Comments Add Comment

प्रेममा तगारो बनेपछि श्रीमानको हत्या

sakuntala

२७ पुस, रौतहट । रौतहटको करुनिया २ का अभिनन्दन साहको हत्या उनकै श्रीमतीले गराएको खुलेको छ । र, प्रहरीले साही पत्नी सकुन्तला देवी र अर्का एक युवकलाई पक्राउ गरेको छ ।

कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय साहको २१ पुसमा घाँटी रेटेर हत्या भएको थियो ।

अनुसन्धानका क्रममा सकुन्तलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

अभिनन्दन विदेशमा रहेका बेला सकुन्तला र नातामा मृतकको भाइ पर्ने मनिषकुमार सुमन प्रेममा परिसकेका थिए । उनीहरुबीच दुई वर्षअघि मोबाइल फोनमार्फत सम्वन्ध गाँसिएको थियो ।

अभिनन्दन घर फर्किएपछि खटपट सुरु भयो । र, सकुन्तला र मनिषको प्रेममा अवरोध भयो । अभिनन्दनले श्रीमतीमाथि शंका गर्दै मोबाइल खोसे ।

उनले आफ्नो श्रीमतीको मोबाइलमा बारम्बार फोन आउने नम्बर देखाउँदै कसको हो पत्ता लगाइदिन तिनै मनिषलाई भने जो पत्नीको प्रेमी थिए । यसले पतिले आफूमाथि शंका गरेको सकुन्तलाले सहजै थाहा पाइन् ।

र, प्रेमीसँग मिलेर पतिको हत्या गर्ने योजना बनाइन् । ‘हामी दुई वर्षदेखि प्रेममा थियौं तर, अभिनन्दन घर फर्किएपछि शंका लागेर सकुन्तलाको मोबाइल पनि खोस्यो र कुटपिट समेत गरेपछि सकुन्तला ले नै अब अभिनन्दनलाई मार्नु पर्छ भनेकी थिइन्,’ मनिषले प्रहरीसामू भनेका छन् ।

प्रेमिकासँगको योजना अनुसार २१ गते गाउँकै कामदेही खोला नजिकको सिसौको घारीमा लगेर मनिषले अभिनन्दनको हत्या गरेका छन् । नातामा काकाको छोरा पर्ने मनिषले नम्बर पत्ता लगाइदिने भन्दै सिसौ घारीमा लगेर पछाडिबाट रडले टाउकोमा प्रहार गरे र बेहोस भएपछि घाँटी रेटेर हत्या गरे ।

‘प्रेम सम्वन्धमा बाधा उत्पन्न भएपछि र श्रीमानलाई श्रीमतीप्रति शंका हुन थालेपछि सकुन्तलाले नै पतिको हत्या गराएकी हुन्,’ रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले भनेका छन् ।

प्रहरीले हत्यामा प्रयोग भएको रड र चक्कुका साथै मोबाइल बरामद गरेको छ । पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर हिरासतमा राखिएको प्रहरी उपरिक्षक पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment