Comments Add Comment

विमानस्थलको राजनीतिः नेतालाई भोट माग्ने मेलो, राज्यलाई करोडौं घाटा

५० विमानस्थलमध्ये २० वटा बन्द, चलेका पनि घाटामा

tia-kathmandu

२७ पुस, काठमाडौं । चुनावमा भोट बटुल्ने मेलो बनाउने ध्येयले विभिन्न सांसद एवं नेताहरुले नागरिक उड्डयन प्राधिकरणलाई आ-आफ्नो जिल्लामा विमानस्थल निर्माण गर्न दबाव दिन गरेको पाइएको छ । यस्तो विमानस्थल-राजनीतिका कारण राज्यको करोडौं रकम अनावश्यक खर्च हुने गरेकोे देखिएको छ ।

देशका विभिन्न भागमा सडक पहुँचको विस्तार भएसँगै यात्रुहरु सवारी साधनमार्फत कम भाडामै ओहोर-दोहोर गर्न थालेका छन् । जसका कारण महंगा विमानस्थलहरु बन्द हुने क्रम बढेको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार देशमा रहेका ५० विमानस्थलमध्ये अहिले जम्मा ३० वटा मात्रै सञ्चालनमा छन्, बाँकी २० वटा पूर्णरुपमा बन्द छन्

देशमा रहेका ५० वटा विमानस्थलमध्ये २० वटा अहिले सञ्चालनमा नै छैनन् । तर, नेताहरुको दवाबका कारण अनावश्यक स्थानमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने क्रम रोकिएको छैन । जसले गर्दा राज्यको ढुकुटी अनावश्यक  रुपमा खर्च भइरहेको छ ।

विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्दा मात्रै एकै विमानस्थलमा राज्यको लाखौ खर्च हुन्छ । तर नेताहरुलाई भने विमानस्थलको अध्ययन अघि बढेको देखाउँदै आफ्नो पक्षमा भोट माग्ने गरेका छन् ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार देशमा रहेका ५० विमानस्थलमध्ये अहिले जम्मा ३० वटा मात्रै सञ्चालनमा छन् । बाँकी २० वटा भने पूर्णरुपमा बन्द भएका छन् ।

सडक सञ्जाल विस्तारका कारण देशका कैयन स्थानमा रहेका विमानस्थलहरु सञ्चालनमा आउन छाडेको श्रेष्ठको भनाइ छ ।

विमानस्थल निर्माण गर्दा कति खर्च हुन्छ ?

नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारी अनुसार एउटा विमानस्थल निर्माण गर्दा ५० करोडको हाराहारीमा खर्च हुन्छ ।

निर्माणको प्रक्रियामा हुने सम्भाव्यता अध्ययनका लागि मात्रै प्राधिकरणको ३० लाख रुपैयाँ जति खर्च हुन्छ । त्यस्तै वातावरणीय प्रभाव मूल्याकंन (इआइए) गर्नका लागि झण्डै २० लाख गर्ने गरिएको छ ।

अघिल्लो साता प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा विमानस्थल निर्माणमा नेताको दबाव कति आउँछ भन्ने पत्रकारको प्रश्नमा प्राधिकरणका प्रमुख सञ्जीव गौतमले भने ‘हो हामीलाई यसमा प्रेसर आउने गरेको छ, कतिपय आवश्यक नपर्ने ठाउँमा पनि बनाउन दबाब आउँछ हामीले अध्ययनकै माध्यमबाट सकभर रोक्ने प्रयास गर्छाैं।’

आागामी चुनावमा भोट माग्ने मेलो बनाउन कैयन स्थानमा नेताहरुले अनावश्यक रुपमा विमानस्थल निर्माणका लागि दबाव दिने गरेका छन् । विभिन्न जिल्लामा सञ्चालनमा आएर पनि बन्द भएका विमानस्थलका छेउमा अहिले फेरि प्राधिकरणले नेताहरुको दबावका कारण अध्ययन गर्न थालेको देखिन्छ ।

सोलुखुम्बुमा दुई विमानस्थल प्रयोगविहीन, अझै अर्काे थपिँदै

प्राधिकरणका अनुसार सोलुखुम्बु जिल्लामा अहिले ४ वटा विमानस्थल निर्माण भइसकेका छन् । त्यसमध्ये दुईवटा विमानस्थल सञ्चालनमा आउन छाडेको लामो समय बितिसकेको छ ।

तर, प्राधिकरणले भने अहिले गुदेल एयरपोर्ट विमानस्थलको इआइए गर्दैछ । सांसद बलबहादुर केसीले यो निर्माणका लागि दबाव दिइरहेका छन् । यसको प्रारम्भिक अध्ययन भएर अहिले इआइए हुँदैछ ।

lukla

सोलुखुम्बुमा रहेको कांगेलडाँडा एयरपोर्ट र स्याङबोचे एयरपोर्ट सञ्चालनमै छैनन् । लुक्ला र फाप्लु एयरपोर्ट सञ्चालनमा रहे पनि फाप्लुमा बेलाबेलामा मात्रै विमान उडान हुने प्राधिकरण बताउँछ ।

दुईवटा विमानस्थल पूर्णरुपमा प्रयोगविहीन अवस्थामा रहिरहेको बेलामा सरकारले भने नेतालाई खुशी पार्न गुदेल एयरपोर्टको निर्माण प्रक्रिया अघि सारेको छ ।

दाङमा बन्द छ, प्युठानमा वामदेवलाई अर्को चाहियो

हाल बन्द अवस्थामा रहेको दाङ विमानस्थल सञ्चालन ल्याउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रयास थालेको छ । र, यसलाई के कसरी पुनः सञ्चालनमा ल्याउन सकिन्छ भनेर मन्त्रालयको टोली अघिल्लो बिहीबार दाङ विमानस्थलको स्थलगत अवलोकन गर्न गएको थियो ।

bamdev-gautam

दाङमा काठमाडौंबाट डिलक्स तथा आरामदायी बसहरुको सञ्चालन हुन थालेपछि विमान चढ्नेहरु घटेका छन् । त्यस्तै बिमान छुट्ने वा नछुट्ने पनि कुनै टुंगो नहुने भएपछि दाङबासीहरु विमान चढ्न छाडेका हुन् । जसका कारण यात्रुको अभावले गर्दा नै दाङको विमानस्थल अहिले प्रयोगबिहिन अवस्थामा रहेको छ । विमान कम्पनीहरुले त्यहाँ उडान भर्न नाफा हुने देखेका छैनन् ।

प्राधिकरणका एक कर्मचारीले भने- ‘दाङमा केही वर्षयतादेखि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । तर, दाङसँग सडक सञ्जालले सजिलै जोडिएको प्युठानमा समेत विमानस्थल बनाउन लागिएको छ ।’

दाङको भालुवाङदेखि प्युठानसम्म जोड्ने सडक अझै फराकिलो र राम्रो बनाउनु जरुरी छ । उक्त सडक खण्डमा स्तरीय पीच भएको छैन । त्यस्तै प्युठानमा कैयन विकासका कामहरु हुन सकेका छैनन् ।

तर, नेता वामदेव गौतम प्युठानमा विमानस्थल निर्माणका लागि दबाव दिँदै अर्काेपटक भोट माग्ने बहाना बनाउन लागेको प्राधिकरणका कर्मचारीहरु बताउँछन् ।

प्युठानमा विमानस्थल बनिहाले पनि चल्ने सम्भावना अत्यन्तै न्युन छ । किनकि यसका छिमेकी जिल्ला रोल्पा र दाङमा रहेका दुईवटै विमानस्थल प्रयोगविहीन अवस्थामा पुगेको सबैले देखिरहेका छन् । प्राधिकरणका अनुसार प्युठानको विमानस्थलको अहिले प्रारम्भिक अध्ययन पश्चात इआइए हुँदैछ ।

उदयपुरमा कांग्रेस नेतालाई विमानस्थल चाहियो

त्यस्तै उदयपुरको जोगीदहमा पनि सरकारले विमानस्थल निर्माण अघि बढाएको छ । अहिले यसको आसपास खोटाङ, भोजपुरमा पनि विमानस्थल छन् । खोटाङमा दुईवटा विमानस्थल सञ्चालनमा छन् ।

विमानस्थलको अन्तरराष्ट्रिय मापदण्डका आधारमा हेर्दा उदयपुरको जोगीदहबाट बिराटनगर खासै टाढा छैन । त्यस्तै जनकपुरमा पनि अर्को विमानस्थल छ । यी विमानस्थलहरु राम्रोसँग चलिरहेका कारण उदयपुरमा विमानस्थल निर्माण आवश्यक नरहेको प्राधिकरणका अधिकारी बताउँछन् ।

उदयपुरमा बन्ने विमानस्थलबाट विमान कम्पनीहरुलाई त लाभ छैन नै उदयपुरबाहेकका जिल्लाका बासिन्दालाई पनि खासै लाभ हुँदैन । किनकि यसको वरपर रहेका खोटाङ, भोजपुरमा विमानस्थल निर्माण भइसकेका छन् । तैपनि उदयपुरमा विमानस्थल निर्माणका लागि कांग्रेस नेता नारायण खड्काले दबाव दिइरहेका प्राधिकरण स्रोत बताउँछ ।

सुर्खेतमा छँदाछँदै अर्काे अध्ययन, हिमालका विमानस्थल सुक्दै

सुर्खेतको वीरेन्द्रनगरमा अहिले विमानस्थल सुचारु छ । यो विमानस्थल अहिले राम्रोसँग सञ्चालनमा आउन सकेको छैन । तर प्राधिकरणले भने सुर्खेतको रामनगरमा फेरि प्राधिकरणले अर्काे विमानस्थल निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन थालेेको छ ।

Simikot-Airport-Humla,-Goma

त्यस्तै हुम्लाको सिमिकोट विमानस्थल सञ्चालनमै छ । तर त्यहाँ राजनीतिकरणका लागि मदनखोलामा फेरि अर्काे विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ ।

हिमाली भेगमा बनेका यस्ता विमानस्थलहरु बिस्तारै बन्द हुँन थालेका छन् । हिमाली भेगका जिल्लाहरुमा पनि सडक सञ्जाल बिस्तार हुँदैछ । जसका कारण यात्रुहरु हवाई भन्दा सवारी साधनबाट नै ओहोर दोहोर गर्न थालेका छन् । सडक सञ्जालको विस्तारका कारण नै मनाङ र डोल्पाका विमानस्थल अहिले बन्द भएका छन् ।

धरान-धनकुटामा बेग्लाबेग्लै

सुनसरीको धरानमा पनि एयरपोर्ट निर्माणका लागि सरकारले बजेट छुट्टाएको छ । बिराटनगर एयरपोर्ट नजिकै पर्ने धरानमा एयरपोर्ट निर्माणका लागि नेताभन्दा पनि प्राधिकरणका प्रमुखको नै जोड रहने गरेको छ ।

प्राधिकरणका एक उच्च तहका कर्मचारी भन्छन् ‘त्यहाँ विमानस्थल निर्माण आवश्यक छैन, सप्तरीको राजविराजमा बनेको विमानस्थल पनि चल्न नसकेर बन्द छ । नजिकैमा अहिले बिराटनगर एयरपोर्ट सञ्चालनमै छ, बेकारमा किन राज्यको खर्च बढाउनु ?’

यद्यपि धरानमा निर्माणका लागि कुनै नेताभन्दा पनि पूर्वमहाप्रबन्धकहरुको दबाव रहेको स्रोत बताउँछ ।
त्यसैगरी धरानबाट नजिकै पनि धनकुटाको बेलाहारा डाँडामा पनि जिल्लाका स्थानीय नेताहरुले विमानस्थलको माग गरेका छन् । जबकि धनकुटाको छिमेकी जिल्ला संखुवासभाका जनताले सो विमानस्थल प्रयोग गर्दैनन् । किनभने संखुवासभामा पहिल्यैदेखि विमानस्थल सुचारु छ ।

नेताको दबावपछि हवाइ ऐन संशोधन

नेता तथा सांसदले अनावश्यक रुपमा विमानस्थल निर्माणको प्रस्ताव अघि सार्न थालेपछि केही वर्ष अघि हवाई ऐन पनि संशोधन गरिएको थियो ।

संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयका सहसचिव शुरेश आचार्यका अनुसार यो ऐनको संसोधन पछि भने नेताकै दबावका कारण विमानस्थल बनाउने कार्य केही रोकिएको छ ।

उनले भने ‘राजनीति सबैभन्दा माथि छ, नागरिक समाज, स्थानीय जनता, उद्योगी र सांसदहरुले नै मागेपछि हामीले सम्भाव्यता अध्ययन गर्ने गरेका छौं, तर, अध्ययन सुरु हुँदैमा विमानस्थल बन्छ भन्ने होइन ।’

हवाई ऐन २०६३ संसोधनपश्चात २० नटिकल माइलभन्दा नजिकमा अर्को विमानस्थल बनाउन पाइँदैन ।

सबैजसो विमानस्थल घाटामा

सञ्चालनमा रहेका ए बर्गका विमानस्थलमध्ये अधिकांश घाटामा छन् । प्राधिकरणको रिपोर्ट अनुसार हाल सञ्चालनमा रहेका झापाको चन्द्रगढी एयरपोर्ट र पोखरा विमानस्थल बाहेक अन्य ६ वटा बिमानस्थल घाटामा छन् ।

त्यस्तै बी बर्गका विमानस्थलमध्ये लुक्ला बाहेक ६ वटा विमानस्थल पनि घाटामा नै छन् । धेरैजसो विमानस्थल सञ्चालनबाट सरकारलाई आम्दानी भन्दा बढी खर्च भइरहेको भएको छ ।

विमानस्थल नाफाकै लागि बनाइनुपर्छ भन्ने होइन । तर, करोडौं लगानी गरेर बनाएका विमानस्थल प्रयोगविहीन हुँदै जानु र यस्ता विमानस्थलको संख्या बढाउँदै जाँदा राज्यलाई अनावश्यक खर्च भने बढ्दै जाने देखिन्छ ।

स्थानीय जनताले आफ्नो ठाउँमा विमानस्थल बन्न लागेकोमा खुशी व्यक्त गर्ने र विमानस्थल ल्याउँदैछु भन्ने नेतालाई भोट हाल्ने धेरैको बुझाइ छ । तर, त्यो विमानस्थल भविश्यमा चल्छ कि बन्द हुन्छ भन्नेबारे स्थानीयले खासै मूल्यांकन गर्ने गरेको पाइँदैन । नेताहरुले समेत यसतर्फ विचार नगरी आफ्नो चुनाव क्षेत्रमा विमानस्थल बनाउने नारा दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment