Comments Add Comment

किशोर पुस्ताः दालभात मनपर्दैन, जंकफुडमा जम्छ !

कलेजका किशोरी भन्छन्- पानीपुरी र चटपटे त फेवरेट हो

chandragiri-panipuri
२७ पुस, काठमाडौं । पहिरन एवं ग्याजेट्सको सवालमा अहिलेको किशोर पुस्ता जति चुजी छन्, आफ्नो भान्साको खान्कीप्रति उत्तिनै उदासीन । घरमा पाक्ने दालभातमा खासै रुचि नभएको बताउने उनीहरुको जिभ्रो मःमः, चाउमिन, पिज्जा, बर्गर, चिप्सजस्ता फास्टफुडले भने रसाउँछ ।

केही प्रतिनिधि किशोरको अनुभवले यसै भन्छ । ‘स्वास्थ्य र सौन्दर्य’ का लागि खानपानमा सतर्क हुँदाहुँदै पनि अहिलेको किशोर पुस्ताको दैनिक मेनुमा फास्टफुड एवं जङ्कफुड छुट्दैन ।

आफ्नो स्वास्थ्यका सम्बन्धमा अहिलेको पुस्तालाई हेक्का नभएको होइन । सकेसम्म उनीहरु यही तालिकामा सन्तुलन मिलाउने अभ्यास पनि गर्छन् । तर, फास्टफुडको स्वादमा पल्किएका उनीहरुलाई त्यस्ता खान्कीको तलतल लागिहाल्छ

रिलायन्स इन्टरनेशनल एकेडेमीमा अध्ययनरत १९ वर्षीया दिया श्रेष्ठलाई घरको दालभातमा उस्तो रुचि छैन । कलेजको क्यान्टिनमा पाइने मःमः र सडकपेटीको पानीपुरीले भने उनको आँत अघाउँदैन । ‘जतिसुकै अभोइड गर्न खोजे पनि पानीपुरी, मःमः खाएकै हुन्छु,’ उनी भन्छिन् ।

पाटन मल्टिपल क्याम्पसमा पढ्ने विद्याइका कोइरालाको कुरा गरौं वा आइडियल स्कूलकी मुना पौडलेकै, उनीहरुको समानता भनेको खानपानको रोजाइ हो । १९ वर्षीया मुनालाई घरको दालभातभन्दा पानीपुरी, मम, बर्गरमा स्वाद भिजेको छ ।

विद्याइकाको रोजाइ पनि मुनाको भन्दा भिन्न छैन । ‘म धेरैजसो प्याकेटका खानेकुरा खान्छु,’ २० वर्षीया विद्याइका भन्छिन्, ‘मःमः त दिनदिनै खाएकै हुन्छु ।’

घरमा आमाले पकाएको पराठा र पकौडा मन परे पनि मृदुला मरासिनीलाई मःमः, पिज्जा नखाई चित्त बुझ्दैन । १५ वर्षीया मृदुला भन्छिन्, ‘बिहान घरको खाना खाए पनि ‘दिउँसोको खाना क्यान्टिनमा खाइन्छ ।’

अक्सर पढाइ र करिअरको धपेडीमा रहने यो पुस्तालाई सडक किनारको सस्तो, स्वादिलो मसालेदार खानेकुराले लोभ्याउँछ । ‘घरमा जाने, पकाएर खाने फुर्सद पनि हुँदैन’ १९ वर्षीय अभिस मास्के भन्छन्, ‘बाहिर जे भेटिन्छ, त्यही खाने हो ।’

किशोर पुस्ताको जिभ्रोमै फास्टफुड

त्यसो त विश्वव्यापी अध्ययनहरुले भन्छ, अहिलेका किशोर पुस्ताको जिभ्रो फास्टफुडमा बढी अभ्यस्त हुँदै छ ।

सेन्ट्रल फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन इन एटलान्टाले सन् २०१० ताका अमेरिकी किशोरहरुमा गरेको एक अध्ययनले पनि उनीहरु ‘स्न्याक्स र जंगफुड’ को स्वादमा फस्दै गएको उल्लेख छ ।

आफ्नो स्वास्थ्यका सम्बन्धमा अहिलेको पुस्तालाई हेक्का नभएको होइन । सकेसम्म उनीहरु यही तालिकामा सन्तुलन मिलाउने अभ्यास पनि गर्छन् । तर, फास्टफुडको स्वादमा पल्किएका उनीहरुलाई त्यस्ता खान्कीको तलतल लागिहाल्छ ।

कान्जिरोवा नेशनल स्कूलमा अध्ययनरत कविता गौतम स्वस्थकर होइन भन्ने थाहा हुँदाहुँदै पनि कलेज-आवरमा जङ्कफुड खाने बानी परेको बताउँछिन् ।

‘पानीपुरी र चटपटे त फेवरेट हो’, उनी भन्छिन्, ‘एकदिन खाइएन भने के छुट्यो भने जस्तो खल्लो लाग्छ ।’

विज्ञ भन्छन्- यस्तो खानपिन हानीकारक छ

‘सन्तुलित र पौष्टिक आहार’ लिनुपर्ने यो उमेरमा अव्यवस्थित एवं अनियन्त्रित खानपान नै उनीहरुको स्वास्थ्य चुनौतीको रुपमा देखा पर्न थालेको अध्ययनमा बताइएको छ ।

‘चाउचाउ, कुरमुरे, चिप्स जस्ता प्याकेजिङ खाद्यवस्तुमा क्याल्सियम, फोस्फोरस, खनिज पाइँदैन’, पोषणविद् डा. अरुणा उप्रेती भन्छिन्, ‘यसले शारीरिक तथा मानसिक दुर्बलता निम्त्याउँछ ।’

पहिलेको तुलनामा मोटोपन बढ्नु, हड्डी कमजोर हुनु, अल्छी लाग्नु यसैको परिणाम भएको उनको भनाइ छ ।

उच्च तापमानमा पकाइने र कतिपय अखाद्य तत्वको समेत मिश्रण हुने जङ्कफुडमा खनिज, फाइबर, भिटामिन नहुने विज्ञहरुको भनाइ छ ।

त्यस्ता खानामा नुन, चिनी र चिल्लो पदार्थको मात्रा बढी हुन्छ । कारसिनोजिन, सोडियम नाइट्रेड, न्युरोटोक्सिन, एक्रिलेमेड जस्ता हानिकारक रासायनिक तत्वले गर्दा जङ्कफुड अस्वस्थकर मानिन्छ ।

सञ्चार माध्यममा आउने खानेकुराको ‘कमर्सियल विज्ञापन’ बाट यो पुस्ता बढी नै प्रभावित हुने गरेको पाइएको छ । सन् २००९ मा प्रकाशित एक तथ्यांकले टेलिभिजन/पत्रपत्रिकामा आउने विज्ञापन हेरेर किशोरहरुले आफ्नो खानेकुराको तालिका तयार गर्ने गरेका छन् ।

chana

डाइटिङ गर्नेहरु पनि प्रशस्तै

खानेकुरामा सचेत नभएको मानिने यही किशोर पुस्तामा एकाध चाहिँ ‘डाइट चार्ट’ अनुसार खानेकुराको सन्तुलन मिलाउनेदेखि ‘मोटोपन घटाउन’ खान्कीमा कटौती गर्नेसम्म छन् । ‘फिजिकल फिटनेस’को नाममा डाइटिङ गर्नेहरुको पंक्ति पनि लामो छ ।

प्रेरणा महर्जन, जसले डाइट चार्ट फलो गरेर आफ्नो तौल पाँच केजी घटाएकी छिन् । ‘स्पाइसी, चकलेट खाने लत नै थियो’ स्काई टेलिभिजनकी भिजे प्रेरणा भन्छिन्, ‘तर अहिले त चिनीसमेत छाडेकी छु ।’

शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न खानपानमै कटौती गर्ने प्रवृत्तिले पनि राम्रो नतिजा नदिएको विज्ञहरुको भनाइ छ । बरु यसका निम्ति सन्तुलित र स्वस्थ खानेकुरा, नियमित व्यायाम उचित हुने उनीहरुको सुझाव छ ।

स्वस्थ खानपानका लागि बिहान उठ्नासाथ मनतातो पानी पिउने, ब्रेकफास्ट लिने, भोको नबस्ने, चिल्लो-पिरो नखाने, सुत्नुभन्दा तीन घण्टाअघि खानुपर्ने सर्वमान्य शर्तहरु छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment