Comments Add Comment

सुन प्रकरणः भन्सारका कर्मचारी कारबाहीमा, प्रहरी हाकिमलाई उन्मुक्ति ?

डलर र सुनको भरिया मार्फत मालिक खोज्ने प्रयास

gold

२७ पुस, काठमाडौं । नेपालभित्र सुन तस्करी र अवैध डलर कारोबार गर्ने एउटै गिरोह रहेको आशंकामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । प्रहरी अनुसन्धान ब्युरोका एक अधिकृतका अनुसार ३४ किलो सुनसहित समातिएका भरियालाई डलर तस्करीमा पनि प्रयोग गरिएको पाइएको छ ।

सुन र डलर तस्करीका भरिया मार्फत मालिकसम्म पुग्ने प्रयास भने अझै सफल हुन नसकेको प्रहरी अधिकारीहरु बताउँछन् ।

गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै पार भएको ३४ किलो सुन सीआईबीले बरामद गर्‍यो । त्यस क्रममा तीन जना भरिया पक्राउ गरेको सीआईबी सुनको मालिक खोज्न सक्रिय छ ।

यति ठूलो परिमाणको सुन तस्करीमा संलग्न गिरोहको राज्यका माथिल्लै तहका व्यक्तिहरुसँग पहुँच रहेको आशंका भइरहेका बेला प्रहरीले गोप्य अनुसन्धान पनि अघि बढाएको छ ।

गृहमन्त्री विमलेन्द्र निधिदेखि आईजीपी उपेन्द्रकान्त अर्यालसम्मले सुन प्रकरणका नाइकेलाई पक्राउ गर्न निर्देशन दिइसकेका छन । सीआईबीका एक अधिकृतका अनुसार, निर्देशन जस्तै मन्त्रीको तहबाट सहयोग पनि भए सुनका मालिक पनि कारबाहीको दायरामा आउन समय लाग्ने छैन ।

पक्राउ परेकाहरुलाई सीआईबीले फरक-फरक ठाउँमा राखेर अनुसन्धान गरिरहेको छ । सीआईबी स्रोतका अनुसार समातिएका भरियाहरु सुनका साथै डलर तस्करीमा पनि संलग्न भएको खुलेको छ ।

‘डलर कति लैजान्थे भन्ने खुलाएका छैनन्, तर यो समूहले डलरको धन्दामा पनि संलग्न भएको स्वीकार गरेको छ,’ एक प्रहरी अधिकृतले भने ।

यो समूहले जुन रुट प्रयोग गरेर सुन ल्याउने गरेको थियो, त्यही रुटबाट डलर पनि लैजाने गरेको देखिएको स्रोतको दाबी छ । सीआईबी प्रमुख डीआईजी नवराज सिलवाल भने डलर तस्करीको बारेमा अहिले केही नबोल्ने बताउँछन् ।

हप्तामा दुई पटक सुन ल्याउँथे शाही

सीआईबीको हिरासतमा रहेका बाँकेका गोपालबहादुर शाही सुन बोक्ने तस्करहरुको सबैभन्दा विश्वासिलो भरिया भएको खुलेको छ । उनी भरिया समूहका नाइके हुन् ।

एक अनुसन्धान अधिकृतका अनुसार शाही पछिल्लो दुई महिनामा मात्रै ८ पटक दुबई गएका छन् ।

उनले प्रहरीसँगको बयानमा हरेक पटक आफू जाँदा डलर बोकेर जाने र फर्किँदा सुन बोकेर र्फकने गरेको बताएका छन् । शाही झण्डै एक वर्षदेखि सुन तस्करहरुको सञ्जालमा सामेल भएको देखिएको छ । हप्तामा दुई पटकसम्म दुबई पुगेका शाहीले मात्रै सयौं किलो सुन नेपाल छिराइसकेका थिए ।

एक अनुसन्धान अधिकृतले भने, ‘जुन समूहले शाहीलाई सुन तस्करीमा प्रयोग गरेको छ, त्यही समूहले डलर तस्करीमा पनि प्रयोग गर्न लगाएको देखिएको छ । त्यही पैसाले यसैले मात्रै सय किलोभन्दा बढी सुन ल्याइसकेको देखिन्छ ।’

यही समूहको हुण्डी कारोबारीसँग पनि सहकार्य देखिएको छ । सुन तस्करहरुले हुण्डी कारोबारी मार्फत दुबईमै रहेका नेपालीहरुको डलर ओसारपसार गर्ने र यता नेपालमा नेपाली रुपैयाँ बुझाउने गरेको देखिएको सीआईबीको दावी छ ।

काठमाडौंमा पनि अवैध बजारबाट डलर संकलन गर्ने गिरोहनै यही समूहले परिचालन गरिरहेको सीआईबीका अधिकृतहरु बताउँछन् ।

शाहीसँगै पक्राउ परेका धनुषाका सन्तोष काˆले र मोरङका दिलबहादुर थापा नेपालमा सुन रिसिभ गर्न र नेपालबाट डलर दुबई पुर्‍याउन सक्रिय सदस्य भएको देखिएका छन् ।

भरिया नै दर्जनभन्दा बढी

३४ किलो सुनको सूचना सीआईबीलाई दुबईबाटै आएको थियो । सुन तस्करी गर्ने समूहले भरिया मात्रै १२ जनाभन्दा बढी परिचालन गरेको देखिएको छ ।

‘कयौं पटक सुन ल्याउन सफल भइसकेको यो समूहमा भरिया मात्रै १२-१३ जना देखिएका छन् । दुबईदेखि भारतसम्म पुर्‍याउन उनीहरुको समूह परिचालित छ’, सीआईबीका एक अधिकृतले भने ।

यस पटक तस्करहरुले जहाज पनि परिवर्तन गरेको हुन सक्ने स्रोतको दावी छ । दुबईबाट आउने अधिकांश तस्करीका सामान फ्लाई दुबईमा आउने गरेका थिए । तर, केही महिनाअघि मात्रै नेपालीहरुको लगेज चोरिएको भन्दै त्रिभुवन विमानस्थलले नै फ्लाई दुबईलाई कालोसूचीमा राख्ने चेतावनी दिएको थियो । त्यसपछि तस्करहरुले बिहीबार एयर अरेवियाको जहाज प्रयोग गरेको हुन सक्ने विमानस्थलकै एक अधिकृत बताउँछन् ।

एयर अरेविया र फ्लाई दुबई जस्ता एयरलाइन्सका लागि दुबईको विमानस्थलमा काम गर्नेहरु पनि नेपाली नै छन् । उनीहरुको पनि यसमा सेटिङ भएकोेेले तस्करहरुले सजिलै सुन पास गराउन सफल भएको विमानस्थलका एक प्रहरी अधिकृतको दाबी छ ।

कर्मचारी निलम्बनः प्रहरी हाकिमलाई उन्मुक्ति ?

गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा भन्सार*का २९ जना कर्मचारी निलम्बनमा परेका छन् । तर, विमानस्थलमै खटिने प्रहरीका अधिकृतहरुलाई भने गृह र प्रहरी प्रधान कार्यालयले कुनै कारबाही गरेको छैन ।

‘यसअघिका हरेक घटनामा प्रहरी अधिकृतहरु पनि मुछिँदै आएकोले यत्रो सुन तस्करीमा प्रहरीका हाकिमको कुनै साथ छैन भनेर पत्याउनै सकिँदैन’, प्रहरी प्रधान कार्यालयका एक डीआईजीले भने, ‘तर सरुवा समेत गरिएको छैन, किन हो बुझन सकिएन ।’

प्रहरी अधिकारीहरुलाई यसअघि सानातिना घटनामा पनि निलम्बन गर्ने गरिएको थियो । तस्करीमा साथ दिएकै आरोपमा डीआईजी गोपाल भण्डारी निलम्बनमा परेरै घर गए । चार वर्षअघि विदेशी मुद्रा तस्करीमा संलग्न रहेको आरोपमा एसएसपी रविराज श्रेष्ठ बर्खास्त नै भएका थिए ।

विमानस्थलका कर्मचारीमाथि अनुसन्धान

सीआईबीले अहिले ३४ किलो सुनको मालिक मात्र खोजिरहेको छैन, सुन ल्याउन सहयोगी बनेका सरकारी कर्मचारीमाथि पनि अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका तीन जनाले सुन तस्करीमा विमानस्थलकै कर्मचारीको सेटिङ भएको बयान दिएपछि सीआईबीले अनुसन्धान अगाडि बढाएको हो ।

यस पटक बरामद भएको सुनको मालिक पनि एक जना मात्रै छैनन् । स्रोतका अनुसार चार-पाँच जना व्यक्तिको संयुक्त लगानीमा ३४ किलोे सुन आएको हो ।

सीआईबीको छापालाई मजाक बनाएका थिए

गत फागुनमा सीआईबीको टोली एयर राइफल आएको सूचनाका आधारमा सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर अनुसन्धान गर्न विमानस्थलको भन्सारमा पुगेको थियो । त्यस क्रममा सीआईबीले एउटा कार्टनबाट राइफल पनि फेला पार्‍यो ।

केही दिनदेखि भन्सारमै थन्किएर बसेको राइफलबारे भन्सारका कर्मचारीहरु बेखबर थिए । जब सीआईबीले छापा मार्‍यो, त्यसपछि भन्सारका हाकिमहरु उस विरुद्ध खनिए ।

बरामद हतियार एयर राइफल नै थियो । तर, सुटिङ प्रतियोगिताका लागि अभ्यास गर्न एक जापानी नागरिकले ल्याएको नक्कली राइफल भएको खुल्यो । सीआईबीका एक डीएसपी भन्छन्, ‘देशको एउटा सुरक्षा संगठनले देशकै सुरक्षासँग जोडिएको सूचनालाई लत्याउन नमिल्ने भएकोले छापा मारेका थियौं । त्यसको विरोध भयो । तर, भन्सारमा के-के हुँदो रहेछ भन्ने सुन काण्डले देखायो ।’

*भन्सारका २९ जना कर्मचारी हुनु पर्नेमा अध्यागमन पर्न गएकाले यसबाट हुन गएको असुविधाप्रति क्षमा प्रार्थी छौं-सम्पादक

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment