Comments Add Comment

संस्मरण: भोका-नाङ्गा चेपाङ बालसखाहरूको नाममा

दक्षिणी धादिङको ताल्ती गाउँ, जहाँ मैले जन्मेपछिका १३ हिउँद-बर्खा बिताएँ । पञ्चायती व्यवस्थामा यो गाउँ ताल्ती गाउँ पञ्चायत भनेर चिनिन्थ्यो । पछि महादेवस्थान गाउँ विकास समिति नामकरण गरियो । हालसम्म यही दोस्रो नाम नै प्रचलित छ ।

अहिले बुझ्दा लाग्छ, चेपाङ भाषाको ‘ताल्ती’ शब्दलाई त्यसबेलाका बुजु्रकहरूले परिवर्तन नगरेका भए मेरो गाउँको नामको मौलिकता जोगिन्थ्यो । चेपाङ जातिको भाषिक पहिचानमा पनि गर्व गर्ने ठाउँ हुनेथ्यो ।

चेपाङ भाषामा पानीलाई ‘ती’ भनिन्छ । पानीको ताल परेको खोला नजिक भएकोले अगुवा चेपाङ पुस्ताले गाउँको नाम ताल्ती राखेका रहेछन् । यहाँका पाखा र भिराला क्षेत्रमा चेपाङ समुदायको अझै बाक्लो बसोबास छ ।

मेरो बाल्यकालीन समय बितेको गाउँ नजिकै सिमथली, घैराङ, मासखर्क जस्ता चेपाङ गाउँहरु छन् । चेपाङहरु आफ्नै खाले गरिबी र अभावमा पिल्सिएका छन् । त्यस्तो अभावका बीच पनि केही चेपाङ बालबालिका स्कूलमा मेरा सहपाठी हुन आइपुग्थे । हाम्रो गाउँ नजिकै श्री पिपलभञ्ज्याङ निमावि थियो, त्यहाँ ०४० सालमा मैले औपचारिक शिक्षा थाल्दा ती मेरा शिशुकालीन बालसखा बन्न पुगे ।dipendra-singh-thapa

उनीहरू पढ्नभन्दा पनि सरकारले दिने विशेष सुविधाका लागि स्कूल आउँथे । त्यति बेला सरकारले प्रजा विकास कार्यक्रमका नाममा विद्यालय भर्ना भएका चेपाङ बालबालिकालाई नयाँ लुगा र छात्रवृत्ति दिन्थ्यो । त्यसका लागि उनीहरु केही दिनका लागि भए पनि विद्यालय आउँथे । तर, राम्रोसँग अक्षर नचिन्दै धेरैजसो ड्रपआउट हुन्थे । यसप्रति कतैबाट पनि चासो र चिन्ता हुँदैनथ्यो ।

मसागै कक्षा प्रारम्भ गरेकामध्ये कसैले पनि दुई कक्षा समेत कटाएनन् । आइते, मङ्गले, शुक्रे जस्ता केही नाम अझै सम्झन्छु ।’एकार’ लागेका यी नामहरू सुन्दा हामीलाई त्यतिबेला अलि अनौठो लाग्थ्यो । पछि थाहा हुँदै गयो, उनीहरुको समाजमा जन्मिएको बारसँग मिलाएर पनि नाम राख्ने चलन रहेछ ।

त्यसबेलाका केही शिक्षकहरुमा बाल मनोविज्ञान र व्यावहारिक शिक्षण शैलीबारे कत्ति पनि ज्ञान थिएन ।

तिनकै कारण मेरा चेपाङ बालसखाहरुले पढाइमा रस बसाउन पाएनन् । शिक्षकहरुले दण्डरहित शिक्षणशैली अपनाएर मायालु वातावरण दिएका भए उनीहरुले दुई कक्षा पनि पूरा नगरी विद्यालय छाड्ने थिएनन् कि ?

मेरा चेपाङ बालसखाहरु कुनै कुनै दिन त भोकै र नाङ्गै समेत स्कूल आउँथे । ती अबोधहरूमाथि गुरुहरू चाहिा पाठ कण्ठ नपारेको र गृहकार्य नगरेको बहानामा सिर्कना लाउँथे । कतिपय शिक्षकका क्रूर व्यवहारबाट आजित भएरै कति निश्छल बालसाथीहरूको पढाइ टुट्ने गथ्र्यो ।

त्यतिबेला गुरु र गोठाला दुवैका हातमा लामालामा लौरो हुने गर्थे । गोठालाले गाईबस्तु नियन्त्रण गरेकै शैलीमा गुरुहरु अनुशासन कायम गर्न खोज्थे । यस्तै, ‘लौरो शिक्षण नीति’ का कारण चेपाङ बालबालाहरु केही महिनामै विद्यार्थी जीवनको मोह त्याग्थे ।

हुर्कँदै जाने क्रममा स्कूल छाडेका ती साथीहरु फाट्टफुट्ट भेटिन्थे । आफ्ना अभिभावकका पाइला पछ्याउँदै उनीहरु माछा मार्न खोलामा डुल्ने, सिकार खेल्न जङ्गलतिर दौडने जस्ता काममा रुचि राख्थे । पछि पाखुरामा अलिअलि बल भरिन थालेपछि कतिपय ज्याला गर्न साहुको खेतबारीतिर पनि देखिन्थे ।

उनीहरूका लागि पढाइको कुरा एकादेशको कथा बनिसकेको हुन्थ्यो । सम्झेका भए शिक्षकका कुटाइ सम्झन्थे, पढाइलाई यातनाको काम र विद्यालयलाई यातना शिविर सोच्थे ।

बाल्यकालीन ती प्रिय अनुहारहरूको विम्ब अझै पनि मेरो मानसपटलमा यदाकदा आउँछन् । अलिकता परिस्थिति फेरिएको भए उनीहरुको जीवनको दिशा अर्कै हुन सक्थ्यो । उनीहरुले पारिवारिक प्रेरणा पाएका भए, शिक्षकहरूले मनोविज्ञान बुझिदिएका ती चेपाङ साथीहरूको आजको सांस्कृतिक, सामाजिक र आर्थिक स्तर माथि उठिसकेको हुन्थ्यो ।deependra-singh_810

आज एउटा सुकिलो वर्गले उनीहरुको नाममा तारे होटलमा सेमिनार गर्दै स्वादे जिभ्रो फड्कारिरहन्छ । सीमान्तकृतको सूचीमा राखेर, सहानुभूतिको पात्र बनाएर उनीहरूको गरिबीको विज्ञापन हुन्छ । त्यसबाट अरु नै लाभान्वित हुन्छन् । उनीहरु शैक्षिक र आर्थिक रुपमा सबल भएको भए उनीहरुको नाममा अरुले दोकान खोलेर मनपरी गर्नै पाउँथेनन् ।

आज उनीहरू अधिकार पाउने जनता हैन, भोटबैंक मात्र बनेका छन् । उनीहरु सुझबुझ राख्न सक्ने र सक्षम भएको भए उनीहरुलाई भोटबैंक बनाएर भ्रष्टाचारको खेती गर्नेहरुलाई केही प्रश्न उठाउन सक्थे ।

बिहानै अखबार पल्टाउँदै गर्दा जब आँखा चेपाङ गाउँमा भोकमरी परेको समाचारमा टक्क अडिन्छन्, अखबारका अक्षर धमिलिँदै जान्छन् । कताकता तिनै बाल्यकालीन विम्बहरूले नमीठोसँग चिमोटेर आँखा भरिन थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment