Comments Add Comment

सोलुखुम्बुको विकट गुदेल गाउँमा ६६ वटा पसल

pasal haru (13)
२७ पुस, सोलुखुम्बु । दुर्गमको एउटा गाउँमा कतिवटा पसल हुनसक्लान् ? दुई/चार वा बढीमा आठ/१० वटा । तर सोलुखुम्बुको विकट गाविस गुदेलको पनि विकट गाउँ चाचालुङमा भने एउटै गाउँमा ६६ वटा पसल सञ्चालनमा रहेका छन् ।

गुदेल गाविस भवनबाट करिब ३ घन्टा टाढाको बाटोमा रहेको चाचालुङ गाउँमा दुईसय २३ घरधुरी रहेका छन् । त्यो बाक्लो बस्तीबाट अन्य गाउँमा पुग्नका लागि कम्तीमा २ घण्टा लाग्छ ।

त्यसैले अन्य कुनै पनि गाउँबाट त्यहाँ आवश्यक सामान किन्न आउँँदैनन्, तर गाउँकै दुईसय २३ घरका लागि ६६ वटा पसल रहेका छन् । अन्यत्र हिँड्ने बाटो पनि खासै नपर्ने भएकाले आवतजावत गर्नेले पनि त्यो गाउँमा सामान किन्दैनन्, तैपनि घरैपिच्छे जस्तो पसल सञ्चालनमा रहेका छन् ।

गाउँमा रहेको एउटै पसलमा चाउचाउदेखि चामल र सलाईदेखि जस्तापाता सबै पाइन्छ । एउटा पसलमा पसेपछि आवश्यकीय सबै सामान उपलब्ध हुने भएपनि धेरै पसल हुँदा व्यापार भने निकै कम हुने गरेको स्थानीय व्यापारी सरिमाया कुलुङ बताउँछन् ।

कृषि पेसामा आबद्ध त्यहाँका युवा धेरैजसो पर्यटकको भारी बोक्न जान्छन् र ट्रेकिङबाट फर्किएपछि पसलको सामान ल्याउने गरेको उनीहरुको भनाइ छ । पसल धेरै भएकाले कतिपयको सामान त एक वर्षसम्म बिक्री नभएर घरमै प्रयोग गरेर पनि सकिने गरेको पसल सञ्चालक नवीन कुलुङ बताउँछन् ।

प्रतिस्पर्धा भएकाले सस्तोमै सामान पाउँदा पसल नचलाउनेलाई सहज भएको छ । स्थानीय राजाराम कुलुङ भन्छन्, “चाचालुङमा पसल गर्ने फेसन नै चलेको छ, वल्लो घरमा पनि पसल, पल्लो घरमा पनि पसल, सहर जस्तै छ, तर किन्नेहरु आक्कल झुक्कल मात्र आउँछन्, किन्नेलाई त फाइदा छ ।”

चाचालुङमा पसलको सामान किन्नका लागि जिल्लाको नेले बजारबाट भरियालाई बोकाएर एकोहोरो तीन दिनभन्दा बढीको बाटो प्रतिकेजी रु ५० सम्म ज्याला तिर्नुपर्छ ।

महँगो ढुवानी भाडा तिरेर गाउँको पसलमा लगेको सामान दुई÷तीन वर्षसम्म पनि बिक्री नभएर त्यत्तिकै बसेको हुन्छ, चाउचाउ, बिस्कुटजस्ता धेरैजसो खाद्य वस्तु उपभोग्य म्याद सकिएको हुन्छ ।

तर, पनि याममा चार महिना ट्रेकिङ जाने युवा बाँकी आठ महिना गाउँमा बस्दा काम हुन्छ भन्दै पसल थप्ने क्रम अझै बढिरहेको नवीन कुलुङ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment