Comments Add Comment

ठेलमठेल यातायात

bus

विसङ्गति एक

काठमाडौंको चावहिलमा कपन जाने दुईथरी बस पाइन्छन् । ठेलमठेल हुन्जेल यात्रु कोचिए पनि उही कम्पनीको अर्को बस नआई ती गुड्दैनन् । मानौं ती गुड्नलाई बनेकै होइनन् ।

ती बस चढ्नुभो भने सिट पाए त ठीकै हो, आरामसँग बस्न पाउनुहोला । नत्र अर्को गाडी नआउन्जेल उभिएर ठेलिएको ठेलियै,खाँदिएको खाँदियै । एक घण्टासम्म पनि अर्को बस आएन भने एकै घण्टा त्यसैगरी खाँदिएर, पेलिएर उभिनुपर्ने हुन्छ । बिरामी, बूढाखाडा,बच्चा बोकेका आमाहरू त्यसरी उभिए एकाध दयावानले सिट छोडि पनि देलान् ।

सिटै नपाए पनि बाध्यताले यात्रा गर्नुपर्दा कुनै गुनासो नरहला । तर,हटटाकट्टा युवायुवतीहरू पनि अलिकति हिंड्न नसकेर सहचालकको अपमान सहँदै कोचिएर यात्रा गरेको देख्दा भने उदेक लाग्छ । चावहिलबाट दस मिनेटको पैदल दूरीमा रहेको साततले जाने यात्रु पनि चढेका हुन्छन् । जाबो दस मिनेटको पैदल दूरीका लागि पनि आधा घण्टाभन्दा बढी समय गाडीमा कोचिएर यात्रा गर्ने अद्भूत यात्री भएपछि बसहरूको सिन्डिकेट र मनोमानी मौलाउने नै भयो ।

लगभग यस्तै दृश्य कपन आकाशेधाराबाट रत्नपार्क जाने माइक्रोबसमा पनि देखिन्छ । आकाशेधाराबाट सुकेधारा हिँडेर जाँदा पन्ध्र मिनेटमा पुगिन्छ । माइक्रोबस आकाशेधाराबाट नै भरिइसकेको हुन्छ । बस्ने सिट त भरिने नै भए । उठ्ने ठाउँ समेत हुँदैन । त्यस्तोमा पनि यात्रु माइक्रोमा घुस्रिहाल्छन् । न उनीहरू छिटो पुग्छन्, न सुबिस्तासँग । यस्तो देख्दादेख्दै आखिर हामी किन चढछौं ?  हिंडेर जाँदा हाम्रो इज्जत जान्छ र ?

साँच्चै हामीलाई हिंड्न सारै गाह्रो नै लाग्छ । आधा घण्टा हिँडे पुगिने ठाउँको लागि एक घण्टा बस कुरेर भए पनि ठेलमठेलमा यात्रा गर्न स्वाद मान्छौं । अलिअलि हिँड्ने बानी गरे सार्वजनिक यातायातमा आफूले कष्ट खेप्नुपर्थेन, साथै भिडभाड अलिक कम हुन्थ्यो कि !

विसङ्गति दुई

काठमाडौंमा अचेल बस स्टेसनहरू निकै थपिएका छन् । बसवालाहरूको यात्रु कोच्ने गर्ने रणनीति हो वा हामी यात्रुहरूको सौखिन बानीले हो, थाहा छैन ।

महाराजगन्ज वारि पनि रोक्नुपर्ने, पारि पनि रोक्नुपर्ने । चावहिल स्तूपामा पनि रोक्नु पर्ने, चावहिल पारि पनि रोक्नुपर्ने । एयरपोर्ट वारि पनि रोक्नुपर्ने, पारि पनि रोक्नुपर्ने । सिनामंगल उकालो,सिनामंगल ओरालो, सिनामंगल तेर्सो इत्यादी अचेलका बस स्टेशनहरू हुन् । नजाने यस्ता कति नयाँ बस स्टेसन थपिएका छन्, लेखाजोखा छैन ।

यहाँ पनि त्यही कुरा दोहोर्याउन मन लाग्छ- अलिकति हिँड्नै नहुने हो र ? माइक्रो बसमा यात्रा गर्दा ओर्लिनुपरेमा त झन् पन्ध्र सेकेण्डको पैदल दूरीमा हामी रोकिदिन्छौं । पन्ध्र सेकेन्ड अगाडि एउटा यात्रु उत्रन्छ, पन्ध्र सेकेन्ड पछि अर्को । अनि हुँदैन त ट्राफिक जाम ? फेरि जाम भयो भनेर हामी नै कराउँछौं र दु:खी हुन्छौं । ट्राफिक प्रहरीलाई नालायक भन्छौं । सरकारलाई सराप्छौं ।

अर्को कुरा, बसवालाहरू यात्रु चढाउनुपर्‍यो भने जहाँ पनि रोकिदिन्छन् तर ओराल्नुपर्‍यो भने चाहिँ तिनले तोकेको मनमौजी स्टेसनमा मात्रै । चढाउनुपर्‍यो भने कुनै हतार नगरी जति समय पनि रोकिदिन्छन्, ओराल्नुपर्‍यो भने संसारमा सबैभन्दा हतार तिनैलाई हुन्छ । एउटा निश्चित विन्दूमा स्टेसन तोकेपछि त्यहीँ मात्रै चढ्नेउत्रिने र चढाउनेओराल्ने गरेमा जाममा केही राहत हुन्थ्यो कि !

विसङ्गति तीन

बस टनाटन भरिएर उभिने ठाउँ नहुँदा पनि गाडीको ढोका पिट्दै घाँटी फुट्ने गरी चिच्याउँदै गाडी रोक्न छाड्दैनन्, ‘ए बालाजु, स्वयम्भू,कलंकी आयो भाले गाडी ।

एक जना यात्रु कराए ए भाइ, स्वयम्भू, कलंकी भनेर मात्रै पुगिन्छ कि गाडी गुड्नु पनि पर्छ ?’

यति के भनेका थिए, उनले सहचालकबाट उचित सम्मानवाणी पाए । हतार भए ट्याक्सी चढेर जाने सुझाव पनि पाए । अरू सब यात्रु मौन । मानौं स्तरीय सेवाको दरकार र हतार उनी एक यात्रुको मात्र चिन्ताको विषय हो ।

एक पटक बालाजु नयाँ बसपार्कबाट भक्तपुर जान भनेर हिँडियो । महाराजगन्ज आएपछि कुनै नयाँ महाराजको सवारीको कारण जाममा फसियो । करिब एक घन्टापछि बल्लतल्ल जाम त खुल्यो, तर गाडी एकदमै बिस्तारै गुड्यो । महाराजगञ्जबाट चावहिल पुग्न आधा घन्टा लाग्यो । यात्रुले करिब भरिइसकेको बस आरामसँग साइड लगाएर यात्रु बोलाउँदै पन्ध्र मिनेट रोक्यो । बल्ल त्यहाँबाट हिंडे पनि जाम पूरा नखुलेकोले आधा घन्टा लगाएर गौशाला पुग्यो ।

खुट्टो हाल्ने ठाउँ नभएको बस फेरि रोकियो । दुईचार यात्रु खाँदियो पनि । पछाडि झ्यालबाट हात घुसारेर अलि पछाडि जानुस्भन्दै मान्छे खाँदियो । खाल्डोमा सिन्की पनि त्यसरी खाँदिन्न होला करिब बीस मिनेटपछि बल्ल गाडी गुड्यो । सायद बसलाई पनि दिक्दारीबोध हुँदो हो, गह्रौं भारी बोकेको गधा झैं मन नलागीनलागी हिँड्यो

एकजना यात्रुले बसभित्रै बान्ता गरे । त्यस्तो भिडमा यात्रुहरूको के हविगत भो होला, आफैं अनुमान लगाउन सक्नुहुन्छ । वरपरका यात्रुको लुगा बान्ताको बाछिटा ले रंगिए । गन्ध सहन नसकेर धन्न दुईचार जना यात्रु झरे अनि नाक थुन्ने अवसर पाइयो । अलिक पर पुगेपछि अर्का यात्रुले आफ्नो पर्स हरायो भन्दै बबाल गर्न थाले । हत्तपत्त आफ्नो पर्स छामेँ, धन्न रैछ भन्दै सन्तोषको सास फेरेँ

हामी यात्रु साह्रै सन्तोकी छौं । सितिमिति गुरूजी र सहगुरूजीहरूलाई अप्ठेरोमा पार्दै पार्दैनौं जेजस्तो सहनुपर्ने बरू आफैं सहिदिन्छौं । उहाँहरूको गोरखधन्दामा डिस्टर्ब गर्दैनौं ।

विसङ्गति चार

हामी यात्रु समायोजन गर्नमा बडो कुशल छौं । उल्टोसुल्टो जस्तो सिटमा पनि समायोजन भइदिन्छौं । कुखुरा बनेर पनि यात्रा गरिदिन्छौं । बाँस झैं नुहिएर अनि कपास झैं हल्का भैदिएर पनि यात्रा गर्छौं । कहिले दुई जनाको सिटमा तीन जना बसेर अनि कहिले ठाउँकुठाउँ जहाँ पनि बसेर यात्रा गरिदिन्छौं ।

कहिले मुडामा त कहिले कसैको घुँडामा जता पनि बसेर लामोछोटो जुनसुकै दूरीको यात्रा गरिदिन्छौं । ट्राफिक प्रहरीको आँखा छल्न पाएमा छतमा बसेर पनि गन्तव्य पुग्छौं । मौका मिल्दो हो त बसवालाहरूले यात्रुलाई डिकीमा पनि कोच्दा हुन् र हामी कोचिँदा पनि हौं । अझ तिनले गाडीको सबै सिट हटाएर उभिने ठाउँ मात्रै राख्दा हुन् र हामी त्यसमै अभ्यस्त भएर यात्रा गर्दा हौं । हाम्रो यही अद्भूत बानीको फाइदा गाडीवालाले उठाइरहेका छन् । अति जरूरी अवस्थामा बाहेक कहिलेकाहीँ बहिष्कार गर्ने बानी गरे त्यस्ता गाडीवाला आफैं साइजमा आउँथे कि !

केही समयअघि ट्राफिक प्रहरीले माइक्रोबसको अगाडि रहेको उल्टो सिट हटाउने अभियान थाल्यो । माइक्रोबसवालाले त्यस्तो सिट त हटाए, तर त्यो ठाउँमा यात्रु कोच्न छाडेनन् । बरू पहिले त्यहाँ सुबिस्तासँग गद्दामा बस्न पाइन्थ्यो । ट्राफिक प्रहरीको नीति राम्रो भएर के गर्नु, माइक्रोवालाको नियत खराब भएपछि ।

विसङ्गति पाँच

अब एकछिन काठमाडौंको महानगर यातायातबारे कुरा गरौं ।काठमाडौंका सडकमा महानगर यातायातका बसहरू गुड्न थालेको धेरै भएको छैन । यसलाई असफल बनाउन तोडफोडका तिकडम पनि भए । केही नलागेपछि अहिले यसको नक्कली भर्सन सुरू भएछ ।

असल कुरोको नक्कल असल नियतका साथ गरिन्छ भने त्यसलाई अन्यथा मानिनु हुन्न । तर, नियत असल छैन भन्ने कुराको संकेत तोडफोडको काण्डले नै पुष्टि गरिसकेको हो ।

हेर्दाखेरि उस्तै रूपरङको देखिने बस हेरेर महानगर यातायात आयो भन्दै खुसी हुँदै चढियो, त्यो त नक्कली रहेछ । तपाईं सीसी क्यामेराको निगरानीमा हुनुहुन्छभनेर लेखिटोपलेको पनि रहेछ । अनि एउटा खेलौना सीसी क्यामरा पनि राखेको रहेछ । सक्कली महानगर यातायातले झैं कम्प्युटर प्रणालीबाट स्वचालित रूपमा तपाईं अहिले यहाँ हुनुहुन्छ, त्यहाँ हुनुहुन्छ भन्दै अरू मीठा कुरा पनि भनेको सुनियो ।

अलि पर पुगेपछि त बिरालोले म्याउँ गरिछाड्यो । अर्थात् ढोका फुटुन्जेल हिर्काउने, घोक्रो फुटुन्जेल चिच्याउने अनि यात्रु कोचेर हुर्मत लिने क्रम सुरू भइहाल्यो । नक्कली महानगरको बस नम्बर चार अंकको हुँदो रहेछ भने सक्कलीको तीन अंकको ।

सक्कलीले बाहिर प्रष्टै देखिने गरी झ्यालको माथि युनाइटेड सिमेन्टको विज्ञापन गरेको देखिन्छ भने नक्कलीमा त्यो देखिएको छैन । भोलिपर्सि यात्रु झुक्याउन ती नक्कलीका स्वामीहरूले युनाइटेड सिमेन्टको नि:शुल्क विज्ञापन पनि नगर्लान् भन्न सकिन्न ।

कदाचित् तिनले अहिले सक्कली महानगरको झैं सेवा सुविधा दिए पनि शंका गर्ने ठाँउ छ । सुरुसुरुमा महानगरको झैं सेवा दिने र पछि सक्कली महानगर यातायात विस्थापित गरिसकेपछि आफ्नो गोरखधन्दा ब्युँताउने तिनको ध्येय होला । यात्रुलाई गुणस्तरीय सेवा दिएर मेवा कमाउने ध्येय तिनको हुँदो हो त किन नक्कलीको सहारा लिन्थे ? आफ्नै नामबाट त्यस्तो पुनीत कामको शुभारम्भ गर्थे नि ।होइन र ?

आखिर त्यत्रा यात्रु महानगर बस एक्लैले बोकेर सक्ने पनि होइन क्यारे !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
शैलेश भट्टराई

समसामयिक राजनीतिक बिषयमा ब्यंग्य गर्न माहिर शैलेश अनलाइनखबरका स्तम्भकार हुन् ।

ट्रेन्डिङ

Advertisment