सोमबार, १५ जेठ, २०७४
OnlineKhabar.com

हरेक बाबुआमा धर्मसंकटमा छन्

बच्चाका अगाडि हरेक बाबुआमा धृतराष्ट्र र गान्धारी बन्न बाध्य छन्

अरूण कुमार सुवेदी

२४ पुस, काठमाडौं । विकासवादी लेखक तथा विश्लेषक अरुण कुमार सुवेदी नेपालको शिक्षा नीतिप्रति गम्भीर रुपमा अन्तुष्ट छन् । देशलाई समृद्धितर्फ अघि बढाउने हो भने शिक्षा र स्वास्थ्यलाई निजीकरण गरिनुहुँदैन र यसको जिम्मा राज्यले नै लिनुपर्छ भन्ने सुवेदीको दृष्टिकोण छ । अहिले नेपालमा अभ्यास भइरहेको शिक्षा नीति र यसले समाजमा पारिरहेको मनोवैज्ञानिक प्रभावका बारेमा उनी के भन्छन् ? भिडियो ब्लगमा सुवेदीलाई भेट्न सकिन्छः

समृद्धि क्रान्ति भिडियो ब्लग श्रृंखलाको पाँचौं भाग लिएर म अरुणकुमार सुवेदी उपस्थित भएको छु । हामीले विगतका चारवटा श्रृंखलामा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका विषयमा कुरा गरिरहेका छौं ।

अघिल्लो श्रृंखलामा धेरै जिज्ञासाहरु आए । धेरै साथीभाइहरुले सुझाव दिनुभयो । त्यसैले केही स्वरुपलाई हामीले परिवर्तन गरेका छौं । अनलाइनखबरडटकमले यो सम्वृद्धि क्रान्तिको श्रृंखलालाई उत्पादन गरेर आफ्नो पोर्टलमार्फत ल्याउने भएको छ । तपाईहरुले अनलाइनखबरबाट यसलाई हेर्न सक्नुहुनेछ ।

यस श्रृंखलामा पनि हामी शिक्षाका केही समस्याहरु उठान गर्नेछौं र तिनलाई व्याख्या गर्ने कोशिस गर्नेछौं ।

अघिल्ला श्रृंखलामा धेरै जिज्ञासाहरु आए । पहिलो जिज्ञासा थियो, कुनै राजनीतिक अभिष्ट अनुसार त यी कुराहरु भइरहेका छै्रनन् ? म आश्वस्त गर्न चाहन्छु कि यसको किमार्थ राजनीतिक लक्ष छैन । राजनीतिक अभिष्ट छैन ।

र, नेपालको राजनीतिमा एउटा अनौठो परिस्थिति देखापर्‍यो । आजसम्मको राजनीतिको विश्लेषण गर्दा जुन वर्गबाट, जुन संगठनले अथवा जुन प्रवृत्तिबाट सामाजिक र आर्थिक मुद्दा उठे पनि अहिलेको परिवर्तनलाई सम्वोधन गर्ने दायित्व नेपाली कांग्रेस र नेकपा एमालेलाई नै नेपाली जनताले दिएको अवस्था देखिन्छ । अहिले पनि मेरो विनम्र अनुरोध छ, शिक्षामा जो विषयहरु उठान भइरहेका छन्, यी विषयहरुलाई कांग्रेस र एमालेका विद्यार्थी र तरुण संगठनहरुले राम्ररी मनन गरेर आफ्ना मातृ पार्टीहरुलाई दबावमा ल्याएर परिवर्तनका लागि बाध्य बनाए भने मुलुक र समस्त जनताका लागि धेरै हितकर हुनेछ भन्ने मलाई लाग्छ ।

यहाँनेर म युवाहरु र विद्यार्थीहरुका बारेमा भन्नैपर्ने एउटा विषय उठान गर्न चाहन्छु ।

पार्टीहरुका युवा र विद्यार्थी संगठनका नेताहरुलाई पार्टीका नेताहरुले आफ्नो पक्षमा पार्नका लागि इलमविना एकदमै उच्चशैलीको जीवनयापन गर्ने बानी पारेको देखिन्छ । यसले गर्दाखेरि विद्यार्थी र तरुण नेताहरु सिद्धान्तको पछाडि भन्दा पनि आफ्नो जीवनशैलीलाई धान्नका लागि कुनै अमूक नेताका पछाडि लाग्ने र यसले गर्दा पूरा पिँढी नै भ्रष्टीकरणतर्फ जाने गम्भीर अवस्था देखिएको छ ।

यसबाट युवा विद्यार्थी तरुणहरु जोगिनुहोस् र यस्ता विषयवस्तुलाई उठान गरेर आफ्नो मातृपार्टीलाई दबाव सिर्जना गर्नुहोस् भन्ने मेरो सज्जन आशय हो । यसलाई अर्को राजनीतिक शक्ति निर्माण गर्नका लागि सैद्धान्तिक धरातलको रुपमा यो भिडियो ब्लग श्रृंखला आएको छैन । म यो सम्पूर्ण दर्शकहरुलाई आश्वस्त गर्न चाहन्छु ।

अब म विषयवस्तुतर्फ प्रवेश गर्न चाहन्छु ।

एउटा पहिलो जिज्ञासा थियो । जुन अहिलेको भेदभाववादी शिक्षा प्रणाली छ । रुजबेल्टको भाषामा भन्दा जुन सामाजिक डार्बिनवादी शिक्षा प्रणाली छ, यो शिक्षा प्रणालीको यत्रो विरोध भइरहँदाखेरि तपाईचाँहि आफ्ना छोराछोरी बोडिङ शिक्षा लिन पठाइरहनुभएको छ कि सरकार विद्यालयमा पठाइरहनुभएको छ ? यो बहुतै महत्वपूर्ण प्रश्न हो । र, धेरैले यो शिक्षा प्रणालीको विरोध गरे पनि बोडिङमै आफ्ना छोराछोरीहरु पढ्न पठाइरहेका छन् । आखिर किन ? यो एक किसिमको ढोंग अथवा हिप्पोक्रेसी भएन ? स्वाभाविक प्रश्न उठ्न सक्छ ।

तर, यहाँ एउटा सामाजिक र वैयक्तिक मनोविज्ञानलाई मनन गर्न जरुरी छ । हरेक बाबुआमा एउटा धर्मसंकटमा छन् । यो शिक्षा प्रणालीले उचित किसिमको शिक्षा दिएको छ कि छैन, यो आफैंमा सन्देहास्पद छ । र, धेरैपटक हामीले चर्चा गरिसक्यौं यो शिक्षा पद्दतिका उत्पादनहरुले, पाठ्यक्रमकै कुरा गर्ने अथवा उनीहरुले दिएको वातावरणबाट उत्पादित विद्यार्थीहरुको अहिलेको सामाजिक वैयक्तिक व्यवहारको कुरा गर्नुहुन्छ भने आमाबाबुको औषधिको नाम भुलेर फेसबुकवालीको जन्म दिन कहिल्यै नभुल्ने स्थिति निर्माण भो भनेर टिप्पणीहरु बजारमा आउँछन् ।

हो, त्यो स्थिति पनि देखिएको छ । कसैलाई लास्ट बोर हुन्छ, बाबुआमा जहिल्यै चण्डीपाठ गरेर बसेका हुन्छन् । यसप्रकारको उत्पादन पनि आएको छ ।

यो सबै विषयवस्तुभन्दा पनि महत्वपूर्ण विषयवस्तु के छ भने अहिलेका हाम्रा छोराछोरीहरुमा एउटा मनोविज्ञान बनाएको छ समाजले बोर्डिङमा पढ्नुचाँहि उच्च वर्गको हुनु, अरुभन्दा माथिको वर्गको हुनु हो र सरकार विद्यालयमा पढ्नु भनेको चाहिँ अवहेलित दर्जाको हुनु हो भन्ने एक किसिमको सामाजिक मनोविज्ञान उत्पन्न भइसकेको छ ।

अब जो बाबुआमा छन्, उनीहरुले बच्चालाई यो सबै कुरो बुझीबुझी सरकारी विद्यालयमा पठाउँ भने छोराछोरीहरुमा असन्तोष उत्पन्न होला । यसले झन विकराल मनोवैज्ञानिक स्वरुप ग्रहण गर्ला । यो समस्या छ । बोर्डिङ शिक्षालयहरुमा पठाऔं, त्यसको उत्पादनबाट धेरै बाबुआमाहरु सन्तुष्ट छन् भन्ने छैन ।

जो मान्छेलाई केही ‘कमन सेन्स’ छ । केही मान्छेलाई होला, हामी आम जनताभन्दा माथिल्लो हौं भन्ने सामन्ती सोच राख्नेहरुलाई त्यस्तो अनुभूति नभएको हुन सक्छ । तर, हामी सबै बराबर हौं भन्ने एउटा मानवीय सोचाइ राख्छन्, ती सबै बाबुआमाहरुलाई यो धर्म संकट छ ।

यही धर्म संकटको कारणले हरेक बाबुआमाहरुले यो कुरो बुझ्दा बुझ्दै पनि बोर्डिङ शिक्षालय कथित उपल्लो विद्यालयहरुमा आफ्ना बच्चाहरु पढाउन पठाउन बाध्य भएका छन् ।

arun-kumar-subedi_2

किनभने हरेक बाबुआमा यही कारणले बच्चाहरुमा ‘कम्प्लेक्स’ विकसित होस् र उसमा सम्हाल्न नसकिने स्थिति होस् वा हीनतावोधले ग्रस्त होस् भन्ने चाहिँ कोही बाबुआमा चाहँदैनन् ।

सबैले बुझ्ने भाषामा भन्दाखेरि हाम्रा पौराणिक पात्र हुन्-धृतराष्ट्र र गान्धारी । हाम्रा हरेक बाबुआमाहरु आफ्ना बच्चाका अगाडि धृतराष्ट्र र गान्धारी हुन बाध्य छन् । कसैले लुकाउनै पर्दैन ।

यो सामाजिक अवस्थाले गर्दाखेरि पनि बोडिङ शिक्षाबारे सबै जान्दा जान्दै पनि बाबुआमाहरु आफ्ना बच्चाबच्चीलाई पठाउन र पढाउन बाध्य भएका छन् ।

अब यसमा अर्को महत्वपूर्ण पक्ष म यहाँ जोड्न गइरहेको छु । हामीले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेर जुन विकृत अवस्था निर्माण गरिसक्यौं, आन्तरिकरुपमा मात्रै होइन, तपाईहरुले बजारमा हेर्नुभयो भने यत्रतत्र देख्नुहुन्छ एजुकेसन कन्सल्टेन्सी ।

हामीले यहाँ यस्तो असंगत अवस्था निर्माण गर्‍यौं गर्‍यौं, अब योभन्दा अगाडि बढेर हामी के गर्दैछौं भने भारतका अथवा अष्ट्रेलियाका, युरोपका अमेरिकाका स्कुल कलेजका कमिसन एजेन्टहरुलाई बैधानिकरुपमा दर्ता गरेर उनीहरुको व्यापार पनि हामीले बढाइदिइराखेका छौं ।

पश्चिमा मुलुकहरुले आफ्नो औद्योगिक उत्पादन त तेस्रो देश र भारत चीनलाई बेच्न सक्ने अवस्था अहिले रहेन । अब उनीहरुले के गर्न थाले भने आफ्नो देशमा राम्रो शिक्षा हुन्छ भनेर शिक्षालाई निजीकरण र कम्पनीकरण गरेर ल यो शिक्षा बेचेर भए पनि बाहिरको पैसा तिमीहरु भित्र्याउ भनेर एउटा नयाँ नीतिमा उनीहरु गए । त्यो नीतिलाई पनि हामीले यहाँ अंगीकार गरेर उनीहरुको त्यो पैसा कमाउने जुन बाटो अगाडि बढाएका छन्, त्यसलाई हामीले सहयोग गरिराखेका छौं ।

यस्तो स्थिति निर्माण भइरहेको छ, पैसा तिरेर बच्चाहरु हामीले त्यहाँ पठाइराखेका छौं र धेरै बच्चा उतै बसेका छन् । त्यसबाट हामीलाई न अपेक्षित रेमिटेन्स नै आएको छ । विदेशीहरुले यसबाट सस्तोमा लेबर फोर्स पनि पाएका छन् र यहाँबाट पैसा पनि पाएका छन् । यो पनि एउटा साह्रै ठूलो विकृतिको रुपमा स्थापित भैसकेको छ । यो शिक्षा र स्वास्थ्यको निजीकरणकै एउटा पाटो हो ।

स्वास्थ्यमा कसरी निजीकरण भएको छ, मैले पहिलेको भिडियो श्रृंखलामा चर्चा गरिसकेको छु । यहाँहरु सबैले भोगिराख्नुभएको छ । खल्तीमा पैसा छैन भने मान्छे कसरी मर्नुपर्छ, सबैले जानिराखेको छ । समाचारहरु आइराखेका छन् । उपचारका लागि पैसा भएन भनेर सडक सडकमा मान्छे भिक्षा माग्न बाध्य भइरहेको अवस्था देखिराख्नुभएको छ ।

सँगसँगै छिमेकी मित्रराष्ट्र भारत, थाइल्याण्ड, सिंगापुरमा व्यापक ठूलो लगानीमा सुकिला डाक्टरहरुसहित अस्पताल खुलेका छन् । र, एउटा प्रक्रिया के सुरु भइसकेको छ भने हेल्थ टुरिज्म भनेर नेपालमा पनि त्यसका कम्पनी खुल्न थाले ।

अहिले जसरी एजुकेशन कन्सल्टेन्सीहरु खुलेका छन्, निजी अस्पतालका कमिसन एजेन्टहरु पनि कुनै संस्थाका नाममा काठमाडौंका सडकमा यत्रतत्र देखिन थालेका छन् । यहाँ भएका बिरामीहरुलाई पक्रेर अमूक अस्पतालमा भर्ना गराएर ब्यापार गराउने कम्पनीहरु अब नेपालमा खोलिँदैछन् ।

नेपालजस्तो अंगीकार गर्नुपर्ने शिक्षा प्रणाली यस्तै हो त ? यसतर्फ नीति निर्माताहरु कोही पनि केन्द्रित भएको देखिँदैन । सम्वेदनशील भएको देखिँदैन । यस्ता कुराहरुले जुन व्यापक जनअसन्तुष्टि निर्माण गरिहरेको छ, यो जन असन्तुष्टिलाई सम्वोधन गर्ने भनेर राजनीतिक मुद्दामात्रै अगाडि आइरहेको छ ।

जे कारण छ, त्यसलाई कहिल्यै निराकरण नगर्ने र त्यसबाट आएका परिणामहरुलाई मात्रै सम्वोधन गर्ने हो भने हामी अनन्तकालसम्म अराजकतामा फस्न सक्छौं ।

कुनै पनि राजनीतिक क्रान्ति तुरुन्त आर्थिक, सामाजिक क्रान्तिका रुपमा रुपान्तरण हुन सकेन भने मुलुकले अराजकता व्यहोर्नुपर्छ । यो इतिहासिद्ध कुरा हो । नेपालमा पनि भएको त्यही हो । ०४६ सालको जुन आन्दोलन हो, त्यो आन्दोलन पश्चात जनताको अपेक्षा अनुसारको आर्थिक सामाजिक रुपमान्तरण नभएपछि असन्तुष्टि निर्माण भयो ।

पछि ०६२/०६३ मा हामीले जनआन्दोलन- २ गर्‍यौं । यसपछाडि पनि जनताको अपेक्षा अनुसार आर्थिक सामाजिक रुपान्तरण केही भएको छैन । हामी अराजकताको अध्यायमा प्रवेश गरिरहेका छौं । अराजकताको अभ्यास निरन्तर छ ।

अब पनि यी मुद्दाहरुलाई हामीले सम्वोधन गरेनौं र राजनीतिमा मात्रै केन्दि्रत भइरह्यौं भने राजनीतिमा नयाँ नयाँ मुद्दाहरु आइरहन्छन् ।

आर्थिक सामाजिक रुपान्तरण नहुनाका कारणले व्याप्त असन्तुष्टिले राजनीतिकरण गरिराख्ने छ । र, त्यसलाई सम्वोधन गर्ने प्रयत्न नभए अनन्त अराजकतातिर हामी प्रवेश गरिरहन्छौं ।

यसप्रति आम जनता र विशेष गरेर नेपालका ठूला दलका युवा र विद्यार्थी भातृ संगठनहरुले सम्वेदनशील भएर अगाडि बढ्नुपर्छ भन्ने मेरो अभिप्राय हो ।

arun-kumar-subedi_1

शिक्षाको निजीकरणको अर्को विकराल समस्याका बारेमा म चर्चा गर्न चाहन्छु । त्यो समस्या हो हेल्मेट टिचर । तपाईहरु सबैलाई थाहा छ हेल्मेट टिचर भनेको । ५० वर्ष नाघिसकेका शिक्षकहरु पनि अहिलेसम्म स्थायी जागिरमा रहेर हेल्मेट टिचरका रुपमा दौडिइरहेका छन् ।

अहिलेसम्म ०४७ साल पछाडि हेल्मेट टिचरको संस्कृति एकदमै बढेको छ । शिक्षाको निजीकरण तीब्रत्तर भएको कारणले ०४७ साल पछि आफ्नो करिअर सुरु गरेका हेल्मेट टिचरहरु अहिलेसम्म सामाजिक सुरक्षा चाहिने अवस्थामा पुगिसकेका छन् । उनीहरु वृद्ध भइसकेका छन् । कोही कोही बिरामी भएर, स्वास्थ्योपचार नपाएर केही समस्यामा परे होलान् वृद्धावस्थाको कारणले सामाजिक सुरक्षा चाहियो भन्नुपर्ने अवस्थामा पुगेका छन् ।

तर, त्यसपछाडिको हेल्मेट टिचरको पिँढी जब पढाउन नसकेर रिटायर्ड हुन्छ, उनीहरुका हातमा कुनै सामाजिक सुरक्षाको स्थिति पनि हुँदैन । उनीहरुले पनि आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलमै पठाएका होलान् । त्यसमध्ये धेरै बच्चाहरुको उद्देश्य भनेको युरोप वा अष्ट्रेलिया जाने नै होला । उनीहरु उता गएर आफ्नो किसिमले सेटल होलान् । उनीहरुको विवेकले ती बाबुआमाको दायित्व लेला नलिएला, त्यो उनीहरुको स्वविवेकको कुरो हो । त्यस अवस्थामा ती हेल्मेट टिचरको नियति कस्तो होला ?

यो निकट भविश्यमा, ८/१० वर्षभित्रै हाम्रो समाजले सामना गर्नुपर्ने समस्या हो यो । यति ठूलो छ कि हेल्मेट टिचरहरुको संख्या कि सरकारी स्कुलका स्थायी शिक्षकहरुको भन्दा मलाई लाग्छ नेपालमा अब हेल्मेट टिचरहरुको संख्या धेरै बढिसकेको छ । यसप्रति पनि कुनै प्रकारको सम्वेदनशीलता छैन ।

अब अर्को प्रश्न उठ्छ, यी समस्याहरुको समृद्धिसँग के सम्बन्ध छ ? म यसमा संक्षेपमा चर्चा गर्न चाहन्छु ।

यो सबै दायित्व सरकारले लिइदिने हो भने स्वाभाविक रुपमा शिक्षा र स्वास्थ्य सेवा खरिद गर्न हामीले ठूलो मात्राको जुन खर्च चुकाइराख्नुपरेको छ, त्यो खर्च चुकाउनुपर्दैन । जनतासित ठूलो खर्च गर्नुपर्ने स्थिति निर्माण नहुनु भनेको हरेक जनता सम्वृद्ध हुनु हो ।

यत्रो व्यापकरुपमा निजी क्षेत्रको जुन लगानी भइराखेको छ, त्यो लगानीलाई अर्को कुनै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ । यसको सट्टा अहिले के भइरहेको छ भने अहिले ठुल्ठुला हाउसहरु पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न आए ।

तपाईलाई अचम्म लाग्ला, कोकाकोला र टुबर्ग बियरको सेयर बेचेर खेतान समूहले मेडिकल कलेज अथवा शिक्षा क्षेत्रमा लगानी गर्नका लागि अवसर खोजिरहेको अवस्था छ ।

यदि शिक्षा र स्वास्थ्यलाई निजीकरण नगर्ने हो भने त्यस्तै अरु उद्योगहरु निर्माण हुन्थे । र, अरु उत्पादनशील क्षेत्र वृद्धि हुन्थ्यो । यो उत्पादनशील क्षेत्र वृद्धि हुनु भनेको कर, रोजगारी सबै किसिमले राष्ट्र समृद्ध हुने हो ।

त्यसकारण समृद्धिसित शिक्षाको निजीकरण र स्वास्थ्यको निजीकरण सिधै जोडिएको छ ।

अहिलेसम्म आउँदाखेरि शिक्षा र स्वास्थ्यसँग सम्बन्धित समस्याहरुका बारेमा हामीले चर्चा गर्‍यौं । अब अर्को भागमा हामी यी सारा समस्याको निराकरण कसरी हुन सक्छ ?

अब राज्यले कस्ता नीतिहरु र ती नीतिअन्तरगत कस्ता विधिहरु तय गर्नुपर्छ भन्ने विषयमा केन्द्रित हुनेछौं । आजलाई यतिमात्र । भवतु सर्व मंगलम् ।

(सुवेदीको भिडियो ब्लग ‘समृद्धि क्रान्ति श्रृंखला’ अनलाइनखबर डटकममा साप्ताहिकरुपमा प्रकाशित हुनेछ )

२०७३ पुष २४ गते २०:२० मा प्रकाशित (२०७३ पुष २५ गते ९:३५मा अद्यावधिक गरिएको)
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • Prakash Rai लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते २०:५८

    भिडियो ब्लग” लाई टेस्क ब्लगमा पढें l कुरा सहि छ l हामि अभिभावकहरु धृतराष्ट्र होइन तर, गान्धारी चाहिं पक्कै बनेको छौं l सानो बाल-बालिकाहरुलाई मनटेस्वोरिमा पठन पाठन गराउने अनि त्यसको दुइ वर्ष पछि एलकेजी यानी लोवर किन्डर गार्डनमा प्रमोट गराउने l अब कहाँको मनटेस्वोरि प्रणाली कहाँको किन्डर गार्डन प्रणाली, ईदुईमा फरक छ l

    जहाँ सम्म बोडिङ स्कुलको कुरा, बिगत पन्द्र वर्ष र आज सम्म पनि हेर्दा, कम से कम काठमान्डूमा भएको सिमित हाइ स्कुलहरुले बर्तमानमा भएको विद्यार्थीको चाप धान्दैन l बोडिङ स्कुलको विकल्प देखाइ दिए भिडियो ब्लग” को महत्व अरु बढ्ने थियो l
    बोडिङ स्कुलले बाहेक अरु स्कुलहरुले विद्यार्थीहरुलाई कस्तो शिक्षा पस्कन्दै छ? नेपालमा यो पनि एउटा खोजको बिषय हुन सक्छ l आज बोडिङमा शिक्षा पाएका विद्यार्थी जसले ७४% मा एसएलसी पास गर्छ, नेपाल सरकारले यस्ता विद्यार्थीलाई प्रथम श्रेणीमा पास गरिएको मन्यत्या दिईन्छ l तर नेपाल चलाउने सरकारको दरवार “सिंहदरवार” बाट पाँच सय मिटिरको दुरीमा रहेको सन्त जेभिएर कलेज सम्म पुग्दा नेपाल सरकारले प्रदान गरिएको मन्यत्यालाई सोझै रद्दीको टोकरीमा फालिन्छ l त्यहाँ भनिन्छ “टपै फ़्रस्ट डिभीसन् भयो त के भयो? टपैको म्याटमा मार्क्स ठोरै हुँनु भए छ, टपैले साईन्स सब्जेक्ट लिन नपाउने” भनेर भनि दिन्छ l

    उच्च शिक्षाको लागि आज ह्वारती ह्वारती बिदेस जानुको पछाडी पक्कै पनि रहर होइन l हाल यहाँ राजनीतिक अभिष्ट पुरा गर्नलाई नै विद्यार्थीहरुको भरपुर् प्रयोग गरिने गरिन्छ l नत्र हेर्नु होस् हाम्रो विश्वविद्यालयहरुलाई, यहाँ तिन मुख्य पदहरु राजनीतिक भागबन्डामा पर्छ l डिन कांग्रेसको भए रजिस्टर मावोबादीको अनि कन्ट्रोलर एमालेको l यति भागबन्डा सिमित भए त ठिकै थियो, कुरा अब सुरु हुन्छ, सेमिस्टर ईन्ड ईक्जामको रुटिन प्रकासित हुन्छ, तर ईक्जाम त्यो मितिमा सुरु बिरलै मात्र हुन्छ, एउटा पाटीको कन्ट्रोलरलाई असफल बनाउन अर्को पाटिको डिनले सुटुक्क आफ्नो निकट विद्यार्थी संगठनका नेतालाई कोर्स पुरा नभएको बहना वा अन्य कुनै बहनामा ईक्जाम हुन नदिनु भन्छ र विद्यार्थी संगठनका नेताहरु ले तर्क, कु-तर्क तोडफोड सबै गरि ईक्जाम हुन दिदैन l होइन जस्तो लाग्छ भने एक पटक पोखरा विश्वविद्यालयलाई हेर्नु होला l आक्टोबरमा एट सेमिस्टर सकेर पास आउट हुनु पर्ने विद्यार्थीहरु दिसेम्बेरमा पासआउट हुदै छ l कारण, परिक्षा समयमा नभएर l पूर्वअञ्चल विश्वविद्यालयमा चार वर्षमा पासआउट हुन पर्नेहरुलाई छ वर्ष सम्म लागेको उदहारण पनि छ l हाल, पोखरा विश्वविद्यालयको सेमिस्टर ईन्ड परिक्षा हुँदै छ र यहि बिचमा दुइ पटक बन्दको भई सक्यो l सायद यी दुइ दिनको बन्दमा कम से कम ३०% विद्यार्थीहरु गयल भए होला l अब, यस्तोमा म पड्छु र केहि गर्छु भन्ने विद्यार्थीको विकल्प के?

    कोकाकोला र टुबर्ग बियरको सेयर बेच्ने खेतान समूह होस् या अन्य ठुला ठुला ब्यपारिक घरानाहरुले यहाँ मेडिकल कलेज अथवा शिक्षा क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त गरोस अनि ति कलेजबाट उच्च गुणस्तरको शिक्षा प्रदान गरोस, ताकि हाम्रा विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षाको लोभमा बिदेसिन नपरोस, बरु अन्य देसका विद्यार्थीहरु पनि हाम्रो देसमा बिध्याआर्जन गर्न आवोस l अनि हामि नेपालीलाई बुद्धको देस, सगरमाथाको देस अनि संग-संगै उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने देस भनेर संसार ले चिनोस l

    3
    1
    Share

  • Tika Das Shrestha लेख्नुहुन्छ    |   २०७३ पुष २४ गते २२:३०

    शिक्षाको वर्तमान र भविष्यलाई समेत अरुण सरले राम्रोसँग विष्लेषण गर्नुभएको रहेछ ।

    1
    1
    Share

  • Bhabindra लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १२:२९

    indian lobby ko man6e ho yo arune subedi..onlinekhabar jasto media le yesta paatra lai kin thau diyako hola

    1
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this