्कै पार्टीको मन्त्री छ भने अनेक बहाना गरेर अड्काइदिन्छ ।

कुनै निकायमा राजनीति भयो भनेर हामीकहाँ राजनीति शब्दलाई नै नकारात्मक बनाइयो । खेलकुदमा राजनीति भयो भनिन्छ, कुनै निकायमा सरकारी हस्तक्षेप भयो भनिन्छ । तर, राजनीति नराम्रो कुरा हैन । राम्रो नियतले काम नगरेकोले राजनीतिक नियुक्तिले खराब राजनीतिको उपमा पायो । जस्तैः खेलकुद क्षेत्रमा पार्टीकरण गर्दा त्यहाँ खेलकुदबारे जानेबुझेको पोलिसी मेकर राख्ने हो, पार्टीकरणको नाममा भटाभट पार्टीको मान्छेलाई खेलाडी बनाउने होइन ।

पहिले-पहिले खेलकुद निकायमा राजनीतिक नियुक्ति गरिए पनि उसले राम्रो काम गर्न सकेन । किनभने एउटा व्यक्ति त आयो तर उसले त्यहाँको संरचनालाई बदल्न सकेन । उसले काम गर्ने ठाउँमा भनेजस्तो संरचना भएन ।

नेपालको सन्दर्भमा मैले देखेको राजनीतिक पार्टी, जनप्रतिनिधिहरु र कर्मचारीहरुबीचमा एक-अर्काको सहयोगी हो भन्ने कुरा बुझिएन । कर्मचारीतन्त्र नेताले भनेको कुरा लागू गर्ने माध्यम हो भनेर कर्मचारीहरुले सोचेनन् । उनीहरुले सोचे, हामी त स्थायी सरकार पो हौं । यसो भनेर उनीहरुले आफूलाई माथि राखे । सरकार लामो समय नटिक्ने अवस्थाले पनि ‘स्थायी सरकार’को अहम् झन् बढ्दै गयो । यसरी देशको अस्थिर राजनीतिको गलत फाइदा उठाइयो ।

कर्मचारीतन्त्र १८ औं शताब्दीको

देशले विकासको बाटो पैल्याउन नसक्नुको कारण कर्मचारीतन्त्र पनि हो । हाम्रो कर्मचारीतन्त्र पार्टीले पनि चलाउन नसक्ने खालको छ । कर्मचारीतन्त्र १८औं शताब्दीको जस्तो सामन्ती चरित्रको छ । १५ मिनेटमा हुने काम १५ दिन लाग्छ । एक ठाउँमा हुने कामका लागि सात ठाउँमा तोक आदेश लगाउँदै हिँड्नुपर्छ । यो कारणले पनि देश खत्तम भएको हो । यसको लागि संस्कार फेरिनुपर्छ ।

अहिलेको अवस्थामा यहाँ महादेवलाई ल्याएर प्रधानमन्त्री बनायो भने पनि केही गर्न सक्ने स्थिति देखिँदैन । कर्मचारीतन्त्र ठीक भए मात्र विकास र गतिशीलता सम्भव हुन्छ ।

सेवाग्राही कुनै कार्यालयमा पुग्दा कर्मचारीको मुड र इच्छा ठीक छ भने मात्र काम हुन्छ । खासमा समस्या सोधेर तुरुन्तै सेवा प्रवाह गर्नु कर्मचारीको ड्युटी हो । तर, हाम्रो कर्मचारीतन्त्रमा त्यो कुराको कल्पना नै गर्न सकिँदैन । हाम्रो जीवनदृष्टि नै खराब भयो । देश बनाउने हो भने हामीले जीवन दृष्टि सच्याएर अघि बढ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment