सोमबार, १६ फागुन, २०७३
OnlineKhabar.com

एमाले नेताहरुको दाबी- लेखेर राख्नोस्, संविधान संशोधन हुँदैन

'संसद अवरोध गर्न सभामुखलाई मफलरले बाँध्नैपर्ने ?'

मात्रिका पौडेल

parliament-meeting-1

२५ पुस, काठमाडौं । एमालेले संविधान संसोधन बिधेयक टेबुल गर्ने क्रममा मन्त्रीलाई रोक्न चाहेन कि सकेन ? झुक्कियो कि झुक्याइयो ? कि विरोध गरेजस्तो गर्ने सहमति भएको थियो ? रोष्टम घेराउ गर्न एमालेका सांसद अघि बढ्दा आफ्नै नेताहरुले किन रोके ? एमाले नेताहरुले आइतबारदेखि यस्ता प्रश्नको सामना गर्नु परिरहेको छ ।

संसदमा संविधान संशोधन विधेयक टेबल भएलगत्तै सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पुगेका एमाले उपनेता सुवास नेम्वाङलाई भेट्न संघीय समाजवादी फोरमका प्रमुख सचेतक शिवजी यादव पुगे । उनले अबको प्रक्रिया के हुन्छ भनेर पूर्वसभामुखका नाताले नेम्वाङसँग बुझ्न खोज्दै थिए ।

उता नेम्वाङको मोबाइलमा लगातार घण्टी बजिरहेको थियो, आफ्नै पार्टीका नेता कार्यकर्ताहरुबाट । बुटवलमा आन्दोलनका अगुवाइ गरिरहेका एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले समेत के भएको भन्दै फोन गरेपछि नेम्वाङले आफ्नो मोबाइल अर्का सांसद राजन भट्टराईलाई थमाए ।

सभामुखलाई मफलरले बाँध्नुपर्ने भनेको ?

संसद अवरोध गर्ने भनेको रोष्टम घेर्ने र कुर्सी तोडफोड गर्नेमात्रै हो भन्ने छाप आम मान्छेमा पर्न थालेको भन्दै नेम्वाङ चिन्तित देखिए ।

parliament-meeting

उनले भने- संसदीय पद्दतिमा प्रमुख प्रतिपक्षका सांसदहरु आफ्नो ठाउँमा उठेर आसन ग्रहण नगरेपछि त्यो अवरोधको अवस्था मानिन्छ, जुन कुरा हाम्रो सभामुखजीले अस्तिसम्म आफैंले भन्नुभयो, तर आइतबार उहाँले आफ्नै रुलिङ तोड्नुभयो ।

माइक भाँच्ने, मन्त्रीलाई कुट्ने, सभामुखलाई मफलरले बाँधेर आसनबाट झार्छु भन्ने र नेतालाई छातीमा ताकेर माइकले हानेमात्रै संसदमा अवरोध गरेको मानिने संस्कार विकास हुन थालेको नेम्वाङले बताए ।

नेम्वाङलाई रोक्दै त्यहीँ रहेका पूर्व अर्थमन्त्री विष्णु पौडेलले थपे -‘ब्रिफकेस खोस्ने, सांघातिक हमला गर्ने र सभामुखको आसनतर्फ गएर आक्रमण गरेमात्रै अवरोध गरेको बुझिने हो र ?’

नेताको इशारा सांसदले नबुझ्दा

त्यसो त एमालेका सांसदहरु आइतवार पनि रोष्टमतर्फ अघि बढ्न खोजेका थिए । तर, झलनाथ खनाल र बामदेव गौतमले पछिल्तिर फर्केर हातको इशारा गर्दै उनीहरुलाई रोके । उनीहरुको आशय सांसदहरु जहाँको त्यहीँ उभिनु भन्ने रहेछ ।

तर, इशारा नबुझेका सांसदहरु रोष्टमतर्फ अघि बढेपछि अग्नि खरेलले रोके । एमाले संसदीय दलका नेता केपी ओली र उपेनता सुवास नेम्वाङले कुनै अभद्र व्यवहार नगर्न, तोडफोडमा नउत्रिन र नेतृत्वको निर्देशन विपरीत ठाउँ नछाड्न पटक-पटक निर्देशन दिएका थिए ।

सभामुखलाई पूर्वसभामुखको प्रश्न

संसदमा संविधान संशोधन विधेयक छिर्नै नदिने भनेको एमाले आइतबार किन एकाएक भद्र बन्यो त ? हामीले यो प्रश्न नेम्वाङलाई गर्‍यौं ।

Subas-Nemwang

उनले भने- संसदीय अभ्यासलाई सभ्य बनाउँ भन्ने हाम्रो उद्देश्य हो । सभामुखज्यूले पटक-पटक आफैंले रुलिङ गर्नुभएको हो कि-विपक्षका माननीयहरु आसनग्रहण नगरी उभिनु संसद अवरोधको अवस्था हो । र, यस्तो अवस्थामा कारवाही अघि बढ्दैन ।

प्रतिपक्ष उभिँदा हाउस चल्दैन भन्ने आफ्नै रुलिङ सभामुखले उल्लंघन गरेको एमालेको आरोप छ । विपक्षी सांसदले उभिएर नारा लगाएर विरोध गर्नु भनेको संसदीय व्यवस्थामा कडा विरोध मानिने पौडेलले बताए ।

एमालेले सभामुखको भूमिकामाथि राजनीतिक प्रश्नमात्रै उठाएको छैन, संवैधानिक प्रश्न पनि तेस्र्याएको छ । सर्वोच्च अदालतले दिएको पछिल्लो चर्चित आदेशमा संविधान संशोधन विधेयक पेश भएको १ महिनामा सभामुखले प्रदेश सभालाई लेखेर पठाउने व्यवस्था स्मरण गराएको छ ।

यस्तो अवस्थामा विधेयक संविधानबमोजिम हुन्छ कि हुँदैन ? सभामुखले यसबारेमा गम्भीर परामर्श गर्नुपर्ने नेम्वाङले सुझाव दिए ।

प्रदेशसभा नभएको अवस्थामा के गर्ने भन्ने प्रश्नको पनि उनले जवाफ दिए । उनले भने- प्रदेशसभा छैन भन्नुको अर्थ प्रदेश सभा गठन नहुञ्जेल पर्ख भनेको हो ।

उपेन्द्र यादवले मात्रै बुझे ?

नेम्वाङले यसो भनिरहँदा फोरमका प्रमुख सचेतक शिवजी यादवले बीचमै थपिहाले- त्यही भएर हाम्रो अध्यक्ष उपेन्द्र यादवले संविधानको धारा २७४ नै खारेज वा संशोधन गर्नुपर्छ भन्नुभएको हो । यो धारा रहेसम्म त प्रदेशको सीमांकन फेरबदल गर्दा अदालतले उल्टाइहाल्छ ।

यसै विषयमा सुवास नेम्वाङ र उपेन्द्र यादवको पनि आइतबारै कुरा भएको रहेछ । ‘उपेन्द्रजीले बुझ्नुभएको छ, धारा २७४ ले प्रदेशको सीमांकन फेरबदलका लागि प्रदेश सभा चाहिन्छ । यो कुराबाट के प्रष्ट हुन्छ भने संविधान संशोधन विधेयक पारित गर्नका लागि ल्याइएकै होइन’ नेम्वाङले भने ।

अब एमालेले के गर्छ ?

अब एमालेले के गर्ला त ? खुरुखुरु संविधान संशोधन विधेयकमा संशोधन राख्छ कि ? अन्य उपाय अपनाउँछ ? मतदानबाट असफल बनाउने रणनीतिमा केन्दि्रत हुन्छ कि अझै प्रक्रियामा अवरोध गर्छ ? एमाले नेतृत्वमाथि दोस्रो चरणमा यस्ता प्रश्न पनि आफ्नै पंक्तिबाट उठेका छन् ।

यी प्रश्नको उत्तर पनि हामीले एमालेका उपनेता नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, प्रमुख सचेतक भानुभक्त ढकाल लगायतका नेताहरुसँग सामुहिक रुपमा खोज्यौं ।

संविधान संशोधन विधेयक पारित गराउने कुनै पनि प्रक्रियामा सहभागी नहुने एमाले नेताहरुले बताए । यसबीचमा धेरै प्रक्रियाहरु बाँकी रहेका र एमालेका रणनीति यही क्रममा देखिने जवाफ उनीहरुले दिए ।

नेम्वाङले भने- हामीले विरोधको सूचना समेत दर्ता गरेनौं, त्यसो गर्दा यो विधेयक स्वीकार गरेको अर्थ लाग्छ भनेर । अब यसमा सहभागी हुने वा संशोधन हाल्ने भन्ने कुरा सोच्न पनि सकिन्न । अझै धेरै चरण बाँकी छन् भन्ने बुझ्नुपर्छ । यो विधेयक अघि बढ्दैन र कुनै हालतमा पारित हुँदैन लेखेर राख्नुस् ।

विधेयक अघि बढ्दैनः कुनै हालतमा पास हुँदैन

यति सबै शक्ति लगाउँदा पनि संशोधन भयो भने एमाले फेरि अदालतबाट न्यायिक निरुपण हुन्छ भन्नेमा ढुक्क भएर नरम भएको हो कि ?

यो प्रश्नमा वरिष्ठ अधिवक्ता समेत रहेका पूर्वसभामुख नेम्वाङले भने- यो न्यायिक निरुपणको तहसम्म पुग्दैन । हेर्दै जानुस् यो विधेयक अघि बढ्दैन र जति अघि बढे पनि कुनै हालतमा असफल हुन्छ, अदालतसम्म पुग्न हामी दिन्नौं ।

ओलीलाई कसको साथ ? कसको धाप ?

kp-oli-in-parliament-meeting

यसका पछाडि एमालेलाई कसको साथ छ ? स्वाभाविकरुपमा उसको गठबन्धनमा ९ दल आवद्ध छन् ।

मतदानको चरणमा पुग्दा एमालेलाई १९८ मत चाहिन्छ । अहिलेको अवस्थामा उसको गठबन्धनमा २०१ मत छ । जुन संविधान संशोधन विधेयक असफल पार्न पर्याप्त संख्या हो । यसबाट केही सांसद चोरी भए भने के गर्ने ?

माओवादीका टोपवहादुर रायमाझी, कांग्रेसका चन्द्र भण्डारी, धनराज गुरुङ र अमरसिंह पुनहरुले मतदानको अवस्थामा विपक्षमा मत हाल्ने एमाले नेताहरुको आशा छ । यद्यपि दलीय हृवीप उल्लंघन गर्ने ल्याकत उनीहरुसँग छ कि छैन ? प्रश्न अझै अनुत्तरित छ ।

त्यसो त राप्रपा अध्यक्ष कमल थापा यो विधेयक यथास्थितिमा पारित गराउने पक्षमा अहिलेसम्म देखिएका छैनन् । उनीमाथि उपप्रधानमन्त्री र मन्त्री पदको लोभमा नपर्न उनकै निकट सहयोगीहरुले तिब्र दवाब दिइरहेका छन् । विजय गच्छदार पनि ‘मालदार मन्त्रालय’ नपाए कैलाली कञ्चनपुर बिनाको ५ नम्बर प्रदेश नस्वीकार्ने भन्दै विपक्षमा जाने सम्भावना जीवितै छ ।

कतिपय उच्च स्रोतहरुको दावी छ कि-नेपाली सेनाको उच्च नेतृत्व लगायत स्थायी सत्ताका परम्परागत शक्ति र अंगहरु पनि एमालेसँग सघन संवादमा छन् । जो यो संविधान संशोधनका कतिपय प्रावधानले दीर्घकालिन रुपमा राष्ट्रिय हितलाई नकारात्मक असर गर्ने निष्कर्षमा रहेको एमाले नेताहरुको दाबी छ ।

त्यसैगरी कांग्रेसको एउटा पंक्तिले मौनतापूर्वक केपी ओलीलाई भित्रभित्रै साथ दिइरहेको एमाले नेताहरुको अर्को दाबी छ । बाहिर केपी ओली र एमालेको ब्यानरमा संविधान संशोधन विरुद्ध खेल चलिरहे पनि त्यो ब्यानरका पछाडि मुलुकका धेरै परम्परागत शक्तिहरुको ब्याकअप रहेको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन । तर, यसको हारजित संसदमा भएको मतदानबाटै हुने भएकाले बाहिरको ब्याकअपले गणितीय अर्थ नराख्न सक्छ ।

तर, एमाले यसरी संशोधन प्रस्ताव पारित नहुनेमा विश्वस्त हुनुका पछाडि एमाले वा एमालेहरु मात्र छैनन् । एमाले नेताहरु भन्दैछन्-विधेयक फेल हुने निश्चित नहुँदासम्म संसदमा प्रवेश दिइएन, अब कुनै हालतमा पास हुन दिइँदैन । यसअघिका धेरै प्रक्रियाहरु छन् । र, अब साँच्चै खेल शुरु भएको छ ।

२०७३ पुष २५ गते १२:५२ मा प्रकाशित (२०७३ पुष २६ गते ६:४३मा अद्यावधिक गरिएको)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
६ प्रतिकृयाहरू प्राप्त
  • Dawa sherpa लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १३:३५

    अहिले जति सुकै अड्को थापा ,जे सुकै गर ,,,,यो संबिधान त् संसोधन हुन्छ ,हुन्छ ,हुन्छ आज नभए भोलि ,भोलि नभए पर्सि किन कि यो संबिधान पूर्ण छैन १ ,जारी गर्दा बखत जो-जसले संबैधानिक अधिकार खोजिरहेका ति सबैलाइ बाई पास गरेर एक तर्फी रुपमा मार्शल लगाएर खस-आर्य परास्त संबिधान जवर्जस्ती जारी गरियो | अहिलेका युगमा यो बहुजाति ,बहुधार्मिक,बहुभाषिक राष्ट्रमा के.पी.ओलीले चाहेको जस्तो कुनै एकै जाति र सम्प्रदायको पहिचान अरु जातिले बोकी बस्ने वाला छैन |

    19
    98
    Share

  • Pabitra Nepal लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १३:५३

    HAR r JIT jesukai vayepani Jantalai k matalab ? Janatalai ta BIKASH chahiyeko chha. Yo sabai deadlock gardai jantalai almalaune khel matrai ho. Voli kursiko lagi yiniharu ek hunchhan jantalai BEBKUF banaunchhan. yo sabai NATAK matrai ho. RASTRAGHAT ko kurai garne ho vane 2 no. Pradesh le nai YEMale DESDROHI sabit gari sakyo , galti vayo vaner k garne ??? NAKKALI commmunistharu !!!!!

    10
    33
    Share

  • himal limbu लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १५:०१

    संबिधान त् संसोधन हुन्छ | महेन्द्र को जमाना का जनता Nepal मा सकिए |एमाले दुनियालाई दुखः दिने कम नगर OKOKOKO

    0
    0
    Share

  • NPW लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १५:४०

    बहिष्कार र तिरस्कारको नौटंकी बन्द गरौँ,
    जनतालाई दुःख दिने कामको अन्त्य गरौँ,
    केहि लछारपाटो लाएजस्तो लागेन, सडक र सदनको आन्दोलनले
    हुती भए दुइ तिहाई पुग्नबाट रोकौँ
    होइन भने त्वम् शरणम् भनेर दासत्व स्वीकार गरौँ ।।
    बाँकी कुरा आगामी चुनावमा (भएछ भने) हिसाव किताब गरौला ।।।
    जनतालाई वेवकुफ बनाउने काम कसैले पनि नगरौँ ।

    0
    0
    Share

  • prakash लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते १६:२२

    thika ke nemwang khas hun k hindu hun

    0
    0
    Share

  • Shiva Nepal लेख्नुहुन्छ    |   २०७३ पुष २५ गते २२:३५

    सम्विधानलाई खस आर्यबादी भनेर देख्नेहरू नै नश्लबादी हुन । किनकी की उनिहरुले नया सम्विधान पढेका छैनन कि त कसैको रसद पानीको साेझो गर्दैछन ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this