Comments Add Comment

सी’ओलाई भन्दा धागोहरुलाई कारबाही गर्नुपर्छः हरिवंश आचार्य (भिडियोसहित)

help-nepal-network

२७ पुस, काठमाडौं । कलाकार हरिवंश आचार्यले सरकार कहाँ छ भनेर खोज्नु पर्ने बेला आएको टिप्पणी गरेका छन् । साथै उनले भूकम्पपछिको पुनर्निर्माण हुन नसकेमा सीईओलाई दोष थोपरेर सरकार भाग्न खोजेको बताए ।

हेल्प नेपाल नेटवर्कले गोरखा र धादिङका दुई विद्यालयलाई प्रदान गरेको ८० लाख (४०/४० लाख) को चेक महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बुधबार प्रदान गरे । सोही कार्यक्रममा कलाकार आचार्यले पुनर्निर्माणको गति सुस्त भएकोमा असन्तुष्टि जनाए ।

भूकम्प गएको दुई वर्ष भइसक्दा पनि मानिसहरु त्रिपालमुनी र टिनको सुरुङभित्र बसिरहेका भन्दै उनले भने, ‘सरकार कहाँ हो, कसो हो हामीले खोज्नु पर्ने बेला भएको छ । सरकार कतै भेटिँदैन ।’

सरकारले बुधबार नै पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई बर्खास्त गरेको थियो । यसबारे टिप्पणी गर्दै कलाकार अचार्यले भने, ‘सरकारले काम गर्न नसकेको दोष सीईओलाई लगाएर उहाँलाई कारबाही गर्ने कुरा भएको छ । वास्तवमा उहाँ मात्र होइन, सबैतिर व्यवस्थित छैन ।’

सरकार धेरै कुरामा पछि परेको भन्दै उनले अघि भने, ‘सी’ओलाई भन्दा पनि धागोहरुलाई कारबाही गर्नुपर्छ । सि’ओ त धागोको टुप्पामा बस्ने त हो नि, धागो पो लामो हुन्छ । सि’ओलाई दोष थोपरेर धागोहरु भाग्ने प्रचलन गर्न दिनु हुँदैन ।’

उनले धेरैमा खान पुगोस्, आफ्नो सात पुस्तालाई पुगोस् तर, दिनु नपरोस् भन्ने सोच हावी भएको भएपनि हेल्प नेपालले प्रशंसनीय काम गरेको बताए । कलाकार जोडी धुर्मुस-सुन्तलीले पनि उदाहरणीय काम गरेको आचार्यले सुनाए ।

अर्का कलाकार श्रेष्ठले भूकम्पले धेरै नेपाललाई कहिल्यै विर्सन नसकिने चोट दिएको गएको बताए । ‘राजनीतिकर्मीहरुलाई अवसर पनि दिएर गएको छ,’ उनले भने, ‘पुनर्निर्माण गरेर भोट बढाउने मौका दिएर गएको छ । तर, फाइदा उठाउन सकेनन् ।’

दलहरु जात र धर्मको कुरा गर्ने, हड्ताल नाकाबन्दी गर्नेतिर लागेको भन्दै उनले भने, ‘भोट बढाउने कुरा यो पो हो त । गर्‍यो भने सकिनेरहेछ भनेर दुई जना बुढाबुढी (धुर्मुस-सुन्तली)ले गरेर देखाएका छन् ।’

उनले दलहरुलाई धुर्मुस-सुन्तली र हेल्प नेपाल जस्ता संस्थाबाट सिक्न आग्रह समेत गरेका छन् ।

हालै मुसहर वस्ती पुग्दा आफूहरुलाई समेत आँखासम्म माला लगाइदिएको भन्दै उनले भने, ‘यो माला त हामीलाई होइन भनेर धुर्मुस सुन्तली लगाइदियौं ।’

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment