Comments Add Comment

सेना र प्रहरीका अस्पतालमा माघ १५ देखि सर्वसाधारणको पनि उपचार

birendra-army-hospital-chhauni
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल

२५ पुस, काठमाडौं  । सेना र प्रहरीका अस्पतालहरुमा आउँदो माघ १५ गतेबाट सर्वसाधारणहरुले पनि उपचार सेवा पाउने भएका छन् । ति अस्पतालहरुमा यसअघि सेना र प्रहरी तथा उनीहरुका परिवारका सदस्यहरुले मात्रै उपचार हुने गर्दथ्यो ।

स्वास्थ्य मन्त्रालयको पहलमा सेना र प्रहरीका अस्पतालहरुमा माघ १५ गतेदेखि सर्बसाधारणले पनि उपचार सेवा पाउने व्यवस्था मिलाइएको हो । दिउँसो १ बजेदेखि ४ बजेसम्म ओपिडी सेवा सञ्चालन हुनेछ र त्यहाँ सर्बसाधारणले उपचार गराउन पाउनेछन् ।

अस्पतालमा हालसम्म बहालवाला प्रहरी, सेना, निवृत्त प्रहरी, सेना तथा उनका परिवारहरुको मात्रै उपचार हुँदै आएको थियो ।

अब ती अस्पतालमा ओपिडी सेवा सुरु भएसँगै भविष्यमा अपरेशन लगायतका अन्य सेवाको लागि स्वास्थ्य मन्त्रालयले सेना तथा प्रहरीसित सहकार्य गर्दै जाने स्वास्थ्यमन्त्री गगन कुमार थापाका निजी सल्लाहकार प्रताप पौडेलले बताए ।

उनले भने, ‘नेपाल आर्मी र स्वास्थ्य मन्त्रालयबीच पटक-पटक भएको छलफल र सहकार्य पश्चात ती अस्पताल सर्वसाधारणका लागि खुला भएको छ’, सल्लाहकार पौडेलले अनलाइनखबरसित भने, ‘अब त्यसलाई अझै व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालय कटिवद्ध छ ।’

अब राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायतका भीभीआईपीको उपचार पनि वीर अस्पताल बाहेक सैनिक तथा प्रहरी अस्पतालमा रहेको भीआईपी कक्षबाट हुने उनले बताए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयको नीति अनुसार विशिष्ठ व्यक्तिहरुको उपचारको व्यवस्था नेपालमै मिलाउन यो व्यवस्था गरिएको हो ।

यसको लागि ती अस्पतालहरुलाई भीआईपी कक्षको प्रभावकारी रुपमा व्यवस्थित गर्न तथा उपचारका लागि सहकार्य गर्ने सहमति भैसकेको छ ।

त्यसैगरी, सेनाको व्यारेक भएको स्थानमा सेनाको स्वास्थ्य टोलीले सरकारी अस्पतालहरुसित सहकार्य गरी सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, सेनाको एयर एम्बुलेन्स र मोबाइल अस्पतालहरु स्वास्थ्य मन्त्रालयले पनि प्रयोग गर्ने, आपतकालीन अवस्थामा सेनासित सहकार्य गरी ‘अलर्ट समिति’ गठन गर्ने तयारी समेत भैरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, मन्त्रालयले पनि सेनाको अस्पतालहरुलाई अन्य अस्पताल सरह नै अनुदान पाउने व्यवस्थाको लागि पहल गर्ने तथा सेनाका तर्फबाट पोष्ट ग्रेजुएट गर्न चाहनेका लागि छात्रवृत्ति लगायतका सहुलियत दिने सहमति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment