Comments Add Comment

देउवा र प्रचण्ड भारतीय षडयन्त्रमा फसेको कांग्रेस नेता भण्डारीको आरोप

दुई कांग्रेस सांसदले भने-संसदमा मतदान भए पार्टी हृवीप मान्दैनौं

chandra-bhandari

२९ पुस, कपिलवस्तु । कांग्रेस सांसद तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड भारतीय षडयन्त्रमा फसेको आरोप लगाएका छन् ।

कपिलवस्तुको बाँडगंगामा शुक्रबार ५ नम्बर प्रदेश विभाजन प्रयासविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै भण्डारीले लुम्बिनीमा दिल्ली र बिहारले आँखा लगाएको टिप्पणी गरे ।

भण्डारीले ५ नम्बर प्रदेश विभाजन गर्न दिल्ली र बिहारले षडयन्त्र गरेको र त्यसमा देउवा तथा प्रचण्ड परेको आरोप लगाए । कांग्रेसले प्रदेश विभाजन गर्ने कुनै निर्णय नगरेकाले आफूलाई हृवीप लागु नहुने दावी समेत भण्डारीले गरे ।

सभालाई सम्बोधन गर्दै उनले भने- पार्टीले ५ नम्बर प्रदेशमा पहाड र तराई अलग गर्ने भन्ने निर्णय गरेको छैन ।यस्तो अवस्थामा बिधेयकको पक्षमा मतदान गर्न मलाई हृवीप लाग्दैन ।

उनले पार्टीभन्दा ठूलो राष्ट्रियता नभएको भन्दै पार्टीको हृविपलाई नाघेर संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने चेतावनी पनि दिए । भण्डारीले ५ नम्बर प्रदेशबाट तराई पहाड अलग गर्ने हो भने त्यसअघि कैलाली र कन्चनपुरलाई ७ नम्बर प्रदेशबाट अलग गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका सभापति एवं सांसद अम्मरसिंह पुनले पाँच नम्बर प्रदेश टुक्राउने निर्णय आफूहरुले नमान्ने बताए । उनले पाँच नम्बर बिभाजन गर्नै गरि संसदमा टेबुल भएको संशोधन प्रस्तावमा मत हाल्न पार्टीले हृविप जारी गरेपनि विपक्षमा मतदान गर्ने बताए ।

उनले मगरका नाममा प्रधानमन्त्रीले सोझा साझा मगरहरुलाई फकाउन ललीपप देखाएको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment