Comments Add Comment

ड्रोन बनाउन १४ वर्षे बालकसँग ५ करोडको सम्झौता

२९ पुस, काठमाडौं । पावरदार चश्मा लगाउने १४ वर्षका एक बालक भारतको गुजरातमा जारी भाइब्रेन्ट गुजरात ग्लोवल समिटमा सनसनी बनेका छन् ।

harshabardhan-jala-drone-boyउनले राज्य सरकारसँग आफूले डिजाइन गरेका ड्रोनको उत्पादनका लागि ५ करोडको समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । युद्धग्रस्त क्षेत्रमा जमिनमुनी विछ्याइएका विष्फोटक पदार्थ पत्ता लगाउन र त्यसलाई निस्क्रिय गर्न सहयोग गर्ने ड्रोनको उत्पादनमा सहजिकरण गर्न गुजरात सरकारको विज्ञान तथा प्रविधि विभागसँग हर्षवर्धन जालाले सम्झौता गरेका हुन् ।

उनी हाल कक्षा १० मा अध्ययनरत छन् । आफ्ना साथीहरु बोर्ड परीक्षाको तयारीमा जुटिरहेका बेला हर्षवर्धन भने आफ्नो व्यवसायीक योजनामा काम गरिरहेका थिए र ड्रोनको तीन वटा नमूना निर्माण गरिसकेका थिए ।

आफूले २०१६ को सुरुदेखि ल्यान्डमाइन पत्ता लगाउने ड्रोनको नमूनामाथि काम गर्न थालेको र यसको व्यवसायीकरणको योजना पनि बनाएको उनले बताए । ‘धेरै संख्यामा सैनिकहरु जमिनमा विछ्याइएका विष्फोटक पदार्थलाई हातले निस्क्रिय पार्ने क्रममा पड्किएर घाइते भएको टेलिभिजनमा देखेपछि म यस्तो ड्रोनको निर्माण गर्न प्रेरित भएको हुँ,’ उनले टाइम्स अफ इन्डियासँग भने ।

तीनवटा ड्रोनका नमूना तयार गर्न आफूले करिब ५ लाख भारु खर्च गरेको उनले बताए । त्यसमध्ये पहिलो दुईवटा निर्माणका लागि दुई लाख उनलाई बाबुआमाले नै दिएका थिए भने तेस्रो नमूना निर्माणका लागि राज्य सरकारले ३ लाख उपलब्ध गराएको थियो ।

आरजीबी सेन्सर र थर्मलमिटरबाट सुसज्जित ड्रोनमा २१ मेगापिक्सेलको क्यामरा जडित छ, जसले हाई रिजलुसनको तस्बिर खिच्न सक्छ । जमिनको सतहबाट दुई फिटमाथि उडेर ड्रोनले आठ स्क्वायर मिटर क्षेत्रसम्म फैलिने तरंग पठाउँछ । उक्त तरंगले विष्फोटक पदार्थ पत्ता लगाउँछ र बेस स्टेसनसहित त्यसको स्थानबारे जानकारी दिन्छ ।

ड्रोनमा एउटा ५० ग्रामको बम पनि फिट गरिएको छ, जसले विष्फोटक पदार्थलाई ध्वंस गर्न सक्छ । यो ड्रोनलाई चाँडै सुरक्षा निकायहरुले परीक्षण गर्नेछन् ।

हर्षवर्धनले आफ्नो एरोबोटिक्स नामक कम्पनी स्थापना गरेर प्रतिलिपि अधिकारका लागि निवेदन पनि दिइसकेका छन् । ‘यो ड्रोनको प्रतिलिपि अधिकार सुरक्षित भइसकेपछि मसँग अरु पनि थुप्रै योजनाहरु छन्,’ उनले भने ।

सर्वोदय विद्यान्दिर वापुनगरका १४ वर्षीय विद्यार्थी जालाले आफूलाई बाबुआमाले सँधै उत्प्रेरणा दिइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment