Comments Add Comment

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते फिफा बेस्ट प्लेयर अवार्ड

ronaldo-best-player-2016

२६ पुस, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले यस बर्षदेखि सुरु गरेको फिफा बेस्ट प्लेयर अवार्ड स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् ।

जुरिचमा आयोजित समारोहमा ३१ बर्षीय रोनाल्डोले बेस्ट प्लेयरको अवार्ड हात पार्ने क्रममा बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लिओनल मेस्सी र एथ्लेटिको मड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोइन गि्रजम्यानलाई पछि पारे ।

रोनाल्डोले एक महिनाअघि फ्रान्स फुटबलले प्रदान गर्ने बेलोन डि’ओरको उपाधि पनि जितेका थिए । दुवै अवार्ड रियल मड्रिडका लागि युरोपियन च्याम्पियन्स लिग र पोर्चुगललाई युरो २०१६ को उपाधि दिलाएवापत प्रदान गरिएको हो ।

फिफामा आवद्ध मुलुकका राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षक, फिफाले छनोट गरेका पत्रकार र पहिलो पटक अनलाइन फ्यान पोलमार्फत बिजेता छनोट गरिएको हो । चार प्रकारका मतले २५/२५ प्रतिशत स्थान दिइएको थियो ।

रोनाल्डोले जम्मा मतको ३४.५४ प्रतिशत पाएका थिए भने मेस्सीले २६.४२ र गि्रजम्यानले ७.५३ प्रतिशत मत पाएका थिए ।

फिफाले सन् १९५६ देखि फ्रान्स फुटबल एशोसियसनको सहकार्यमा उत्कृष्ट बर्ष खेलाडी अवार्ड प्रदान गर्दै आएको थियो । गएको ६ बर्षदेखि बेलोन डि’ओरको नामबाट यो अवार्ड प्रदान गरिँदैआएको थियो ।

फिफामा गत बर्ष जियानी इन्फान्तिन्हो अध्यक्षमा निर्वाचित भएपछि बर्ष खेलाडी अवार्डमा फ्रान्ससँगको सहकार्य रद्ध गर्ने घोषणा गरेका थिए । त्यसैले फिफाको पहिलो बेष्ट प्लेयर अवार्डको पहिलो सस्करण रोनाल्डोले पाएका हुन् । उनले यसअघि चार बेलोन डि’ओर अवार्ड पाइसकेका छन् ।

यो मेरो अहिलेसम्मकै उत्कृष्ट बर्षको रुपमा थियो’, अवार्ड पाएपछि प्रतिक्रिया दिँदै रोनाल्डोले भने, ‘पोर्चुगलको लागि युरो जित्नु शानदार थियो । त्यस्तै म च्याम्पियन्स लिग र फिफा क्लव विश्वकपको उपाधिलाई पनि बिर्सन सक्दिन ।’

best-female-player

फिफाको उत्कृष्ट महिला खेलाडीको उपाधि अमेरिकी स्टार कार्ली ल्योडले पाइन् । ३४ बर्षीय ल्योडले ओलम्पिक बिजेता जर्मनीकी मिलानी बेरिंगर र पाँच पटककी उत्कृष्ट खेलाडी मार्तालाई पछि पारेकी हुन् ।

ल्योडले २०.६८, मार्ताले १६.६० र बेरिंगरले १२.३४ प्रतिशत भोट पाएका थिए ।

‘इमान्दारीपूर्वक भन्ने हो भने मैले यो अवार्डको अपेक्षा नै गरेको थिइनँ,’ ल्योडले भनिन्, ‘मलाई थाहा छ बेरिंगरले २०१६ ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।’

best-male-coach

अविश्वसनीय रुपमा क्लवलाई प्रिमियर लिगको उपाधि दिलाएका लिसेस्टर सिटीका प्रशिक्षक क्लाउडिओ रिनेरीले उत्कृष्ट प्रशिक्षकको उपाधि पाए । उनले २२.६ प्रतिशत मत पाएका थिए । उनले रियलका जिनेदिन जिदाने र पोर्चुगलका फर्नाण्डो सान्तोषलाई पछि पारे ।

best-female-coach

उत्कृष्ट महिला प्रशिक्षकको उपाधि जर्मनीकी सिल्भिया नेइडले पाइन् । ११ बर्षदेखि जर्मनीको प्रशिक्षक रहेकी उनले गत बर्ष टिमलाई ओलम्पिकमा स्वर्ण दिलाएकी थिइन् ।

puskas-award

त्यस्तै बर्षको उत्कृष्ट गोलको पुसकास अवार्डबाट मलेसियाली स्ट्राइकर मोहम फइज सुब्री सम्मानित भएका छन् । मलेसियन सुपर लिग अन्तर्गतको खेलमा उनले ३५ यार्डबाट प्रहार गरेको फ्रिकिकलाई गोल गरेका थिए । मार्लोन र दानिउस्का रोड्रिगुइजलाई पछि पार्दै उनले ५९.४६ प्रतिशत मत पाएका थिए ।

fair-play-award

यस्तै यस बर्षको फेयर प्ले अवार्ड कोलम्बियाको एथ्लेटिको नाकिनोललाई प्रदान गरिएको छ । कोपा सुदामेरिकानाको फाइनल खेल्न कोलम्बिया जान लागेको ब्राजिलियन क्लव चापेकोएन्सी टिम जहाज दुर्घटनामा परेपछि नाकिनोलले प्रतियोगिताको उपाधि चापेकोएन्सीलाई दिन आयोजकलाई आग्रह गरेको थियो ।

fifa-xi

फिफा उत्कृष्ट ११ सार्वजनिक भएको छ । उत्कृष्ट खेलाडीको अन्तिम मनोनयनमा परेपनि एन्टोइन ग्रिजम्यानले उत्कृष्ट ११ मा स्थान बनाउन सकेनन् ।

उत्कृष्ट ११ मा रियल मड्रिडबाट ५, बार्सिलोनाबाट ४, युभेन्टसबाट १ र बार्यन म्युनिखबाट १ खेलाडी परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment